अमेरिकी दबाबबीच क्यानाडाको संकेत: चिनियाँ अटो लगानी भित्र्याउन सकिन्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको व्यापार वार्ताबाट क्यानाडाको अटो उद्योगको संरक्षण सुनिश्चित नभए चीनसहित अन्य मुलुकका सवारीसाधन निर्माता कम्पनीसँग सहकार्य गर्न सकिने प्रधानमन्त्री मार्क कार्नीले बताएका छन्।

सोमबार कम्बोडियामा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकासँगको वार्ता आफ्नो प्राथमिकता भए पनि त्यसको परिणामले युरोपेली, चिनियाँ वा जापानी कम्पनीसँग सहकार्य गर्ने विकल्प तय गर्ने बताए। अमेरिकी व्यापार नीतिका कारण क्यानाडा, अमेरिका र मेक्सिकोबीचको एकीकृत अटो उद्योग प्रभावित भएको उनको भनाइ छ।

कार्नीका अनुसार क्यानाडामा हुने चिनियाँ लगानी आयातित पार्टपुर्जा जोडेर सवारीसाधन बनाउनेमा मात्र सीमित हुनुहुँदैन। क्यानाडामै उत्पादन केन्द्र, रोजगारी, उचित श्रम मापदण्ड र स्वदेशी आपूर्ति शृङ्खला विकास हुनुपर्छ। विद्युतीय सवारीसाधनमा प्रयोग हुने क्यानाडाका महत्त्वपूर्ण खनिजलाई पनि उत्पादनमा समेट्नुपर्ने उनले बताए।

गत जनवरीमा क्यानाडाले चिनियाँ विद्युतीय सवारीसाधनमा भन्सार शुल्क १०० प्रतिशतबाट घटाएर ६.१ प्रतिशत कायम गरेको थियो। सुरुमा वार्षिक ४९ हजार सवारीसाधन आयात गर्न दिने सहमतिअनुसार चीनले पनि क्यानाडाली क्यानोला लगायतका कृषि उत्पादनमा कर घटाउने प्रतिबद्धता जनाएको थियो। उक्त सम्झौताबाट चिनियाँ लगानी भित्र्याउन र रोजगारी सिर्जना गर्न सकिने कार्नीको अपेक्षा छ।

तर, ओन्टारियोका मुख्यमन्त्री डग फोर्डले चिनियाँ विद्युतीय सवारीसाधनलाई प्रवेश दिँदा क्यानाडाली रोजगारी र अमेरिकी बजारमा पहुँच जोखिममा पर्न सक्ने भन्दै सम्झौताको आलोचना गरेका छन्। अमेरिकी कम्पनी फोर्ड, जनरल मोटर्स र स्टेलान्टिसका कारखाना तीनवटै मुलुकमा छन् र तिनको उत्पादन सीमापार आपूर्ति शृङ्खलामा निर्भर छ।

ट्रम्पले क्यानाडाबाट उत्पादन अमेरिका सार्न अटो कम्पनीहरूलाई दबाब दिँदै आएका छन्। हालै स्टेलान्टिसले जीप कम्पासको उत्पादन ओन्टारियोबाट इलिनोइस सार्ने निर्णय गरेपछि क्यानाडाले कम्पनीविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएको छ।

यसै साता चीनको शेन्जेनमा राष्ट्रपति सी जिनपिङसँग हुने भेटमा पनि चिनियाँ अटो उद्योगबारे छलफल हुने अपेक्षा गरिएको छ। कार्नीले शनिबार ट्रम्प र अमेरिकी उच्च अधिकारीहरूसँग व्यापार सम्झौताबारे प्रगति भएको तर केही मतभेद बाँकी रहेको बताएका थिए।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link