अहिले काठमाडौँ उपत्यकामा रेबिजको आतंक फैलिएको छ। प्रत्येक दिन ४०० देखि ५०० जना मानिसहरु रेबिजविरुद्धको भ्याक्सिन लगाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग पुग्छन्। तीमध्ये ९० प्रतिशत मानिस काठमाडौँ उपत्यकामै बसोवास गर्ने रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका शाखा अधिकृत भक्तबहादुर खड्काले बताउनुभयो।
यस्तै भ्याक्सिन लगाउन आउनेमध्ये ९० प्रतिशत भुस्याहा कुकुरको टोकाइ र ५ प्रतिशत घरेलु जनावरको टोकाइका कारणले हुने अस्पतालका बहिरंग विभागका चिकित्सक डा.शङकर पाण्डेको भनाइ छ। ‘अन्य ५ प्रतिशत बिरामी जंगली जनावर स्याल, ब्वाँसा, बाँदर, चितुवालगायतकोे टोकाइका कारण भ्याक्सिन लगाउन आउने गर्छन्,’ डा. पाण्डेले बताउनुभयो।
डा. पाण्डेका अनुुुसार समयमै उपचार नपाएर कैयाैँ व्यक्तिले अकालमै ज्यान गुमाएका छन्। यसरी ज्यान गुमाउनेमा अशिक्षा र लापरवाही मुख्य कारण हो। यसबाहेक यातायात तथा पूर्वाधारको कमीले गर्दा पनि कतिपय व्यक्तिहरू रेबिजविरुद्धको भ्याक्सिन लगाउन ४ देखि ५ दिनपछि मात्रै आउने गर्छन्। समयै अस्पताल आउन नसक्दा बिरामीको अवस्था गम्भीर बन्ने पाण्डेको भनाइ छ।
‘सरकारी अस्पतालमा र स्वास्थ्य केन्द्रमा रेबिजको भ्याक्सिन निःशुल्क पाइन्छ। काठमाडौँ उपत्यकाका महानगर, उपमहानगर र नगरपालिकाहरुले भुस्याहा कुकुर व्यवस्थापनमा ठोस पहल नगर्दा रेबिजको प्रकोप फैलिन सक्छ,’ डा. पाण्डेले भन्नुभयो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले आफू पनि सतर्क भएर हिँड्न र कारणवश कुनै जनावरले टोकेमा तुरुन्त स्वास्थ्य केन्द्रमा गएर उपचार गर्न आग्रह गर्नुभयो। पशु विभाग तथा सोसम्बन्धित निकायले यस्ता विषयमा ध्यान नदिए थप क्षति हुन सक्ने उहाँको भनाइ छ।
सिंहदरबारभित्रै कुकुर व्यवस्थापनमा समस्या
मुलुककै प्रशासनिक केन्द्र मानिने सिंहदरबारभित्रै कुकुरको बिगबिगी छ। जसले गर्दा विशिष्ट व्यक्तिको आगमनमा समस्या हुनुका साथै सवारीसाधनलाई लखेट्ने, सडकपेटीमै सुत्ने, जथाभावी दिशा–पिसाब गर्ने तथा सर्वसाधारण लाई टोक्न खोज्नेजस्ता समस्या देखिएका छन्। यति हुँदा पनि यसको व्यवस्थापनमा कुनै पनि निकाय जिम्मेवार र तत्पर देखिएका छैनन्।
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी सुरेन्द्रकुमार साहले सिंहदरबारभित्र रहेका कुकुरको बन्ध्याकरण तथा रेबिजको खोप लगाइएको बताउनुभयो। यद्यपि भित्र–बाहिर गर्ने गरेकाले तिनीहरूको पहिचान गर्न नसक्दा कठिनाइ भएको उहाँको भनाइ छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ट्रम्पविरुद्ध अर्को फौजदारी मुद्दा
- काखोभका बाँध भत्किँदा रुस–युक्रेन कसलाई फाइदा?
- बिबिसीको कार्यवाहक अध्यक्षमा डेम एलन
- हिन्डेनबर्गको रिपोर्टपछि अडानी समूहको अवस्था सुध्रिँदै, गत आवमा २४ अर्ब नाफा
- अमेरिकाको युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु
- ५ महिनामा ४ लाख ७० हजार पर्यटकले गरे लुम्बिनी भ्रमण
- मिटरब्याजीविरुद्ध मलंगवाबाट सबैभन्दा धेरै उजुरी
- दक्षिणी युक्रेनमा बाँध फुटेपछि युद्धस्थलमा बाढी, एक–अर्काका सेनालाई दोष
- दाहाल–मोदी वार्तामा छुटेको सीमा विवाद र गोर्खा भर्तीको विषय
- वातावरण पत्रकारिता पुरस्कार कृष्णमणि बराललाई