महामुनि मार्कण्डेयका बारेमा विभिन्न पुराणमा विभिन्न तरिकाले व्याख्या गरिएको भए पनि उनको शिक्षादीक्षा पिताजी महाज्ञानी मृकण्ड ऋषिले नै गरेका थिए भन्ने कुरामा विवाद छैन। मृकण्डको स्वभाव र संस्कारका कारणले नै मार्कण्डेय त्रिकालदर्शी भएका थिए। मृकण्ड ऋषिले उन्मादबाट बचेर, रिसलाई नियन्त्रण गरेर र सबैसँग समान व्यवहार गरेमा मृत्युलाई पनि वशमा पार्न सकिन्छ भन्ने उपदेशका कारणले पनि मार्कण्डेय चिरञ्जीवी भएका थिए। कुनै पुराणमा ब्रह्माजीका कृपाले मार्कण्डेय दीर्घायु भएका मानिन्छन् भने कुनै पुराणमा उनले पिताजी मृकण्डले जस्तै विष्णु भगवानको आराधना र तपस्याका बलले आफ्नो रोग, शोक तथा बृद्धत्वमाथि नियन्त्रण प्राप्त गरेका थिए। धेरैओटा सत्ययुग, त्रेतायुग, द्वापरयुग, कलियुग देखेका र विभिन्न सहस्राब्दीको अन्त्यमा हुने प्रलयमा बाँचेर प्रलयको सन्देश दिने ऋषिको उमेर महाराज युधिष्ठिरको काम्यक वनमा आउँदा पनि पच्चिस वर्षका युवाजस्तै देखिन्थे। आफ्नो यो क्षमताका लागि उनले भगवान श्रीकृष्णको आशीर्वाद हो भनेर मान्दथे।
श्रीकृष्ण जब काम्यक वनमा सत्यभामासहित पाण्डवहरूलाई भेट्न आएका थिए, आपसमा बसेर भलाकुसारी हुँदा श्रीकृष्णले द्रौपदीलाई उनका पाँचवटै छोराहरू सकुशल रहेको बताए। साथै तिनीहरू पनि धनुर्वेदप्रति आकर्षित भएकाले रुक्मिणीनन्दन प्रद्युम्नले उनीहरूलाई धनुर्वेदको शिक्षा दिइरहेको पनि बताए।
श्रीकृष्णले महाराज युधिष्ठिरलाई भन्न थाले — महाराज, तपाईँको धर्मप्रतिको आस्थाले नै आज सबैले महाराज युधिष्ठिर भनेर सह्राहना गरेका छन्। राज्य सञ्चालन गर्नेमा कौरवहरू हुँदा पनि विभिन्न राज्यहरूको तर्फबाट महाराजप्रति समर्थन देखाइएको छ। जस्तो कि दशार्ह, कुकुर, अन्धक वंशका वीरहरू तपाईँको अनुरोध आउला र कौरवहरूसँग लडुँला भनेर दिन गनेर बसिरहेका छन्। तपाईँहरूको सर्त पूरा हुने बेलामा उनीहरूले आफ्नो सेनाको सुगठन गरिसकेका हुनेछन् र तिनले पाण्डवका विरोधीहरूको संहार गरी सदाका लागि तपाईँका हातमा भारतवर्षको राज्य सुम्पने छन्।
यसरी श्रीकृष्णले पाण्डवहरूका पक्षमा खुलेर सहयोगको आश्वासन दिएको बुझेपछि महाराज युधिष्ठिरले आफ्नो परिवार श्रीकृष्णप्रति नै विश्वस्त रहेको र अप्ठेरो परेको बेलामा साथ सहयोग पाइरहने आशा र विश्वास रहेको बताउँदा श्रीकृष्णले पनि आफू सधैँ पाण्डवहरूको कसरी हित हुन्छ भन्ने कुरामा चिन्तित रहेको बताए। यसरी आफ्ना बान्धवहरूले नै छलकपट गरेर खेदो खनेको बेलामा यसरी साथ सहयोग दिने र ढाढस दिने श्रीकृष्ण पाउँदा पाण्डवहरू हर्षले विभोर भएका थिए।
त्यसपछि महाराज युधिष्ठिरले भने — यसप्रकारको सन्देशले मलाई उत्प्रेरणा दिएको छ र हामी सधैँ नै श्रीकृष्णको शरणमा छौँ र हाम्रो शरणागतीलाई सधैँ सधैँ श्रीकृष्णबाट साथ सहयोग पाइरहेका पनि छौँ। पाण्डुपुत्रहरूको सहारा भनेको नै श्रीकृष्णमात्र हुन् भन्ने कुरामा कुनै शंका लिनु पर्दैन। हामीलाई विश्वास छ, जति अहिले विश्वस्त पार्न काम गरिएको छ, त्योभन्दा पनि बढी हामीले अचिन्त्य सहयोग पाउने छौँ भन्ने कुरामा पनि हामीलाई कुनै शंका छैन। हामीले गन्तव्यहीन रहेर पनि भावी समयको आशामा बाह्रवर्ष व्यतीत गरिसकेका छौँ। भविष्यमा देखिने उज्यालोको लागि आज पनि हामी आशावान छौँ। त्यो आशा र अपेक्षाको आधार भनेको श्रीकृष्णमात्रै रहेको कुरा पनि सादर अनुरोध गर्दछौँ।
श्रीकृष्णको मनमा सधैँ पाण्डवहरूको भविष्यको चिन्ता देखियो भने पाण्डवहरूमा श्रीकृष्णको भरमा जस्तोसुकै समस्याको पनि समाधान गरिने कुरामा विश्वास रहेको पाइन्थ्यो। श्रीकृष्णको यो काम्यक वनको भ्रमण भावी दिनका पाण्डवहरू निराश भएर युद्धको भाव नै बिर्सने हुन् कि भन्ने चिन्ताले पीडित भएको बुझिन्थ्यो।
यसरी आपसमा एकअर्कालाई विश्वस्त पार्ने कुरामा होडबाजी नै चलिरहेको थियो। लाग्थ्यो, भावी योजनाकार स्वयं श्रीकृष्ण एक्लै हुन् कि जस्तो देखिन्थ्यो। यस्तै वार्ता भइरहेकै बेलामा महामुनि मार्कंण्डेय तीर्थाटनबाट फर्केर पाण्डवहरूको आश्रममा आउँदा सबैल उनको स्वागत गरे। अझ मार्कण्डेय ऋषिको दर्शन पाउँदा श्रीकृष्ण खुसीले गद्गद् भएका थिए। पाण्डवसहित श्रीकृष्णले मुनिको स्वागत गरेपछि ऋषिले श्रीकृष्णलाई प्रणाम गर्दै सम्पूर्ण जगतमा पालनहारको दर्शन पाएकोमा आफू धन्य भएको बताउन थाले।
विभिन्न युग, विभिन्न ब्रह्मा, विभिन्न मनुहरूको शासन देखेका महामुनिलाई भेट्ने महाराज युधिष्ठिरले आफ्ना भाइहरूसहित, द्रौपदीसहित, श्रीकृष्ण सत्यभामा र युधिष्ठिरमा आस्था हुने राजा, महाराजा, ऋषिहरू र स्थानीय ब्राह्मणहरूसमेतको उपस्थितिमा युधिष्ठिरले प्रश्न गर्न थाले। स्मरणीय के छ भने ऋषि मार्कण्डेय जो सत्ययुगदेखि विभिन्न युगहरूमा भगवान विष्णुका भक्त र ब्रह्माजीका अत्यन्त प्रियपात्र मानिन्थे। उनको खास उद्देश्य नै के थियो भने भावी चक्रवर्ती महाराज युधिष्ठिरमा राजामा हुने गुणहरू रहून् र भारतवर्षमा सुशासन कायम होस् भन्ने देखिन्थ्यो। अझ त्यो भन्दा पनि के कुरा स्पष्ट हुन्थ्यो भने श्रीकृष्णका बारेमा पाण्डवहरूलाई जानकारी कत्तिको छ भनेर मार्कण्डेय ऋषि त्यसको बारेमा जानकारी दिएर भावी दिनका लागि विश्वस्त पार्न आएको जस्तो लाग्थ्यो।
तपस्याका तेजले र ज्ञानको आभाले देदीप्यमान ऋषि मार्कण्डेयलाई सादर सम्मान गरेपछि महाराज युधिष्ठिरले आफ्नो जिज्ञासा पोख्न थाले —हे त्रिकालदर्शी चिरञ्जीवी महामुनि, यो पृथ्वी कतिपटक जलमग्न भएको र सृष्टिविहीन हुँदाको समेत अनुभव सँगालेका सबैभन्दा प्राचीन मानव प्रतिनिधि महाऋषि, तपाईँलाई देवता, राक्षस,दैत्य, ऋषि, महात्मा, राजर्षि सबैको चरित्रका बारेमा सबै ज्ञान छ। जानकारी छ। त्यसैले म केही कुरा सोध्न चाहन्छु। हे महाऋषि, म धर्मको पालन गरिरहेको छु र पनि सुखबाट वञ्चित छु, सदैव दुराचारमा लागिरहने दुर्योधनादि भाइहरू सर्वथा ऐश्वर्यशाली हुँदै गरेको देखिरहेको छु। अनि मेरो मनमा पनि यो प्रश्न कुलबुल गरिरहेको छ कि मानिसले शुभ कार्य र अशुभ कार्यको प्रतिफल कसरी पाउँछ ? ईश्वरले त्यसको कसरी नियमन गर्छन् ? मानिसहरूको सुख र दुःख कसरी मिल्छ ?
जुनसुकै तरिकाले पनि धन संग्रह गर्ने र शारीरिक सुखको लागि जे पनि गर्ने बानी बस्यो। देहको सुखका लालसा गर्नेलाई यही योनिमा मात्र सुख हुन्छ तर जो योगसाधनामा लागेका हुन्छन्, कठिन तपस्यारत हुन्छन् र आफ्नो धर्म अधर्मको ख्याल गर्ने र दान तपस्याका पक्षमा रहन्छन्, तिनको परलोक सप्रन्छ। जितेन्द्रिय भएर अहिंसापरायण जो हुन्छन्, उनका लागि तत्काल सुख नदेखिए पनि अन्ततः उनीहरूले नै सुख प्राप्त गर्छन्।
उमेर, मृत्यु र आवेगलाई आफ्नो नियन्त्रणमा राख्नसक्ने महामुनि मार्कण्डेयले महाराजा युधिष्ठिरलाई भन्न थाले — महाराज, तपाईँको जिज्ञासा अत्यन्त सामयिक र वैध छ किनभने यी कुराहरू महाराजले नजानेको पनि होइन तर लोकगालका लागि मसँग सोधिएको हो र पनि म आफूले थाहा पाएसम्म उत्तर दिने छु। ब्रह्माजीले जब सृष्टि सुरु गर्नुभयो, असल शरीरको निर्माण गर्नुभयो र धर्मशास्त्रको विकास गर्नुभयो जसको पालनाले मानिसहरूको आरोग्यता चिरायु हुने गरी हजारौँ वर्षको हुन्थ्यो। आकाश मार्गबाट चरा उडेजस्तै गरी विचरण गर्न सक्थे। अनि पहिले मानिसहरू पनि स्वर्गमा सिधै जान सक्थे किनभने धर्म परायण भएका कारणले हजारौँ वर्षमो आयु थियो र हजारौँ सन्तान पनि पाउन सक्थे। कालान्तरमा आकाश गति बन्द भयो, मानिसहरूमा आपसमा क्लेश, रिस, प्रतिशोध र बदलाको भावना बढ्न थाल्यो। सबै मोह र लोभको वशमा परे। स्मृति पनि लोप भयो र बारम्बार अनेक योनिमा जन्म र मृत्यु हुन थाल्यो। मृत्युपश्चात्को जीवन आफ्नो कर्मअनुसार नै हुन थाल्यो तर अघिल्लो योनिका कुरा सम्झना हुन छोड्यो। जुनसुकै तरिकाले पनि धन संग्रह गर्ने र शारीरिक सुखको लागि जे पनि गर्ने बानी बस्यो। देहको सुखका लालसा गर्नेलाई यही योनिमा मात्र सुख हुन्छ तर जो योगसाधनामा लागेका हुन्छन्, कठिन तपस्यारत हुन्छन् र आफ्नो धर्म अधर्मको ख्याल गर्ने र दान तपस्याका पक्षमा रहन्छन्, तिनको परलोक सप्रन्छ। जितेन्द्रिय भएर अहिंसापरायण जो हुन्छन्, उनका लागि तत्काल सुख नदेखिए पनि अन्ततः उनीहरूले नै सुख प्राप्त गर्छन्। राजा युधिष्ठिर, तिमी धर्मात्मा छौँ, आफ्नो बाचा पूरा गर्नका लागि दुःख भए पनि आराम छ जस्तै गरी बचन पूरा गरिरहेका छौँ। यो वनमा रहँदा पनि तिम्रो मनमा कुनै प्रतिशोध छैन, रिस राग र बदलाको भावना छैन। आफ्ना भाइहरू यति बलवान हुँदा पनि त्यसको दुरुपयोग गरेर बाचा भंग गरेका छैनौ। म देखिरहेको छु, तिम्रो भविष्य उज्ज्वल छ, तिमीहरू बडो पराक्रमी र सत्यवादी छौ। तिमीहरूले यो वनबास पछि पनि धेरै काम गर्नु छ र देवता, ऋषि सबैलाई सन्तुष्ट पार्ने छौ। अहिले भारतवर्षको राज्य पाउने छौ भने पछि परलोकमा पनि उत्तम लोकमा बास पाउने छौ । वर्तमानको कष्ट सम्झेर दु:खी नहोऊ। यो दुःख नै भावी जीवनको सुखको लक्षण हो।
अनि श्रीकृष्णतिर हेरेर महामुनि मार्कण्डेयले भने — यिनै हुन् सृष्टिका आदि पुरुष पनि, प्रलयका कारण पनि र प्रलयपछिको सृष्टि र संसारको पुनर्बहाली गर्ने पनि, किनभने मैले यिनको क्षमता देखिसकेको छु, मत्स्य अवतारको रुपमा कसरी प्रलयको प्रतिस्थापन गरे र फेरि नयाँ संसारको थालनी गरे। जब तिनै ईश्वर तिम्रा पक्षमा छन् भने तिम्रो भविष्य उज्ज्वल छ। मलाई बालमुकुन्दको त्यो रुपको दर्शन उनैले दिएका थिए जहाँ एउटा सानो बालक आफ्नो किलकारीसहित चरणको औँलो चुस्दै संसारको नियमन गरिरहेको थियो। अर्थात् मार्कण्डेय ऋषिले प्रकृतिको ताण्डव अवतार र त्यसको रक्षाको कथा युधिष्ठिरलाई सुनाएका थिए। यसरी मार्कण्डेय ऋषि अचानक आएको जस्तो लागे पनि श्रीकृष्णको इच्छानुसार नै काम्यक वनमा आएर ढाढस दिएको पाइन्छ। पाण्डवहरूमा कता कता अबका दिनहरू यत्तिकै दुःखका साथ बित्ने हुन् कि भन्ने परेको बेलामा मार्कण्डेय जस्ता त्रिकालदर्शी ऋषिको भविष्यवाणीले प्रेरित गरेर युद्धमा लाग्ने प्रेरणा पाएको बुझिन्छ जुनकुरा पछि युद्धको सुरुवातका बेलामा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेशसँग तुलना गर्न सकिन्छ जसलाई आज हामी श्रीमद्भगवतगीताको रुपमा बुझेका छौँ। श्रीकृष्णले अर्जुनलाई भनेका छन्—हे अर्जुन, तिमी हुनु वा नहुनुले केही फरक पर्दैन, तिमीले हतियार उठाउनु वा नउठाउनुले केही फरक पर्दैन, यो त हुनु नै छ र हुन्छ। कोही भए पनि वा नभए पनि हुन्छ र यो विनाश रोकिँदैन। को निमित्त हुने भन्ने मात्र हो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- शकुनिको बदला
- शकुनिको कूटनीतिक क्षमता
- वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
- हिडिम्बाको मोह
- द्रौपदीलाई आफ्नै रूपको चिन्ता
- ब्राह्मण कुमारले विश्व सुन्दरीमाथि जमाए अधिकार
- द्रौपदीको छल
- शिखण्डीलाई लिङ्ग प्रदान, यक्ष स्थूणाकर्ण बने स्त्री
- यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन
- दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन