चिसो होस् या गर्मी मौसम प्राय दुवै समयमा काठमाडौँका प्राय सडकका किनाराहरूमा सडक व्यापारीहरू भेटिन्छन् । कोही सटरको भाडा तिर्न नसकेरै सडक व्यापारी बनेका छन् । उनीहरू सामान्य आम्दानी गरेर जीवन गुजारा गर्दै आइरहेका छन् ।
खान लगाउन र सामान्य जीवन चलाउन नसक्ने अवस्थाका व्यक्तिहरूका लागि थोरै लगानी गरेर जीवनयापन गर्न सक्ने दह्रिलो सारथि बनेको छ सडक व्यवसाय । दुई तिन हजारको लगानीमा वा सामान्य लगानी गरेर नै जीवन चलाउन सकिने उदाहरणहरू पनि हामीले थुप्रै देखेका छौँ ।
मानिस तथा सवारी साधनहरूको चहलपहलका आधारमा पनि अग्रस्थानमा रहेको चाबहिलमा भने सडकका किनारमा बसेर केही व्यापारीहरू व्यापार गरी रहेको देख्न भेटिन्छन् । कोही ढुङ्गालाई तिखारेर त्यसमा बुटा भरेर मसला पिस्न प्रयोगमा आउने सिलाउटो र लोहोरो बनाइरहेका र बेचिरहेका हुन्छन् । केही व्यापारीहरू भने मास्क र पानी जस्ता अत्यावश्यक सामान सर्वसाधारणलाई बेचिरहेका हुन्छन् । त्यही चहलपहलको भीडका केही छेउमा बसेर सामान बेच्दै आउनुभएकी छ गायत्री खवास ।
मोरङ जिल्ला विराटनगर–२ मा जन्मिनुभएको गायत्री ४६ वर्षको हुनुभयो । १५ वर्षको उमेरमा मोरङकै रोहित खवाससँग विवाह बन्धनमा बाँधिनु भएको गायत्री भन्नुहुन्छ ‘हामीलाई सानो उमेरमा विवाह गर्नु हुन्न भन्ने ज्ञान पनि थिएन, घर परिवारका मानिसहरूले जँहा र जोसँग भन्नुहुन्थ्यो त्यहीसँग विवाह गर्ने चलन थियो, विवाह भएको पछिल्लो वर्ष नै एउटा सन्तान जन्मियो ।’ गायत्री थप्नुहुन्छ– ‘त्यो सन्तान जन्मिने बित्तिकै बित्यो । फेरी अर्को सन्तान जन्मियो त्यो पनि बित्यो । लगत्तै अर्को वर्ष पनि जन्मेको सन्तान बित्यो ।’
तीन सन्तान जन्मने बित्तिकै के कारणले बिते भन्ने प्रश्नको जवाफ उहाँ आफैसँग पनि छैन । आफू पनि सानो उमेरको भएको कारण के कसरी त्यस्तो भयो भन्ने बारे थाहा छैन । अहिले उहाँको २६ वर्षको छोरा र २४ वर्षीय छोरी गरेर दुई सन्तान छन् ।’
गाउँघरमा खेतीपाती गरेर र खसी बोकाहरू बेचेर जीवन चलाई रहेका गायत्री र उहाँका श्रीमान् रोहितलाई भने छोरा छोरीको भविष्य कष्टकर नहोस् भन्ने लागेर १२ वर्ष अगाडि काठमाडौँ छिर्नुभयो । अनजान सहरमा चिने जानेको कोही नहुनु र पढाइ नभएको कारण पनि उहाँहरूले निकै दुख पाउनु भएको बताउनुहुन्छ । बल्लबल्ल काम खोज्दै जाँदा साहुको घर सफा गर्ने लुगा धोइदिने काम पाउनुभयो । विगत १० वर्ष तिन चार वटा साहुका घरमा सरसफाइ तथा खाना बनाउने काम गरुन् भएकी गायत्रीले भने दुख सुख गरेर छोरा छोरीलाई पढाउनु भयो ।
गायत्री भन्नुहुन्छ– ‘सायद सानो उमेरमा बच्चा जन्माउँदा र पाँच सन्तान जन्माएको कारणले गर्दा पनि होला अहिले खासै बढी वजन भएका सामान उचाल्ने र त्यस्ता काम गर्न सकिँदैन । त्यही भएर पनि पाठेघरमा समस्या पर्यो र सबैतिरको घर सफा गर्ने छोडिदिएँ ।’
पाठेघरमा मासु पलाएको थाहा पाएपछि गायत्रीले आफ्नो उपचार गरेर सबै काम छोड्नुभयो । स्वास्थ्यमा सुधार भएपछि केही काम गरुन् पर्यो भन्ने लागेर चाबहिलको सडक किनारामा बसेर बदाम बेच्ने विचार जागेछ । आफूसँग बचेका केही रकमले एउटा डालो र केही पैसाले बदाम किनेर बाटोमा बदाम बेच्ने काम सुरु गर्नु भयो । ‘चार महिना अघि देखी मात्र बेच्न सुरु गरेकी हुँ, दैनिक जसो आठ सय देखि एक हजारको हाराहारीमा कमाइ हुन्छ । तर नगरपालिकाको टोलीले लखेटेको समयमा भने दिनको चार सय देखि पाँच सयसम्म मुस्किलले पुग्ने गरेको उहाँको भनाई छ ।
गायत्रीको छोरा लक्ष्मण खवासको ४ वर्ष अगाडि विवाह भयो । विवाहको एक वर्ष पछि एउटा छोरा जन्मियो । गायत्री भन्नुहुन्छ ‘नाति एक वर्षको हुँदा नै उसलाई ब्लड क्यान्सर जस्तो रोगले सतायो । कान्ति बाल अस्पतालमा जाँच गर्दा पत्ता लागेको रोगले नातिको अवस्था झन् बिगार्दै लग्यो । करिब २० देखि २५ लाख लगाएर उपचार गरियो तर नाति बचाउन नसकिएको उहाँको भनाई छ ।
उपचार सापट र ऋण गरेर पनि गरियो तर नाति बचाउन नसक्दाको पीडा भुलाउन पनि मानिसहरू चहलपहल हुने गरेको ठाउँमा बस्न मन लागेर पनि बदाम बेच्ने पेसामा लागेको उहाँ बताउनुहुन्छ ।
बाटोमा दुई तिन वर्षको बच्चाहरू हिँडेको देख्दा पनि आफ्नै नाति आएझैँ लाग्ने गरेको उहाँ बताउनुहुन्छ । केबल सम्झनामा रहेको नातिको सम्झनामा टोलाइरहने हुँदा पनि कति पटक महानगरको टोलीले आएर डालो र बदाम लैजाने गरेका पत्तोसमेत नहुने उहाँको दुखेसो थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
रूपेश आचार्य का अन्य पोस्टहरु:
- धरहरा चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य, नयाँ साल देखि सर्वसाधरणका लागि खुला गर्ने तयारी
- भगवान् बनाएरै जीवन चलाएका रवि, जो मासिक लाख कमाउँछन्
- महाङ्काल र भद्रकाली मन्दिर जीर्ण, भाडा र भेटीको अत्तोपत्तो छैन !
- किन बढिरहेको छ उपत्यकामा चोरीका घटना ?
- गुजारा चलाउन दिनरात सडक सङ्घर्षमै हुन्छन् फुटपाथ व्यापारी
- थापाथलीको सुकुमबासी बस्ती भित्र छिर्दा
- महानगरले सुर्तीजन्य पदार्थमा लगाएको रोकप्रति व्यापारीको गुनासै गुनासा
- दैनिक १५ घण्टा सडकमै सङ्घर्ष गर्छन् अधिकारी
- द्रुत बस सेवा: कतै हर्ष, कतै दुखेसो
- रिक्सा चालकको दुखः न स्वास्थ्यले साथ दियो न त आम्दानीले