महाभारतको वनपर्वमा महामुनि मार्कण्डेयको दुईपटक प्रसङ्ग आउँछ। पाण्डवहरूको वनबास सुरु हुँदा र वनबासको अन्त्यतिर। तीर्थयात्रामा हिँडेका मार्कण्डेय ऋषि पाण्डवहरूलाई केही सल्लाह दिँदै तीर्थयात्रातर्पm निस्कन्छन् र पछि वनबासको अन्त्यतिर फेरि पाण्डवहरूसमक्ष देखिएर उपदेश दिएका छन्। पछिल्लोपटक त चिरञ्जीवी मार्कण्डेय ऋषिसँग भगवान श्रीकृष्ण पनि देखिनु हुन्छ।
आपसमा कुरा नमिलेर र एउटै दरबारमा बसेर सँगै राज्य सञ्चालन गर्न महाराज पाण्डुका छोराहरू पाण्डव तथा महाराज धृतराष्ट्रका छोराहरू कौरवहरूले सकेनन्। पाण्डवहरूमा त त्यस्तो कुनै घमण्ड देखिएको थिएन तर कौरवहरूले भने भित्री मनमा डाह गर्ने गरेकाले पाण्डवहरूले भने खाण्डव वनलाई इन्द्रप्रस्थ नामक अर्कै राज्यको व्यवस्था गरेर राज्यसमेत सञ्चालन गरेका थिए। महाभारतमा कौरव र पाण्डवका बिचमा देखिएको आपसी वैरभावको प्रारम्भिक अवस्थाको सबैभन्दा दुखद अध्याय भनेको दुईवटा राज्यका रुपमा शासन गरिरहेका कौरवहरू (कुरुका सन्तान मानिन्छन् धृतराष्ट्रका र पाण्डुका छोराहरू) नै मनोरञ्जनका नाममा हस्तिनापुरमा खेलिएको द्युतक्रीडामा पाण्डवहरूलाई षडयन्त्रपूर्वक, कपट गरेर राज्यच्यूत गराउने काम भएको थियो। हार्नेले बाह्रवर्ष वनबास जानुपर्ने र अर्को एकवर्ष कसैले थाहा नपाउने ठाउँमा गुप्तबास बसेर अनि मात्र फर्केपछि राज्य फिर्ता पाउने भन्ने सर्त थियो।
हामी बुझ्न सहजताका लागि पाण्डुका पाँच भाइ छोराहरूलाई पाण्डव र धृतराष्ट्रका एकसय भाइ छोराहरूलाई कौरवका रुपमा सम्बोधन गरिने गरेको छ महाभारत तथा पुराणमा। एउटै परिवारका दाजुभाइहरूका बिचमा भएको द्युतक्रीडामा गान्धार नरेश शकुनिको षडयन्त्रपूर्ण खेलमा हारेका पाण्डवहरूले सर्तबमोजिमको सजाय भोग्नु पर्ने भयो।
महाभारत वेदको विस्तारका लागि तयार गरिएकोले यसलाई पञ्चम वेद पनि भनिएको हो। त्यो समयमा बेद कसले पढ्न पाउने, कसले व्यवहारमा वेदवेदाङ्गलाई प्रयोग गर्न पाउने भन्ने नियम राखिएको थियो। त्यसो गर्दा वेद पढ्न र वेदका अर्थहरूको रसामृत पान गर्न नपाउने भएकाले वेदव्यासले महाभारत र पुराणहरूको रचना गरेको कथा पाइन्छ। महाभारतमा विद्यमान व्यापक विषयहरू क्रमबद्ध बुझ्न र सम्झन सहज होस् भनेर पर्वहरूको नामाकरण गरी कथालाई व्यवस्थित गरिएको हो।
विषयगत रुपको क्रममा हेर्दा बाह्रवर्ष वनबासको सर्त पूरा गर्नका लागि पाण्डवहरू वनतर्फ गएपछिको अवस्थाको वर्णनलाई वनपर्वको रुपमा लिइन्छ। वनपर्वको अर्थ पाण्डवहरूले कौरवहरूसँगको द्युतक्रीडामा हारेपछि जुन बाह्रवर्षको वनबास सुरु गरेका थिए, त्यसको बारेमा दिइएको विवरण नै हो। वनबासी पाण्डवहरूको अवस्था बुझ्न र उनीहरूको मनोबल नगिरोस् भन्ने आशयले पाण्डवहरूप्रति भलो चिताउनेहरू वनमा गएर ढाढस दिने, विभिन्न उत्प्रेरक उदाहरणहरू दिएर तेह्रवर्षपछिको शासनकालका बारेमा कसरी राजाले सुशासन दिन सक्छन् भन्ने जानकारी दिएको पाइन्छ।
यहीक्रममा भगवान श्रीकृष्णसहित धेरै ऋषि, मुनिहरू पाण्डवहरू कुन वनमा छन् भनेर खोजी खोजी जाने र उपदेश दिने काम गरेको पाइन्छ। यहीक्रममा अष्टचिरञ्जीवीमध्येका एक, महाप्रलयहरूको समेत प्रत्यक्षदर्शी महामुनि मार्कण्डेय वनबासको सुरुमा नै द्वैतवनमा आएका थिए। संयोग कस्तो परेको थियो भने श्रीकृष्ण फर्केपछि मात्र महामुनि पुगेका थिए। भर्खर पाण्डवहरूले साधुको भेष धारण गरेर वनमा प्रवेश गरेका थिए र कतिपय जनताहरूले भर्खरैमात्र पारिवारिक वैमनुस्यताको कारणले धर्मात्मा राजा युधिष्ठिरलाई भाइहरू र रानी द्रौपदीसहित वनबासको सजाय दिइएको र महाबली पाण्डवहरू पनि सर्तमा हारेका कारणले लुरुलुरु वनतर्फ गएको खबरले प्रजाहरू आफ्ना प्यारा राजाहरूलाई खोज्दै खोज्दै द्वैतवनमा आएका थिए। उनीहरू छाती पिट्दै रुँदै भन्दै थिए, हे स्वामी राजा र प्रजा भनेका त बाबु र सन्तान जस्तै हुन्, हामीलाई छोडेर तपाईँहरू कता जाँदै हुनुहुन्छ ? ती कपटी दुर्योधन, शकुनि र कर्णहरूको षडयन्त्रबाट हाम्रा राजालाई यसरी फसाइएकोमा तिनलाई धिक्कार छ भन्दै रुँदै थिए। पाण्डवहरूले आफूहरू तेह्रवर्षपछि फर्केर आउने बाचा गर्दै सबै प्रजाहरूलाई फर्काए तर साधु, विद्वत्वर्ग र ऋषिहरूलाई भने बौद्धिक र समसामयिक विषयमा अन्तरक्रियाका लागि सदैव सम्मानका साथ राखेका थिए। सर्वव्यापी, कुनै रिसराग नभएका, भविष्यद्रष्टा महामुनि मार्कण्डेय पनि पाण्डवहरूलाई खोज्दै द्वैतवनमा आइपुगेका थिए।
जब महामुनि मार्कण्डेय आएको देखेर तीन लोकमा नै सम्मानित तथा देवता यक्ष तथा मानिसहरूका पूजनीय ऋषिलाई पाण्डवहरूले विधिपूर्वक स्वागत गरे। यसरी स्वागत गरेको बेलामा महामुनि मार्कण्डेय पाण्डवहरू र द्रौपदीतिर हेरेर मुस्कुराउन थाले। पाण्डवहरूलाई संकोच लाग्यो किनभने यो बेला भनेको सहानुभूतिको थियो तर महामुनि त खुसी व्यक्त गरिरहेका थिए। अनि साधुका भेषमा रहेका धर्मराज युधिष्ठिरले महामुनिसमक्ष हात जोडेर भन्नलागे — माननीय मुनिवर,अरु ऋषि तथा तपस्वीहरू हाम्रो यो दयनीय अवस्था देखेर सहानुभूति देखाउँछन्, केही भन्नै सक्दैनन् तर महामुनिवर भने मुस्कुराई रहनु भएको छ। यसको के अभिप्राय हो मुनिवर?
यो जिज्ञासा सुनेर महामुनि मार्कण्डेयले भने —हे राजन, म तिम्रो यो अवस्था देखेर हाँसेको होइन, मैले त्रेतायुगमा ऋष्यमूक पर्वतमा साधुको भेषमा हातमा एउटा धनुष लिएर हिँडेका भगवान श्रीरामलाई सम्झन पुगेँ। उनी पनि बलवान थिए, एक्लैले हजारौँ राक्षस मार्न सक्थे, तर पिताजीको वचन पूरा गर्न, दिएको चौधवर्षको वनबासलाई शिरोपर गरी पत्नी सीता र भाइ लक्ष्मणलाई लिएर वनमा साधुको रुपमा आफ्नो धर्म निर्बाह गरेका थिए। भगवान श्री रामचन्द्र, इन्द्रभन्दा पनि बलवान, यमराजलाई समेत दण्ड दिनसक्ने क्षमता राख्थे, महामनस्वी तथा निर्दोष थिए। तर पनि पिताजीले दिएको वनबासको आज्ञालाई, युवराजको पदवी ग्रहण गर्ने बेलामा, त्यसको वास्ता नगरी तत्कालै पिताको आज्ञा पालना गर्न हिँडेको सम्झेँ र भगवान श्रीरामचन्द्रको स्मरणले मात्र पनि पुलकित भएर म हाँसेको हुँ किनभने मैले उनको दर्शन पाएजस्तै लाग्यो। ठिक श्रीरामचन्द्रले झैँ महाराज तिमी पनि निर्दोष, निष्पाप हुँदाहुँदै पनि आफ्नो वचन पूरा गर्न, सर्तको बन्दी भएको बहानामा धर्मको पालना गर्दै वनबास हिँडेका छौ। जसरी भगवान श्री रामचन्द्रले आफ्नो अपरिमित क्षमताको दुरुपयोग नगरी धर्मको आड लिएर पिताको आज्ञा पालना गरेर धर्मको रक्षा गर्नुभएको थियो, तिमीले पनि हे राजा, धर्मको पालना गर्नका लागि आफ्नो अपरिमित बलको दुरुपयोग गरेनौ, आफ्ना ती महाबली भाइहरूको दुरुपयोग गरेनौ र कृत्रिम सर्त नै सही, द्यूतक्रीडामा हारेर सर्त पूरा गर्नका लागि साधुको भेष धारण गर्दै वनबासी हुन बरु सहमत भयौ, धर्मको पक्षमा रहन छोडेनौ।म बलबान छु भनेर कसैले पनि अधर्मको बाटो हिँड्नु हुँदैन। तिम्रो अनुहारमा देदीप्यमानको तेज विद्यमान छ, तिम्रो धार्मिकता, सत्यनिष्ठता, सद्व्यवहार संसारका सबै प्राणीहरूभन्दा उच्चकोटिको छँदैछ, झन यो वनबासलाई तिम्रो घोर तपस्याको रुपमा गणना गरिने छ। तिमीले आफ्नो प्रतिज्ञाबमोजिम बाह्रवर्ष वनबास, एकवर्ष गुप्तबासको तपस्या समाप्त गर्नेछौ र त्यसपछि तेजोमयी राज्यलक्ष्मी कौरबसँग छिनेर लिनेछौँ, त्यो धर्मयुद्धमा तिम्रो जित निश्चित छ, यसका कुनै सन्देह छैन। तिमीमा मैले श्रीरामचन्द्रको छवि देखेकोले म हाँसेको हुँ। एउटा त मैले कल्पनामा श्रीरामचन्द्रको दर्शन पाएँ, अर्को तिमीमा भावी साम्राज्यको लागि धर्मको रक्षा गर्ने क्षमता पाएँ।
त्यसपछि महाप्रलयहरू भोगेर, भविष्यद्रष्टा र सम्पूर्ण धर्म अर्थ, काम, मोह, लोभबाट धेरै टाढा रहेका, जरामृत्युलाई समेत आफ्नो वशमा राखेका महामुनि मार्कण्डेय महाराजा युधिष्ठिर तथा उनका भाइहरू अनि महारानी द्रौपदी र पुरोहित धौम्यसँग विदा भएर तीर्थयात्रामा निस्किए।
महामुनि मार्कण्डेयको तपस्याक्षेत्र पुष्कर क्षेत्र हो। सामान्यतया महामुनिको चलन कस्तो थियो भने, पुष्कर क्षेत्रमा आएर जिज्ञासा राख्नेहरूलाई त्यहीँ आश्रममा नै उपदेश दिन्थे। संसारको हितका लागि तपस्यारत रहेका बेलामा अनुसन्धानरत हुन्थे र नयाँ नयाँ ज्ञानका धारणाहरू पत्ता लगाएर सम्पूर्ण प्राणीहरूको हितका लागि घुमी घुमी जानकारी गराउँथे।
द्वैतवनभन्दा उत्तर तर्फका तीर्थहरूको भ्रमणका लागि महामुनि प्रस्थान गरेपछि अरु पनि ऋषिहरू धर्मराज युधिष्ठिरसँग सत्संगका लागि आइरहन्थे। पछि सम्पूर्ण तीर्थाटन गरी मार्कण्डेय ऋषि आउँदा पाण्डवहरूको बास काम्यक वनमा थियो। त्यो समय भनेको वनबासको बाह्रवर्ष व्यतीत हुन लागेको थियो। सो समयमा श्रीकृष्णको पनि आगमन भएको बेला थियो। महामुनि मार्कण्डेयलाई के कुराको जानकारी थियो भने भावी पारिवारिक युद्धले महासंग्रामको रुप लिनेछ, त्यसलाई धर्मयुद्धको रुपमा लिइने छ र धर्मप्रतिको अटल आस्थावान पाण्डवहरूले त्यो युद्धमा जित हासिल गर्नेछन् । त्यसकारण महाराज युधिष्ठिरलाई असल राजाको रुपमा संसारले हेरुन् भन्ने दृष्टिले उपदेश दिएका छन्। अर्को पटक त्यसबारेमा।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- शकुनिको बदला
- शकुनिको कूटनीतिक क्षमता
- वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
- हिडिम्बाको मोह
- द्रौपदीलाई आफ्नै रूपको चिन्ता
- ब्राह्मण कुमारले विश्व सुन्दरीमाथि जमाए अधिकार
- द्रौपदीको छल
- शिखण्डीलाई लिङ्ग प्रदान, यक्ष स्थूणाकर्ण बने स्त्री
- यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन
- दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन