द्रौपदी सुरक्षाको भय

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—४७

अनि विदुर त कुनै पनि हालतमा मान्ने छैन मेरो कुरा किनभने ऊ मसँग पटक्कै डराउँदैन कारण थियो भौतिक पिताजी श्रीकृष्णद्वैपायन व्यास विदुरलाई धर्मावतार महामन्त्रीका रूपमा मान्थे…….

हरिविनोद अधिकारी

कौरवहरूको योजनाबद्ध षडयन्त्रको तयारीको पासोभित्र पाण्डवहरू परेको त देखिन्थ्यो तर पाण्डवहरू भने जे हुन्छ पक्कै आफ्नै पक्षमा हुन्छ भन्नेमा ढुक्क थिए। त्यसको पृष्ठभूमिमा द्वारकाधीश श्रीकृष्णको कृपालाई मानिन्थ्यो। कृष्णले आफ्नो सिद्धान्त नै बनाएका थिए, जसले उनीप्रति समर्पित भएर विश्वास गर्छ, उसको पक्षमा लागिरहने।

कुरुवंशको पारिवारिक द्वन्द्वमा पनि भीषण युद्धको सम्भावना बढिरहेको थियो। विना कारण राज्यविहीन बनाइएका पाण्डुपुत्रहरू युधिष्ठिरको वचन पूरा गराउने सर्तमा समय पर्खिरहेका थिए। ज्येष्ठ पाण्डुपुत्रको वचनमा असत्य कसैले नठानून् भन्ने सतर्कता पाण्डवहरूमा थियो। नत्र पाँचै भाइमध्ये कुनै एक्लैले मात्र पनि दुर्योधनका सयभाइलाई मारेर राज्य आफ्नो गराउन सक्थे।

सर्तको भारी बोक्दै र समयको पर्खाइमा पाँच भाइ अल्झेका थिए र सँगै पाण्डवको छायाको रूपमा द्रौपदी सँगै थिइन्। समय पर्खेर बसेकी थिइन्, आफ्नो खुला राखेको केशराशिमा दुःशासनको रगतले भिजाएरमात्र कपाल कोर्ने कडा सर्तमा आफूलाई बाँधेकी थिइन् जसको सर्त पूरा गर्ने वचन भीमले महारानी द्रौपदीलाई दिएका थिए। मौन क्रान्तिका लागि खप्पिस कुन्ती हस्तिनापुरमा छोराहरूले युद्ध जितेर आउने छन् भन्ने समय पर्खेर बसेकी थिइन्।

युद्ध अवश्यंभावी देखिन्थ्यो र वातावरण युद्धका पक्षमा नै परिपक्व हुँदै गएको थियो। समयक्रम व्यतीत हुँदै जाँदा वनबासको १२औँ वर्षको अन्तिम समय पनि आउन लागेको थियो। वनबासमा समेत अनेक दुःख दिने धृतराष्ट्रका सन्तानहरू जसरी हुन्छ, अज्ञातबासमा चिनेर, पत्ता लगाएर फेरि वनबासको अवस्था सृजना गर्ने षडयन्त्रमा थिए। त्यसैले त्यो वनबासपछिको अज्ञातबास पाण्डवहरू र द्रौपदीले कसरी र कहाँ बिताउँछन् भन्ने चासो देखिन्थ्यो। सर्त यस्तो थियो कि अज्ञातबास यस्तो हुनुपर्नेछ कि पाण्डवहरूलाई कसैले पनि पहिचान गर्न नसकून्। कतैबाट पनि उनीहरूको परिचय खुलेमा स्वतः सर्त दोहोरिने थियो। यदि पहिचान भएमा उनीहरूले फेरि वनबासका दिव्य १२ वर्ष र अर्को १ वर्ष अज्ञातबासको दण्ड भोग्नु पर्नेछ। अर्थात् पाण्डवहरू सर्तहरूको भारी बोक्दै वन जङ्गल भौँतारिई रहून। आफ्ना सर्तहरूको भारी बोक्दै वैधरूपमा राज्यमा दख्खल दिन कहिल्यै नआऊन्।

पाण्डवहरू जस्तो पर्ला उस्तै टर्ला भन्नेमा देखिन्थे। युधिष्ठिरमा बाहिरबाट हेर्दा कुनै पिर नभएको जस्तो देखिन्थ्यो। द्रौपदी इख नभएको पुरुष र विष नभएको सर्प भनेर खिसी पनि गर्थिन्। सबैको आशा भनेको भीम र अर्जुनमाथि नै थियो। अझ धनुर्धर भएकाले र गाण्डीवको ओज भिरेकाले अर्जुनप्रति बढी नै निर्भरता देखिन्थ्यो। तर समस्याको भुमरीबाट बाहिर ल्याउनका लागि वसुदेव पुत्र वासुदेव छँदैछन् भन्ने ढुक्क बसेको जस्तो लाग्थ्यो।

पाण्डवहरूको अज्ञातबास जरुरी थियो। सबैको चिन्ता र चासोको विषय थियो। वास्तवमा १२ वर्ष बित्नै आँट्दा समेत पारिवारिक छलफल पनि भएको थिएन। भारतवर्ष भित्र बस्न त हुन्थ्यो तर कुनै पनि जिम्मेवार जागिरेले जानकारी गरायो भने पनि सर्त दोहोरिने डर पनि थियो। त्यसैले कहाँ गएर गुप्तबास बस्ने भन्नेमा सबैभन्दा बढी चिन्तित द्रौपदी थिइन्। पाँच पतिकी महारानी भएर पनि सधैँ असुरक्षित रहनु परेको कटुसत्य उनले मात्र अनुभूति गरेकी थिइन्। १२ वर्ष पुग्दै गर्दा उनलाई ठुलो चिन्ता के थियो भने अज्ञातबास कसरी र कहाँ बस्ने हो ? त्यसो त महामुनि मार्कण्डेयले भनेर गएका थिए, या भनौँ आशीर्वाद दिएर गएका थिए कि महाराज युधिष्ठिरसहित पाँच भाइ र द्रौपदीको गुप्तबास सफल हुनेछ र भारतवर्षको राजगद्दी निष्कण्टक युधिष्ठिरको हुनेछ।

द्रौपदीको चिन्ता र चासोले गर्दा पाँचभाइले छलफल गर्ने समय पनि तोके। अर्थात् त्यहाँ कुनै ब्राह्मण वा भिखारी या कुनै पनि व्यक्ति छलफल सुन्ने गरी बस्न पाइँदैन थियो। गोप्यता भङ्ग हुनु पनि फेरि अज्ञातबासको जानकारी हुनु थियो। धेरै वरिपरिका राज्यहरूका बारेमा छलफल भयो र कुन देशमा लुकेमा के परिणाम हुन सक्छ भनेर गहन छलफल गरिएको थियो। यसमा सबैभन्दा बढी चिन्तित द्रौपदी किन थिइन् भने सबैले चिनेका भीमको शरीर र क्षमता, अर्जुनको धीरगम्भीर स्वभाव र संसारले थाहा पाएको धनुर्धरी र उनको चर्चित दर्शनीय रूप, स्वय. महाराज युधिष्ठिरको अनुहार र स्वभाव कसरी लुकाउन सकिएला? अनि विश्वसुन्दरी द्रौपदीको रूप पनि कसरी लुकाउन सकिएला र? द्रौपदीको रूपले नै यो अवस्था सृजना भएको ठान्थिन् स्वयं द्रौपदी। त्यसैले अज्ञातबासलाई कहाँ गएर निश्चिन्त हुने भन्नेमा द्रौपदीको धारणालाई पाण्डवहरूले बढी नै महत्व दिएका थिए। त्यसको मुख्य कारण थियो, सबैले आफ्नो सक्कली स्वरूपमा परिवर्तन ल्याउनु आवश्यक र जरुरी थियो जसको रूप परिवर्तन गराउने विज्ञका रूपमा स्वयं द्रौपदी थिइन्। त्यसैले उनले आफूलाई चाहिँ एकजना सैरन्ध्रीको रूपमा प्रस्तुत गर्ने दृढता व्यक्त गरिन्। अब उनलाई ठुलो चिन्ता थियो, महाराजको कस्तो रूप भए अरुले पहिचान गर्न नसकून् र एकवर्ष निरापदरूपमा अज्ञानबास सफल हुन सकोस्। महाराज युधिष्ठिरको नाम कङ्क राख्ने निधो गरियो र जुन राजाको दरबारमा जाने हो, त्यहाँ गएर द्यूतक्रीडा गर्न सिकाउने, पासा खेल्ने खेलाउने मनोरञ्जकको काम गर्ने निधो गरियो। अब पालो आयो भीमको। भीमको एउटा विशेषता थियो खाना बनाउने। खाना मिठो बनाउने। एकातिर स्वयं भीम यति धेरै खान्थे कि उनको आहाराको कारणले पनि उनको पहिचान खुल्ने डर थियो। भयानक शरीर, बलियो मान्छे, पहलवानका रूपमा समेत र ठुला ठुला हात्ती घोडा तह लगाउने अनि कुस्ती खेलाउने काममा उनको विशेषता देखाउँदै लुक्ने। अनि भन्ने, पाण्डवहरू वनबास गएपछि यो वल्लभ पनि बेरोजगार भएकाले जागिर खोज्दै आएको भन्ने। यति छलफल गर्दा गर्दै अर्जुनमा क्लीवको लक्षण देखिन थाल्यो। यसैपनि बाह्रवर्षको वनबासमा कपाल त पालेकै थिए अनि अप्सरा उर्वशीको श्रापले उनमा पुरुषत्वको लक्षण नदेखिने भयो र एकजना नृत्याङ्गनाको कोमलता उत्पन्न भइसकेको थियो। उनको नाम बृहन्नला राख्ने निधो भयो र उनले जुन राज्यमा जाने हो, त्यहाँका रनीबासमा नाचगान सिकाउने काम गर्ने निधो भयो। यसैगरी नकुलले घोडाको सेवा गर्ने, घोडालाई तह लगाउने काम गर्ने भएकाले उनको नाम ग्रन्थिक राख्ने निर्णय भयो र गाईको हेरचाह गर्ने विज्ञता भएका सहदेवको नाम तन्तिपाल रहने भयो।

द्रौपदीको रक्षाका लागि पनि पाँच भाइ जहाँ लुक्न गए पनि एकैठाउँमा जानु जरुरी थियो। त्यस्तो राज्यमा जानु जरुरी थियो जहाँ पाण्डवहरूको वारेमा जानकारी त रहेको होस् तर कसैले पनि कुनै पनि बेला पाण्डवहरू तथा द्रौपदीलाई नदेखेको पनि होस्। सबैले बेग्ले बेग्लै तरिकाले गुप्तबासमा बस्ने ठाउँमा जाने तर फरक फरक तरिकाले आफ्ना आफ्ना विज्ञता वयान गर्दै सेवा गर्ने ठाउँमा जाने। पाँच जना सँगै गए शङ्का हुने सम्भावना हुनसक्थ्यो। तर कुनै पनि घटना घट्ने बेलामा तत्काल भेटघाट हुनु पनि जरुरी थियो। त्यसैले जुन दरबारमा जाने हो, त्यहाँ फरक फरक तरिकाले जाने तर एउटै ठाउँमा जाने हो।

अब कहाँ जाने भन्दा विराट महाराजको दरबारमा जाने निधो गरियो। अनुहारमा परिवर्तन गर्ने जिम्मा त यसै पनि द्रौपदीले पूरा गरिन्। द्रौपदीको सुन्दरता र भीमको भयानकता कसरी लुकाउने भन्ने विवाद हुँदा यस्तो सल्लाह गरियो—युधिष्ठिरले कङ्कको रूपमा महाराज विराटलाई चौसर खेलाउने र कसैले सोधे भन्ने, म युधिष्ठिरलाई द्यूतक्रीडा गर्न सिकाउँथे, उनीहरू नै कता गए कता अनि म त्यही काम गर्न सिकाउने, मनोरञ्जन दिलाउने काम गर्न थालेको। भीमले भन्ने म हस्तिनापुरमा खाना बनाउने काममा थिएँ, वयल तह लगाउने, हात्ती तह लगाउने, कुस्ती खेलेर मनोरञ्जन गर्ने गराउने गर्थेँ। अर्जुनमा विकसित भएको वृहन्नलाको अवस्था अर्थात् नपुँसकताले धेरै कुरा भन्नै नपर्ने भयो किनभने कसैले पनि अर्जुन यो अवस्थामा होलान् भन्ने कल्पनासम्म पनि गर्ने होइनन्। ग्रन्थिक तथा तन्तिपालको काम दरबारमा कम पर्ने भएकाले उनीहरूलाई चिन्ने सम्भावना कम थियो। कारण थियो विराटनगरका कुनै पनि भाइ भारदारले पाण्डवहरूको नाममात्र सुनेका, अनुहार देखेका थिएनन्। समस्या त बरु थियो सैरन्ध्रीको किनभने उनी अत्यन्त सुन्दरी थिइन् र जसले देख्थ्यो उसैले उनीसँग सम्बन्ध राख्न चाहन्थ्यो। महारानी सुदेष्णालाई उनले भनिन्—म द्रौपदीकी सिंगार पटार गराउने काममा थिएँ, मेरा पाँच जना यक्षहरूसँग विवाहित हुँ र अहिले उनीहरू हिमालयतर्फ गएकाले हाल महारानीको सिंगार पटार गर्ने काम चाहन्छु। त्यै पनि सुदेष्णालाई यी सुन्दरीको रक्षा कसरी गर्ने हो भन्ने चिन्ता लागेको हो तर द्रौपदीले भनिन्, महारानी म आफ्नो सुरक्षा गर्न सक्छु।

यसरी पाण्डवहरू र द्रौपदी अज्ञातबासका लागि मत्स्य देशको राजधानी विराटनगरमा प्रवेश गरे र दरबारमा सहजताका साथ भूमिगत हुन सके। तर डर सधैँ के रह्यो भने कसैले थाहा पाउने पो हुन् कि? हस्तिनापुरबाट गुप्तचरहरू आएर पत्ता पो लगाउने हुन् कि? द्रौपदीको प्रत्युत्पन्न मतिको परिणामस्वरूप विराटनगरमा उनीहरू समाहित भए र आपसमा भेटघाट कसरी गर्ने र आवश्यक छलफल गर्ने भन्नेमा भने अन्यौल नै देखिएको थियो। क्रमशः

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
द्रौपदी सुरक्षाको भय
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link