बाँकेको राप्तीसोनारी गाउँपालिकाका भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई बुधबार जग्गाधनी पुर्जा वितरण गरिएको छ। राप्ती सोनारी गाउँपालिका–४, बैजापुरका १० घर परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो।
जिल्ला भूमि समस्या समाधान समिति बाँकेको आयोजना तथा राप्ती सोनारी गाउँपालिकाको सहयोग र सहकार्यमा जिल्लाको बैजापुरमा आयोजित कार्यक्रममा लामो समयदेखि जग्गाधनी प्रमाणपुर्जाको पर्खाइमा रहेका परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको थियो।
सो अवसरमा बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सुरेशकुमार चौधरीले वर्तमान सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि अध्यादेशमार्फत कानुन संशोधन गरेर काम अगाडि बढाएको बताए। वर्तमान सरकारले आफ्नो कार्यकालमा सबै भूमिहीन तथा सुकुम्वासीलाई जग्गा वितरण गर्ने योजना बनाएको उनले जानकारी दिए।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन स्थानीय सरकारले सङ्घीय सरकारलाई सहयोग गर्दै आएको उल्लेख गरे।
समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बाँकेका आठ वटै स्थानीय तहमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई प्राथमिकतामा राखेर लालपुर्जा वितरण गरिएको बताए।
राप्तीसोनारी गाउँपालिका–४ का वडाध्यक्ष मीनराज खड्काका अनुसार जग्गाधनीपुर्जा प्राप्त गर्ने सबै स्थानीय हुन्। जग्गाधनी पुर्जा प्राप्त भएपछि वर्षौंदेखि भूमिहीन अवस्थामा रहेका परिवारले आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्। यसले उहाँहरूलाई सुरक्षित बसोबासको आधार तयार गर्नाका साथै राज्यबाट प्राप्त हुने विभिन्न सेवा तथा सुविधामा पहुँच स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- एलिसा कार्सन र मङ्गल यात्रा: भ्रम र यथार्थ
- एनपीएल २०२६: कामिल मिश्राको कीर्तिमानी शतकमा चितवन राइनोज क्वालिफायर–२ मा, काठमाडौँ बाहिरियो
- आजको मौसम: तराईमा हुस्सु र तुवाँलो, कोशी र मधेसमा आंशिक बदली
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- दुई तिहाइ बहुमत सरकारको चार महिना : राजस्व सङ्कलनमा सुधार, विकास खर्च साढे सात प्रतिशतमा सीमित
- १८ वर्षको परदेश बसाइपछि गाउँमै लोभलाग्दो पशुपालन
- कोप–३१: जलवायु वित्तको लक्ष्यमा ध्रुवीकरण, विकसित र विकासशील देश आ-आफ्नै अडानमा
- एनपीएल २०२६: पहिलो प्लेअफमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा प्रवेश
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम: पहाडमा आंशिक बदली, तराई र उपत्यकामा हुस्सुको प्रभाव