करिब २४ घण्टाको विश्वव्यापी अवरोधपछि माइक्रोसफ्टद्वारा ‘गहिरो क्षमा याचना’, साइबर आक्रमणको आशङ्का अस्वीकार

विश्व प्रसिद्ध प्रविधि कम्पनी माइक्रोसफ्टका विभिन्न अनलाइन सेवाहरूमा झन्डै २४ घण्टासम्म देखिएको विश्वव्यापी अवरोधपछि कम्पनीले आफ्ना प्रयोगकर्ता तथा साझेदारहरूसँग ‘गहिरो क्षमा याचना’ मागेको छ। बिहीबार साँझदेखि सुरु भई शुक्रबार रातिसम्म लम्बिएको उक्त प्राविधिक समस्याका कारण विश्वभरका करोडौँ प्रयोगकर्ताहरू प्रत्यक्ष प्रभावित भएका थिए। सेवाहरू क्रमशः पुनः सञ्चालनमा आएसँगै माइक्रोसफ्टले एक औपचारिक विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको हो।

बिहीबार साँझ करिब ६ बजे (जीएमटी) बाट माइक्रोसफ्ट ३६५ अन्तर्गतका प्रमुख सेवाहरू— आउटलुक, माइक्रोसफ्ट टिम्स, कोपाइलट, एक्सचेन्ज अनलाइन र वनड्राइभमा एक्कासि समस्या देखिन थालेको थियो। आउटेज ट्र्याक गर्ने वेबसाइट ‘डाउनडिटेक्टर’ का अनुसार समस्या सुरु भएको एक घण्टाभित्रै अमेरिका, युरोप र एसियासहित कम्तीमा ७४ देश तथा क्षेत्रबाट लाखौँ प्रयोगकर्ताले सेवा अवरुद्ध भएको गुनासो गरेका थिए।

सुरुवाती चरणमा अत्यधिक ट्राफिक लोडका कारण समस्या आएको अनुमान गरिए पनि पछि कम्पनीका सर्भरहरू नै अफलाइन हुन थालेका थिए। एउटा सर्भर बन्द हुँदा त्यसको भार बाँकी चलिरहेका सर्भरहरूमा पर्न गई प्रणाली नै अत्यधिक चापमा परेको र जसका कारण पुनः सञ्चालन प्रयाससमेत पटक–पटक विफल भएको माइक्रोसफ्टले जनाएको छ।

लगातारको अवरोधपछि सामाजिक सञ्जालमा यो कुनै ठुलो साइबर आक्रमण वा एआई (AI) प्रणालीको गडबडीका कारण भएको हुनसक्ने आशङ्का गरिएको थियो। तर, माइक्रोसफ्टले उक्त आकलनलाई पूर्ण रूपमा खारेज गरेको छ। कम्पनीले विज्ञप्तिमा भनेको छ, “यो कुनै साइबर आक्रमण वा एआईसँग सम्बन्धित घटना होइन, बरु विशुद्ध प्राविधिक समस्या हो।” अघिल्लो नेटवर्क क्षमता स्तरोन्नति (नेटवर्क अपग्रेड) का क्रममा रहेको प्राविधिक त्रुटि पछि नेटवर्क परिवर्तन गर्दा सतहमा आएकाले यस्तो जटिल समस्या निम्तिएको प्रारम्भिक विवरणमा उल्लेख छ।

माइक्रोसफ्टले लेखेको छ, “यस घटनाले हाम्रा ग्राहक र साझेदारहरूमा पारेको असुविधाप्रति हामी गहिरो क्षमाप्रार्थी छौँ। हाम्रा सेवाहरूमाथि तपाईँहरूले गर्नुभएको विश्वासप्रति हामी अत्यन्त संवेदनशील छौँ। अहिले सेवाहरूमा व्यापक सुधार र स्थिरता देखिएको छ।”

यो आउटेजलाई पछिल्ला वर्षहरूकै सबैभन्दा लामो र व्यापक प्रविधि अवरोधमध्ये एक मानिएको छ। शोध संस्थाहरूका अनुसार शुक्रबार एकै दिन विश्वभरका करिब ५ करोड १० लाखभन्दा बढी कामकाजी प्रयोगकर्ताको दैनिक कार्यसम्पादनमा प्रत्यक्ष बाधा पुगेको थियो।

इमेल तथा आन्तरिक सञ्चार प्रणाली ठप्प हुँदा विश्वका विभिन्न वायुसेवा कम्पनीहरूको सेवा प्रभावित भयो। भारतका प्रमुख वायुसेवा कम्पनी इन्डिगो र अकासा एयरले ग्राहक सेवा इमेल प्रभावित भएको भन्दै यात्रुहरूका लागि विशेष सूचना नै जारी गर्नुपर्‍यो। त्यस्तै, न्युजिल्यान्डको अध्यागमन विभाग (इमिग्रेसन न्युजिल्यान्ड) ले प्रणाली नचलेपछि सबै प्रकारका भिसा आवेदन प्रक्रिया अस्थायी रूपमा स्थगित गर्नुपरेको थियो।

यस्तै बेलायत, अस्ट्रेलिया, दक्षिण कोरिया र अमेरिकाका कैयौँ अस्पताल, शिक्षण संस्था, प्रहरी निकाय तथा सरकारी कार्यालयहरूको दैनिक कामकाज नराम्ररी प्रभावित भयो। बेलायतका स्वास्थ्य केन्द्र तथा सार्वजनिक सेवाहरूमा इमेल आदानप्रदान रोकिँदा सेवाग्राहीले सास्ती बेहोर्नुपर्‍यो।

माइक्रोसफ्टको कोपाइलट मात्र नभई ओपनएआई र एन्थ्रोपिकजस्ता अन्य एआई कम्पनीका ‘माइक्रोसफ्ट ३६५ कनेक्टर’ हरूमा समेत समस्या देखिएको थियो। लन्डन, न्यु योर्क र सोलका वित्तीय तथा कर्पोरेट कार्यालयहरूमा दिनभरजसो कामकाज ठप्पजस्तै बन्यो।

माइक्रोसफ्टका अनुसार अत्यधिक मागका कारण प्रणालीमा पुनः चाप नपरोस् भन्नका लागि चरणबद्ध रूपमा स्थिरता परीक्षण गर्दै सेवा सुचारु गरिएको हो। कम्पनीले आन्तरिक समीक्षा पूरा भएपछि घटनाको विस्तृत प्राविधिक प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ। यस घटनाले विश्वका ठुला संस्था र सरकारहरूको सीमित प्रविधि कम्पनीप्रतिको अत्यधिक निर्भरतामाथि पुनः गम्भीर प्रश्न उठाएको प्रविधि विश्लेषकहरूले बताएका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link