अघिल्लो अङ्क र यो क्रमागत अङ्कमा यक्ष प्रश्नहरू राखियो। यी कुराहरू आजभन्दा ६ हजार वर्ष अघि लेखिएको र सोही विषयको ज्ञान महर्षि व्यासले आफ्ना शिष्यहरू शुकदेव, पैल, वैशम्पायन र जैमिनिलाई सुनाउनु भएको थियो। महाभारतको युद्ध समाप्त भएपछि कलियुगको सूत्रपात भइसकेको बेलामा पाण्डवका एकमात्र आधिकारिक कुरुवंशीय भनेर जीवित सन्तान परीक्षितको पनि सर्पदंशबाट मृत्यु भएपछि उनका छोरा जन्मेजयलाई व्यासको कथनानुसारको कुरुवंशीय इतिहास वैशम्पायनले सुनाएका थिए। हुन त जैमिनिले पनि सुनाएका थिए भनिन्छ तर आजको महाभारतचाहिँ वैशम्पायनले सुनाएका इतिहास र कथाका सार मानिन्छ। त्यही क्रममा पाँच हजार वर्षभन्दा पहिलेको समाज, राजनीति, नैतिकता, धर्म, सत्य र सदाचारका बारेमा यक्षको स्वरूपमा स्वयं धर्मराजले सोधेका भनिएको र युधिष्ठिरले युगीन जवाफ दिएको मानिएको यक्ष प्रश्नहरू दुई भागमा प्रस्तुत गरिएको हो। आजको समाजसँग हिजोको, त्यो पनि पाँच हजार वर्षभन्दा पहिलेका समाज, राजनीति र कार्यप्रक्रियाका बारेमा यहाँ सकेसम्म महाभारतको सारलाई यथावत् सार्न खोजिएको छ। मूल संस्कृतबाट सार्नुपर्दा र कतिपय बेलामा हिन्दी अनुवादको सहारा लिनु पर्दाको अवस्थाको सीमितता पाठकवर्गले सहृदयी भएर सम्झनु हुनेछ र गल्ती कमजोरीलाई त्यही अनुसार सम्झेर मनन गर्नु हुनेछ भन्ने सविनय अनुरोध गर्दछु।
प्रश्न —ब्राह्मणको देवत्व के हो? उनमा सत्पुरुषमा हुनुपर्ने धर्म के हो? मनुष्यता के हो? असत्पुरुषको जस्तो आचरण के हो?
उत्तर —वेदको स्वाध्यायन नै ब्राह्मणको देवत्व हो। तपस्या सत्पुरुपको जस्तो कर्म हो, मर्नु मानुषी भाव हो र परनिन्दा असत्पुरुषको जस्तो आचरण हो।
प्रश्न —क्षत्रियको देवत्व के हो? उनीहरूमा सत्पुरुषको जस्तो धर्म कुन हो? उनीहरूमा असत्पुरुषहरूको जस्तो आचरण के हो?
उत्तर — वाण विद्या क्षत्रीहरूको देवत्व हो, यज्ञ सत्पुरुषको जस्तो कर्म हो, भय मानवी भाव हो, दीनदुःखीहरूको रक्षा नगर्नु असत्पुरुषहरूको जस्तो आचरण हो।
प्रश्न —कुन एक वस्तु यज्ञीय साम हो? कुन एक वस्तु यज्ञीय यजुः हो? कुन एक वस्तु यज्ञमा वरण गरिन्छ? कुन एक वस्तुलाई यज्ञले पनि अतिक्रमण गर्न सक्दैन?
उत्तर —प्राणी नै यज्ञीय साम (यज्ञको गीत तथा संगीत ) हो। मन नै यज्ञीय यजुः हो। एकमात्र ऋक् नै यज्ञको वरण गर्छ र एउटा ऋक्को मात्र यज्ञले अतिक्रमण गर्न सक्दैन। (सामको अर्थ हो सामवेद, ऋक्को अर्थ हो ऋक्वेद, यजुःको अर्थ हो यजुर्वेद) अर्थात् यज्ञको व्यवस्थापक मानिस हो, उसको मनले यज्ञको सुरुवात हुन्छ र ऋचाको लयबद्ध आवाजले यज्ञको काम सुरु हुन्छ, त्यही ऋचा मात्र अनतिक्रम्य हुन्छ।
प्रश्न — आवपन (देवतर्पण) गर्नेका लागि के श्रेष्ठ हो? निवपन (पितृतर्पण) गर्नेका लागि कुन चिज श्रेष्ठ हो? प्रतिष्ठा चाहनेका लागि कुन चिज श्रेष्ठ हो? सन्तान चाहनेहरूका लागि कुन चिज श्रेष्ठ हुन्छ?
उत्तर — आवपन गर्नेका लागि वर्षा सर्वश्रेष्ठ फल हो। निवपन गर्नेका लागि वीज (धनधान्यादि सम्पत्ति) श्रेष्ठ हुन्छ, प्रतिष्ठा चाहनेका लागि गाई ( बहुआयामिक, बहुप्रयोग तथा दूध दिएर आमासरह पाल्ने) सर्वश्रेष्ठ मानिन्छ र सन्तान चाहनेका लागि पुत्र श्रेष्ठ हुन्छ।
प्रश्न — सुत्दा पनि कसले आँखा चिम्लँदैन? जन्मेर पनि कसले चेष्टा देखाउँदैन? हृदय कोसँग हुँदैन? र वेगसँग को दौडन्छ?
उत्तर —माछा सुत्दा पनि आँखा चिम्लँदैन। अण्डा जन्मेर पनि चेष्टा देखाउँदैन र ढुङ्गामा हृदय हुँदैन अनि नदी वेगले मात्र बढ्छ।
प्रश्न —परदेश देश जानेको साथी को हुनसक्छ? घरमा रहँदाको मित्र को हो? रोगीको मित्र के हो? मृत्युको मुखमा पुगेको व्यक्तिको मित्र को हो?
उत्तर —सँगै गएको साथी यात्री नै परदेशको मित्र हो, घरमा रहँदाको मित्र स्त्री हो, वैद्य (चिकित्सक) रोगीको मित्र हो, दान नै मुमूर्षु (मरने व्यक्तिको) मित्र हो।
प्रश्न —समस्त प्राणीको अतिथि को हो? सनातन धर्म कुन हो? अमृत के हो? अनि यो सारा जगत के हो?
उत्तर — अग्नि समस्त प्राणीको अतिथि हो। गाईको दूध अमृत हो। अविनाशी नित्यधर्म (कर्म) नै सनातन धर्म हो र वायु नै सारा जगत हो।
प्रश्न —एक्लै को घुम्छ? एकपटक उत्पन्न भएर पनि बारम्बार को जन्मिन्छ? उत्तर —एक्लै सूर्य घुम्छ। चन्द्रमा एकपटक जन्मेर पनि बारम्बार जन्मिने र हराउने गर्छ (अर्थात् कलामा परिवर्तन हुँदा कहिले पूर्णिमा त कहिले औँशी आउँछ )।
प्रश्न —धर्मको मुख्य स्थान कुन हो? यशको मुख्य स्थान कुन हो? स्वर्गको मुख्य स्थान कुन हो? अनि सुखको मुख्य स्थान कुन हो?
उत्तर —धर्मको मुख्य स्थान दक्षता हो। यशको मुख्य स्थान दान हो। स्वर्गको मुख्य स्थान सत्य हो र सुखको मुख्य स्थान शील ( असल व्यवहार, आचरण) हो।
प्रश्न —मनुष्यको आत्मा कुन हो? उसको दैवकृत सखा कुन हो? उपजीवन ( जीवनको सहारा) को हो? उसको परम आश्रय के हो?
उत्तर —मनुष्यको आत्मा पुत्र (सन्तान ) हो। उसको दैवकृत सखा स्त्री हो।उ सको उपजीवन मेघ हो (पानी बर्साउने, पानी) हो। दान परम आश्रय हो।
प्रश्न —धन्यवाद योग्य पुरुषको (व्यक्तिको) उत्तर गुण के हो? धनमा उत्तम धन कुन हो? लाभमध्ये मुख्य लाभ कुन हो? सुखमध्ये श्रेष्ठ सुख कुन हो?
उत्तर —धन्यवाद पाउने पुरुष या व्यक्तिको उत्तर गुण नै दक्षता हो। धनमा शास्त्रज्ञान उत्तम धन हो। लाभमा मुख्य लाभ आरोग्यता हो र सुखमा सन्तोष नै सर्वश्रेष्ठ सुख हो।
प्रश्न —संसारमा सर्वश्रेष्ठ धर्म कुन हो? नित्य फल दिने धर्म कुन हो? कसालाई अधीनमा राख्यो भने शोक हुँदैन? कोसँग गरेको सन्धि नष्ट हुँदैन?
उत्तर —दया नै संसारको सर्वश्रेष्ठ धर्म हो। वेदोक्त धर्म नै नित्य फल दिने धर्म हो, मनलाई वशमा राख्यो भने शोक हुँदैन र सत्पुरुषसँग गरेको सन्धि नष्ट हुँदैन।
प्रश्न —कुन वस्तुको त्याग गरेमा मनुष्य प्रिय हुन्छ? केलाई त्याग्दा शोक पर्दैन? के त्याग्यो भने मानिस अर्थवान् हुनेछ? र के त्याग्यो भने सुखी होइन्छ?
उत्तर —मानको त्याग गर्दा प्रिय होइन्छ। क्रोध त्याग्दा शोक हुँदैन। काम क्रोध त्याग्दा अर्थवान् होइन्छ र लोभ त्याग्दा सुखी होइन्छ।
प्रश्न —ब्राह्मणलाई किन दान दिइन्छ? नट वा नर्तकीलाई किन दान दिइन्छ? सेवकलाई दान दिने कारण के हो? अनि राजालाई किन दान दिइन्छ?
उत्तर —ब्राह्मणलाई धर्मका लागि दान दिइन्छ। नट— नर्तकीलाई यशका लागि दान (इनाम) दिइन्छ। सेवकलाई उसको भरणपोषणका लागि दान (तलब, इनाम, बक्सिस, पारिश्रमिक) दिइन्छ भने राजालाई डरका कारण दान (कर) दिइन्छ।
प्रश्न —जगत केले ढाकेको छ? कसको कारणले जगत प्रकाशित हुन सक्दैन? मनुष्यले मित्रलाई किन छोड्छ? मानिस के कारणले स्वर्ग जान सक्दैन?
उत्तर —जगत अज्ञानताले ढाकेको हुन्छ। तमोगुणका कारणले संसार प्रकाशित (उज्यालो ) हुन सक्दैन। लोभको कारणले मानिसले मित्रलाई पनि त्याग्छ र आशक्तिका कारणले मानिस स्वर्ग जान सक्दैन।
प्रश्न —कुन अवस्थामा पुरुषले आफूलाई मरेतुल्य ठान्छ? राष्ट्र कुन बेलामा मरेको जस्तै (असफल राष्ट्र) हुन्छ? श्राद्ध कुन बेलामा मरेतुल्य मानिन्छ? यज्ञ कसरी मरेको यज्ञ मानिन्छ?
उत्तर —दरिद्र पुरुषले आफूलाई मरेतुल्य ठान्छ। विना राजाको ( विना परिपक्व नेता ) राज्य मरे जस्तै हो, त्यो राज्य असफल हुन्छ। श्रोत्रिय ब्राह्मण विनाको श्राद्ध (वेदको ज्ञान नभएको, कर्मकाण्डको ज्ञाता व्यक्ति ब्राह्मण छैन भने ) त्यो श्राद्ध मरेको हो र विना दक्षिणाको यज्ञ मरेको यज्ञ मानिन्छ अर्थात् यज्ञका ब्राह्मणहरूलाई दक्षिणा दिएर सन्तुष्ट पार्नुपर्छ।
प्रश्न —दिशा के हो? जल के हो? अन्न के हो? विष के हो? श्राद्धको समय कुन हो?
उत्तर — सत्पुरुष दिशा हुन् ( किनभने उसले जीवनको बाटो देखाउँछन् र आफू पनि सत्मार्गमा हिँडेका हुन्छन्)। आकाश जल हो (किनभने आकाशमा बादल बन्छ, जीवनदायिनी पानी पर्छ। गाई नै अन्न हुन् (किनभने गाई गाईले दिन दूधबाट घिउ बन्छ, घिउले यज्ञमा होम गर्ने चरु बन्छ, त्यही यज्ञबाट उब्जने धुवाँले बादल बन्छ, त्यही बादलले पानी पार्छ, त्यही पानीबाट जीवन चल्छ)। स्वार्थी प्रार्थना या कामना (अनावश्यक प्रशंसा) विष हो र ब्राह्मण नै श्राद्ध हुन्।
प्रश्न —उत्तम क्षमा कुन हो? लज्जा कसलाई भन्छन्? तपको लक्षण के हो? दम कसलाई भन्छन्?
उत्तर —विवाद, द्वन्द्व सहनु उत्तर क्षमा हो। गर्नु नहुने कामबाट टाढै बस्नु नै लज्जा हो। आफ्नो धर्ममा दृढ रहनु नै तपको लक्षण हो। मनको दमन नै दम हो।
प्रश्न —ज्ञान भनेको के हो? शम केलाई भनिन्छ? दया कसको नाम हो? आर्जव (सरलता) भनेको के हो?
वास्तविक वस्तुको बारेमा सही जानकारी राख्नु ज्ञान हो। चित्तको शान्ति शम हो। सबैको सुखको इच्छा राख्नु नै दया हो र समचित्त (समानता) हुनु आर्जव (सरलता) हो।
उत्तर —वास्तविक वस्तुको बारेमा सही जानकारी राख्नु ज्ञान हो। चित्तको शान्ति शम हो। सबैको सुखको इच्छा राख्नु नै दया हो र समचित्त (समानता) हुनु आर्जव (सरलता) हो।
प्रश्न —मनुष्यको दुर्जय शत्रु के हो? अनन्त व्याधि (रोग) कुन हो? कसलाई साधु भन्न सकिन्छ? अनि असाधुचाहिँ को हो?
उत्तर —क्रोध मानिसको दुर्जय शत्रु हो। लोभ मानिसको अनन्त व्याधि हो, त्यो कहिल्यै बिसेक हुँदैन। जसले समस्त प्राणीहरूको हितको कामना गर्दछ, उही नै साधु हो र निर्दयी व्यक्ति नै असाधु हो।
प्रश्न —मोह केलाई भनिन्छ? मान केलाई मानिन्छ? आलस्य केलाई मान्न सकिन्छ? र शोक केलाई भनिन्छ?
उत्तर —धर्मान्धता वा धर्ममूढता मोह हो। आत्माभिमानी मान हो, धर्म नगर्नु आलस्यता हो भने अज्ञानता नै शोक हो।
प्रश्न —ऋषिहरूले स्थिरता केलाई मान्दछन्? धैर्य भनेको के हो? स्नान केलाई भनिन्छ? दान कसको नाम हो?
उत्तर —आफ्नो धर्म (कर्तव्य) प्रति दृढता नै स्थिरता हो। इन्द्रिय निग्रह (नियन्त्रण) नै धैर्यता हो, मानसिक दुर्बलता छोड्नु स्नान हो (मानसिक फोहोर सफा गर्नु नै स्नान हो ) भने प्राणीहरूको रक्षा गर्नु नै दया हो।
प्रश्न —कुन व्यक्तिलाई पण्डित मान्न सकिन्छ? कसलाई नास्तिक मान्न सकिन्छ? मूर्ख को हो? काम के हो? अनि मत्सर केलाई भन्छन्?
उत्तर — धर्मज्ञलाई पण्डित मान्न सकिन्छ। मुर्खलाई नास्तिक मान्नुपर्छ। जो जन्म मरणरुप संसारको कारण बनेको छ, त्यही वासना काम हो र हृदयको ताप नै मत्सर हो ( मत्सरको अर्थ अरुको भलो नचाहनु हो, सधैँ अरुको रिस, इबी र द्वेष राख्नु हो )।
प्रश्न —अहंकार के हो? दम्भ केलाई मानिन्छ? जसलाई परमदेव भन्छन्,त्यो को हो? पैशुन्य (अर्काको चुक्ली लगाउने व्यक्ति) भनेको कसको नाम हो?
महान अज्ञान अहंकार हो, आफूलाई ठुलो धर्मात्मा भनेर प्रचार गर्दै हिँड्नु दम्भ हो। दानको जुन फल प्राप्त हुन्छ, त्यही नै परमदेव मान्नुपर्छ र पैशुन्य भनेको अर्कालाई दोष लगाउनु हो।
उत्तर —महान अज्ञान अहंकार हो, आफूलाई ठुलो धर्मात्मा भनेर प्रचार गर्दै हिँड्नु दम्भ हो। दानको जुन फल प्राप्त हुन्छ, त्यही नै परमदेव मान्नुपर्छ र पैशुन्य भनेको अर्कालाई दोष लगाउनु हो।
प्रश्न —धर्म, अर्थ र काम यी तीन चिजहरू परस्परमा विरोधी तत्त्वहरू हुन्। तर यी तीनओटै तत्त्वहरू एकै ठाउँमा आउने संयोग कहिले पर्छ होला?
उत्तर —यदि कुनै पुरुषकी पत्नी पतिकी अत्यन्त सहयोगी भएर घर चलेको छ भने त्यहाँ धर्म, अर्थ र कामको अनौठो संयोग सम्भव छ।
प्रश्न —अक्षय नरक कुन पुरुषलाई प्राप्त हुन्छ? अर्थात् अक्षय नरकबासी हुन योग्य कस्तो पुरुष हो?
उत्तर —जुन पुरुष भिक्षा माग्दै हिँडेको दरिद्र ब्राह्मणलाई भिक्षा दिन्छु भनेर बोलाउँछ र दिँदैन, जसले ब्राह्मण, देवता र पितृधर्मका बारेमा मिथ्या बुद्धि पालेर बसेको छ, जे मन लाग्यो त्यही भन्दै हिँड्छ, त्यसले नै अक्षय नरकमा बास पाउँछ। जोसँग आफ्नो धन छ र पनि दान दिँदैन, आफू पनि लोभले आवश्यक ठाउँमा पनि प्रयोग गर्दैन, परिवार पालनमा पनि त्यो धन दिँदैन तर भन्छ, मसँग कहाँ छ र सम्पत्ति? हो त्यस्ता व्यक्तिका लागि अक्षय नरकको बास अवश्यम्भावी हुन्छ।
प्रश्न —कुल, आचार, स्वाध्याय र शास्त्र श्रवणमध्ये कुन कारणले ब्राह्मत्व सिद्ध हुन्छ? यो निश्चय गरेरमात्र बताऊ राजा युधिष्ठिर।
उत्तर —सुन यक्ष, कुल, स्वाध्याय र शास्त्र श्रवणका कारणले मात्र कोही पनि ब्राह्मण हुँदैन, कसैको पनि ब्राह्मणत्व कायम हुँदैन। ब्राह्मणत्वका लागि आचार नै मुख्य कारण हुनजान्छ, यसमा शङ्का नगरे हुन्छ यक्ष। आचारहीन व्यक्ति ब्राह्मण हुनै सक्दैन। पढेको मूर्ख पनि हुनसक्छ, पढेर पढेको ज्ञान प्रयोग नगर्न पनि सक्छ, शास्त्र श्रवणले उसको आचरणमा परिवर्तन नआउन पनि सक्छ तर सदाचारले मात्र पठन पाठन अनुसार ब्राह्मणत्व प्राप्त गरेर यज्ञ गर्ने, अर्काको भलो गर्ने आचार प्रयोग धर्मी हुनसक्छ।
प्रश्न —मधुर बोली बोल्नेलाई के मिल्छ? सोच विचार गरेर काम गर्नेले के पाउँछ? जसले धेरै मित्रहरू बनाउँछ, उसलाई के लाभ हुन्छ? अनि जो धर्मनिष्ठ छ, उसले के प्राप्त गर्छ?
उत्तर —मधुर बोली बोल्ने सबैको प्रिय हुन्छ। सोच विचार गरे काम गर्नेलाई धेरैजसो सफलता मिल्छ। जसले धेरै साथीहरू बनाएको हुन्छ, उसले सुख पाउँछ अनि जो धर्मनिष्ठ छ, उसलाई सद्गति मिल्छ।
प्रश्न —सुखी को हो? यो संसारमा आश्चर्य के हो? जीवनको असल मार्ग कुन हो? वार्ता (सन्देश) के हो? यी चार प्रश्नहरूको पनि उत्तर देऊ राजा युधिष्ठिर।
प्रत्येक छिन, प्रत्येक दिन, मानिसहरू मरेर यमलोक जाँदैछन्, यो मर्त्यलोकमा कोही पनि अमर छैन भन्ने जानकारी छ, कोही पनि बाँचेका छैनन्, त्यो बुझेर पनि, थाहा पाएर पनि सधैँ बाँच्ने इच्छा गर्छन् , योभन्दा ठुलो आश्चर्य यो पृथ्वीमा के हुनसक्छ र ?
उत्तर —जुन व्यक्ति या पुरुषलाई ऋण छैन, जो परदेशमा छैन, आफ्नो घर वरिपरि छ, हप्तामा, पाँच या ६ दिनमा घरमै जेजस्तो छ रूखोसुखो, सागपात भने पनि खान पाउँछ र खाने समय मिल्छ र परिवारमा बसेर खान पाउँछ, त्यही व्यक्ति सुखी हो। प्रत्येक छिन, प्रत्येक दिन, मानिसहरू मरेर यमलोक जाँदैछन्, यो मर्त्यलोकमा कोही पनि अमर छैन भन्ने जानकारी छ, कोही पनि बाँचेका छैनन्, त्यो बुझेर पनि, थाहा पाएर पनि सधैँ बाँच्ने इच्छा गर्छन् ( गर्नु नहुने कामहरू गर्छन्), योभन्दा ठुलो आश्चर्य यो पृथ्वीमा के हुनसक्छ र जलचर भयङ्कर देखिने यक्ष? जुन बाटो महापुरुषहरू हिँडेका हुन्छन्, त्यही सही मार्ग हो। यस महामोह रूपी संसारमा (जसरी कराईमा खानेकुरा पकाइन्छ, त्यसैगरी) सूर्य रुप आगो अनि दिन, महिना, ऋतुको इन्धनमार्फत कालले सबैलाई पकाएको छ र सबै त्यही कराहीमा पसेर बाहिर निस्कन कोही सक्दैनन्, त्यही नै जीवनका लागि कालको या समयको सन्देश वा वार्ता हो। अनित्यता नै जीवनको लागि वार्ता हो।
प्रश्न — परम्पत युधिष्ठिर, तिमीले मेरा सबै प्रश्नहरूका उत्तर ठिकठिक दिएका छौ, अब तिमी अर्को प्रश्नको पनि उत्तर देऊ, अब तिमी पुरुषको पनि व्याख्या गर कि सबैभन्दा धनी को हो?
उत्तर —जुन व्यक्तिको पुण्य कर्महरूको कीर्तिका शब्दहरू स्वर्गमा जबसम्म गुञ्जिरहन्छ, स्वर्गमा स्पर्श गरिरहन्छन्, तबसम्म ऊ पुरुषको रुपमा गणना गरिनेछ। अर्थात् पुरुषार्थी मानिने छ। जुन मनुष्य अप्रिय, सुख, दुःख र भूत भविष्यको द्वन्द्वमा समचित्त छ, एउटै ठान्छ, कुनै फरक मान्दैन, त्यही व्यक्ति नै संसारमा सबैभन्दा धनी व्यक्ति हो। जो भूत, वर्तमान, भविष्य समयको तर्फबाट निस्पृःह, शान्तचित्त, सुप्रसन्न र सदा योगयुक्त छ, उही नै धनीहरूमध्येको पनि धनी हो, धनीहरूको स्वामी हो।
यक्षले यत्ति प्रश्नहरू सोधे पछि ऊ खुसी भयो। जुन सन्देश यो संसारमा दिनु थियो युधिष्ठिरको ज्ञानको भण्डारबाट, त्यसको व्याख्या भएको सुनेर यक्षले भन्यो— महाराज युधिष्ठिर, जो सबैभन्दा बढी धनी हो, त्यसको पनि एकदम सटीक रूपमा व्याख्या गरेपछि म सन्तुष्ट भएँ। अब यहाँ तिम्रा चारओटा भाइहरू मृतक भएर सुतिरहेका छन्, यिमध्ये कुनै एकलाई म ब्युँझाएर तिमीलाई फिर्ता गर्न सक्छु। लौ भन, कुनचाहिँ भाइलाई जीवित गराउँ? तिमी चारमध्ये जसलाई चाहन्छौ, त्यसैलाई जीवित गराएर तिम्रो जिम्मा लगाउँछु। तिमीले चाहेको भाइमात्रै जीवित हुनेछ।
युधिष्ठिरले यक्षलाई तत्काल जवाफ दिए, —हे यक्ष, यी चार भाइमध्ये जो कालो वर्ण, अरुण नयन, सुविशाल सालको रूख समान उँचो, चौडा छाती भएको, महाबाहु नकुल छन्, तिनलाई जीवित गराउनु होस्।’
अनि यक्षले अचम्म मान्दै भन्यो, —तिम्रो प्रिय साक्खै भाइ भीमसेन जो हजार हात्तीको बल भएको छ, त्यो भीमलाई बचाउन नचाहेर, संसारमा सबैभन्दा धनुर्धर विश्व विजेता र तिम्रो मुख्य सहारा अर्जुनलाई छोडेर किन सौतिनी भाइ नकुललाई नै बचाउन चाह्यौ त राजा? भीमसेन र अर्जुनबाट पनि प्राप्त नहुने कुनचाहिँ पराक्रमका लागि तिमीले नकुललाई बचाउन चाह्यौ? ‘
अनि युधिष्ठिरले भने, —यक्ष, यदि धर्मको नास भयो भने त्यो नष्ट भएको धर्मले कर्तालाई नै सखाप पार्छ। यदि धर्मको रक्षा गरियो भनेमात्र त्यो धर्मले कर्ताको रक्षा गर्छ। त्यसैले कसैले पनि धर्म त्याग्यो भने त्यही धर्मको तापले उसको सर्वनाश हुन्छ भन्ने मेरो मान्यता छ। म सबैलाई समभाव राख्छु, दया र समता नै मेरो आदर्श हो, त्यसैले म नकुललाई जीवित गराउन तिमीलाई अनुरोध गर्छु। यदि तिमीलाई युधिष्ठिर धर्मको पालना गर्छ भन्ने लाग्छ भने मैले भनेको मान किनभने म कुन्तीतर्फका जीवितै छु, अर्की आमाको तर्फबाट पनि भाइ नकुल बाँचे भने हामी दुवै आमाका सन्तान बाँच्ने छौँ। मेरा लागि जसरी कुन्ती माता हुनुहुन्छ, त्यसैगरी दिवंगत माता माद्री प्रति पनि मेरो सहभाव र सम्मान उस्तै छ। त्यसैले हामी दुई आमाका सन्तान बाँच्नु नै धर्म हो।
यति युधिष्ठिरले भनेपछि यक्षले भन्यो— तिमीले अर्थ र कामभन्दा पनि माथि उठेर नकुलका बारेमा जे भन्यौ, त्यसबाट म अत्यन्त प्रभावित भएँ, दया र समताका भावको जुन तरिकाले तिमीले उदाहरण र व्याख्या गरेका छौ, त्यसबाट म खुसी भएँ र तिम्रा सबै भाइहरूलाई जीवित गराउने भएँ।
त्यसपछि चारै भाइ सुतेर उठेजस्तै गरी जर्याकजुरुक उठे र सबैका भोक प्यास हराएको थियो। अनि युधिष्ठिरले रुखको हाँगामा एक खुट्टामा उभिएको भयङ्कर रूपको यक्षलाई सोधे, — यो पोखरीमा एउटा खुट्टाले मात्र उभिएका र कसैले पनि हराउन नसक्ने हे यक्ष, तिमी वास्तवमा को हौ? तिमी देवश्रेष्ठ कोही हौ कि? मलाई त जलचर यक्ष जस्तो त लागेन। तिमी वसुहरूमध्येका, रुद्रहरूमध्ये या वायुहरूमध्ये कोही श्रेष्ठ पुरुष जस्तो पो लाग्यो। या तिमी स्वयं बज्रधारी इन्द्र पो हौ कि? यी मेरा भाइहरू लाखौँ योद्धाहरूसँग लडेर आएका हुन् र यिनलाई युद्धमा परास्त गर्ने त यहाँ कोही पनि योद्धा देखिएका छैनन्। मरेर उठेका भन्ने मान्ने हो भने आराम गरेर उठेजस्तै कुनै इन्द्रिय क्लेश पनि देखिँदैन। साँच्चै हाम्रो शुभचिन्तक मध्ये कोही हो कि मेरै पिताजी (धर्मराज) नै पो हो कि?
अब यक्षरुप धर्मराजले भन्नुभयो— हे पुत्र, म तिम्रो पिता धर्मराज नै हुँ। तिमीसँग भेट गर्ने लालसाले यो पोखरीमा आएको थिएँ, अब मलाई चिन। यश, सत्य, दम, शौच, सरलता, लज्जा, अचंचलता, दान, तप र ब्रह्मचर्य, सबै मेरै शरीरमा विद्यमान छन्। अहिंसा, समता, शान्ति, दया, र अमत्सर, यिनै हुन् मलाई प्राप्त गर्ने उपायहरू। सौभाग्यवश तिम्रो शम, दम, उपरति, तितिक्षार समाधान पाँचै जीवनका साधनहरूमा उत्तिकै अधिकार राखेको पाएँ। तिमीले भोकप्यास, शोक मोह, जरा मृत्यु यी पाँचै दोष माथि पनि नियन्त्रण राखेको पाएँ। धेरै खुसी लाग्यो। म तिम्रो परीक्षा लिनका लागि यहाँ आएको हुँ। हे निष्पाप राजा युधिष्ठिर, अब तिम्रो दयालुता र समदर्शिताको क्षमता देखेर म अति प्रसन्न भएँ, के वर माग्छौँ, माग। तिमी आफूलाई जरुरत परेको विषयमा वर माग। जो मनुष्य मेरा भक्त हुन्, तिनको कुभलो हुँदैन।
युधिष्ठिरले भने, हे पिता, म जुन मृगको पछिपछि लागेको थिएँ ब्राह्मणको अरणी प्राप्त गर्न, त्यो उनको अरणी लोप नहोस्। अरणीसहित मन्थन काठ पनि फेला परोस् जसले उनको यज्ञमा सहयोग पुगोस्। अनि धर्मराजले अरणी र मन्थन काठ फिर्ता दिए र फेरि भने अर्को पनि वर माग।
युधिष्ठिरले अर्को वर यस्तो मागे —हे धर्मराज, अब हाम्रो १२ वर्षको वनबास समाप्त भएर एकवर्षको गुप्तबास सुरु हुनै लागेको छ। त्यो समयमा हाम्रो पहिचान भएमा फेरि १२ वर्षको वनबासमा जानु पर्ने हुन्छ। त्यो बेलामा हामी कसैलाई पनि कसैले हाम्रो असली पहिचान थाहा नपाओस्, त्यही वर दिनु हुन अनुरोध गर्दछु।
धर्मराजले त्यो वर पनि दिनुभयो र भन्नुभयो —तिमीहरू यही स्वरूपमा रहँदा पनि कसैले चिन्ने छैनन् भन्ने वर दिन्छु।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- हिडिम्बाको मोह
- द्रौपदीलाई आफ्नै रूपको चिन्ता
- ब्राह्मण कुमारले विश्व सुन्दरीमाथि जमाए अधिकार
- द्रौपदीको छल
- शिखण्डीलाई लिङ्ग प्रदान, यक्ष स्थूणाकर्ण बने स्त्री
- यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन
- दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन
- किन आयो शिखण्डीमा मर्ने चाहना?
- शिखण्डीको नियति
- जब अम्बाको तपस्याले शिवजी प्रसन्न भए…