बुद्धजन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा चीनले अनधिकृत रूपमा कार्यक्रम गरेर हल्लाखल्ला गरेपछि यहाँ धेरैलाई अप्ठ्यारो परेको छ। २५६७औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा बिहीबार बेलुका लुम्बिनी स्थित पवित्र उद्यान क्षेत्रभित्र रहेको मायादेवी मन्दिर परिसरमा चीनको आयोजनामा अनधिकृत रूपमा कार्यक्रम सम्पन्न भएको हो ।
“विश्व सम्पदामा सूचीकृत मायादेवी मन्दिर परिसरमा युनेस्कोले कुनै अन्य देशलाई प्रोपोगण्डाका लागि कुनै पनि कार्यक्रम गर्न मनाही गरेको छ” स्थानीय सञ्चारकर्मी दिनेश लोधले भन्नुभयो, “तैपनि पनि ठुल्ठूला साउण्ड सिस्टम (स्पिकर) राखेर कोलाहल गर्दै चिनियाँ टोलीले कार्यक्रम गरेको छ ।”
“बैशाख २२ गते शुक्ल पूर्णिमाका दिन पर्ने बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना हुँदैछ । त्यसका लागि लुम्बिनीलाई झकिझकाउ पारिएको छ” उहाँले भन्नुभयो, “त्यसैको फाइदा उठाउँदै चिनियाँ टोलीले निषेधित क्षेत्र भित्र कार्यक्रम गरेको हो ।”
पाँचसय बढी सहभागी रहेको कार्यक्रममा चिनीयाँ बौद्ध धर्मगुरु ‘मास्टर इन्सुन’ लगायत चिनका महत्वपूर्ण ब्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, सदस्य सचिव सानुराज शाक्य, कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) लगायतका पदाधिकारी तथा कर्मचारीहरूको पनि उपस्थिति थियो ।
लुम्बिनी विकास कोषले आजका लागि मात्र चिनियाँहरूलाई कार्यक्रम गर्न दिइएको भन्दै पन्छिन खोजेपनि कोषका पदाधिकारीमार्फत स्वीकृति लिएर मात्र कार्यक्रम गर्न दिइएको एक कर्मचारीले बताउनुभयो । नाम खुलाउन नचाहने उहाँले के र कस्तो कार्यक्रम भनेर ख्याल नगरी यसअघिका वर्षमा पनि कार्यक्रम गर्न दिइएकाले यसपालि पनि गर्न दिइएको बताउनुभयो ।
“कोषले यसरी कार्यक्रमको प्रयोजन नै थाहा नपाई हचुवाको भरमा कुनै प्रोपोगन्डा फैलाउने कार्यक्रम गर्न दिनु भने पक्कै पनि विडम्बनायुक्त विषय हो” लुम्बिनीका स्थानीय एपी चौधरीले भन्नुभयो, “शान्ति र अध्यात्मको केन्द्र मानिने मायादेवी मन्दिर परिसरमा यसरी ठुल्ठूला साउण्ड सिस्टम राखेर कोलाहल गर्दै हुने कार्यक्रमको अनुमति दिने जोसुकैलाई कारवाही हुनुपर्छ ।”
यस विषयमा कोषका पदाधिकारीहरू सित सम्पर्क हुन सकेन भने सूचना अधिकारी डा. हरिध्वज राईले कार्यक्रमको पुष्टि गर्दै त्यसलाई सकारात्मक रुपमा लिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पूजापाठको विषयमा रोकटोक गर्नु सान्दर्भिक र उचित देखिदैन ।” उहाँले २५६७ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० सफलतापूर्बक सम्पन्न गर्न सबैलाइ आग्रह गर्नुभयो ।
भगवान शाक्यमुनी बुद्धको जन्म ई.पू. ६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा माता मायादेवीको कोखबाट वैशाख शुक्ल पूर्णिमाका दिन भएको थियो । बुद्धको जन्म, बोधिज्ञान प्राप्ती र महापरिनिर्वारणको नियोग परेको दिन अर्थात वैशाख शुक्ल पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले विशेष महत्वका साथ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका रुपमा मनाउँदै आएको छ ।
प्रधानमंत्री पुष्पकमल दहाल –प्रचण्ड) को प्रमुख आतिथ्यतामा लुम्बिनीमा हुने २५६७औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरू, स्थानीय सरकार प्रमुखसहित उच्चस्तरीय पदाधिकारी, कुटनीतिक नियोग, विदेशी पाहुनाहरूसमेत सहभागी हुनेछन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
रामविकास चाैधरी का अन्य पोस्टहरु:
- लुम्बिनीका विद्युतीय सवारीहरू थन्किदैः अनियमितता र बेवास्ताले राज्य सम्पत्तिमा क्षति
- लुम्बिनी विकास कोषको कार्यालयमा स्थानीयको तालाबन्दी
- यस्तो छ २५६७ औँ बुद्ध जयन्ती मनाउने तयारी
- निर्माण सम्पन्न नहुँदै चर्कियो स्वास्थ्य चौकी भवनको छतः टालटुल गर्दै ठेकेदार
- मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष र वडा अध्यक्षको नागरिकता विवादमा
