द्रुत बस सेवा: कतै हर्ष, कतै दुखेसो

रूपेश आचार्य

    

संविधान दिवसको अवसर पारेर सरकारले गत असोज ३ देखि द्रुत बस सेवा सञ्चालनमा ल्याएको छ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न, यात्रुहरूलाई कार्यालय र घर फर्किनको लागि सहज र छिटो होस् भन्ने हेतुले उक्त सेवा सुचारु गरिएको हो ।

निजी सवारी साधन नभएका नागरिकलाई सार्वजनिक सवारी साधनमा पनि आकर्षित र सहजताको सेवा दिने उद्देश्यले द्रुत बस सेवा सञ्चालनमा ल्याइएको हो ।

सूर्यविनायक देखि रत्नपार्कसम्म द्रुत बस सेवा पुनः सञ्चालनमा आएको छ । बिहान साढे आठ बजे सूर्यविनायकबाट रत्नपार्कका लागि द्रुत बस छुट्ने गरेको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए।

उनका अनुसार– ‘बिहान ठिक निर्धारित समयमा सूर्यविनायकबाट छुटेको बस ४५ मिनेटमा रत्नपार्क पुग्छ । त्यस्तै गरी रत्नपार्कबाट सूर्यविनायकका लागि पनि द्रुत दिउँसोको साढे तीन बजे छुट्ने गरेको छ ।’

३६ वटा बस सञ्चालन गर्ने भनिए पनि मङ्सिर १० गते २३ वटा बस सञ्चालनमा आयो । त्यस्तै ११ गते २५ वटा, १२ गते २८ वटा सञ्चालनमा आएको थियो । ३६ वटा बस सञ्चालन गर्ने भनेता पनि माग कम भएकाले माग अनुसारको गाडी सञ्चालनमा आएको काभ्रे बस तथा काभ्रे पुण्यवती प्रालीका टाइम किपर अमात्य बिक्रमले बताए ।

अमात्यका अनुसार सूर्यविनायक देखि आएको बसको टाइम यहाँ (रत्नपार्क)मा नोट गरिन्छ । तीन मिनेटको समयमा यात्रुलाई ओराल्ने र चढाउने गरेर पुनः आफ्नो गन्तव्य तिर लाग्दछ ।

यातायात व्यवस्था विभागको प्रवक्ता पनेरु भन्छन्– ‘द्रुत बस सेवाबारे बाहिर नकारात्मक टीकाटिप्पणी भएको पनि सुनियो ।  हामीले यस सेवालाई बन्द गर्न सञ्चालनमा ल्याएका होइनौँ । यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानमा प्रतिबद्ध छौँ ।

यस सेवाको उपभोग गर्नेहरूबाट पनि राम्रो सुझावहरू आइरहेका छन् ।सुरुवाती समयमा केही समस्याहरू आउनु सामान्य हो । तर,  यसमा निराश हुनुपर्ने अवस्था भने छैन । सडक व्यवस्थापनमा ध्यान दियो भने दिगो सेवाका रूपमा द्रुत बस सेवा चल्ने पनेरुले बताए ।

सूर्यविनायक देखि द्रुत बसमा यात्रा गर्दै आउनुभएकी रक्षा महर्जन भन्छन्– ‘ मलाई त द्रुत बस सेवा निकै सहजपूर्ण लाग्यो । छिटो छरितो यात्रा गर्न सकिने, घरबाट रत्नपार्क आइपुग्न जम्मा एक घण्टा लाग्यो । अरू बसमा भए २ घण्टामा पनि बल्लबल्ल पुर्‍याउने गरेको उनले बताए ।

द्रुत बसमै यात्रा गर्ने अर्का यात्रु सरोज नेपाली भन्छन् – ‘कार्यालय जानुपर्ने र विद्यार्थीहरूको लागी सबैभन्दा लाभदायी सेवा रहेकोमा खुसी छु ।’ छोटो समयमै रत्नपार्कमा आइपुगेको खुसी व्यक्त गर्दै सरगम रेग्मी भन्छन् ‘ सार्वजनिक बसको हकमा सबैभन्दा छिटो र सरल रूपमा यात्रा गर्न सकिने द्रुत बस रहेछ ।’

सरकारले द्रुत बस सेवालाई मात्र नियमन गरेर नियम बनाउने कुरामा भन अन्य सवारीसाधनका चालकहरू भने निराश देखिन्छन् । बस चालक मिलन लामा भन्छन्– ‘यो द्रुत बसले गर्दा आयस्रोतमा पनि कमी हुन थालेको छ । यात्रुहरू बढी हुने समयमा उनीहरूलाई मात्र सहज नियम बनाएपछि सबै यात्रु द्रुत बस नै रोज्ने गर्दछन् । उनीहरूलाई छुट्टै लाइन बनाइदिँदा विना रोकटोक चल्न पाउँछन् ।  हामीले चलाउने सवारी भने जाममा फस्दै गर्दा आधा भन्दा बढी पेसेन्जरहरु द्रुत बसले लैजाने गरेको उनको दुखेसो छ ।

अर्का बस चालक मिलन श्रेष्ठ भन्छन्-‘ हामीहरूलाई त सीधै घाटा परेको छ । कि द्रुत बस अलिक कम गर्नु पर्छ कि सबै लाई समान रूपमा चल्ने वातावरण बनाउँदा मात्र उपयुक्त देखिन्छ ।’

अन्य सामान्य बस चालकहरू निराश भए पनि द्रुत बस चालक भने खुसी देखिन्छन् । समयमै यात्रुलाई ठाउँमा पुर्‍याउन सकिने नियम बनाएकोमा सरकारलाई धन्यवाद दिँदै द्रुत बस चालक श्याम कुमार ठकुरी भन्छन्– ‘सरकाले यात्रुहरूको मुख्य समस्याको हल निकालेको छ । घण्टौँसम्म समय बस कुरेर हुने ढिलासुस्ती अन्त्य भएकोमा उनले खुसी व्यक्त गरे ।

अर्का द्रुत बस चालकले अन्य बस चलाउन भन्दा द्रुत बस चलाउन सहज भएको बताउँछन् । स्टेसनमा मानिसहरूलाई ओराल्ने चढाउने मात्र गरिन्छ । अन्य स्थानमा जस्तो छरपस्ट यात्रु बटुल्नु पर्ने समस्याको समाधान भएको उनको अनुभव छ ।

गाडिको सबैभन्दा बढी चाप हुने बिहान र साँझको समयमा द्रुत बस सञ्चाल हुँदा समस्या रहेको एक ट्राफिक बताउनुहुन्छ । यहाँको बाटो साँगुरो छ त्यसमाथि ठुला सवारी साधन थप गर्दा सर्वसाधारणलाई त सहज होला तर व्यवस्थापन गर्न कठिन भएको ट्राफिक प्रहरीको गुनासो थियो ।

साँगुरो बाटोमा लेन बनाएर बसको लावालस्कर लगाउँदैमा सडक व्यवस्थापन नहुने अर्का एक ट्राफिक प्रहरीको भनाइ छ ।

यही रुटमा पठाओ चलाउने सुरेन्द्र पौडेलले द्रुत बस सञ्चालन राम्रो कुरा भए पनि एकतर्फी नियम बनाएकाले कठिन परेको बताए । उनीहरूलाई तोकेको समयमा उनीहरूको लेनमा  र स्टेसनमा अरू सवारी रोक्न नपाउँदा हाम्रो यात्रुहरू  भड्किएको उनले बताए ।

अर्का पठाओ चालक विशाल बुढाथोकीले द्रुत बसको लाइनमा हिँडेकै कारण पनि आफूलाई ट्राफिकले जरिवाना गरेको प्रति गुनासो गरे ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार– ‘द्रुत बस सञ्चालनको मुख्य उद्देश्य नै सर्वसाधारणको लागि सरल, सहज र छिटो यात्रा गर्ने माध्यम हो ।’  उनका अनुसार – ‘अहिले कम सङ्ख्यामा बस सञ्चालन भए पनि यात्रुहरूको आवश्यकता र माग अनुसार थपघट गरिने छ । राम्रो प्रतिक्रिया आयो र माग बढ्यो भने नेपालका विभिन्न ठाँउहरूमा पनि द्रुत बस सञ्चालन गर्न हामी तयार रहेका छौँ ।’ 

  
  

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

रूपेश आचार्य का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link