धरहरा चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य, नयाँ साल देखि सर्वसाधरणका लागि खुला गर्ने तयारी

रूपेश आचार्य

आगामी नयाँ वर्षदेखि धरहरा अवलोकन गर्न पाइने गरी निर्माण सम्पन्नताको तयारी भइरहेको छ । काठमाडौँको सुन्धारामा धरहरा निर्माणको काम सकिनै लागेकोले चैत मसान्त भित्रमा सम्पूर्ण काम सकेर वैशाखदेखि सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको हो । आगामी २०८१ वैशाख १ गतेदेखि सर्वसाधारणको लागि धरहरा खुल्ने निर्माण कम्पनी रमन कन्स्ट्रक्सन प्रोजेक्ट म्यानेजर रमेश पौडेलले जानकारी दिनुभयो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ सालमै हतार हतार उद्घाटन गरेको धरहरा निर्माण अझै पनि सकिएको भने छैन । निर्माणको काम ९० प्रतिशत मात्रै भएको छ । जबकि ०७५ असोज १४ मा बनाउन सुरु गरिएको धरहराको निर्माण सकिने म्याद पाँच पटकसम्म थपिएको छ ।

सुरुमा ठेक्का सम्झौता अनुसार सकिनुपर्ने अवधि २०७७ असोज १४ थियो । तर आगामी चैत मसान्तसम्ममा पनि काम नसकिने हो कि भन्नेमा अझै अन्योलमा छ ।

६/६ महिनाको दरले म्याद थप गर्दै आए पनि यसको निर्माण कार्यमा स्थानीयको रोक तोक, निर्माण कम्पनीको कमजोरी तथा भूकम्पका कारण काम रोकिएको जस्ता अनेक बनिरहेका छन् । यस धरहरा निर्माणको ठेक्का जीआईईटीसी–रमण जेभीले पाएको हो । धरहरा  निर्माणका लागी ३ अर्ब ४८ करोड १६ लाख रुपैयाँ ठेक्का मा उक्त कम्पनीलाई दिइएको हो । अहिलेसम्म २ अर्ब भन्दा बढी रकम भुक्तानी भइसकेको छ ।

२०७८ वैशाख ११ मै उद्घाटन भइसकेको भएता पनि धरहरा सर्वसाधारणका लागि भने अझै पनि खुल्ला भएको छैन । निकै फुर्ती र तामझामका साथ तत्कालीन प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्दा समग्रमा आयोजनाको काम ४० देखि ४५ प्रतिशत मात्रै सम्पन्न भएको थियो ।

काम ढिला हुनुको मुख्य कारण सुरुमा कोभिडको आतङ्क भएको ठेकेदार कम्पनीको दाबी छ । काम पनि नगरेको होइनौँ, सुरुमा ठेक्का निकाल्दा पाँच रोपनी जग्गाभित्र निर्माणको काम उल्लेख थियो । पछि काम गर्दै जाँदा ४२ रोपनी पुराइदिए । ठाउँ थपिएपछि त्यसकालागि नक्सा, सामान, दक्ष जनशक्तिको व्यवस्थापन त्यस्तै साना ठुला बाधाहरूले गर्दा पनि निर्माण ढिला हुन पुगेको आयोजनाका एक इन्जिनियरले बताउनुभयो ।

अहिले निर्माण भएको धरहरा दुई तल्ला अन्डरग्राउन्डसहित २२ तल्लाको छ । जसमा तीन तले छुट्टै अन्डरग्राउन्ड पार्किङको व्यवस्था छ । पार्किङमा चार सय गाडी र सात सय मोटरसाइकल पार्किङ गर्न सकिन्छ । पहिले ९ तले धरहरा अहिले २२ तले बनेको छ । जसको उचाइ भूमिगत तलासहित ९२ मिटर रहेको एक इन्जिनियरले जानकारी दिए । 

जमिनबाट गजुरसहित धरहरा भने ८३ मिटर छ । धरहराभित्र दुई वटा लिफ्ट राखिएको छ । लिफ्टमा एकटकमा १० जनाले मात्र यात्रा गर्न सक्नेछन् । अर्थात् लिफ्टको क्षमता ६८० किलो छ । लिफ्ट बाटा २० औँ तलासम्म जान सकिन्छ । २० तलासम्म पुग्न जम्मा ३७÷३८ सेकेन्ड लाग्ने लिफ्ट अपरेटर अरविन यादवले जानकारी दिनुभयो । अहिले लिफ्ट हल्लिने समस्या भएकाले यसको मर्मतका लागि टिम बोलाएको छु २÷३ दिन भित्रमा लिफ्ट हल्लिने समस्या हट्ने उहाँले बताउनुभयो ।

लगभग ९० प्रतिशत काम सम्पन्न भयो । बाँकी रहेको काम त्यही  फिनिसिङ, म्युजियममा मार्बल, फलसिलीङ, बिजुलीको काम मात्रै बाँकी छ । चैतसम्ममा केही बाधा अर्चन नआए सक्ने लक्ष्य राखेको एक इन्जिनियरले बताउनुभयो ।

कहिले टाइममा निर्णय नदिने, कहिले नक्सा थप्नुपर्ने, कहिले सामनहरुको समस्याका कारण निर्माण लम्बिएको हो । ठुला सामानहरू चीन र भारतबाट ल्याउनुपर्ने हुँदा भन्सार बोर्डर गर्दा केही सामान ल्याउनै ३८ दिन जति लाग्ने हुँदा पनि काम मा  ढिला भएको एक इन्जिनियरले जानकारी दिए ।

धरहरा अवलोकन गर्न नपाउँदा सर्वसाधारणहरू भने निराश छन् । धरहरा छेउमै रहेको पुलमा बसेर फोटो खिचेरै भए पनि चित्त बझाइरहेका एक युवक भन्छन् ‘अब नयाँ वर्षमा धरहरा चढेर नयाँ सालको सुरुवात गर्न मन छ । निर्माण गर्न ढिला भएता पनि पक्की र दीर्घकालीन बने राम्रो हुने उहाँले बताउनुभयो ।

धरहरा बन्नलाई पाँच वर्ष भन्दा पनि बढी समय लागिसक्यो । नेपालीहरूले निकै प्रतीक्षा गरिसक्यौ तर पनि निर्माण सम्पन्न होला र अवलोकन गर्न पाइएला भनेर यतिका वर्ष कुर्नु परेको एक युवक बताउँछन् । आफूलाई धरहरा चढ्न र धरहराको टुप्पोमा पुगेर भिडियो र फोटो खिच्न हतार भएको एक युवती बताउँछिन् । तर नयाँ साल देखि धरहरा चढ्न पाउने कुरामा भने उहाँ खुसी हुनुहुन्छ । 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

रूपेश आचार्य का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link