स्पेनमा भयानक उच्च-गति रेल दुर्घटना: कम्तीमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

मध्य स्पेनमा दुई वटा उच्च-गतिका (हाइ-स्पिड) रेलहरू आपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी मानिस घाइते भएका छन्। म्याड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल लिकमा रोकिएर बसेको अर्को रेलसँग भीषण रूपमा ठोक्किँदा यो दर्दनाक दुर्घटना भएको हो।

स्पेनका यातायात मन्त्री ओस्कर पुएन्तेका अनुसार प्राविधिक तथा कम्प्युटर प्रणालीमा आएको खराबीपछि ट्राफिक कन्ट्रोल रुमबाट भएको “अस्पष्ट” मानवीय त्रुटिका कारण दुर्घटना भएको हो। निजी रेल कम्पनी ‘इरियो’ द्वारा सञ्चालित १४७ जना यात्रु बोकेको रेल कम्प्युटर प्रणालीमा समस्या आएपछि लिकमा रोकिएको थियो।

उक्त समयमा म्याड्रिडस्थित २४ घण्टै सक्रिय रहने नियन्त्रण कक्षले जिम्मेवारी सम्हालेको भए पनि कुनै गति सीमा तोक्दिनुपर्नेमा रेललाई पुनः अगाडि बढ्ने निर्देशन दिएपछि पछाडिबाट आइरहेको स्पेनको सरकारी स्वामित्वको ‘रेन्फे’ कम्पनीको रेलले इरियोको रेललाई जोडले ठक्कर दिएको थियो। रेन्फेको रेलमा ३९७ जना यात्रु सवार थिए।

दुर्घटना यति शक्तिशाली थियो कि ठक्करपछि केही डिब्बाहरू लिकबाट खसेर भिरालो भाग (इम्ब्याङ्कमेन्ट) तिर खसेका थिए। एउटा डिब्बामा त मर्मत सम्भारको लिककै ठुलो फलामको टुक्राले छेडेर पार भएको थियो। प्रत्यक्षदर्शी तथा जीवित बचेका यात्रुहरूका अनुसार दुर्घटना लगत्तै रेलभित्र भाग दौड, यात्रुहरूको रुवाबासी र धुवाँको वातावरण सिर्जना भएको थियो। बाहिर निस्कन यात्रुहरूले झ्यालका सिसाहरू फुटाएका थिए भने कतिपय यात्रुहरू सिटको बिचमा थिचिएका थिए।

दुर्घटना स्थलमा दर्जनौँ एम्बुलेन्स, हेलिकप्टर र आपत्कालीन टोलीहरू खटिएका छन्। गम्भीर घाइतेहरूलाई हवाई उद्धार गरी अस्पताल पुर्‍याइएको छ। शवहरूको पहिचानका लागि आफन्तहरूबाट डिएनए (DNA) नमुना सङ्कलन भइरहेको स्पेनको सिभिल गार्डले जनाएको छ।

स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले दुर्घटना स्थलको भ्रमण गर्दै पूरै देश शोकमा डुबेको बताएका छन्। उनले घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएका छन्। घटनाको शोकमा देशका प्रायः सबै राजनीतिक दलहरूले आफ्ना चुनावी तथा औपचारिक कार्यक्रमहरू रद्द गरेका छन्।

यो दुर्घटना स्पेनको आधुनिक इतिहासकै सबैभन्दा घातक रेल दुर्घटनाहरूमध्ये एक मानिएको छ। यसअघि सन् २०१३ मा सान्टियागो डि कम्पोस्टेलामा भएको रेल दुर्घटनामा ८० जनाको ज्यान गएको थियो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link