वैदेशिक रोजगारी नेपालीहरूको लागि आम्दानी वृद्धि गर्ने बलियो विकल्प बनेको छ । देशभित्रै रोजगारीका पर्याप्त अवसरहरू नहुनु नै यसको मुख्य कारण मानिन्छ । त्यसैले अहिले वार्षिक लाखौं नेपालीहरू रोजगारीका लागि विदेशिने गरेका छन् । २०७७ को तथ्यांकको आधारमा ४५ लाख हाराहारीको जनशक्ति देश बाहिर रहेको देखिन्छ । आर्थिक वर्ष २०७५/७६ मा श्रम नवीकरण गर्ने र नयाँ श्रम स्वीकृति लिनेको संख्या मात्र करिब ५ लाख ९ हजार छ । कोभिडको विश्वव्यापी समस्याले गर्दा यो संख्या केही घटे पनि फेरि उकालो लाग्न थालेको अवस्था छ । नेपालका करिब ५६ प्रतिशत घरधुरीबाट वेदैशिक रोजगारीमा सहभागिता रहेको र यसले पारिवारिक आम्दानी वृद्धिमा ठूलो टेवा पुर्याएको छ । यसो भए पनि वैदेशिक रोजगारमा धेरै चुनौतिहरू छन् । गैरकानुनी तरिकाले जानु, आवश्यक कार्यसीप र दक्षताको अभाव, जोखिमपूर्ण काम गर्न बाध्य हुनु, हिंसा तथा उत्पीडनको शिकार बन्नु र दु:ख गरेर कमाएको सम्पत्तिले परिवारको भविष्यको लागि खासै योगदान पुर्याउन नसक्नु आदि यसका मुख्य चुनौती हुन् । यी सबै कुराहरूलाई विचार गर्दा वैदेशिक रोजगारीसँग मुख्य तीन कुराहरू हुनु जरूरी देखिन्छ । पहिलो– यो सुरक्षित हुनुपर्दछ, दोस्रो– मर्यादित हुनुपर्दछ र तेस्रो– उपलब्धिपूर्ण अर्थात् सुखी भविष्यको आधार बन्नुपर्दछ ।
वैदेशिक रोजगारीको मुख्य उद्देश्य नै पारिवारिक आम्दानी वृद्धि र सजिलो अर्थात् आर्थिक दृष्टिले सुरक्षित भविष्य निर्माण हो । यसको मुख्य आधारचाहिँ त्यहाँको कमाइ नै हो । झण्डै विगत दुई दशकदेखि नेपाली परिवारको आर्थिक उन्नतिमा विप्रेषणले ठूलो टेवा पुर्याउँदै आएको पाइन्छ । २०७६/२०७७ मा करिब ८.१ अर्ब रकम विप्रेषणको रुपमा नेपाल भित्रिएको तथ्यले यही कुरालाई पुष्टि गर्दछ । यति ठूलो धनराशी भित्रिएको भए तापनि आर्थिक हिसाबले परिवारको सुखी र सुनिश्चित भविष्यको सन्दर्भमा विप्रेषणले अपेक्षित उपलब्धि दिन नसकेको विश्लेषण छ । २०७५/२०७६ को तथ्यांकलाई आधार मान्दा विप्रेषणको उपयोग, क्रमश: बचतमा २८ प्रतिशत, विदेश जाँदाको ऋण तिर्न २५.३, खाद्यान्न लत्ता कपडा र उपभोग्य वस्तुमा २३.९, शिक्षा र स्वास्थ्यमा ९.७, सामाजिक कार्यमा ३.५ प्रतिशत भएको र उत्पादनमूलक क्षेत्रमा अत्यन्त कम भएको देखिएको छ । विप्रेषणले मानिसको जीविकोपार्जनलाई सजिलो बनाएको अवश्य छ, जीवनशैलीमा परिवर्तन भएको पनि देख्न सकिन्छ तर सम्पत्ति निर्माण वा समृद्धि प्राप्तिमा यसले अपेक्षा गरेजस्तो योगदान पुर्याउन नसकेको बताइन्छ । अहिलेकै रूपमा विप्रेषण प्राप्त भैरहने अवस्था रहेन अर्थात् कुनै कारणले वैदेशिक रोजगारीको प्रवाह घट्यो भने के विप्रेषण प्राप्त गर्ने परिवारमा अहिले देखिएको परिवर्तित जीवनशैलीलाई धान्न वा सोही अनुपातमा माथि उकास्न सकिने कुनै वैकल्पिक आधार छ त ? भन्ने बारेमा व्यक्ति स्वयं र राज्यले पनि विशेष सोच राख्नुपर्ने परिस्थिति देखिन्छ । यसै अर्थमा पनि विप्रेषणको सही प्रयोगको बारेमा विशेष छलफल हुनु र ठोस निष्कर्षमा पुग्नु जरूरी छ ।
विप्रेषणको सही प्रयोगको सन्दर्भमा सो प्राप्त गर्ने व्यक्ति तथा तिनका परिवारले आम्दानी खर्चको दुरूस्त हिसाब राख्ने, बेला बेलामा आम्दानी र खर्चको तालमेल मिले नमिलेको लेखाजोखा गर्ने, परिवारको जीविकाको खर्च, छोराछारीको पढाइको खर्च, स्वास्थ्य सम्बन्धी खर्च, व्यवसाय सञ्चालनको खर्च आदि बाहेकका खर्चहरू, जस्तै: मदिरा, जुवा तास, घुमघाम, मोरञ्जन, भोजभतेर, विलासी सामानहरूको प्रयोग आदिलाई नियन्त्रण गर्नुपर्दछ । पैसालाई बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा गर्ने र आफ्नो भविष्यको आर्थिक योजनाको आधारमा मात्र खर्च गर्ने बानीको विकास गर्नुपर्दछ । खर्चमा अनुशासन कायम राख्नु पर्दछ । यसो भयो भने मात्र विप्रेषणले परिवारको सुखी भविष्य निर्माण गर्न र परिवारमा समृद्धि ल्याउन सक्दछ ।
विप्रेषणले मानिसको जीविकोपार्जनलाई सजिलो बनाएको अवश्य छ, जीवनशैलीमा परिवर्तन भएको पनि देख्न सकिन्छ तर सम्पत्ति निर्माण वा समृद्धि प्राप्तिमा यसले अपेक्षा गरेजस्तो योगदान पुर्याउन नसकेको बताइन्छ । अहिलेकै रूपमा विप्रेषण प्राप्त भैरहने अवस्था रहेन अर्थात् कुनै कारणले वैदेशिक रोजगारीको प्रवाह घट्यो भने के विप्रेषण प्राप्त गर्ने परिवारमा अहिले देखिएको परिवर्तित जीवनशैलीलाई धान्न वा सोही अनुपातमा माथि उकास्न सकिने कुनै वैकल्पिक आधार छ त ?
परिवार समृद्धिको वा सुखी भविष्यको बाटो लागेको छ वा छैन भनी नाप्ने आधार परिवारमा कति आम्दानी हुन्छ भन्ने भन्दा पनि जीविकोपार्जनको खर्च पछि कति बचत भएको छ, सम्पत्ति वा स्थिरपुँँजी कति जोडिएको छ, विभिन्न बैंक तथा वित्तीय संस्थाहरू र तिनीहरूले दिने सेवाहरू (बचत, बिमा आदि) मा कत्तिको पहुँच बढेको छ भन्ने हो । यदि यी कुराहरू परिवारमा छैनन् भने अहिले जति नै धेरै कमाइ भए पनि परिवार सुखी र सम्पन्न भविष्यको बाटोतिर लागेको छ भन्न सक्ने स्थिति देखिँदैन ।
कुल गार्हस्थ्य उत्पादनलाई आधार मान्दा नेपाल रेमिट्यान्स प्राप्त गर्ने देश मध्ये चौथो स्थानमा पर्दछ भनिएको छ । तथापि देशको दिगो आर्थिक विकासका लागि यसैमा ढुक्क भैहाल्ने अवस्था छैन किनभने वैदेशिक रोजगारीलाई रोजगारीको अन्तिम विकल्प हो भन्न सकिँदैन । गन्तव्य मुलुकको पूर्वाधार विकासको एउटा चरण पूरा भएपछि वा मानिसले गर्नुपर्ने कतिपय कामहरू स्वचालित मेसिन, औजारहरूका माध्यमबाट गर्न थालिएपछि रोजगारीका अवसरहरू कम हुँदै जान सक्दछन् । कामका अन्य क्षेत्रहरू खुला भए पनि तिनमा ठूलो जनशक्ति नचाहिने हुनसक्छ । त्यसैले अहिले रोजगार प्राप्त भएकै अवस्थाको कमाइलाई आफ्नो भविष्य सम्झेर अधिकतम सदुपयोग गर्नु वैदेशिक रोजगारमा संलग्न व्यक्ति वा परिवारको जिम्मेवारी हो । लगानीमैत्री वातावरण बनाइ विप्रेषणको अधिकतम सदुपयोग गर्ने कार्यमा उत्प्रेरित र आकर्षित गर्नु चाँहि राज्यको जिम्मेवारी भित्र पर्दछ । दुवैतर्फबाट आ–आफ्ना जिम्मेवारी पूरा गरिने हो भने विप्रेषणले व्यक्ति परिवार र देशकै भविष्य निर्माणमा ठूलो योगदान पुर्याउन सक्ने निश्चित छ ।
विप्रेषणको सही प्रयोगका लागि व्यक्तिमा उद्यमशीलता अर्थात् व्यावसायिकताको सोच, सचेतना बढाउनु, व्यवसाय सम्बन्धी सूचना तथा परामर्श सेवाहरू उपलब्ध गराउनु, सीपमूलक तालिमहरूको प्रवर्द्धन गर्नु, वित्तीय सेवामा पहुँच बढाउनु, सहुलियतपूर्ण ऋणहरूको व्यवस्थापन गर्नु आवश्यक पर्दछ । व्यवसायमैत्री वातावरण भनेका यिनै कुराहरू हुन् । यसका अतिरिक्त बाटो, बिजुली, सिँचाइ, औजार उपकरण, मल, बिउ, बजार जस्ता पूर्वाधारहरूको विकासमा पनि सरकारबाट विशेष पहल हुनु जरूरी हुन्छ । यसले वैदेशिक रोजगारमा रहेकाहरूलाई स्वदेशमा नै लगानी गरी आम्दानी बढाउन र रोजगारीकै लागि मात्र विदेशजान खोज्नेहरूका लागि यहीं नै रोजगारीका अवसर सिर्जना गर्न सघाउँछ । त्यसैले विप्रषणको सही प्रयोग र रोजगारीका प्रभावकारी विकल्पका लागि लगानीमैत्री वातावरण पहिलो शर्त हो । जसले विदेशमा बसेर कमाएको सम्पत्ति ज्ञान सीप र अनुभवलाई देश विकासको माध्यम बनाउनुपर्छ भन्ने संविधानको मर्म र भावनालाई सम्मान गर्दछ । जस्तो कि नेपालको संविधान २०७२ मा राज्यको श्रम र रोजगार सम्बन्धी नीतिमा वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप प्रविधि र अनुभवलाई स्वदेशमा नै उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गरिने कुरा उल्लेख गरिएको छ ।
लगानीमैत्री वातावरण बनाइ विप्रेषणको अधिकतम सदुपयोग गर्ने कार्यमा उत्प्रेरित र आकर्षित गर्नु चाँहि राज्यको जिम्मेवारी भित्र पर्दछ । दुवैतर्फबाट आ–आफ्ना जिम्मेवारी पूरा गरिने हो भने विप्रेषणले व्यक्ति परिवार र देशकै भविष्य निर्माणमा ठूलो योगदान पुर्याउन सक्ने निश्चित छ ।
विप्रेषणलाई उत्पादनमूलक काममा लगानी गर्ने अवसर होस् भनेर गरिएका प्रयासहरू,जस्तै: रेमिट हाइड्रो, वैदेशिक रोजगार बचत पत्र आदि राम्रा उदाहरण हुन् । यसका अतिरिक्त सहुलियतपूर्ण ऋणका अवसरहरू, बैंक तथा वित्तीय संस्थाहरूको विस्तार, तिनीहरूले दिने सेवा सुविधाहरूमा विविधीकरण, कर्जा तथा व्यवसाय दर्ता प्रक्रियाहरूको सरलीकरण, जोखिम कोषहरूको स्थापना, व्यवसायको प्रकृति र स्तरअनुसार समय समयमा प्राविधिक तथा प्रोत्साहन अनुगमन, सचेतनामूलक सामग्रीहरूको उत्पादन तथा प्रशारण, साझेदारी तथा सामूहिक लगानी प्रति उत्प्रेरणा, सिकेका सीपहरूको प्रमाणीकरण आदि जस्ता प्र्रयासहरूले उत्पादनमूलक लगानीमा प्रत्यक्ष टेवा पुर्याउन सक्दछन् ।
सरकारले सबै स्थानीय निकाय तथा पालिकाहरूलाई सशक्तीकरण गरी स्थानीय स्तरबाटै सम्भव हुन सक्ने कुराहरूलाई स्थानीय स्तरबाटै गरिदिने र स्थानीय स्तरबाट सम्भव नहुने कुराहरूमा सहजीकरण गरिदिने वातावरण बनाइदिनु पर्दछ । स्थानीय पालिकाले आफ्ना पालिकाभित्रका वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको यथार्थ सूचना/तथ्यांक संकलन गर्ने र तिनीहरुले आर्जन गरेको ज्ञान र सीपको प्रयोग हुने खालको व्यवसाय सञ्चालनका लागि आवश्यक पूर्वाधारको व्यवस्था मिलाइदिनसके विप्रेषणको सही प्रयोग हुन सक्दछ । यसले स्थानीय तहमै रोजगारीको सिर्जना भै पारिवारिक आम्दानी वृद्धिमा टेवा पुग्दछ र अन्ततोगत्वा गरिबी निवारण तथा समृद्धि प्राप्तिमा ठूलो सघाउ पुग्दछ ।
(लेखक अधिकारी वित्तीय साक्षरता स्रोतव्यक्ति हुनुहुन्छ ।)
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
विनोद अधिकारी का अन्य पोस्टहरु:
- मन ठेगानमा भए जीवन नै रमाइलो
- अबको युग डिजिटल करेन्सीको, ठगिने कि जोगिने छनौट तपाइँको
- विदेश जानेको लर्को र विप्रेषणको प्रयोग
- त्यो मेरो बालापनको दसैं !
- पैसौले भन्छ: मलाई अहिले जतन गर, म तिमीलाई भविष्यमा खुसी दिन्छु
- पैसाको मूल्य बुझेकाले ऋण लिनु
- तपाईँ कति कमाउनु हुन्छ र कति जोगाउनु हुन्छ ?
- आर्थिक अवसरहरूको विकास र विस्तार गर्न सिकाउने माध्यम वित्तीय साक्षरता