वित्तीय व्यवस्थापनमा ठूलो भूमिका निर्वाह गर्ने मुख्य दुई पक्ष हुन्– बचत र ऋण। ऋणलाई कर्जा पनि भन्ने गरिन्छ। मानव सभ्यताको विकासक्रमसँगै एक अर्काका आवश्यकताहरू पूरा गर्न कुनै जिन्सी वस्तु तथा नगदको लेनदेन सुरु हुँदै आएको देखिन्छ। परम्परादेखि गरिँदै आएका नगदसम्बन्धी यस्तै लेनदेन, ऐंचोपैंचो, सरसापटका परिवर्तित अभ्यासहरूलाई नै पछिल्लो समयमा ऋण/कर्जा भन्ने गरिएको छ।
व्यवहारिक जीवनमा ऋण/कर्जा नलिने मानिस संभवत: कमै होलान्। आफ्ना आवश्यकताहरू पूरा गर्न आफूसँग भएको पैसाले नपुगेको अवस्थामा मानिसहरूले ऋण लिन्छन्। ऋण निश्चित शर्तहरूको आधारमा गरिने पैसा अर्थात् नगदको कारोबार हो। केही मानिसहरू आफ्ना साथीहरू, नातागोता, साहु महाजन आदि अनौपचारिक वित्तीय स्रोतहरूबाट ऋण लिन्छन् भने कोही मानिसहरू बैंक वित्तीय संस्थाजस्ता औपचारिक स्रोतहरूबाट ऋण लिने गर्दछन्।
ऋण आफ्नो वित्तीय आवश्यकताहरू र वित्तीय क्षमताका आधारमा लिइन्छ। ऋण लिनुका विभिन्न कारणहरू हुन्छन्। सामान्यतया उद्योग व्यवसाय सञ्चालन गर्न, भूकम्प, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपमा परेर जोगिएका बेला सहज अवस्थातर्फ लम्कँदा र जीविकोपार्जनका आवश्यकताहरू (गाँस, बास, शिक्षा, स्वास्थ्य आदि) पूरा गर्न मानिसहरूले ऋण लिने गरेका हुन्छन्।
नेपालका धेरै मानिसहरूमा ऋणको औचित्य अथवा फाइदा, ऋण लिने ठाउँहरू र ऋण लिने प्रक्रिया, प्रयोग तथा व्यवस्थापन आदि सम्बन्धी ज्ञान, सीपको अभाव छ। कतै ऋण लिन/खान हुँदैन भन्ने परम्परागत मान्यता अझै जीवित छ। कतै जीविकामुखी सोच, जोखिम लिन सक्ने आँट र क्षमताको कमी पनि विद्यमान नै छ। यिनै विभिन्न कारणले अझै धेरै मानिसहरू ऋण लिन हिच्किचाउँछन् तर ऋण लिनुका धेरै फाइदाहरू छन्। ऋणले लगानी तथा अन्य प्रयोजनका लागि एकमुष्ट रकम पाउन, आकस्मिक समस्या टार्न र नयाँ नयाँ व्यवसाय सञ्चालन गर्न सहयोग गर्छ। सफलताको लागि चुनौति लिन सिकाउँछ। उत्पादनमूलक कामको लागि लिइएको ऋणले आम्दानी वृद्धि गर्छ र पारिवारिक सुख निम्त्याउँछ। वित्तीय सेवाप्रदायक तथा अन्य सरोकारवालाहरूसँग समन्वय विस्तार गर्न सहयोग गर्दछ। त्यसैले ऋण लिनु सबैका लागि धेरै फाइदा छ।
भारतका प्रख्यात व्यवसायी धिरुभाई अब्बानीका छोराहरू मध्ये मुकेश अब्बानीको उच्च आर्थिक उन्नति, प्रगति र अनिल अब्बानीको आर्थिक अवनतिलाई यसको उदाहरणको रूपमा चर्चा गर्ने गरिन्छ। यस किसिमका ठूला साना केही उदाहरणहरू हाम्रै गाउँ समुदायमा पनि प्रशस्तै पाइन्छन्।
अनौपचारिक स्रोतबाट लिइने ऋणहरूको कुनै स्पष्ट अभिलेखहरू देखिदैनन्। औपचारिक स्रोतबाट लिइएको अवस्थालाई मात्र आधार मान्दा भने नेपालमा बचत गर्ने अर्थात् बचत खाता भएका व्यक्तिहरूकोे तुलनामा ऋण लिने अर्थात् ऋण खाता भएका व्यक्तिहरूको संख्या धेरै नै न्यून छ। नेपाल राष्ट्र बैंकले २०७८ चैतमा गरेको नेपालमा वित्तीय पहुँच सम्बन्धी एक अध्ययनले देखाएको क, ख र ग श्रेणीका बैंकहरूको तथ्यांकलाई आधार मान्दा ३ करोड ६३ लाख, ६६ हजार बचत खाताहरू भएको देखिन्छ जब कि ऋण खाता भने १६ लाख ८२ हजार मात्र छ। यसबाट ऋण लिने सोच र अभ्यास नेपालमा धेरै नै कम भएको स्पष्ट हुन्छ। यसो हुनुमा माथि उल्लिखित कारणहरू मुख्य रूपमा देखा पर्दछन्।
ऋणले आम्दानी वृद्धिमा अर्थात् पैसा बढाउनमा धेरै मदत गर्दछ। यसले पैसाको प्रयोग वा यसको लगानीबाट कसरी पैसा बढाउन सकिन्छ भन्ने कुराको बारेमा बुझ्न पनि सहयोग गर्दछ। बेञ्जामिन फ्राङ्कलिन भन्दछन्– यदि तिमीले पैसाको मूल्य बुझेका छौ भने ऋण लिने प्रयास पनि गर। यसो भनेर उनले ऋण लिएर त्यसलाई सही काममा लगानी गरी पैसा बढाउनु पर्छ भन्ने सन्देश दिन खोजेको बुझिन्छ।
ऋणलाई विभिन्न किसिमले वर्गीकरण गरिएको छ। नेशनल बैंकिङ् इन्स्टिच्युटले प्रकाशन गरेको “कर्जा नीति सिद्धान्त र अभ्यास” पुस्तिकामा कर्जालाई उपभोग्य तथा खुद्रा कर्जा, साना तथा मझौला कर्जा, मध्यम संस्थागत कर्जा, संस्थागत कर्जा विपन्न वर्ग कर्जा, परियोजना तथा पूर्वाधार कर्जा गरी विभिन्न किसिममा वर्गीकरण गरिएको छ। प्रयोगका हिसाबमा ऋणलाई उत्पादनमूलक क्षेत्र (जस्तै : कृषि, पशुपालन आदि उत्पादनसँग सम्बन्धित) र अनुत्पादक क्षेत्रमा प्रयोग गरिने (जस्तै: घरायसी खर्च, चाडपर्व, मनोरञ्जन आदि) गरी वर्गीकरण गर्ने गरिएको छ। ऋण अवधिका हिसाबमा ऋणहरू छोटो, मध्यम र लामो अवधिका हुन्छन्। आकारको हिसाबमा लघु, साना तथा मझौला र ठूला ऋणहरू हुन्छन्। ऋणको व्यवस्थापन र उपलब्धिको हिसाबमा ऋणलाई असल र खराब ऋण भन्न सकिन्छ। तोकिएको शीर्षक वा परियोजनामा खर्च गरिएका, तोकिएको समयमा किस्ता तथा व्याज भुक्तान गरिएका र आम्दानी वृद्धिमा टेवा पुर्याउने ऋणहरू असल ऋण हुन्। तोकिएको शीर्षक वा परियोजनामा खर्च नगरी अन्यत्रै प्रयोग गरिएका, समयमा किस्ता तथा व्याज भुक्तान नगरिएका र झन् झन् आर्थिक बोझ बढाउँदै लाने ऋणहरू खराब ऋणहरू हुन्।
ऋण यसको सही तथा गलत प्रयोगको आधारमा वरदान वा अभिशाप दुवै हुन्छ। महात्मा गान्धी भन्दछन्– ‘पैसा वा ऋण आफैंमा नराम्रो होइन तर यसलाई गलत प्रयोग गरियो भने त्यो दुर्भाग्यपूर्ण वा अभिशाप हुन्छ।’ त्यसैले ऋण लिँदा नै त्यसको स्पष्ट उद्देश्य र योजना हुनुपर्दछ र सो अनुसार त्यसको प्रयोग पनि हुनुपर्दछ।
ऋणको उद्देश्य र योजना स्पष्ट भएन भने ऋणले ठूलो आर्थिक विपत्ति निम्त्याउँछ। संसारमा सानादेखि ठूला ऋणीसम्मका यस्ता उदाहरणहरू प्रशस्तै पाइन्छन्। संसारका नाम चलेका ठूला ठूला व्यवसायीहरू पनि ऋण लिन्छन्, तिनको सही प्रयोग गर्दछन् र सम्पत्ति आर्जन गर्दछन्। यद्यपि ऋणको सही सोच, योजना र सो अनुसार कार्यान्वयन, व्यवस्थापन भएन भनेचाहिँ ऋणले नै मानिसलाई कंगाल बनाउन सक्दछ।
भारतका प्रख्यात व्यवसायी धिरुभाई अब्बानीका छोराहरू मध्ये मुकेश अब्बानीको उच्च आर्थिक उन्नति, प्रगति र अनिल अब्बानीको आर्थिक अवनतिलाई यसको उदाहरणको रूपमा चर्चा गर्ने गरिन्छ। यस किसिमका ठूला साना केही उदाहरणहरू हाम्रै गाउँ समुदायमा पनि प्रशस्तै पाइन्छन्।
ऋण लिनुभन्दा अगाडि घेरै कुराहरूको बारेमा विचार गर्नु पर्दछ। जस्तै : के कामका लागि ऋण लिने हो ? कति लिने हो ? ऋण लिन के के प्रक्रियाहरू पूरा गर्नुपर्दछ र आवश्यक कागजातहरू के के चाहिन्छन् ? ऋण प्राप्त भएपछि ऋणको सही प्रयोग कसरी गर्ने ? ऋण तिर्ने स्रोतहरू के के हुन सक्दछन्? व्यवसाय बिग्रेमा वा आकस्मिक अवस्था आइपरेमा तिर्ने वैकल्पिक उपाय के हुन सक्लान् आदि। यस्ता कुराहरूमा ध्यान पुर्याइयो भने ऋणबाट समस्यामा परिदैन, समयमा ऋण भुक्तानी गर्न सजिलो हुन्छ र ऋणबाट आशा गरिएको उपलब्धि हासिल गर्न सकिन्छ। ‘घाँटी हेरी हाड निल्नुपर्छ’ भन्ने हाम्रो प्रचलित मान्यता हो र ऋणमा पनि यो लागु हुन्छ। त्यसैले ऋण लिँदा आफ्नो वित्तीय क्षमतालाई विचार गर्नुपर्दछ। तिर्नसक्ने क्षमताभन्दा बढीको ऋणले भविष्यमा ठूलो आर्थिक दुर्घटना निम्त्याउन सक्दछ।
ऋणलाई ‘लिन सजिलो तिर्न गाह्रो’ भन्ने गरिन्छ। त्यसैले यसकोे सही प्रयोग तथा व्यवस्थापनका लागि ऋण लिनुभन्दा अगाडि नै केही कुराहरूमा ध्यान दिनु जरुरी हुन्छ। ऋणका बारेमा परिवारसँग छलफल गर्नुपर्दछ र आफ्नो आम्दानीभन्दा तिर्नुपर्ने ऋण बढी बनाउन हुँदैन। ऋणलाई तोकिएकै काममा लगाउनु पर्दछ र कुन समय कति कति सावाँ तथा व्याज भुक्तानी गर्ने हो त्यसको राम्रो ख्याल गर्नुपर्दछ। एउटा ऋण तिर्न अर्को ऋण लिने, अर्को ऋण तिर्न फेरि अर्को ऋण लिने प्रवृत्तिले मानिसलाई ठूलो समस्यातिर धकेल्दै लैजाने हुनाले त्यस्तो काम गर्नु हुँदैन वा त्यस्तो अवस्था आउन दिनु हुँदैन।
ऋण एउटा अवसर पनि हो। उद्यमशीलताको विकास, रोजगारीको सिर्जना, आर्थिक अवसरको विस्तार आदिका लागि बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न किसिमका ऋण सुविधाहरू उपलब्ध गराएका हुन्छन् र ऋणका प्राथमिकताका क्षेत्रहरू तोकिएका हुन्छन्। त्यसैले सो सम्बन्धमा आवश्यक जानकारी लिई ऋण लिनु र आम्दानी वृद्धिका कार्यमा संलग्न हुनु सबै नागरिकको लागि आवश्यक छ। यस्तो अभ्यासले पारिवारिक आम्दानी वृद्धिका साथै राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणका लागि पनि ठूलो टेवा पुग्न सक्दछ।
(लेखक अधिकारी वित्तीय साक्षरता स्रोतव्यक्ति हुनुहुन्छ।)
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
विनोद अधिकारी का अन्य पोस्टहरु:
- मन ठेगानमा भए जीवन नै रमाइलो
- अबको युग डिजिटल करेन्सीको, ठगिने कि जोगिने छनौट तपाइँको
- विदेश जानेको लर्को र विप्रेषणको प्रयोग
- त्यो मेरो बालापनको दसैं !
- पैसौले भन्छ: मलाई अहिले जतन गर, म तिमीलाई भविष्यमा खुसी दिन्छु
- विप्रेषणबाट समृद्धि प्राप्तिका लागि कस्तो कदम चाल्ने?
- तपाईँ कति कमाउनु हुन्छ र कति जोगाउनु हुन्छ ?
- आर्थिक अवसरहरूको विकास र विस्तार गर्न सिकाउने माध्यम वित्तीय साक्षरता