भगवान् बनाएरै जीवन चलाएका रवि, जो मासिक लाख कमाउँछन्

रूपेश आचार्य

काठमाडौँस्थित पशुपति मन्दिर जाँदै गर्दा सडक छेउमा एउटा बोर्ड टाँसिएको छ ‘श्री चन्द्रिका प्रसाद संतरास मूर्ति कला केन्द्र’ । बोर्डको सुरुवातमा लेखिएको छ ‘मनुष्यको जीवन सरल हुनेछ मानवता उसलाई कठिन परिश्रमले प्राप्त हुन्छ ।’ त्यही बोर्डको तल एक मानिसले ढुङ्गालाई सानो हम्मरको सहायताले पटक पटक हानेर मूर्ति बनाउँदै गरेको दृश्य देख्न सकिन्छ ।
 
मूर्तिकारले करिब दुई देखि तिन घण्टा कुदेपछि बल्ल एउटा आकार निर्माण हुन्छ । त्यस आकारलाई केही बेर खाक्सीले घोटेर अझै सुन्दर बनाइछ । त्यसपछि मूर्तिमा कालो रङ्ग हालेर भगवान् गणेशको मूर्ति बनाउँछन् । रङ्ग लगाएपछि दुई मिनेटसम्म घाममा सुकाउनुपर्ने मूर्तिकारले जानकारी दिए । त्यसपछि निर्माण सम्पन्न उक्त भगवान्को मूर्ति ग्राहकको लागि तयार हुने रहेछ ।  
कडा मेहनत र परिश्रमको लगानीमा मूर्ति बनाउने मूर्तिकार हुन् भारत बिहारका रवि राजकुमार । सानो उमेर देखिनै मूर्ति बनाउन लगाव राख्ने चञ्चल स्वभावको थिए राजकुमार । उनी अरूले बनाएका केही नौलो बस्तुहरू आफूले पनि फरक ढङ्गबाट बनाउने तथा कुनै पुस्तकमा भएको चित्र हेरेर हुबहु माटोले आकार बनाउने गर्थे ।

सामान्य परिवारका रवि कुमार परिवारको कान्छो छोरा हुन् । बाल्यकालमा निकै कष्ट भोगेर बिताएका रवि हाल २७ वर्षको भए । परिवारबाट खोजे अनुसारको आवश्यकताहरू पुरा गर्न नसक्ने थाहा भएपछि खर्च तथा कापी किताबका लागि आफ्ना परिवारलाई पनि दुख नदिएको रवि बताउनुहुन्छ । 

 

साथीहरूसँग खेलौँ रमाइलो गरौँ भन्ने उमेरमा नै कपी किताब र कलमका लागि आफैँले सङ्घर्ष गर्न परेको विगत सम्झँदै उनी भन्छन्– ‘मैले १४÷१५ वर्षको उमेर देखिनै सामान्य र पहिलो मूर्ति बनाउन सिकेको थिए । सुरुमा शिव लिङ्गको मूर्ति बनाएर बेचेको थिए । दुई तीन वटा शिव लिङ्ग बनाउँदा सायद पाँच देखि १० रुपैयाँको हाराहारी कमाइ भएको थियो, त्यो पहिलो पारिश्रमिकको कमाइले कपी र कलम किनेको थिए ।’

सानै उमेर देखि दुखको लडाइँ गर्दै आएका रविले मूर्ति बनाउन गाउँकै नजिकै मूर्तिकारले मूर्तिहरू बनाएको देखेर सामान्य मूर्तिहरू बनाउन सिकेको बताउँछन् । बिस्तारै मूर्तिकारले बनाएको मूर्ति प्रति आफू पनि मोहित हुन थालेका रविले बिस्तारै साना ठुला ढुङ्गालाई फलामको टुक्राले विभिन्न आकृति दिन थाले । समय बित्दै जाँदा दुई चार महिनाको अवधि मानै बिस्तारै बुद्ध, नन्दी, शिव लिङ्ग बनाउन सिकेपछि भने उहाँमा जाँगर जाग्न थाल्यो ।

‘पैसाको कमिले एक पटक निकै पिरोलेको सम्झिँदै रवि भन्छन्– ‘चिसो मौसम थियो । स्कुल पढ्न जाँदा निकै चिसो भएकाले लुगा किन्न पैसा माग्दा बाबुले छैन भनेपछि १५ दिन लगाएर एक सय वटा शिव लिङ्गको मूर्ति बनाएर बेचे । त्यति बेला खासै पैसा मिल्दैन थियो । एक सय वटा मूर्ति बनाएर बेच्दा जम्मा तीन सय रुपैयाँ आम्दानी गरेको पैसाले आफूलाई लुगा किनेको रवि बताउँछन् । 

रविको पढाइमा पनि लगाव थियो । उनले सिभिल इन्जिनियरिङ विषयमा स्नातक गरे । त्यसपछि लगत्तै यजुनिर इन्जिनियरको पोस्टमा जनकपुर रेल्वे स्टेसनमा १४ महिना काम गरेको अनुभव सम्झँदै उनी भन्छन्– ‘प्राइभेट कम्पनी थियो । प्रमोसन पनि नहुने त्यही पनि जुनियर कामदारको रूपमा जानेहरुलाई प्राइभेट कम्पनीका सिनीयरहरुले धेरै नै हेप्ने । सिनीयरको व्यवहारले गर्दा पनि काम गर्न मन लागेर र छोडिदिए’ । 

रविका दुखका दिनहरू बिस्तारै सेलाउँदै गएका छन् । रविले ७ वर्ष अगाडि काठमाडौँमा आएर मूर्ति बनाउने र बेच्ने गर्न थाले । उनलाई ठुला मूर्तिका आकार र त्यसमा बनाउने बुट्टाका कामहरू बुबा चन्द्रिका प्रसादले सिकाएको बताए । उनका बाबुले ४० वर्ष अगाडि देखि पशुपतिनाथ मन्दिरको होलसेल पसलहरूमा मूर्तिहरू बनाएर सप्लाई गर्ने गरेका थिए ।  सोही सिलसिलामा आफूले पनि सिकेको र बनाएर राखेका मूर्तिहरू पनि धेरैले रुचाउन थालेको रविको भनाइ छ । बाबुले ठुला मूर्तिहरू कुदेँको देख्दै सिक्दै गर्दा दुई वर्षमा पुरै बनाउन जान्ने भएर पनि अहिले पसल पुरै रविको जिम्मामा छोडिदिएका छन् ।

काम गर्दै जाँदा कहिले सुख तथा कहिले दुख त भइनै हाल्छ । एक दिन भने ठुलो मूर्तिको अर्डर आयो । मूर्ति बनाउनका लागि उपयुक्त ढुङ्गा खोज्ने र पल्टाउने क्रममा रविको दाहिने हातमा चोट पुग्यो । रवि भन्छन्– ‘राम्रो र ठुलो ढुङ्गा खोजी रहेको थिए । माथिबाट ठुलो ढुङ्गाले मेरो हात नै थिच्यो धन्न पुरै हात भने लगेन । विगतको त्यो घटना कहिले काहीँ ठुला मूर्ति बनाउँदा याद आउँछ ।’ 
कुनै पनि मान्छेको फोटो वा कुनै पनि निर्माण गर्नुपर्ने वस्तुको फोटो दिए आकार अनुसारको समय लिएर मूर्ति बनाइदिने गरेको रविको भनाइ छ । कोही त आफ्ना बुबा आमा को निधन पश्चात् पनि याद स्वरूप बा आमाको मूर्ति बनाउन लगाउने गरेका छन् । मूर्तिप्रति सन्तुष्टि भए तोकेको रकममा पनि केही थपेर दिने गरेको उनी बत्ताउँछन् । 

मूर्ति बनाउन त्यति सजिलो भने छैन । मेहनतका साथ ढुङ्गालाई दिइने प्रहारले राम्रो आकृति निर्माण गर्न सकिने कुराको विश्वासका साथ निरन्तर लागि रहेका छन् रवि राजकुमार । उनले विभिन्न मूर्ति निर्माण गर्दा कहिले औँलाबाट रगत लागेर त कहिले खुट्टा तिर किला र हम्मरहरुले लाग्दा रगत बग्ने गरेको बताउँछन् । उनी भन्छन्– ‘मूर्ति बनाउन लाग्दा कहिले त नसोचेको आकृति एकै छिनमा निस्कन्छ तर कहिले अन्तिम अवस्थामा पुगिसकेपछि मूर्ति बनाइरहेको ढुङ्गा फुट्दा आँसु नै आउँछ ।’                 

हालसम्म २० हजार भन्दा बढी मूर्ति बनाइसकेका रविको सबैभन्दा रुचि लाग्ने मूर्ति बनाउन गणेश भगवान्को रहेको बताउँछन् । ‘मलाई अरू मूर्ति बनाउन पनि उही नै समय लाग्छ तर गणेश भगवान्को मूर्ति बनाउँदा भने छुट्टै आनन्द लाग्ने गर्छ ।’

रविको पसलमा हाल साना ठुला गरेर १ हजार मूर्तिहरू रहेका छन् । पसलमा सबैभन्दा सस्तो मूर्ति ८० रुपैयाँ देखि सबैभन्दा महँगो मूर्ति ५० हजार सम्मको छ । मूर्ति बनाउने र बेच्ने काम जतिको आनन्द अरू केहीमा छैन । भगवान्को मूर्ति भनेपछि कसैले पनि बार्गेनिङ गर्दैनन् ।

भगवान्को आकृति निर्माण गर्नु र भगवान् बनाउन सक्ने कला नै ठुलो हो । हामीले बनाएको मूर्ति लगेर दिनहुँ पुज्ने गर्दछन् । चाहे जे जस्ता सुकै मानिस किन नहोस् भगवान्को आराधना गर्न चाहन्छन् तर आफूले नै बनाएको मूर्ति आफ्ना घरमा र मन्दिरमा लगेर दिनहुँ पुज्ने गर्छन् । कमाएको धन नै त्यही रहेको रविको भनाई छ । 

मूर्ति बनाएर नै महिनाको एक लाख हाराहारीमा व्यापार हुने रवि बताउँछन् । तर पसल भाडा र ढुङ्गाको पैसा कटाएर जम्मा पचाँस हजारसम्म जोगाउन सकिन्छ ।   

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

रूपेश आचार्य का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link