गुरु द्रोण पुत्र अश्वत्थामा भने दुर्योधनको पक्षमा शतप्रतिशत लागेका हुन्थे। त्यसको कारण थियो अर्जुनसँगको आन्तरिक प्रतिस्पर्धा। पिताजी द्रोणले आफूलाई भन्दा पनि बढी मन पराउने र शिक्षादीक्षा अर्जुनलाई दिएको उसलाई मन परेको थिएन ……..
अर्जुनसँगको आन्तरिक प्रतिस्पर्धा अनौठो थियो। कुनै पनि गुरुले आफ्ना शिष्यसँग बिताएको कम समयमा पनि उसको क्षमता मापन गरिसक्छन्। झन् त्यस बेलाका जाज्वल्यमान शिक्षाविद् तथा हतियार विशेषज्ञ द्रोणले आफ्ना अनगिन्ती शिष्यहरूमध्ये अर्जुनको क्षमता थाहा नपाउने कुरै आउँदैनथ्यो। उनका सुपुत्र अश्वत्थामामा पनि त्यो विलक्षणता थियो तर धैर्यता र प्राप्त ज्ञानको सकारात्मक प्रयोग गर्ने विषयमा भने अर्जुन अलि बढी नै होसियार र लगनशील थिए। हुन त सबै एक सय पाँच जना नै आफ्ना आफ्ना विषयका ज्ञाता देखिन्थे तर पाण्डवहरू भने कसैसँगको प्रतिशोध भन्दा आफ्नो क्षमता वृद्धिमा बढी केन्द्रित देखिन्थे। त्यसमा पनि अर्जुनमा गुरु द्रोणले आफ्ना लागि द्रुपदसँग बदला लिने प्रयोजनका लागि आवश्यक क्षमता देखेका थिए र अरूलाई धेरै प्रशिक्षण दिनुभन्दा एउटै अर्जुनमा सबै सिप केन्द्रित गर्न पाए आफूलाई अपमान गर्ने साथी राजा द्रुपदसँग बदला लिने र द्रुपदको राज्य नै हडप्ने सम्मको कल्पनामा गुरु द्रोण हराउँथे।
अरूलाई काम लगाएको बेलामा लुकाएर आफ्नो छोरालाई युद्धकलामा निपुण गराउने पक्षपातको खुलासा भएपछि भने उनमा अर्जुनप्रतिको मोह जागेर आएको थियो। उनलाई विश्वास लागिरहेको थियो कि पाण्डवहरूमध्ये धनुष वाणको खेलमा अर्जुन बराबर कोही हुने छैन। अरू त के, स्वयं गङ्गा नन्दन देवव्रतसम्मलाई पनि अर्जुनको सिपले पराजित गर्न सक्ने गुरुले ठम्याएका थिए। विलक्षण प्रतिभाका धनी र पिताजीको तपस्याका कारणले नै शिवजीबाट चिरञ्जीवी हुने वरदान पाएका द्रोण नन्दनले आफूलाई भन्दा पिताजीले पाण्डु पुत्र अर्जुनलाई बढी सिकाउन थालेको मन परेको थिएन। झन् अन्धकारमा समेत वाण सन्धान गर्न सक्ने क्षमता वृद्धि भएको यथार्थले त कृपीनन्दनमा आफ्नै पिताजीसँग रिस उठेको थियो र अर्जुनसँग अव्यक्त प्रतिस्पर्धाको बिरुवा उम्रेको र झ्याङ्गिँदै गएको कुरा स्वयं द्रोणी अनुभूत गरिरहेका थिए। त्यसको परिणाम के भयो भने द्रोण नन्दनको सम्पर्क पाण्डवहरूसँग भन्दा बढी महाराज धृतराष्ट्रका पुत्रहरू र उनका सहयोगी टोलीसँग हुन गयो।
अर्जुनको गन्तव्य अव्यक्त थियो। एउटा गन्तव्य भावी महाराज युधिष्ठिरको सहयोगी हुनुमा थियो भने अर्को गन्तव्य परमार्थ प्राप्तिमा थियो। उनी नर र नारायणमध्येका नर थिए। युधिष्ठिरलाई सहयोग गर्ने त राजकीय कर्तव्य थियो तर जे कारणले जन्म भएको हो, त्यसमा नारायणको सहयोगी भएर संसारमा सत्यको जय हुने कुरामा अडिग रहनु थियो। यसबारेमा जानकारी राख्ने मात्र महाभारतका रचयिता वेद व्यास थिए भने यो संसारमा विष्णु अवतारको १६ कलाको प्रतिनिधित्व गर्ने देवकीनन्दन श्रीकृष्ण थिए जसको आध्यात्मिक जोडीको रूपमा पुनर्जन्म भएको थियो र धेरै कर्तव्यहरू पूरा गर्नु पनि अर्जुनको जीवनको गन्तव्यभित्र पर्दथ्यो। चुपचाप नियतिको अभिभारा पूरा गर्दै थिए। अर्जुनका धेरै वटा नाम राखिएका थिए, त्यसमा जुन नामबाट बोलाए पनि हुने थियो। जस्तै अर्जुनलाई उनको शरीरको रङ्गका कारण कृष्ण पनि भनिन्थ्यो। त्यसै गरी उत्तरफाल्गुणी नक्षत्रमा जन्मिएकाले उनको नाम फाल्गुणी पनि थियो। त्यस्तै इन्द्रका भौतिक पुत्र भएकाले उनको नाम जिष्णु पनि थियो। राक्षसहरूसँग लड्दा सुरक्षाका लागि भौतिक पिता इन्द्रले किरीट लगाई दिएकाले उनको नाम किरिटी पनि थियो। यस्तै उनका नामहरू थिए श्वेतवाहन, बीभत्सु, कृष्ण, सब्यसाची, धनञ्जय, गुडाकेश, कपिध्वज, पार्थ, द्रोणशिष्य, कुरुनन्दन, कौन्तेय, महाबाहु, धनुर्धर, मध्यपाण्डव र नर आदि।
अर्जुनको जन्म र अश्वत्थामाको जन्मका कारणहरू नितान्त फरक थिए। अर्जुनले गुरु द्रोणबाहेक अरूसँग पनि युद्धकला सिकेका थिए र स्वयं देवाधिदेव पशुपति नाथसँग उनको किराँत भेषमा लडेर उनलाई खुसी तुल्याएकाले पाशुपतास्त्र प्राप्त गरेका थिए। स्वर्गमा इन्द्रसँग पनि भावी दिनमा हुन सक्ने महायुद्धका लागि तयारी गर्न इन्द्रलोक प्रवासमा पनि गएका थिए।
इन्द्र लोकमा सिकेका नाचगान र युद्धकलाले भन्दा पनि उर्वशी अप्सराले आफूले यौन कर्मका लागि गरेको आमन्त्रणलाई नमानेकोले अर्जुनलाई नपुंसक या क्लीब हुने श्राप त उनलाई वरदान जस्तै भएको थियो एक बर्से गुप्त बासमा। यदि अर्जुनजस्तो सुदर्शन र सुगठित शरीर भएको व्यक्तित्व गुप्त बासमा पहिचान भएमा अरू बाह्र वर्षसम्म फेरि वनवासमा जानु पर्ने र अर्को एक वर्ष गुप्त बासमा जानु पर्ने सर्त जुन द्यूत क्रीडा खेल्ने बेलामा भएको थियो।
हस्तिनापुर र इन्द्रप्रस्थ एउटै भारतवर्षका दुई अभिन्न राज्यहरू थिए। मुख्य राजाको वासस्थान हस्तिनापुर देखिन्थ्यो किनभने भीष्म पितामह त्यहीँ थिए र पाण्डुले कार्यवाहक राजा बनाएर स्वेच्छाले रोजेको वनवासका बेलाका राजा धृतराष्ट्र पनि हस्तिनापुरमा नै थिए।
खासमा भीष्म पितामहको मान राख्न पनि मुख्य राजधानी हस्तिनापुर मानिएको भए पनि स्वयं भीष्म पितामहको मनले मुख्य राजा युधिष्ठिरलाई मान्थे र जहाँ युधिष्ठिर, त्यहाँ धर्म, जहाँ धर्म त्यहीँ भारत वर्षको राजधानी उनको मान्यता थियो। तर भीष्म पितामह धृत राष्ट्रका भित्रिया सल्लाहकारहरूसँग मुखमुखै लाग्न चाहँदैनथे र पनि इन्द्रप्रस्थसँग सुमधुर सम्बन्ध राख्नका लागि पितामह सधैँ तल्लीन रहन्थे। उनले दूरदृष्टिबाट देखेका थिए, भारत वर्षको अविच्छिन्न राजकीय पदमा कुन्तीका सन्तान रहनेछन्। अनि भीष्म पितामहले सधैँ के भन्थे भने आपसमा विवाद नगर, राज्य युधिष्ठिरको लागि निरन्तर रहनु पर्छ। धृत राष्ट्रका छोराहरू युधिष्ठिरको सहयोगीका रूपमा रहेर भारतवर्षलाई संसारभर फिँजाउनु पर्छ। यस कुरामा महामन्त्री विदुरको सहमति थियो, गुरु द्रोणको विरोध थिएन, कृपाचार्यको स्पष्ट धारणा थियो, उनी हस्तिनापुरका राजगुरु हुन् जसमा पाण्डवहरू पनि अविभाजित राज्यका प्रतिनिधिहरू हुन्, त्यसैले कुरुवंशका रूपमा मिलेर राज्य गरुन्। तर दुर्योधनको महत्त्वाकाङ्क्षाको आडमा स्वयं महाराज धृतराष्ट्र यतिसम्म लतारिए कि कुरुरानी द्रौपदीको चीरहरणलाई पनि थाहा नपाएजस्तो गरी मौन स्वीकृति दिएका थिए र युधिष्ठिरहरूलाई उनले पनि मुटुका किला जस्तै मानेका थिए र जसरी पनि शल्यक्रिया गरेर तिनलाई राज्यबाट सदाका लागि बेदखली गर्न नआउन् भन्ने मानसिक तयारीमा थिए। त्यसैको परिणाम थियो, इन्द्रप्रस्थलाई बेग्लै राज्य मान्ने अनि त्यहाँका राजा युधिष्ठिरलाई द्यूत क्रीडाका लागि बोलाउने र हराउने। त्यसको सर्त कडा थिए, जसले हार्छ उसले भारत वर्षको अधिकार छोड्ने। सदाका लागि पाण्डवहरूलाई राज्यको अधिकारबाट हटाउन बाह्र वर्षको वनवास, अर्को एक वर्ष गुप्त बास सम्मको सर्त तयारी थियो।
द्यूत क्रीडामा जित्ने यस्तो तयारी थियो कि सुबलपुत्र शकुनिले आफ्ना पिताजी सुबलको नली हाडको पासा बनाएका थिए जसलाई उनले भने बमोजिम पल्टने पल्टाउने काम गराउन सक्थे भन्ने हल्ला थियो। हल्ला चलाइएको थियो जसमा भीष्म पितामह, गुरु द्रोण, गुरु कृपाचार्य अज्ञानमा थिए तर विदुरलाई भने कुनै षडयन्त्र हुँदैछ भन्ने भनक थियो र उनले स्पष्ट शब्दमा महाराज धृतराष्ट्रलाई भनेका थिए, महाराज तपाईँको राज्यप्रतिको अनाहक मोहले, पाण्डुपुत्रहरूमाथि गरिने षडयन्त्रले एक दिन कुरुवंशको सत्यानाश हुनेछ जसको परिणाम तपाईँकै सन्तानहरू सधैँका लागि राज्यबाट वञ्चित हुनेछन्। जब जब विदुरसँग पितामहको छलफल हुन्थ्यो, त्यो बेलामा दुर्योधनका गुप्तचरहरू कान लाएर सुनिरहेका हुन्थे र प्रत्येक शब्दहरूको अर्थ दुर्योधन र उनका सहयोगीहरूको गुप्त बैठकमा लाइन्थ्यो। त्यसले अन्तमा के अर्थ लगाइन्थ्यो भने पितामह र विदुर भारतवर्षका लागि भरोसायोग्य व्यक्तिहरू होइनन्, त्यसैले उनीहरूलाई राजकीय कार्यबाट जसरी पनि अलग गर्नुपर्छ। लोकापवादका लागि पनि तर भन्न कोही पनि सक्दैनथे किनभने पितामह आफू हस्तिनापुरको रक्षक हुँ भन्ने कुरा बारम्बार भनिरहन्थे। तर पितामहलाई थाहा थियो भविष्यमा के हुनेवाला छ। क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- लैङ्गिक हिंसाविरुद्ध सामाजिक न्यायमा शिक्षाको भूमिका
- शकुनिको बदला
- शकुनिको कूटनीतिक क्षमता
- वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
- हिडिम्बाको मोह
- द्रौपदीलाई आफ्नै रूपको चिन्ता
- ब्राह्मण कुमारले विश्व सुन्दरीमाथि जमाए अधिकार
- द्रौपदीको छल
- शिखण्डीलाई लिङ्ग प्रदान, यक्ष स्थूणाकर्ण बने स्त्री
- यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन