बर्खा लागेसँगै डेंगुको संक्रमण देशभर तीव्र रूपमा फैलिएको छ। डेंगुकै कारण करिब सात महिनाको अन्तरालमा चार हजार २८९ जनामा संक्रमण देखिएकाे छ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको झन्डै आधा जनसंख्या अर्थात् चार अर्ब मानिस डेंगु भाइरसको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्छन्। प्रत्येक वर्ष झन्डै ३९ करोड मानिसमा डेंगु संक्रमण हुनाका साथै २० हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ। नेपालमा भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्यांकअनुसार ०६० (सन् २००४ देखि ०२३) देखि ८० को साउनसम्म ८३ हजार ६ सय ८१ संक्रमित र ११० जनाको मृत्यु भएको छ।
नेपालमा पहिलोपटक २०६१ सालदेखि डेंगु रोग देखिन सुरु भएको हो। त्यसपछि प्रत्येक वर्ष कहिले महामारीको रूपमा त कहिले सामान्य रूपमा देखा पर्ने गरेको छ। अहिले नेपालका मुस्ताङबाहेक सबै जिल्लामा यो भाइरस पुगिसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले बताउनुभयो। ‘नेपालमा गत पुसदेखि साउन ९ गतेसम्म ४२८९ जना डेंगुका संक्रमित छन्,’ दाहालले भन्नुभयो, ‘सुनसरीमा २५ सयभन्दा बढी, धादिङमा चार सय र कास्कीमा दुई सयभन्दा बढी संक्रमित देखिएका छन्।’
२० वर्षमा डेंगुको अवस्था
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०६१–६२ मा डेंगुका बिरामीको संख्या शून्य थियो। २०६२–६३ मा ३२, २०६३–६४ मा २७, २०६४–६५ मा १० जना संक्रमित थिए। यस्तै २०६५–६६ मा ३० र २०६६–६७ मा ९१७ जना संक्रमित थिए, जसमध्ये पाँच जनाको मृत्यु भएको थियो।
यसैगरी आर्थिक वर्ष २०६७–६८ मा डेंगुका बिरामी ७९ जना थिए। २०६८–६९ मा १८३, २०६९–७० मा ६८६, २०७०–७१ मा ३५६, २०७१–७२ मा १३५ जनामा डेंगु देखिएको थियो, जसमध्ये एक जनाको मृत्युसमेत भएको रोग नियन्त्रण महाशाखाको तथ्यांक छ। त्यस्तै, २०७२–७३ मा १५२९ जना संक्रमित बिरामी हुँदा दुई जनाले मृत्युवरण गरेका थिए भने २०७३–७४ मा २१११ संक्रमितमध्ये तीन जनाको ज्यान गएको थियो।
२०७४–७५ मा ८११ जनामा डेंगु देखिएको थियो भने तीन जनाको मृत्यु भएको थियो। यस्तै, २०७५–७६ मा ३४२५ संक्रमित र एकको मृत्यु, २०७६–७७ मा ५३० संक्रमित, २०७७–७८ मा ५४० र २०७८–७९ मा सर्वाधिक ३७१३१ डेंगुका संक्रमित भेटिएका थिए।
हाल डेंगुबाट सर्वाधिक प्रभावित जिल्ला काठमाडौँ, ललितपुर, मकवानपुर, दाङ, भक्तपुर, चितवन, रुपन्देही र धादिङ रहेका छन्।
डेंगु रोगबाट बच्न के गर्न सकिन्छ?
डा. दाहालका अनुसार डेंगुबाट बच्न लामखुट्टेको जीवनचक्रलाई नष्ट गर्नुपर्छ। खुला स्थानमा पानी जम्मा नगर्ने वा जम्मा हुन नदिने। भएको पानी छोपेर राख्नुपर्छ। शरीरको अधिकांश अंग ढाक्ने लुगा लगाउने र त्यसमा पनि सकेसम्म फिक्का सेतो रङको पहिरन लगाउनुपर्छ। दिनको समयमा टोक्ने लामखुट्टेबाट बच्ने र टोकाइबाट जोगिन लामखुट्टेलाई विकर्षित गर्ने मलम प्रयोग गर्ने, रातको समयमा झुल भित्र सुत्ने तथा वरपरका वातावरण सफा राख्नुपर्छ।
जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि डेंगु रोग लाग्न सक्ने भए पनि प्रतिरोधात्मक क्षमता कम हुने हुँदा बालबालिका र वृद्धवृद्धाले विशेष ध्यान दिनुपर्ने विज्ञहरूको सुझाब छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
रूपेश आचार्य का अन्य पोस्टहरु:
- सटर भाडा तिर्न नसक्दा सडकमै बदाम बेचेर गुजारा चलाउने गायत्री
- धरहरा चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य, नयाँ साल देखि सर्वसाधरणका लागि खुला गर्ने तयारी
- भगवान् बनाएरै जीवन चलाएका रवि, जो मासिक लाख कमाउँछन्
- महाङ्काल र भद्रकाली मन्दिर जीर्ण, भाडा र भेटीको अत्तोपत्तो छैन !
- किन बढिरहेको छ उपत्यकामा चोरीका घटना ?
- गुजारा चलाउन दिनरात सडक सङ्घर्षमै हुन्छन् फुटपाथ व्यापारी
- थापाथलीको सुकुमबासी बस्ती भित्र छिर्दा
- महानगरले सुर्तीजन्य पदार्थमा लगाएको रोकप्रति व्यापारीको गुनासै गुनासा
- दैनिक १५ घण्टा सडकमै सङ्घर्ष गर्छन् अधिकारी
- द्रुत बस सेवा: कतै हर्ष, कतै दुखेसो