लोकापवादका लागि पनि तर भन्न कोही पनि सक्दैनथे किनभने पितामह आफू हस्तिनापुरको रक्षक हुँ भन्ने कुरा बारम्बार भनिरहन्थे। तर पितामहलाई थाहा थियो भविष्यमा के हुनेवाला छ ……….
हस्तिनापुरका प्रमुख पात्रहरू बोल बोल मछली मुखभरी पानी भएका थिए। स्पष्ट बोल्ने मात्र महामन्त्री विदुर थिए। उनी धर्मका अवतार नै थिए। उनको कमजोरी भनेको हस्तिनापुरप्रतिको आस्था थियो, अब त्यो पनि मधुरो मधुरो हुँदै गएको उनी आफैँ पनि भ्रम र यथार्थको भुमरी थिए। महाराजका रुपमा शासन गरिरहेका दाजु धृतराष्ट्र आफैँ राज्य मोहको भुमरीमा यसरी फसेका थिए, जस्तो कि ठुलो नदीको भुमरीमा कुनै सिकारु धीवरको डुङ्गा फसेको हुन्छ। त्यस्तै मानसिक अन्तद्वन्द्वमा परेका थिए विदुर। उनलाई हस्तिनापुरको माया भए पनि महाराज र उनका अन्तरङ्ग सल्लाहकारहरूको चलन ठिक लागेको थिएन। महाराज धृतराष्ट्रसमेत हिजो भनेका कुरा आज कहाँ भनेको थिइस् र भनेर अत्तो थाप्थे। रातभरी छोरा र जेठानको सल्लाहले जे निर्णय गरेको हुन्छ, त्यसको कार्यान्वयनमा उनको आदेश जान्थ्यो। महामन्त्रीको त के कुरा भयो र, स्वयं पितामहको समेत सोधपुछ हुन छोडेको थियो।
महारानी गान्धारी समेत आफैँले भोगिरहेको राज्यको यस्तो मोहमा परेर युधिष्ठिरहरूको हक खोस्ने कुरामा सहमत थिइनन् , सायद त्यही भएर होला महाराज धृतराष्ट्रको गोप्य समूहमा महारानी गान्धारीको पनि वास्ता हुँदैनथ्यो र कतै उनले थाहा पाउने हुन् कि भनेर चियो गरिएको उनले अनुमान गर्थिन् तर बोल्न वास्ता गर्दैनथिन्। एउटी रानीले पाउने राजकुमारहरूको अन्तिम गन्तव्य भनेको राजा हुने नै हो। त्यसैले गान्धारीले न्यायको कुरा गरेको अर्थ के पनि थिएन भने आफ्ना राजकुमारहरू, अझ जेठो छोरो दुर्योधनले राज्य गर्न नै नपाओस् भन्ने नै थिएन। मात्र उनको चाहना भनेको, पाण्डुका सन्तानहरूले पनि राज्यमा भाग पाऊन् भन्ने थियो। त्यो भाग भनेको हस्तिनापुरको विभाजन पनि होइन, दुर्योधनहरूको अधिकार हरण पनि होइन, पाण्डवहरूको अधिकारको हरण पनि होइन। अनि एकै ठाउँमा बसेर राज्य सञ्चालन हुनसक्ने अवस्था पनि थिएन। पाण्डवहरू सहनशील थिए र वर्तमान वा भविष्यमा आउन सक्ने कुनै पनि खतरासँग लड्न तयार थिए। यदि त्यस्तो हुँदैनथ्यो भने दाजु युधिष्ठिरले हारेको द्यूतक्रीडाको जबाफदेही लिने नै थिएनन्। तर एकता देखाउन र महाराजका रुपमा इन्द्रप्रस्थमा राज्य गरिरहेका दाजुको हारलाई पनि आफ्ना सबै भाइको हार मान्ने थिएनन्।
कुरु राज्यको चलन थियो, व्यक्ति आफैँमा एउटा एकाइ हो र उसको अस्तित्व आफैँमा रहन्छ। आफ्नो अधिकार आफैँमा निहित हुन्थ्यो। मेरो शरीर मेरो अधिकार भन्ने व्याख्या अप्सराहरूको चालचलनमा स्पष्ट हुन्थ्यो। स्वर्गमा स्वर्गको चलन, पृथ्वीमा यहाँका राजाको नियम लाग्थ्यो। त्यसैले भीष्म पितामह भन्ने गर्थे —राजाले निशाचर, उभयचर सबैको व्यवस्थापना गर्नुपर्छ। व्यक्तिको आफ्नो स्वीकारोक्तिमा मात्र अरुले उसमाथि हक राख्न सक्थे। तर महाराज युधिष्ठिरले भाइ र रानी द्रौपदी बाजीमा राख्दा पनि भाइहरूले देखिने गरी प्रतिरोध गरेनन् किनभने कुनै एउटा भाइले पनि महाराज धृतराष्ट्रका सय भाइ छोराहरूलाई मार्न सक्थे र हस्तिनापुरलाई आफ्नो कब्जामा लिन सक्थे। त्यसको उदाहरण एक्लो अर्जुनले विराटनगरका गाईहरू हरण गर्दा हस्तिनापुरका हस्तीहरूलाई हराएर हरण गरिएका गाईका झुन्डहरू फिर्ता लगेका थिए। महाभारतको युद्धमा एक्लो भीमले धृतराष्ट्रका गान्धारी तर्फका १०० भाइ छोराहरू मारेका थिए। एकजना वैश्य महिला सुगधातर्फका छोरा युयुत्सु भने पाण्डवतर्फ नै थिए र कौरवविरुद्धको लडाईँ लडिरहेका थिए। पछि पाण्डव पक्षका जीवितहरूमध्ये युयुत्सु पनि थिए। भन्न भनिन्थ्यो, गान्धारीमा ११जना दिदीबहिनीहरू सबैको विवाह महाराज धृतराष्ट्रसँगै भएको थियो र कति त सुसारे आएका थिए। तिनै सुसारेमध्येकी सुगधाचाहिँ महाराजको समीपमा आइन् होला। सुसारेहरूको धर्म भनेको जसका दरबारमा, घरमा उनीहरू आएका थिए, तिनीहरूको सेवा सुसार गर्नु नै थियो।
यता दुई वर्षदेखि गर्भबाट बच्चा नजन्मने चिन्ताले गान्धारीको बेहाल भएको थियो र उता वनमा बसेर तपस्या गरेका भनेका महाराज पाण्डुका दुई भाइ छोराहरू जन्मिसकेको खबर गुप्तचरले ल्याएका थिए। महाराज धृतराष्ट्रको मनमा मात्र होइन, क्षत्राणीको हैसियतले गान्धारीमा पनि आफ्नो सन्तान भारतवर्षको उत्तराधिकारी होस् भन्ने त पक्कै थियो र त कुन्तीले दुईओटा छोराहरू पाउँदा पनि आफ्नो जन्मेकै छैन जवकि गुप्तचरले दिएको जानकारी अनुसार गान्धारीले गर्भधारण गर्दा कुन्तीको सुरसार नै थिएन। तर कुन्तीका छोराहरू जन्मिरहेका छन्, आफ्नो पेटबाट गर्भ बैडिएकै छैन। हो , त्यही हुलमाल र चिन्ताको समयमा महाराज अन्य राजाजस्तै दरबारमा रहेकी सुसारेतर्फ आकर्षित भएका हुन्। गर्भ बैडिएर एक सय एक सन्तानको लालन पालन गर्नका लागि हस्तिनापुर दरबार लाग्न थाल्दा १०१ मध्ये दुर्योधनको पहिचान भएपछि सुसारेले बच्चा पाइन्, त्यो पनि छोरो। नाम राखियो युयुत्सु अर्थात् युद्धप्रति सधैँ जिज्ञासु। यसको अर्थ महाराज धृतराष्ट्रको मनको एउटा कुनामा रहेछ, भाइ पाण्डु एकदिन आफ्ना उत्तराधिकारीहरू लिएर आउने छ र मैले भाइलाई राज्य फिर्ता नदिनका लागि युद्ध गर्नु नै पर्नेछ। पाण्डुसँग त त्यो बेलामा राज्य पनि थिएन, सेना पनि थिएन , सबै त धृतराष्ट्रको आदेशमा नियन्त्रित थिए।
महाराजलाई सबैभन्दा डर थियो पितामहसँग जसको अधीनमा सेना थियो तर आदेश त राजाको नै चाहिन्थ्यो। पितामहको मोह भाइ पाण्डुप्रति भएर नै आफूले पाउने राजगद्दी भाइलाई राज्यका सर्बेसर्बा सेनापति देवब्रतले या पितामहले दिएका थिए। त्यसैले शिवजीको वरदानका कारणले १०० छोरा पाउने सुबल कन्या गान्धारी हस्तिनापुरलाई चाहिएको थियो। धृतराष्ट्रलाई आफूसँग स्वरमा स्वर मिलाउने र आवश्यक परे पितामहसँग पनि निहुँ खोजेर पाण्डुलाई राज्य फिर्ता नदिने छोराहरूको आवश्यकता थियो। यदि पाण्डुभन्दा पहिले नै गान्धारीले पहिलो सन्तान पाएकी भए तर्क हुन्थ्यो , भारतवर्षको उत्तराधिकारी धृतराष्ट्र नन्दन नै हुन्थे तर पहिलो सन्तान त कुन्तीको जन्मियो, त्यो पनि यमराज या धर्मराजको सन्तानका रुपमा। कुन्तीले किन पहिलो नियोगका लागि धर्मराज या यमराजलाई नै छानिन् भन्ने प्रश्नमा कुन्तीको उत्तर थियो, देवता बोलाउने मन्त्रमात्र मेरो हो, नियोग कोसँग गर्ने भन्ने आदेश त महाराज पाण्डुको थियो। कुनै पनि बेला कालले वशीभूत गराउने गरी ऋषि किन्दमले दिएको श्रापका लागि पनि आफ्नो परिवारको पहिलो उत्तराधिकारीका रुपमा धर्मराजको अंश नै आवस् भन्ने चाहना पाण्डुको थियो र त कुन्तीले महाराजको आदेशअनुसार मन्त्र साधना गरेकी थिइन्। मन्त्र नै यस्तो थियो कि सन्धानले मात्र बोलाएका देवता आउँथे।
कुटिल धृतराष्ट्रको मनमा यस्तो पनि आएको थियो, ती सन्तान मेरा भाइका होइनन्, किन तिनलाई राज्यको अधिकार दिने र ? उनी आफू बसेको गद्दी आफ्ना लागि र आफ्ना सन्तानका लागि सुरक्षित राख्न चाहन्थे र मनमा अनेक जालझेलका तर्कना गरिरहन्थे। वनबासी राजा पाण्डुमा शक्ति सञ्चयको भोक जागेको थियो जुन राज्य प्राप्तिका लागि आवश्यक पनि थियो। उनलाई ज्येष्ठ पिता देवब्रतप्रति यति भरोसा थियो कि मेरो नामको राज्य मेरो आदेशमा नियोगबाट जन्मेका छोराले पाउने छ।
भारतवर्षको र कुरुवंशको कानुनअनुसार श्रीमान्को अनुमतिमा नियोगबाट जन्मेका सन्तानहरू औपचारिक सन्तानसरह हुनेछन्। स्वयं धृतराष्ट्र,पाण्डु र विदुरलाई औपचारिक रूपमा स्वर्गीय महाराज विचित्रवीर्यका सन्तानका रुपमा मानिएको थियो। धृतराष्ट्रलाई एउटा फसाद के पनि थियो भने पितामह भीष्म, कुलगुरु कृपाचार्य, महामन्त्री विदुर नियोगबाट जन्मेका पाण्डुपुत्रहरूको पक्षमा बोल्नेछन् किनभने स्वयं धृतराष्ट्र आफैँ कुरुवंशी राजाहरूको उत्तराधिकारी मानेर कुरुवंशीको परम्परागत राजगद्दीमा बसिरहेका थिए। अनि विदुर त कुनै पनि हालतमा मान्ने छैन मेरो कुरा किनभने ऊ मसँग पटक्कै डराउँदैन कारण थियो भौतिक पिताजी श्रीकृष्णद्वैपायन व्यास विदुरलाई धर्मावतार महामन्त्रीका रुपमा मान्थे।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार