मध्य फिलिपिन्समा सोमबार ज्वालामुखी विस्फोट भएको छ ।
ज्वालामुखीका कारण आकाशमा व्यापक खरानी उडिरहेको छ भने सरकारले आसपासका गाउँहरूबाट सुरक्षितस्थलमा जान स्थानीयहरूलाई आदेश दिएको छ ।
नेग्रोसको टापुमा समुद्र सतहबाट दुई हजार ४०० मिटरभन्दा माथि उठेको कान्लाओन पहाड ज्वालामुखीका लागि फिलिपिन्सका २४ सक्रिय स्थानमध्ये एक हो ।
‘फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एण्ड सिस्मोलोजी’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “स्थानीय समयअनुसार अपराह्न ३:०३ बजे ज्वालामुखी विष्फोट भएको हो ।
“सबै स्थानीय सरकारी एकाइहरूलाई ज्वालामुखी बिस्फोट भएको पहाडबाट छ किलोमिटरको क्षेत्र खाली गर्न सल्लाह दिइएको छ र गतिविधि आवश्यक भएमा थप टाढा जान तयार रहनुपर्नेछ,” विज्ञप्तिमा भनिएको छ।
ज्वालामुखीको दक्षिणपश्चिम क्षेत्रमा रहेको ला कास्टेलाना सहरका चार वटा उच्च पहाडी गाउँहरूमा ‘उद्धार कार्य’ जारी छ, नगर प्रहरी अधिकारी सर्जेन्ट रोनेल अरेभालोले एएफपीसँग बताउनुभयो ।
“पछिल्ला केही दिनयता हामीले ज्वालामुखीबाट कालो धुवाँ निस्केको देखेका छौँ । यो हप्ता कुनै पनि समयमा विस्फोट हुने हामीले अनुमान गरेका थियौँ,” उहाँले एएफपीलाई फोनमार्फत् दिएको जानकारीमा बताउनुभयो ।
गत सेप्टेम्बरमा ज्वालामुखीले एकै दिनमा हजारौँ टन हानिकारक ग्याँस फ्याँकेपछि आसपासका सयौँ बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो ।
भूकम्प मापन कार्यालयका अनुसार सन् १८६६ यता कान्लाओनमा ४० पटकभन्दा बढी ज्वालामुखी विस्फोट भएको छ ।
सन् १९९६ मा ज्वालामुखीबाट निस्केको खरानीका कारण तीन जना पर्वतारोहीको मृत्यु भएको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प
- सिरियाली विद्रोहीहरूद्वारा सङ्क्रमणकालीन सरकारका प्रमुख नियुक्त
- आयोजना अलपत्र पारेपछि कारणसहित लिखित जवाफ माग
- म्याग्दीको मुनामा सङ्कटापन्न वन्यजन्तु रेडपाण्डा भेटियो
- भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : नेपालको अवस्था झन् खस्कँदै
- इजरायली प्रधानमन्त्रीद्वारा सिरियाको बफर जोन ‘कब्जा’ गर्न सेनालाई आदेश
- प्रजातान्त्रिक आन्दोलनको आरोह अवरोहबीच असदको सत्ताको २५ बर्ष
- स्वास्थ्यकर्मीहरुको सुरक्षामा बढ्दो चुनौती
- सिरियाली विद्रोहीद्वारा ‘दमास्कस वरपर’ आक्रमण
- देशभरको मौसम मुख्यता सफा रहने