कुरुवंश विनाशकः शकुनि

द्रौपदी अर्थात् पाँच नाथकी  अनाथिनी—५७

युद्धको परिणाम कति भयावह छ भन्ने कुरामा सायदै कसैको पनि ध्यान गएको थिएन र त युद्धको अन्तमा रानीहरू आफ्ना छोराहरूको मृत्युमा रोइरहेका थिए र युद्धको जित मान्नु पर्ने पाण्डवहरू पितामहको शरशय्यामा लडेको शरीर वरिपरि बसेर रोइरहेका थिए। आखिर युद्ध एउटा कारण थियो जसको ओखती शान्तिमात्र हुन्थ्यो तर शान्तिप्रति ओठभक्ति सबैले राख्थे तर त्यसको पक्षमा कोही पनि लाग्न सक्दैनथ्यो …….

हरिविनोद अधिकारी

कुन्तीलाई लाग्थ्यो यदि कर्ण पाण्डवहरूतर्फ लागेको भए सायद ऊ पनि मर्दैन थियो होला, मेरा यति धेरै नातिहरू पनि युद्धमा मारिएर यमराजका पाहुना हुने थिएनन् होला। युद्ध टर्थ्यो होला र? टर्थ्यो कि? कृष्णले भनेजस्तै गरी कर्ण भाइहरूसँग मिलेर युद्धमा होमिएको भए के युद्ध जित्ने काममा उसको भूमिका हुन्थ्यो होला कि हुँदैनथ्यो होला? दुर्योधनसँग साक्षात्कार हुँदा उसको अनुहार कस्तो हुन्थ्यो होला? अनि कृष्णले दिएको वचन जस्तै द्रौपदी कर्णकी अङ्कशायिनी हुन्थिन् या मान्दैनथिन् होली? अनि युद्ध जितिएको भए र कर्ण जेठो दाजु भन्ने मान्यता दिएका भए युधिष्ठिरका ठाउँमा राज्यको शासन भार उसलाई दिन्थ्यो होला कि दिँदैनथ्यो होला? या अरु भाइहरूले राजाको रुपमा कर्णलाई मान्थे कि मान्दैनथे होलान्? यो तन्द्रामा कुन्ती जीवित हुन्जेलसम्म भौँतारिई रहिन् भन्ने कुरा युधिष्ठिर महाराज भएपछि कर्णविहीन हस्तिनापुरमा बस्न उनलाई मन लागेको थिएन र त धृतराष्ट्र —गान्धारीको सेवाको निहुँमा उनी कुरुक्षेत्र नजिकैको वनमा कुटीमा गएर बसेकी थिइन्।

कुन्तीको मनमा सबैभन्दा बढी कर्ण नै घुमिरहेको थियो र कर्ण जीवित भएको भ्रममा उनी झसङ्ग झसङ्ग हुन्थिन्। अनि नदीमा बगाएको अनुहारमात्र देख्थिन् जसको किलकारीले उनको मनमा एउटा जादू गरेको थियो तर लाज इज्जत र समाजको डरले बगाउन बाध्य भएको भ्रममा उनी थिइन्। कहिले सम्झन्थिन् यदि उनले आफ्नो गर्भ रहेको तर ती गर्भ राख्ने संसारका असली देवता दिवाकर हुन् भन्न सकेको भए र सूर्यले दिएको वरदानको सदुपयोग गर्न सकेको भए कुमारित्व झन ताजा हुने थियो। विश्व सुन्दरीको रुपमा सबैले दिएको सम्मान अनुसार पक्कै हस्तिनापुरले स्वीकार गर्थ्यो होला किनभने कुनै पनि बाबुआमाले आफ्नी छोरी कुमारी आमा हो भन्दै हिँड्दैनथे झन दरबार त रहस्यहरूको सँगालो समेटेर बाँच्ने बासस्थान हुँदैहो।

यी सबै कुरा सम्झँदा राजमाता कुन्ती कहिले बालापनमा पुग्थिन् त कहिले युवावयमा महर्षि दुर्बासाको सेवा गरेको, उनले दिएको मन्त्रको साधना गर्दा अचानक सूर्यसँग समागम भएको अनि कर्ण जन्मेको, धर्मराजबाट युधिष्ठिर, वायुबाट भीमसेन, स्वर्गका राजा इन्द्रबाट अर्जुन र जुम्ल्याहा अश्विनी कुमारहरूबाट नकुल र सहदेव जन्मेको समयको बनबासको अवस्थामा पुग्थिन्। त्यो बास्तवमा वनबास थिएन, हस्तिनापुरका लागि भावी उत्तराधिकारीको उत्पादन गर्ने अज्ञातबास थियो। त्यति अज्ञात पनि थिएन जस्तो कि विराटनगरको बसाइ थियो। त्यहाँ अज्ञातबास किन पनि जरुरी थियो कि नियोगमार्फत् हस्तिनापुरको लागि उत्तराधिकारी पाउनु थियो। हस्तिनापुरको निगरानीमा महाराज पाण्डु, महारानीहरू कुन्ती र माद्री हुँदाहुँदै पनि वनबासी ऋषिहरूको सुरक्षा कबच यति बलियो थियो कि हस्तिनापुरका भावी उत्तराधिकारीहरूको लालन पालन, प्रारम्भिक शिक्षादीक्षा दिने काम निर्भय भइरहेको थियो।

पाण्डु अत्यन्त दूरदर्शी र अद्रभूत योद्धा थिए। व्यासले नै जीवन र जगतको तालिम दिएका थिए जसले उनलाई राज्य सञ्चालनका लागि अत्यन्त उपयोगी भएको थियो। उनी क्लीव हुनुमा पनि त महाभारतको आधारभूमि थियो। उनी अल्पायुको हुनु पनि पारिवारिक युद्धको आधारभूमि थियो र श्रीकृष्ण जुन कामका लागि यो पृथ्वीका अवतरण भएका थिए, त्यसका लागि पारिवारिक कारणले भए पनि विश्वयुद्धको रुपमा लड्नु नै पर्ने थियो। त्यसका लागि मुख्य अभियन्ता उनका क्षेत्रमा जन्मिएका पाँच पुत्रहरू र उनीहरूकी रानीको रुपमा अयोनिजा विश्व सुन्दरी पनि कारकका रुपमा हुने थाहा पाउँथे तर भन्दैनथे।

पाण्डुको निधनपछि ऋषिहरूले भनेका पनि थिए, अति विद्वान र विवेकी राजा पाण्डुको गिदी जसले खान्छ, ऊ उनीजस्तै विद्वान र दूरदर्शी हुनेछ। सहदेव साना थिए, उनले घिन नमानी पाण्डुको गिदी सबै सपासप खाएका थिए। त्यसैले सहदेव सबै भाइभन्दा विद्वान र त्रिकालदर्शी थिए भन्ने मानिएको हो।

पाण्डुको अल्पायुमा मृत्यु हुनु पनि भावी दिनमा युद्धको तयारी थियो। त्यसैले उनी त्यसको तयारी भने गरिरहन्थे। उनलाई आफ्ना दाजु धृतराष्ट्रको कुण्ठा थाहा थियो। दाजु धृतराष्ट्रको रिस भौतिक पिता वेदव्यास, कुरुवंश शिरोमणि देवब्रत, राजमाता सत्यवतीप्रति भुसको आगोझैँ भित्रभित्र  दनदन बलिरहेको थियो। दाजुले कुनै पनि बेला त्यो बदला लिन सक्नुहुन्छ भन्ने पाण्डुलाई थाहा थियो। कुरुवंशमा सन्तानको कमी भइरहेकाले महेश्वर शिवबाट १०० भाइ छोरा पाउने वरदान पाएकी, गान्धार नरेश सुबलपुत्री राजकुमारी गान्धारी विवाह गराउने पितामहको निर्णयसँग राजमाताको पनि अनुमति थियो।

सय भाइ छोराहरू हुनेछन् भन्ने कल्पनाले पनि धृतराष्ट्र पुलकित हुन्थे किनभने भाइको राज्यलाई कुनै पनि तरिकाले आफ्नो बनाउन त्यो जनबलले काम गर्न सक्थ्यो। भाइका छोरा छोरी नहुने हल्ला उनको कानमा पनि परेको थियो। त्यसैले आफूले विवाह गरेकी राजकुमारीले भने १०० जना छोरा पाउने वरदान शिवजीबाटै पाएकी पक्का हो भन्ने उनले सुनेकाले नै पितामहले सुवलकन्या विवाह गराएका थिए। हतारमा विवाह गराउनु पर्ने कारण त पाण्डुको विवाहका लागि हतार भएकाले दाजुको विवाह नगरी भाइको नगर्ने चलनले पनि हो। १०० जना छोरा पाउने कल्पनाले नै कुरुवंश पुलकित भएकै हो तर त्यो सुदूर भविष्यको लागि मिठो कल्पनामात्र थियो।

पाण्डुका लागि पनि भावी सन्तान आफ्नै पहिले जन्मियोस् भन्ने कल्पनाका लागि पनि एकान्त स्थानको खोजी भएको हुनुपर्थ्यो। त्यसैले कुन्तीलाई जानकारी नै नदिई माद्री विवाह गर्नुमा दुईवटा कारणहरू थिए होलान्—एउटा आफू बच्चा पाउन सक्षम छु भन्ने भ्रम दिई राख्न, अर्को जन्मसिद्ध विशेष ज्ञानका रुपमा दूरद्रष्टा भएकाले आफ्ना नियोगमार्फत् पाँचओटा छोराहरू पाउने जसमा कुन्तीबाट तीनओटा र माद्रीबाट दुईओटा छोरा पाउने। तर पाण्डुको त्यति चाँडो निधन हुने कल्पना न त माद्रीले गरेकी थिइन्, न त बडा महारानी कुन्तीले नै गरेकी थिइन्। कुन्तीले राजपाठमा हुने षडयन्त्रलाई नजिकैबाट देखेकीले कार्यबाहक राजाको भूमिकाबाट जेठाजु धृतराष्ट्रल सहजै राज्य हस्तान्तरण गर्ने कुरामा भने शङ्का थियो। यदि पाण्डु जीवित रहन्थे भने हस्तिनापुरको सुरक्षाको जिम्मा पिता शन्तनु र राजमाता सत्यवतीबाट लिएको भनेर सदैव आफ्नो कर्तव्य सम्झने भीष्म पितामहले सहजै सत्ता हस्तान्तरण गराउने कुरामा कुन्ती सचेत थिइन् र डर भने शकुनि दाइको बढी थियो जसले दरबारमा नयाँ गुटको सृजना गरेको भन्ने कुन्तीले बनमा नै सुनेकी थिइन्। ऋषिहरूसमेत राजनीतिको समीक्षा गरिरहेका हुन्थे।

शकुनिका बारेमा एउटा कहानी एक कान, दुई कान मैदान भएको थियो। भएको के रे भने सुबलकन्या गान्धारीको जन्ममा यस्तो ग्रह थियो कि उनले विवाह गरेको पति छिटै मर्नेवाला थियो। एकातिर १०० वटा छोरा  पाउने वरदान, अर्कोतिर भने विवाहको केही समयमा नै उनको ग्रहले पतिको मृत्यु हुने। गान्धारमा यो कुरा हल्लामात्र रहेन, सबैको कानमा परेको सत्य थियो। त्यसका लागि राजकुमारसँग विवाह हुनुभन्दा पहिले विवाह गर्ने काम जरुरी थियो। ग्रहदशा निवारणका लागि एउटा बोकासँग उनको विवाह गरियो ख्यालख्यालमा। अनि बल्ल ग्रहदशा टरेको मानिएकोले हस्तिनापुरका जेठा राजकुमार, जो प्रज्ञाचक्षु थिए, धृतराष्ट्र, तीसँग विवाह भयो। विवाह भयो भन्नुभन्दा हस्तिनापुरले बाध्य पारेको थियो १०० पुत्र हुने कन्यासँग विवाह गर्न। विवाहका लागि राजकुमार स्वयंवरमा जानु त कता हो कता, उल्टै राजकुमारीलाई हस्तिनापुर ल्याएर विवाह गराइयोस् भन्ने आदेश गयो र महाराज सुबलले पनि आफ्नो गच्छे अनुसार विवाह गराए। जब धृतराष्ट्रले यो कुरा थाहा पाए कि मभन्दा पहिले अजासँग विवाह भएकी केटी पो मलाई पारेका रहेछन् भनेर। अनि गान्धारका सबै राजपरिवारका सदस्यहरूलाई कठोर कारागारको दण्ड दिइएको थियो। जम्मा एकमुठी चामलको भातमात्र दिइन्थ्यो। अरु परिवारका सदस्यहरूले नखाई नखाई शकुनिलाई सबै खाना खान दिएर बचाएका थिए। महाराज सुबलले आफ्नो अन्त्यकालमा भनेका रहेछन्—बाबु शकुनि, म मरेपछि तैँले मेरो नलीहाडबाट खेल्नका लागि पासा बनाउनु रङ्गीन तरिकाले। अनि त्यो पासा तेरो चाहना अनुसार पल्टने छ। त्यही पासामार्फत् यो धृतराष्ट्रको या कौरव वंशको सर्वनाश गरेस्। जबसम्म यो धृतराष्ट्रको वंश समाप्त हुँदैन, तैँले यो हस्तिनापुर पनि नछोडेस् र यिनीहरूको वंश विनाश भएपछि मात्र गान्धारको राज्याभिषेक गरेस्।

यो कुरा धेरैलाई थाहा हुने कुरा पनि भएन। शत्रुको शत्रु मित्र हुन्छ भन्ने कूटनीतिक चलन अनुसार शकुनिले यति धेरै विश्वास दिलायो कि धृतराष्ट्र र उनका छोराहरूलाई, कसैले पनि कुरुवंश विनाशका लागि शकुनि लागिरहेछन् भन्ने भान समेत पाएनन्। तर शकुनिलाई के थाहा थियो भने पाण्डवसँग श्रीकृष्ण छन्, जहाँ श्रीकृपण छन्, त्यहाँ धर्म छ, जहाँ धर्म छ पक्कै उसैको जित हुन्छ। अनि पाण्डवको जित हुनका लागि र कौरवको वंश नाश हुनका लागि युद्ध अपरिहार्य छ।

आफ्ना स्वर्गीय पितालाई दिएको वचन अनुसार शकुनिले आफ्ना विश्वासका व्यवहार मार्फत् जसरी हुन्छ कुरुवंशको नाशका लागि आफ्नो कूटनीतिक प्रयास जारी राखिरहे। शकुनिको मनोविज्ञान के थियो भने कतैबाट पनि युद्ध नहुने कुरा नआओस्। आउन थाले पनि त्यसको भाँजो हाल्नका लागि उनले दुर्योधनलाई बारम्बार झकझकाएका थिए कि भान्जा तिमीले युद्ध जित्ने भएकाले तिमीलाई हीनताबोध होस् भनेर भीष्म पितामह युद्ध नगर्ने तर पाण्डवहरूलाई बराबरीको अंशमात्र होइन, पाण्डुको राज्य यथावत् युधिष्ठिरलाई सुम्पनका लागि बाध्य पारिरहेका छन् है। दुर्योधनलाई पनि मामाको सल्लाह ठिकै लाग्थ्यो र कुनै पनि हालतमा पाण्डवहरूलाई इन्द्रप्रस्थ त के, राज्यको अंशको रुपमा सियोको टुप्पो बराबर पनि जमिन दिने कुरै छैन भनेर कड्किरहेको थियो।  दुर्योधनलाई पनि लाग्थ्यो कि यदि पाण्डवहरूले जिते भने हाम्रो के हालत हुनेछ? पाँचै भाइ आफैँमा शूरवीर छन्, विश्वमा उनीहरू बराबरीका योद्धा अरु छैनन्। दुर्योधनले यो पनि सोचेको थियो कि मेरा महारथीहरू मेरा लागि लड्दैछन् र उनीहरू युद्धबाट पलायन हुन पनि सक्छन् या पाण्डवतर्फ लाग्न पनि सक्छन् जस्तो कि वैश्यापुत्र युयुत्सु पाण्डवहरूको शिविरमा गयो पछि। नारायणी सेनाका कतिपय महारथीहरू पाण्डवतर्फबाट युद्ध गर्न चाहन्थे तर श्रीकृष्णको आदेशले कौरवका पक्षबाट लडिरहेका थिए। तर पाण्डवहरू आफ्नो राज्य फिर्ता लिन र आफैँ लडेर आफ्नो राज्य कायम गर्न चाहन्थे। अरुका लागि लड्ने र आफ्ना लागि लड्नेमा फरक त युधिष्ठिरलाई पनि थाहा थियो, दुर्योधनलाई पनि थाहा थियो, भीष्म पितामहलाई पनि थाहा थियो, गुरु द्रोणाचार्यलाई र कुलगुरु कृपाचार्यलाई पनि थाहा थियो। जतिसुकै कम सेना भए पनि पाण्डवहरूको विजय सुनिश्चित छ भन्ने कुरा भीष्म, द्रोणाचार्य, कृपाचार्य, शल्य सबैलाई थियो। स्वयं हस्तिनापर नरेश धृतराष्ट्रलाई पनि विजय त युधिष्ठिरकै हुन्छ तर लडेर आफ्नो राज्य सुरक्षित राख्नु क्षत्रिय धर्म हो भन्ने परम्परागत क्षत्रिय धर्मको बहाना मिलेको थियो। जिते स्वर्गपुरीको राज, मरे चपरी मुनिको बास। अर्थात् युद्ध जिते हस्तिनापुर सबै आफ्नै हुने, हारे या मरे वीर गतिको लागि स्वर्ग त पाइने पाइने। क्रमशः

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link