छयासी वर्षको उमेरमा आफ्नी जीवनसंगिनीको स्वर्गारोहण भएपछि एकजना वृद्ध भावविह्वल हुनुहुथ्यो। उहाँका ६ भाइ छोरा, बुहारी र नाति नातिनाहरू भएको ठूलो परिवार थियो। आमाको निधन भएपछि छोराहरूसहितका परिवारजनले आफ्नो रीति परम्परा अनुसार काजक्रियाको कर्म सके र बुबालाई सोधे – ‘अब तपाईं कहाँ, को (कुन छोरा /बुहारी ?) सँग बस्नुहुन्छ त ? वृद्ध बुबाले आँखाभरि बरर आँसु झारेर सबै छोरा, बुहारीतिर हेर्नुभयो र भन्नुभयो– ‘पख, म मेरो मनलाई सोध्छु, अनि भनुँला।’ आखिर मन के हो ? जससँग ती वृद्ध बुबाले सोध्छु भन्नुहुन्छ।
मन के हो ?
नेपाली शब्दकोषका अनुसार –“मन भनेको प्राणीहरूको अनुभव, इच्छा, बोध, विचार संकल्प, विकल्प आदिलाई नियन्त्रित वा परिचालित गर्ने अन्तस्करणको अंश वा वृत्ति हो।” यसलाई आन्तरिक इन्द्रिय अन्त:करण, चित्त, दिल, हृदय पनि भनिएको छ।
मन सबैको साथी हो। हामी पनि कहिले मनसँग कुरा गर्दछौं, यसैलाई सोध्दछौं, कहिले सम्झाउछौं। मन भौतिक वा दृश्यमान वस्तु होइन। मन कहाँ हुन्छ भन्ने देख्न नसके पनि, भन्न नसके पनि, हामी जहाँ मुटु छ त्यहीँ मन छ भन्ने भावले ‘यहाँ छ’ भनेर मुटु रहेको ठाउँमा देखाउने गर्छौं। सायद मन र दिमागको नजिकको सम्बन्ध पनि छ, त्यसैले मनमा आएका कुरा दिमागमा रहेका हुनसक्छन्।
मानिस वा प्राणीमा रहेको दु:ख, सुख, दया माया आदिको संवेगलाई पनि मन नै हो भनिन्छ। मन शरीरभित्रको अदृश्य भाग हो। जहाँबाट विचार उत्पन्न हुन्छ। मन भावना पनि होे। यही मनको प्रकृति वा भनौ स्वभावले गर्दा मानिसलगायत हरेक प्राणीहरूमा क्रिया प्रतिक्रिया हुन्छ, अनि त्यही मन अनुसारकै स्वभावहरू बन्दछन्।
मनका अनेक अवस्था
मनको व्याख्या गर्न त्यत्ति सजिलो छैन। भनिन्छ– यसका अनेक अवस्था छन्। पूर्वीय दर्शनले जाग्रत, स्वप्न र सुषुप्त गरी मनका तीन अवस्था बताएको छ। उता सुप्रसिद्ध मनोविज्ञानवेत्ता सिगमण्ड फ्रायड पनि मनलाई तीन भागमा बाँडेका छन्। उनका अनुसार मनका तीन अवस्था सचेतन, अचेतन र अर्धचेतन हुन्छन्।
कालक्रमका विभिन्न अवस्था र अनुभूतिले गर्दा हाम्रो मनले छिन छिनमा स्वभावहरू परिवर्तन गरिरहन्छ। यो परिवर्तित मनले हाम्रो व्यवहारलाई निर्देशित गर्दछ। त्यसैले हामी उही व्यक्ति कहिले दुखी हुन्छौं, कहिले सुखी हुन्छौं, कहिले कठोर त कहिले कोमल पनि हुन्छौं।
सचेतन भनेको सक्रिय वा जागरुक मनको अवस्था हो। हामीले गर्ने हरेक कार्य चेतन मनबाट गरिन्छन्। यो मनलाई बायाँ मष्तिष्कसँग सम्बन्धित हुन्छ भनिन्छ। अचेतन मन व्यक्तिलाई जानकारी नहुने, ज्ञान र होस नभएको वा थाहै नपाइने अवस्था हो। अर्धचेतन पूर्णरूपले चेतन पनि नभएको र पूरै मात्रामा बेहोस पनि नभएको, आधा लठ्ठिएको जस्तो अवस्था हो।
मनले गर्ने अनुभूतिका आधारमा मनका विभिन्न स्वभावहरू बनेका हुन्छन्। मन ऊर्जावान् छ र वेगवान् पनि। महाभारतको ‘यक्ष युधिष्ठिर संवाद’मा यक्षले वायुको भन्दा पनि तीव्र गति केको छ ? भनेर प्रश्न गर्दा युधिष्ठिर जवाफ दिन्छन्– ‘मन’ को छ।
मन यसले गर्ने अनुभूतिको आधारमा कहिले रुन्छ, कहिले हाँस्छ। कहिले भाँचिन्छ, फाट्छ। कहिले बरालिन्छ, भङ्ग्रालिन्छ, कहिले बहकिन्छ, भड्किन्छ। मनमा कहिले आगो बल्छ, अनि कहिले यो शीतल हुन्छ। यही मन कहिले ढुङ्गो जस्तो कडा हुन्छ, अनि कहिले नौनीजस्तो कमलो। कहिले मन आफैं पलाउँछ, अनि कहिले आफंै बिलाउँछ। यही मनमा नानाथरिका कुराहरू खेल्छन्, अनि यही मनमा अनेक कुराहरू लुक्छन्, लुकाइन्छन्। मनका यस्तै विविध स्वरूपहरूलाई अँगाल्दै, छिचोल्दै, हाम्रो समय बित्छ र हामी जीवनका यात्राहरूलाई अघि बढाउछौं, बढाइरहन्छौं।
कालक्रमका विभिन्न अवस्था र अनुभूतिले गर्दा हाम्रो मनले छिन छिनमा/बेला बेलामा स्वभावहरू परिवर्तन गरिरहन्छ। यो परिवर्तित मनले हाम्रो व्यवहारलाई निर्देशित गर्दछ। त्यसैले हामी उही व्यक्ति कहिले दुखी हुन्छौं, कहिले सुखी हुन्छौं, कहिले कठोर त कहिले कोमल पनि हुन्छौं।
छिटो छिटो परिवर्तित भइरहने मनको यही ‘अन्/अफ्’को स्वभावले गर्दा हामीलाई कतिपय लक्ष्यहरू, सपनाहरू पूरा गर्न गाह्रो, असजिलो भैरहेको हुन्छ। त्यसैले हामी ‘आजैदेखि म यो सुरु गर्छु वा यो गर्दिन, यो लिन्छु वा यो त्याग गर्छु’ आदि इत्यादि संकल्प र अठोटहरू गरिरहन्छौं। त्यस्ता संकल्पमध्ये कुनै भत्किन्छन्, र फेरि बनाइन्छन्, यो क्रम निरन्तर चलिरहेको हुन्छ।
भगवान कृष्णले श्रीमद्भागवद् गीतामा अर्र्जुनलाई ज्ञानोपदेश दिने क्रममा पनि मनलाई बन्धन र मोक्षको अर्थात् दु:ख र सुखको कारण हो भनेका छन्– ‘मन एव मनुष्याणां कारणं बन्धमोक्षयो:।‘ ‘बन्धन’ भनेर कृष्णले सांसारिक जीवनका कष्टपूर्ण भोगाइहरू र ‘मोक्ष’ भनेर परम् सुख शान्तिको अनुभूति अर्थात् परम्पदलाई सङ्केत गरेका छन्।
मन र अनुभूति
मनले अनुभव गर्ने कार्य वा क्रिया अनुभूति हो। त्यहाँ आनन्द, पीडा संवेदना आदि जस्ता भाव हुन्छन्। यथार्थमा मन खुशी हुँँदा जीवन रमाइलो हुन्छ र मन दुखी हुँदा जीवन निरस अनि पट्यार लाग्दो।
बुद्धले पनि मनलाई दु:ख वा सुख दुवैको कारण भनेका छन्। त्यसैले जीवनमा मनलाई खुशी बनाउनु पर्दछ। खुशी हुने उपायहरू खोज्नुपर्दछ, किनकी मनलाई जीवनको सर्वोत्कृष्ट उपहार पनि भनिएको छ। यो सर्वशक्तिमान पनि छ। त्यसैले यसलाई दोष मात्र दिनु हुँदैन, बरु यसका गुणहरूको पारख र तिनको अवलम्वन गर्नुपर्दछ।
मन जीवनको मार्गदर्शक पनि हो। मानिसको व्यवहारमा मनको प्रत्यक्ष प्रभाव हुन्छ। मन जस्तो हुन्छ, व्यवहार उस्तै नै हुन्छ। हाम्रो धर्म शास्त्रले पनि मनले जे सोच्दछ, त्यही बोल्ने र त्यही व्यवहार गर्ने मानिस महात्मा हुन् भनेको छ। मनले एकथोक सोच्ने, मुखले अर्कैथोक बोल्ने र व्यवहारले अर्कै गर्ने दुरात्मा नै मानेको छ। यद्यपि हाम्रो सोच भने असल, जीवनोपयोगी, सर्वजन हिताय र साश्वत हुनुपर्दछ। किनभने सद्भाव, समभाव, स्वच्छता, पवित्रता मनका सर्वोच्च अवस्था हुन्। तिनलाई विराट मन भन्न सकिन्छ। त्यसैले त महाभारतकै अर्को एक सन्दर्भमा महाराज युधिष्ठिर आफ्ना भाइहरूलाई उपदेश दिँदै भन्दछन्– ‘पवित्र मन नै सारा तीर्थभन्दा पवित्र छ।’ यथार्थमा मनको प्राकृतिक स्वरूप चाहिँ पवित्र नै हो। जहाँ घृणा, द्वेष, इर्ष्या, आग्रह, पूर्वाग्रह, अहंकार उच्चता, नीचता आदि जस्ता भावहरू हुँँदैनन्।
के हाम्राे मन द्वेष, ईर्ष्या आदि भाव नभएका पवित्र अनि संयमित (ठेगानमा रहेका) छ ? के त्यस्तो बनाउन जरुरी छ ? त्यस्तो बनाउन सकिन्छ त ? अहिलेको समयमा धेरै (प्राय: सबै?) मानिसका लागि यी अहं प्रश्न हुन्।
मनको नियन्त्रण
के हाम्राे मन द्वेष, ईर्ष्या आदि भाव नभएका पवित्र अनि संयमित (ठेगानमा रहेका) छ ? के त्यस्तो बनाउन जरुरी छ ? त्यस्तो बनाउन सकिन्छ त ? अहिलेको समयमा धेरै (प्राय: सबै ?) मानिसका लागि यी अहं प्रश्न हुन्।
महाभारतको ‘यक्ष युधिष्ठिर संवाद’ कै प्रसङ्गमा यक्षको– ‘कसलाई वशमा राखे दु:खी हुनु पर्दैन ? भन्ने प्रश्नको जवाफमा युधिष्ठिर भन्दछन् – मनलाई।’ निश्चय नै मनलाई वशमा राख्न, स्थिर बनाउन त्यति सजिलो भने छैन। गीतामा कृष्ण पनि अर्र्जुनलाई त्यसै भन्दछन्– ‘मन साह्रै, चञ्चल, बलवान् भएकाले यसलाई वशमा राख्नु वायुलाई रोक्नु जत्तिकै दुष्कर (गाह्रो) छ। (चञ्चलं हि मन: कृष्ण प्रमाथि…)। तर यो पनि सत्य हो कि, मन अत्यन्त चञ्चल, अस्थिर रहिरहँदा विभिन्न बाधा, व्यवधानहरू निम्तिइरहन सक्छन् र सुख शान्तिको अनुभव गर्न पनि सकिँदैन। त्यसैले जीवनलाई सफल र सार्थक बनाउन मनलाई पवित्र र स्थिर राख्नु, मनलाई जित्नु, यसलाई नियन्त्रण, अनुशासन र ठेगानमा राख्नु जरुरी देखिन्छ।
मनले अनुभव गर्ने कार्य वा क्रिया अनुभूति हो। त्यहाँ आनन्द, पीडा संवेदना आदि जस्ता भाव हुन्छन्। यथार्थमा मन खुशी हुँँदा जीवन रमाइलो हुन्छ र मन दुखी हुँदा जीवन निरस अनि पट्यार लाग्दो।
मनलाई संयमित अर्थात् ठेगानमा राख्ने उपाय
जसले असंगत/असंयमित व्यवहार गर्छ उसलाई हामी सजिलै भन्दछौं – ‘कस्तो मन ठेगान नभएको मान्छे ?’ असंगत व्यवहार गर्दा हामीलाई पनि कहिलेकाहीं कसैले त्यस्तै भन्दा हुन्। त्यसोभए, के मनलाई अत्यन्त चञ्चल हुनबाट रोक्न अर्थात् यसलाई सधैं संयमित वा ठेगानमा राख्न सकिदैन त ? अवश्य सकिन्छ तर यसका लागि तुरुन्तै रोग चट्टै निको पार्नेे कुनै निश्चित ट्याबलेट, क्याप्सुल आदिजस्तो औषधि भने पाइँदैन। अध्यात्मचिन्तकहरू, दार्शनिकहरू यसका विभिन्न उपायहरू बताउँदछन्। आत्मसंयम अर्थात् आफ्ना खराब इच्छाहरूलाई दबाएर नीतिसम्मत आचरण गर्ने कुरा नै मनलाई संयमित राख्ने र सबैले बताएका उपायहरूको सार भएको पाइन्छ। नियमित योग, ध्यान मनलाई ठेगानमा राख्ने प्रभावकारी माध्यमहरू मानिएका छन्। त्यसैले यसको नियमित अभ्यासले मनलाई संयमित राख्न मदत पुग्दछ।
भागवत् गीतामा बुद्धिलाई मन भन्दा माथिल्लो तहमा राखिएको छ र त्यसले मनलाई ठेगानमा राख्न सक्ने भाव व्यक्त गरिएको छ। हाम्रै जीवनजगतका सामान्य परिदृश्यलाई हेर्दा पनि विभिन्न धर्म, दर्शन, मान्यता आदिको धेरै अध्ययन, मनन, चिन्तन गर्ने विद्वान् मानिसहरू तुलनात्मकरूपमा बढी संयमित देखिन्छन्। यसबाट प्रष्ट हुन्छ कि, कुनै न कुनै असल कुराको अध्ययन र चिन्तन गरिरहँदा मनलाई ठेगानमा राख्न धेरै मदत पुग्दछ। त्यो त्यति असंभव र जटिल कार्य नभएकोले हामी पनि सजिलै त्यसो गर्न सक्दछौं। त्यसबाहेक, तत्काल भन्दा दीर्घकालीन सुखको अपेक्षा, अति महत्वाकाङ्क्षा र पश्चात्ताप भैरहने खालका कामहरूको निवृत्ति (समाप्ति), असल कामप्रतिको एकाग्रता/ निष्ठा, स्वस्थकर खानपान, सुख सुविधामात्र भन्दा पनि जीवनको वास्तविक अर्थ र अस्तित्वको खोजी गर्ने सोच आदि जस्ता कार्यहरू मनलाई संयममा राख्न मदत गर्ने र जीवनलाई सफल बनाउने अन्य प्रभावकारी उपायहरू हुन सक्दछन्। अत: यिनीहरूको अवलम्वन गरौं र मनलाई सधैं संयमित र सर्व शक्तिमान बनाऔं।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
विनोद अधिकारी का अन्य पोस्टहरु:
- अबको युग डिजिटल करेन्सीको, ठगिने कि जोगिने छनौट तपाइँको
- विदेश जानेको लर्को र विप्रेषणको प्रयोग
- त्यो मेरो बालापनको दसैं !
- पैसौले भन्छ: मलाई अहिले जतन गर, म तिमीलाई भविष्यमा खुसी दिन्छु
- विप्रेषणबाट समृद्धि प्राप्तिका लागि कस्तो कदम चाल्ने?
- पैसाको मूल्य बुझेकाले ऋण लिनु
- तपाईँ कति कमाउनु हुन्छ र कति जोगाउनु हुन्छ ?
- आर्थिक अवसरहरूको विकास र विस्तार गर्न सिकाउने माध्यम वित्तीय साक्षरता