विदेश जानेको लर्को र विप्रेषणको प्रयोग

विनाेद अधिकारी

रोजीरोटीका लागि विदेश जाने चलन नेपालमा धेरै पहिलेदेखि चलिआएको हो। पहाडी समुदायमा यो अझ धेरै देखिन्थ्यो तर अहिले हिमाल, पहाड, तराई सबैतिरबाट वैदेशिक रोजगारीमा जानेको संख्या ठूलो छ। म सानो छँदा गाउँमा लाहुरेबाहरूको आउजाउ भइरहन्थ्योे– कोही छुट्टी लिएर आउने त केही छुट्टी सकेर फर्कने। खासमा भारतीय पल्टनमा नोकरी गरेको नेपाली जवानलाई लाहुरे भनिन्थ्यो। हाल पाकिस्तानमा पर्ने लाहौर भन्ने स्थानमा काम गर्ने भएर पनि लाहुरे भनिएको रहेछ क्यारे। त्यो बेलाको वैदेशिक रोजगारी त्यही थियो– सायद।
सैनिकमा भर्ती हुन जानेलाई लाहुरे हुन गयो भन्ने र अन्य काममा जानेलाई काम खोज्न ‘मुगलान’ पसेको छ भन्ने चलन थियो। भारतमा मुगलवंशले शासन गरेको ठाउँमा जाने भएकाले मुगलान भनिएको हुनसक्छ। जे होस् रोजगारीको खोजीमा लाहुर जाने, मुग्लान पस्ने पहिलेदेखिको चलन अहिले त झन् ह्वात्तै बढेको छ।
पहिलेका लाहुर र मुग्लान अहिले खाडी, मलेसिया आदि बनेका छन् र समयक्रमसँगै जाने आउने तरिका पनि फरक बन्दै गएका छन्। जे होस् यसले नेपालीहरूको जीविका र जीवनस्तर अभिवृद्धिमा ठूलो योगदान पुर्याउँदै आएको कुरा सर्वस्वीकार्य नै छ।
पछिल्ला तथ्यांकहरूले ५६ प्रतिशत भन्दा बढी नेपाली परिवारबाट वैदेशिक रोजगारीमा सहभागिता भएको देखाएका छन्। सूचना प्रविधि, सञ्चार, यातायात आदिको द्रुततर विकासका कारण एक हिसाबले संसारलाई साघुँरो बनाउँदै लगेको छ। यस्तो परिप्रेक्षमा मानिसहरू संसारभरि छरिएर रहनु स्वाभाविकै हो। विश्व परिवेशलाई हेर्ने हो भने पनि संसारका डेढ अर्ब भन्दा बढी मानिसहरू आप्रवासी कामदारको रूपमा आफ्नो देश बाहिर रहेका छन् भनिन्छ। अहिले नेपालीहरूकै मात्र कुरा गर्ने हो भने पनि रोजगारीको सिलसिलामा उनीहरू विश्वका १७२ देशमा पुगेका छन्, तर मुख्य मुख्य गन्तव्य भने खाडी र मलेसिया नै देखिएका छन्।

सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ को  संशोधन (२०७७) को दफा २ –ट मा ‘वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा’ को व्यवस्था समेत छ। जसले वैदेशिक रोजगारीबाट फर्किएर यहीं रोजगारी गर्न चाहनेलाई उत्प्रेरणा प्रदान गरेको छ। त्योबाहेक उद्यमशीलता विकासका लागि अन्य विकल्पहरू, अवसरहरू पनि छन्। यस्ता अवसरहरूको प्रयोग गरी एकल वा सामूहिक रूपमा व्यवसायहरू सञ्चालन गरेमा विप्रेषणको सही प्रयोग हुनुका साथै पारिवारिक आम्दानी पनि वृद्धि हुन्छ र रोजगारीकै लागि मात्र विदेश धाउनुपर्ने अवस्थाको अन्त्य हुन सक्छ।

२०७८ को विश्लेषणलाई आधार मान्दा कोभिडको महामारी अगाडि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या दैनिक १५ सयको हाराहारीमा थियो। कोभिडको केहीपछि त्यो ५/६ सयमा झरेकोमा यही गत २०७९ भदौमा भने त्यो संख्या फेरि उकालो लागेर २ हजार हाराहारी पुगेको देखिन्छ। रोजगारीका लागि विदेश हानिनेको यो लर्कोको पछाडि अन्य केही सामान्य कारणहरू भए पनि मुख्य कारण त देशमा आय आर्जनकोे अवसर नहुनु नै हो।
वैदेशिक रोजगारीबाट नेपालमा वर्षेनी खरबौ रूपैयाँ विप्रेषणको रूपमा भित्रिएको छ। २०७८ मा विप्रेषण आप्रवाह ९ खर्बको हाराहारीमा देखिन्छ। जसले नेपालीहरूको जीवनस्तर अभिवृद्धिमा ठूलो टेवा पुयाउँदै आएको छ तर वैदेशिक रोजगारी नै नेपाली अर्थतन्त्रको अन्तिम विकल्प भने अवश्य होइन। नेपालको संविधान २०७२ को दफा ३३ मा प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ भनिएको छ।
नेपाल सरकारको २०७५/२०७६ को बजेटमा स्वदेशमा रोजगारी पर्याप्त नहुञ्जेल वैदेशिक रोजगारीलाई अल्पकालीन रणनीतिको रूपमा उपयोग गर्ने कुरा उल्लेख छ। त्यो लक्ष्य वा भनाइ तबमात्र सार्थक हुन आउँछ, जब देशभित्रै पर्याप्त रोजगारीका अवसरहरू सिर्जना गर्न सकिन्छ। यसका लागि राज्यले दीर्घकालीन सोच र सो अनुसारका कार्यक्रमहरूको कार्यान्वयनमा जोड दिनु जरूरी छ।
शुक्लपक्ष र कृष्णपक्ष भनेजस्तै वैदेशिक रोजगारीका पनि केही राम्रा, उज्याला पक्षहरू र केही अँध्यारा वा सुधार गर्नुपर्ने दुवै पक्षहरू छन्। धेरैले रोजगारी पाएका छन्, आय आर्जन र जीवनस्तर सुधारमा राम्रो टेवा पुगेको छ, ज्ञान, सीप, अनुभवहरू हासिल गर्ने अवसर मिलेको छ, नयाँनयाँ प्रविधिहरूसँग परिचित हुने र तिनको प्रयोग गर्ने क्षमता बढेको छ, यी सबै उज्याला पक्षहरू हुन्। यसो भन्दैमा यसैमा ढुक्क हुने अवस्था भने छैन। राम्रा पक्षका बाबजुद अति कठीन अर्थात् ज्यान जोखिम नै हुनेजस्ता चुनौतीपूर्ण कामहरू पनि गर्नुपर्ने, मार्यादित व्यवहार नहुने, श्रम शोषण हुने, यौन हिंसाको शिकार बन्नुपर्ने, परिवारिक आपसी विश्वास र सुझबुझको कमी, परिवारका बालबच्चा तथा जेष्ठ नागरिकहरूको उचित हेरचाह नहुने, विलासिता, देखासिकी, अति महत्वाकाङ्क्षाको विकास, आफ्नो परम्परागत रीतिस्थिति, संस्कार र संस्कृतिमा विचलन आदि अँध्यारा अर्थात् सुधार गर्नुपर्ने (कमजोर) पक्षहरू पनि वैदेशिक रोजगारीमा छन्।
वैदेशिक रोजगारीका माथि उल्लिखित कमजोर पक्षहरूतिर आँखा चिम्लिएर केबल विप्रेषण आप्रवाहको अङ्क गनेर मात्र बस्ने हो भने देशले झन् ठूलो चुनौति बेहोर्नपर्ने अवस्था निम्तिन सक्दछ। ‘यहाँ बसेर केही गर्न सकिँदैन’ भन्ने भावनाको विकासले राष्ट्रिय गौरव र पहिचानलाई नै कमजोर बनाउन सक्दछ। त्यसैले वैदेशिक रोजगारको सवालमा यस्ता अँध्यारा पक्षहरूको सूक्ष्म विश्लेषण गरी आवश्यक रणनीति तथा कार्यनीतिहरूको तर्जुमा र तिनको कार्यान्वयन गर्न ढिलो गर्न हुँदैन।

वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने भन्ने कुरा संविधानमा उल्लेख भएपनि (दफा ५१ – झ ) उत्पादनमूलक क्षेत्रमा लगानी बढाइ वैदेशिक रोजगारीको लर्कोलाई घटाउन र फर्केर आएका मानिसलाई यहीं अड्याउन, रिटेन गर्न सकिएको छैन।

वैदेशिक रोजगारीबाट नेपाल फर्केको केही दिनपछि फेरि उतै फर्कन लागेको योजना सुनाउँदै एकजना भाइले भने ‘खै दाइ यहाँ बसेर केही गर्न सकिएला जस्तो लाग्दैन, काम गर्ने वातावरण नै छैन।’ यसो भन्नेहरू थुप्रै छन्। केही व्यक्तिहरूले वैदेशिक रोजगारीमा सँगालेको ज्ञान, सीपलाई प्रयोग गरेर नेपालमै केही उदाहरणीय काम गरेका छन्, रोजगार बनेका छन्, रोजगारी दिएका छन्। यद्यपि अधिकांशको भनाइ भने उस्तै हुन्छ ‘खै यहाँ केही गर्न सकिँदैन, काम गर्ने वातावरण छैन।’ यसभित्र आत्मविश्वासको कमीमात्र लुकेको छैन, बरू व्यावसायिक संभाव्यताको अभाव छ, पूर्वाधारहरू, जस्तै: बाटोघाटो पानी बिजुली, औजार उपकरण, सूचना प्रविधि, आदिको कमी छ, पर्याप्त हौसला, उत्प्रेरणा अनि प्राविधिक सहयोग र सहजीकरणको पनि अभाव छ। त्यसैले वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने भन्ने कुरा संविधानमा उल्लेख भएपनि (दफा ५१ – झ ) उत्पादनमूलक क्षेत्रमा लगानी बढाइ वैदेशिक रोजगारीको लर्कोलाई घटाउन र फर्केर आएका मानिसलाई यहीं अड्याउन, रिटेन गर्न सकिएको छैन।
साँच्चै सरकारले वैदेशिक रोजगारीलाई रोजगारको अल्पकालीन रणनीतिको रूपमा मात्र लिएको हो भने स्थानीय तहबाटै यस सम्बन्धमा प्रभावकारी कदम चाल्नुपर्दछ। स्थानीय सरकार अर्थात् पालिकाहरूले रोजगार सिर्जनालाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ। जसमा वैदेशिक रोजगारमा संलग्न व्यक्तिहरूको अद्यावधिक अभिलेख तयारी, व्यवसाय सञ्चालन सम्बन्धी सूचना तथा परामर्श सेवाको व्यवस्था, पालिकाभित्रका संभाव्य व्यवसायहरूको पहिचान र तिनको स्किम (योजना) हरू तयार गर्नुपर्दछ। उत्पादनको लक्ष्य र रोजगारी सिर्जनाका आधारमा सहुलियत ऋणका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्दछ। व्यवसायका लागि आवश्यक पर्ने औजार उपकरणको खरिद, उत्पादित वस्तुको बजारीकरणमा सहजीकरण गर्नुपर्दछ। यसो गर्न सकेमा देशमा नै रोजगारीका अवसरहरू सिर्जना गर्न र जीविकाको लागि पनि विदेश नै ताक्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्न सकिन्छ।
अहिले भैरहेको विप्रेषणको उत्पादनमूलक प्रयोगका लागि होस् वा रोजगारीका नयाँ अवसरहरूको सिर्जनाका लागि होस्, सबैले राज्यको मुख ताक्नु मात्र समस्याको समाधान हुन सक्दैन। वैदेशिक रोजगारमा संलग्न व्यक्तिहरू आफैंले पनि देशमै रोजगारीका अवसरहरू खोज्नुपर्दछ, भएका अवसरहरूको उपयोग गर्नुपर्दछ। मुलुकभित्रै रोजगारीका अवसरहरू सिर्जना गर्ने, विदेशबाट फर्केका युवाहरूले विदेशमा आर्जन गरेको सीप र व्यावसायिक दक्षता उपयोग गरी स्वरोजगार बनाउने समेतका उद्देश्यहरू राखी सरकारले सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ को व्यवस्था गरेको छ। उक्त कार्यविधिको संशोधन (२०७७) को दफा २ –ट मा ‘वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा’ को व्यवस्था समेत छ। जसले वैदेशिक रोजगारीबाट फर्किएर यहीं रोजगारी गर्न चाहनेलाई उत्प्रेरणा प्रदान गरेको छ। त्योबाहेक उद्यमशीलता विकासका लागि अन्य विकल्पहरू, अवसरहरू पनि छन्। यस्ता अवसरहरूको प्रयोग गरी एकल वा सामूहिक रूपमा व्यवसायहरू सञ्चालन गरेमा विप्रेषणको सही प्रयोग हुनुका साथै पारिवारिक आम्दानी पनि वृद्धि हुन्छ र रोजगारीकै लागि मात्र विदेश धाउनुपर्ने अवस्थाको अन्त्य हुन सक्छ।
विप्रेषणको सही उपयोग र दैनिक रूपमा बढ्दो वैदेशिक रोजगारीको गतिलाई न्यून गर्ने कार्यमा सरकारले समसामयिक ठोस कदमहरू चाल्नुपर्ने हुन्छ। स्वदेशमै रोजगारीको व्यवस्था सम्बन्धी केही नीतिगत प्रावधानहरूको पनि कार्यान्वयनको पक्ष के कस्तो छ त्यसको अनुगमन अध्ययन गरी आवश्यक प्रयासहरूको थालनी गर्नु पर्दछ। सहुलियतपूर्ण कर्जाकै सवालमा पनि सर्वसाधारण व्यक्तिसम्म त्यसको जानकारी पुग्न नसकेको, साधारण मानिसको भन्दा पनि त्यसमा पहुँचवालाहरूकै हाबी भएको, प्रक्रिया झञ्झटिलो भएको जस्ता थुप्रै समस्याहरू अनुभव गरिएका छन्। त्यसैले विप्रेषणको प्राप्ति, यसको प्रयोग र यसले भविष्यमा पार्न सक्ने आर्थिक तथा सामाजिक प्रभावहरूको विश्लेषण गरी सरकारले दीर्घकालीन रणनीति तयार गरी कार्यान्वयनमा ल्याउन ढिलो गर्नुहुँदैन। विप्रेषण केही समयको लागि मात्र न्यानो नबनोस्, मुलुकको समृद्ध भविष्यको आधार बनोस्।

आवरणः त्रिभुवन विमानस्थलमा विदेशबाट आउने आफन्तको प्रतिक्षा गरिरहेकाहरू। तस्बिरः राजेश घिमिरे

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

विनोद अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link
Powered by Social Snap