किन बढिरहेको छ उपत्यकामा चोरीका घटना ?

रूपेश आचार्य

देशको व्यस्त सहर काठमाडौँ उपत्यकामा रहेर नोकरी नगर्ने कमै होलान् । अधिकांश सर्वसाधारण आ–आफ्ना काममा निरन्तर लागि रहेकै हुन्छन् । कसैलाई कार्यालयको कामको चटारो त कसैलाई व्यापार व्यवसायको चिन्ता भइरहेकै छ । आफ्नो गुजारा र निर्वाहका लागि जो कोही आफ्नो दैनिक कामकाजमा व्यस्त भइरहेकै छन् ।

यस्तै घर तथा डेरामा कोही नभएको मौका पारेर चोरी गर्ने समूहको सक्रियता बढेको प्रहरीको आएको उजुरीको तथ्यले  पनि पुष्टि गर्दछ । प्रहरीले घरमा, डेरामा कोही नभएको बेला हुने चोरी तथा डकैतीको लागि सजग गराउँदै आएको भए पनि कतिपय घरधनी तथा डेरावालाको असावधानीवश पनि चोरीको घटना हुने गरेको छ ।

काठमाडौँको विभिन्न स्थानमा चोरी गरेको अभियोगमा प्रहरीले गत मङ्सिर २६ गते छ जनालाई पक्राउ गर्‍यो । प्रहरीले पक्राउ परेका उनीहरूको साथबाट महिलाहरूले प्रयोग गर्ने सुनका विभिन्न सामाग्रीहरू बरामद गरेको थियो ।

काठमाडौँ उपत्यकामा धेरै जसो सवारी साधनहरूको चोरी हुने गरेको प्रहरीले जनाएको छ । चोरीमा पनि दुई पाङ्ग्रे सवारी साधन बढी चोरी हुने गरेको प्रहरीको तथ्याङ्कले जनाएको छ । चोरी हुनुमा अव्यवस्थित पार्किङ, मोटरसाइकलको ह्यान्डल लक नगर्नु जस्ता विविध कारणहरू रहेका छन् ।

प्रहरीले केही समय अगाडि उपत्यकाबाट चोरी र पाकेटमारमा संलग्न सयौँको सङ्ख्यामा अभियुक्तहरूलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । यातायात व्यवसायीको सहकार्यमा सादा पोसाकका कर्मचारीलाई सवारी साधनमा यात्रा गराई चलाइएको अभियानमा पाकेटमारले नगद, मोबाइल, गरगहना चोर्दाचोर्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

चोरी तथा पाकेटमारले सार्वजनिक सवारी साधनमा चढेपछि साङ्केतिक भाषाको प्रयोग गरी चोरी गर्ने गरेको पाइएको थियो । अझै पनि काठमाडौँ उपत्यकामा दिउँसै हुने चोरी, लुटपाट तथा पाकेटमारबाट सर्वसाधारणले त्रास खेपिरहेकै छन् ।

पछिल्लो चार आर्थिक वर्षमा उपत्यकामा डाँका चोरी, नकबजनी चोरी, साधारण चोरी, सवारी चोरी, चौपाया चोरीका दुई हजार भन्दा बढी मुद्दा दर्ता भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष  २०७६/०७७ देखि २०७९/८० सम्म दुई हजार ७५८ मुद्दा दर्ता भएका छन् ।

चार आर्थिक वर्षमा डाँका चोरीका २१७ मुद्दा प्रहरीमा दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/७७ मा ७६, २०७७/७८ मा ५९, २०७८/७९ मा ३१ तथा २०७९/८० मा ५१ गरी जम्मा २१७ वटा मुद्दा दर्ता भएको नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता एवं सूचना अधिकारी कुबेर कडायतले जानकारी दिनुभयो ।

उपत्यकामा आव २०७६/७७ देखि गत आव २०७९/८० सम्मा प्रहरीमा १० नकबजनी चोरीको घटना दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

त्यसै गरी उपत्यकामा साधारण चोरी अत्यधिक रूपमा बडेको देखिन्छ । चार आवमा साधारण चोरीका २ हजार ३१३ मुद्दा प्रहरीमा दर्ता भएको देखिन्छ । आव २०७६/७७ देखि आव २०७९/८० सम्म साधारण चोरीका मुद्दा क्रमशः ५३१, ४६१, ५४८ र ७७३ रहेको छ ।

त्यस्तै गत चार आर्थिक वर्षमा उपत्यकाभर सवारी चोरीको घटनामा २ सय १९ वटा दर्ता भएका छन् । गत चार वर्षको तथ्याङ्क हेर्दा आव २०७६/७७ मा ४२ वटा, २०७७/७८ मा ५१ वटा, २०७८/७९ मा ७९वटा तथा २०७९/८० मा ४७ वटा सवारी चोरीका घटना प्रहरीमा दर्ता भएको देखिन्छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं सूचना अधिकारी कुबेर कडायतका अनुसार ‘गत चार आवमा चौपाया चोरीको जम्मा दुई घटनाहरू प्रहरीमा दर्ता भएका छन् ।’ उहाँका अनुसार ‘आव ०७६/७७ मा एक वटा र गत आव ०७९/८० मा एक वटा चौपाया चोरीको मुद्दा प्रहरीमा दर्ता  भएको हो ।’

‘उपत्यकामा हुँदै आएका चोरीको नियन्त्रणका लागि सर्वसाधारणलाई जनचेतना मार्फत सन्देशहरू पनि प्रदान गरिँदै पनि आएका छौँ,’ उहाँका अनुसार– ‘ आफ्ना सामानहरूको सकेसम्म आफैँले सुरक्षित साथ पनि राख्नु पर्दछ । मोटर साइकलहरूको ह्यान्डल राम्रोसँग लक गरेर राख्ने तथा पार्किङ गर्न उपयुक्त स्थान यकिन गरेर मात्र आफ्ना सवारी साधनहरू राख्दा थप सुरक्षित हुने बताउनुभयो ।’

उपत्यकामा साधारण चोरी अन्तर्गत घरमा कोही नहुँदा, वा लापरबाहीका साथ सामानहरू राख्दा पनि यस्ता चोरीहरू हुने गर्दछन् । अर्थात् घरबाट बाहिर निस्कँदा गेट तथा घरमा तालाहरू नलगाउँदा पनि साधारण चोरीहरू बडेको उहाँले जानकारी दिनुभयो ।

‘चोरी नियन्त्रणका लागि हामीले धेरै प्रयासहरू पनि गरेका छौँ’ उहाँ भन्नुहुन्छ–‘सर्वप्रथम स्वयं सजग हुनुपर्दछ । यदि चोरी भइहालेमा, चोरी गर्ने व्यक्ति या समूह खोज तलास गरेर हामीले कारबाही पनि गराएका छौँ ।’

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

रूपेश आचार्य का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link