पैसौले भन्छ: मलाई अहिले जतन गर, म तिमीलाई भविष्यमा खुसी दिन्छु

खर्च: अनावश्यक रत्ति नगर, आवश्यक भएजत्ति गर

विनोद अधिकारी

महाभारतमा कुबेरको एउटा कथा छ। उनलाई धनी मानिस भनेर चिनिन्छ। अहिले पनि सम्पन्न मानिसलाई प्रतीकात्मक अर्थमा ‘कुबेरै हो नि’ भन्ने चलन छ। राजसूय यज्ञ गर्ने मन भएपछि आफूसँग पर्याप्त धन नभएकोले एकपटक युधिष्ठिरले भाइ भीमसेनलाई कुबेरको घरमा पठाए। भीमसेन कुबेरको घरमा पुग्दा उनी औंलामा थुक लगाएर भुइँमा खसेका तोरीका गेडा टिप्दै थिए। यो देखेर भीमसेनलाई ‘यस्ता कञ्जुस छन्, के पैसा देलान्’भन्ने लाग्यो। कुबेरले भने मागेजति नै धन गाडामा राखेर लैजान दिए। केही पर पुगेपछि गाडा बाटोमा फस्यो। सबै मिलेर त्यसलाई धकेलेर गुडाउन प्रयास गरे तर केही लागेन। त्यहीबेला कुबेरले गाडाको पांग्रो धसिएको ठाउँमा बोराभरिको तोरी खन्याएर गाडा उतारे। भीमसेन औंलामा थुक लगाएर भुइँमा खसेका तोरीका गेडा टिप्ने कञ्जुस मानिसले यसरी बोराभरिको तोरी बाटोमा पोखेको देखेर अचम्मित भए। कुबेरले भने– “बाबु भीम ! अनावश्यक काममा एक गेडा पनि फाल्न हुन्न र आवश्यक परे बोराकै खन्याउन पनि गाह्रो मान्नु हुँदैन।” कुबेरको यो सन्दर्भ पैसा जोगाउने र पैसाको प्रयोग गर्ने कुरासँग ठ्याक्कै मिल्छ।

अहिले सबै मानिस दशैं, तिहार, छठ आदि चाडपर्वको संघारमा छौं। यी पर्वहरू आ–आफ्नै परम्परा अनुसार सबैले मनाउँदै आएका छन्। लामो बिदा, घुमघाम, खुशी रमाइलो, मोजमस्ती सबै यी चाडसँग जोडिएका छन् र यो बेलामा पैसाको अधिकतम प्रयोग, परिचालन हुन्छ। नियमित तलब लिने कर्मचारी, कामदार आदि सबैलाई यो बेला एक महिनाको तलब बराबरको थप खर्च (दशैं पेस्की भनेर) दिने चलन पनि छ। अधिक कारोबार वा खर्च हुने भएकाले यी चाडहरू पैसासँग प्रत्यक्ष जोडिएका छन्। पैसाको मामलामा आवश्यक नहुँदा मुठ्ठी कस्ने र आवश्यक परेको बखत निर्धक्क मुठ्ठी फुकाउने कुबेरको बानीलाई यो चाडबाडको समयले सम्झाउँछ। त्यसैले पनि यो बेला पैसाको प्रयोग सम्बन्धी निम्न केही कुराहरूको जानकारी हुनु र केही कुराहरूको पालना गर्नु सबै मानिसको लागि अति जरूरी देखिन्छ।  जस्तै:

आम्दानी खर्चको योजना (बजेट) बनाएर मात्र खर्च गर्ने

आम्दानी खर्चको अनुमानित विवरण बजेट हो। यसले निश्चित समयमा कहाँ–कहाँबाट कति कति आम्दानी हुन्छ र त्यो कहाँ कहाँ कति–कति खर्च हुन्छ भन्ने जानकारी दिन्छ। आवश्यकताको आधारमा खर्चको प्राथकिमता निर्धारण गर्न र सोही अनुसार खर्च गर्न यसले सहयोग गर्दछ। अवस्था अनुसार मुठ्ठी कस्न अर्थात् खर्चमा अनुशासन कायम गर्न पनि यसले सिकाउँछ। त्यसैले आफूले यो बेला परिवारमा दशैंको पेश्कीसहित अन्य कहाँ कहाँबाट कति कति पैसा आउँछ र गर्नैपर्ने खर्चहरू के के हुन्छन् त्यसको राम्रो विचार वा योजना गरेर मात्र खर्च गर्नु पर्दछ।

सामान्यतया ‘दशैैमा गरौंला, दशैंमा किनौला, दशैंमा तिरौंला, दशैंमा जाऔंला’ भन्नेजस्ता थुप्रै योजनाहरू हरेक परिवारका हुन्छन्। यी सबैका लागि पैसा नै चाहिन्छ। नयाँ नयाँ लुगा कपडाहरू, फर्निचरहरू, सवारी साधनहरू किन्ने, मिठा–मिठा खानेकुराहरू खाने यो समयको प्राथमिकतामा पर्ने कुराहरू हुन्। परिवारमा पनि यो बेला उमेर, अवस्था, आवश्यकता, चाहना अनुसारका फरक–फरक मागहरू हुने गर्दछन्।

यी सबैलाई पूरा गर्न आवश्यक पर्ने पर्याप्त पैसा नपुग हुन पनि सक्दछ। त्यस्तो अवस्थामा परिवारका सबै सदस्यसँगै बसी बजेट बनाएर खर्च गर्ने बानी गर्दा परिवारको वित्तीय व्यवस्थापन गर्न अझ धेरै सजिलो हुन्छ। कतैबाट ऋण वा सापटी लिनैपर्ने  भयो भने पनि कहाँबाट कसरी लिने भन्ने निर्णय गर्न पनि सजिलो हुन्छ।

सामान्यतया पुगेको अवस्थामा पनि बजेट बनाएर खर्च गर्ने बानीले भविष्यको लागि बचत बढाउन सहयोग गर्दछ। यसले आम्दानी खर्चमा पारदर्शिता कायम हुने हुँदा पैसाको मामलामा पारिवारिक सुझबुझ अनि विश्वास कायम हुन्छ र ‘मैले भनेको कुरा पाइन’ भन्ने गुनासो, ‘मैले चोहेको कुराको व्यवस्था मिलाइदिन सकिन’ भन्ने चिन्ताको अवस्था सिर्जना हुन पाउँदैन।

अहिले हामीले पैसा जोगाए, जतन गरे भविष्यमा पैसाले पनि हामीलाई जतन गर्ने छ, खुशी दिने छ। त्यसैले चाड पर्व (र अरु वेला पनि ) देखासिखीमा होइन आवश्यकताको आधारमा मात्र खर्च गर्ने बानी गरौं, भावनामा बहकिएर होइन सोचेर, योजना गरेर मात्र खर्च गर्न सिकौं, वर्तमानको रमाइलो मात्र होइन भविष्यको खुसीलाई पनि विचार गरी पैसाको प्रयोग गर्न सकौं।

दु:ख, सुख, झगडा शान्ति, तनाव, प्रसन्नता आदि सबैको मूलकारण पैसा (वित्त) नै हो। पैसा भए र यसको सही सदुपयोग भए सुख शान्ति प्रसन्नता सबै मिल्छ र पैसा नभए  वा यसको सही सदुपयोग नभए दु:ख, झगडा, तनाव सबै निम्तिन्छन्। ‘वित्तं सर्व साधनम् उच्यते’ अर्थात् पैसा नै  सबैथोक पाउने माध्यम हो भन्नुको तात्पर्य पनि यही नै हो। पैसाको मामलामा ‘जस्तो पर्ला त्यस्तै टर्ला, जसरी आउँछ त्यसरी नै जान्छ’ भन्ने जस्तो हल्का सोच राख्नु बुद्धिमानी होइन। यस्तो सोचले दिन त जसोतजो बित्लान् तर सुखी र समृद्ध भविष्य संभव छैन। त्यसैले यो बेलामा आम्दानी खर्चको राम्रो योजना बनाऔं, पैसाको सही व्यवस्थापन गरौं, ताकि केही दिनको रमाइलो, मोजमस्तीको चाड, दशैं वर्षभरिको लागि तनाब दिने दशा नबनोस्।

पैसा बचाउने, ऋण घटाउने

दशैं तिहार आदि चाडको यो बेला दशैं खर्च समेत गर्दा आम्दानी डब्बल हुन्छ। डब्बल  आम्दानी भएपछि खर्च पनि डब्बल नै गर्नुपर्दछ भन्ने छैन। चाहना र रहरको सीमा पनि हुँदैन। मुख्य कुरा आफ्नो आवश्यकता र खर्च गर्ने क्षमता कत्तिको छ त्यो हो। ‘घाँटी हेरी हाड निल्ने’ भनेजस्तै आफ्नो आम्दानी र आवश्यकता अनुसार मात्र खर्च गर्नुपर्दछ। आम्दानी बढी भएको बेला बचत पनि केही बढाउनु पर्छ भन्ने सोच राख्नुपर्दछ। तिर्नुपर्ने ऋण भए त्यसको बोझ अलिकति भए  पनि कम होस् भन्नुपर्दछ। नियमित आम्दानी नभएको अवस्था हो भने अति आवश्यकबाहेक तडकभडक र मोजमस्तीकै लागि कहीं कतैबाट अधिक ऋण वा सापटी लिन पनि हुँदैन। यसले सँधैका लागि तनाव सिर्जना गर्दछ।

मनलाई नियममा बाँध्न सक्नु अनुशासन हो। सुखी र समृद्ध भविष्यको चाहना गर्नेले अन्य कुराको साथै पैसाको मामलामा पनि मन बाँध्न सक्नैपर्दछ। यसैलाई वित्तीय अनुशासन भन्दछन् र वित्तीय सम्पन्नता हासिल गर्ने बाटो पनि यही नै हो। अहिले वित्तीय कारोबारमा विद्युतीय विधिको प्रयोग बढ्दै गएको छ। फोन पे, एटीएम्, क्युआरकोड आदिले नगदको कारोबारलाई सजिलो बनाएको त छ तर साथसाथै अनावश्यक खर्च बढ्न सक्ने चुनौति पनि थपिदिएको छ। अहिले ‘पैसा साथमा राख्न बिर्सिएछ’, ‘आज पैसा कम छ त्यसैले खर्च गर्न मिलेन’ आदि केही भन्नै पर्दैन। विद्युतीय बैंकिङका केही सीमा छन् तथापि आफ्नो पैसाको ढुकुटी जतिबेला आँफैसँग छ, अनि मन खोलिदिए भयो, जति परे पनि खर्च गरिदिए भयो। यस्तो अवस्थाले न बचत बढाउन न ऋण घटाउन नै मदत  गर्दछ। त्यसैले यो चाडपर्वको बेलामा (र सँधै पनि) साथमै पैसा (एटीएम कार्ड, फोन पे आदि) छँदैछ भनेर सोच्दै नसोची जथाभावी खर्च गर्न हुँदैन, मन बाँध्न सक्नुपर्दछ।

पैसाको मामलामा ‘जस्तो पर्ला त्यस्तै टर्ला, जसरी आउँछ त्यसरी नै जान्छ’ भन्ने जस्तो हल्का सोच राख्नु बुद्धिमानी होइन। यस्तो सोचले दिन त जसोतजो बित्लान् तर सुखी र समृद्ध भविष्य संभव छैन।

नोटको जतन गर्ने

दशैं जस्ता चाडबाडको बेला नेपालको अर्थतन्त्र धेरै चलायमान हुन्छ। किनमेल पनि यही बेला नै बढी हुन्छ। पैसाको कारोबारमा विद्युतीय विधिहरूको प्रयोग बढ्दै गएको भए पनि अझै नोट तथा सिक्काको प्रयोग धेरै नै छ। झन् यस्तो बेला दान, दक्षिणा आदिमा सिक्का तथा नोटहरूकै बढी प्रयोग हुने गर्दछ। अझ टीकाटाला, दान दक्षिणामा नयाँ सिक्का तथा नोटहरू दिने लिने प्रचलन छ। यसै अवस्थालाई विचार गरी नेपाल राष्ट्र बैंकले वर्षेनी अरबौं रूपैया खर्च गरी नयाँ नोटहरू छाप्दछ। रूपैयाँ ५, १०, २०, ५० दरका प्रतिएक नोट छाप्न औसत १ रूपैयाँ ६५ पैसा र ५००, १००० का प्रतिएक नोट छाप्न औसत २ रूपैयाँ ६५ पैसा लाग्ने बताइन्छ। यसरी छापिएका नोटहरू मध्ये ५०० र १००० दरका नोटहरू सामान्यतया ६ वर्ष र ती भन्दा साना दरका नोटहरू २/३ वर्ष टिक्दछन् भनिन्छ तर तिनलाई जतन गरी प्रयोग गरियो भने निश्चय नै धेरै वर्षसम्म टिक्दछन्। यसबाट देशको वर्षेनी नोट छाप्नुपर्ने खर्च बचत हुन्छ। त्यसैले नोटको जतन गर्ने कुरामा पनि धेरै ध्यान दिनु पर्दछ।

नोट वा सिक्का आफ्नो देशको पहिचान हो, चिनारी हो। नोटहरूमा हाम्रा देशका ऐतिहासिक, धार्मिक,  सांस्कृतिक आदि सम्पदाहरूका चित्रहरू हुन्छन्। यी राष्ट्रका गौरव हुन्। यीनको सम्मान गर्नु हाम्रो कर्तव्य हो। नयाँ नोट लिँदा मनमा खुशी पनि आउँछ। नोटमा केर्ने, पानी, अबिर आदि राख्ने, भिजाउने, स्टिच लगाउने कच्याककुचुक पार्ने, त्यात्ने जलाउने आदिजस्ता कामहरू असभ्य, गैह्र जिम्मेवार र गैह्र कानूनी कामहरू हुन्।  यस्ता नराम्रा कामहरू गर्दा प्रचलित कानून  अनुसार जरिवाना लाग्ने र कैद सजाय पनि हुने हुन्छ। त्यसैले आफूले यस्ता काम नगर्नु र अरूलाई पनि सचेत गराउनु हामी सबैको कर्तव्य हो।

अन्त्यमा, पैसासँग जीवन जोडिएको छ। अहिले हामीले पैसा जोगाए, जतन गरे भविष्यमा पैसाले पनि हामीलाई जतन गर्ने छ, खुशी दिने छ। त्यसैले चाड पर्व (र अरु वेला पनि ) देखासिखीमा होइन आवश्यकताको आधारमा मात्र खर्च गर्ने बानी गरौंं, भावनामा बहकिएर होइन सोचेर, योजना गरेर मात्र खर्च गर्न सिकौें, वर्तमानको रमाइलो मात्र होइन भविष्यको खुसीलाई पनि विचार गरी पैसाको प्रयोग गर्न सकौं। यसबाट सबै घरघरमा समृद्धि आउने, उज्यालो छाउने बाटो खुल्नेछ।  शुभकामना !

(लेखक अधिकारी वित्तीय साक्षरता स्रोतव्यक्ति हुनुहुन्छ ।)

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

विनोद अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link
Powered by Social Snap