गीता सधैँको रहस्य

गीता एक-प्रतिध्वनि अनेक -२

हरिविनोद अधिकारी

गीतालाई किन रहस्यमय ग्रन्थ मानिएको हो ? यसको कारण के होला ? सायद कसैले पनि यही हो भनेर भन्न सक्ने अवस्था देखिएन। प्रत्येक अध्येताले, प्रत्येक वाचकले, प्रत्येक विश्लेषकले र प्रत्येक संश्लेषकले फरक फरक तरिकाले गीतालाई अर्थ्याउने गरेको पाइन्छ। स्वयं यसका रचयिता व्यासले पनि गीताको सुगीत गाई सकेपछि, अर्जुनलाई विश्वरुप देखाएर संसार आफूभित्रै समाहित भएको विराटता प्रदर्शन गरिसकेपछि, गीताका बारेमा भीष्मपर्वको ४३औँ अध्यायको सुरुमै ( ४२ अध्यायसम्ममा १८ अध्याय गीताको वाचन भएपछि) कथा वाचक ऋषि वैशम्पायनका मुखबाट महाराजा जन्मेजयलाई भनेको पाइन्छः

गीता सुगीता कर्तव्या किमन्यैः शास्त्रसंग्रहैः। या स्वयं पद्‌मनाभस्य मुखपद्‌मद् विनिःसृता।।

(अर्थ- जन्मेजय महाराज, अन्य धेरै शास्त्रहरूको संग्रह गर्नु आवश्यकता नै छैन गीताको नै राम्रोसँग गान गरेमा (श्रवण, कीर्तन, पठन पाठन, मनन र धारण) प्रशस्त हुन्छ किनभने गीता स्वयं पद्‌मनाभ भगवान कृष्णको मुखकमलबाट नै निस्किएका वाणीहरू हुन्।)

सर्वशास्त्रमयी गीता सर्वदेवोमयी हरिः। सर्वतीर्थमयी गंगा सर्ववेदमयो मनुः।।

(अर्थ-गीता शास्त्रमयी छ (किनभने गीतामा सबै शास्त्रहरूको सारतत्वको सार राखिएको छ ), भगवान श्रीहरि सबै देवमय हुन्, गंगा सबै तीर्थमयी हुन् भने मनु सर्ववेदमय हुन्। )

गीता गंगा च गायत्री गोविन्देति हृदि स्थिते। चतुर्गकारसंयुक्ते पुनर्जन्म नविद्यते।।

(अर्थ-गीता, गंगा, गायत्री र गोविन्द, यी चार “ग”कारयुक्त चार नामलाई हृदयमा धारण गरेर लिएमा मनुष्यको फेरि पुनर्जन्म यो संसारमा हुने छैन।)

गीता महात्म्य भनेर महाभारतको ४३औँ अध्यायको चौथो श्लोकमा नै भनिएको छ

षट्शतानि सविंशानि श्लाकानां प्राह केशवः। अर्जुनः सप्तपञ्चाशत् सप्तषष्टिं तु संजयः।।

धृतराष्ट्रः श्लोकमेकं गीताया मानमुच्यते।

(अर्थ-यो गीतामा ६२० श्लोक भगवान श्रीकृष्णले भन्नुभएको छ, ५७ श्लोक अर्जुनले भनेका छन्, ६७ श्लोक संजयले भनेका छन् र एक श्लोकचाहिँ महाराज धृतराष्ट्रले सोधेको प्रश्नमा परेको छ। ) अर्थात् गीतामा ७४५ श्लोकहरू छन् भनेर स्वयं रचनाकारले भनेका हुन् र आज पनि त्यही महाभारत नै प्रचलनमा छ।

फरक मत तर गीताप्रतिको आस्थामा कुनै असर नपरेको अवस्था

गीताका बारेमा यहाँनेर एउटा शंका उत्पन्न हुन्छ, त्यो के हो भने अहिलेसम्म हामीले मानेको श्रीमद्भगवद्गीताका १८ अध्यायमा ७०० श्लोकहरू छन्, ती श्लोकहरूमा श्रीकृष्णले भनेको ६२०मध्ये ५४७ श्लोकहरूमात्र उपलब्ध छन्, त्यसैगरी अर्जुनले भनेको भनेर ८४श्लोकहरू छन् जबकि अर्जुनले भनेको भनेर ५७ श्लोकमात्र महाभारतमा भनिएको छ भने संजयले भनेका ६७ श्लोकहरू नभएर ४१ श्लोकहरूमात्र उपलब्ध देखिन्छन्। १८ अध्यायमा ४५ श्लोक कतै त गायब भएकै हुन् महाभारतका अनुसार पनि। तर यसबारेमा न त गीतामा नै केही भनिएको छ, न त महाभारतमा नै त्यसलाई सच्च्याइएको छ। त्यसैले एउटा फरक मान्यता के पनि रहेछ भने समग्रमा ती ४५ श्लोकहरू पद्‌मनाभ श्रीविष्णुले मात्र नभनेर संहारकर्ता श्रीशिवले पनि कृष्णलाई केही कुराको जानकारी दिएको हुनुपर्छ। श्रीकृष्णको स्वभावले आफ्नो प्रशंसा आफैँ गर्ने भन्दा पनि कामले देखाउने बानी भएकाले विश्वरुपको वर्णनचाहिँ कुनै अन्य देवता, खासगरी शिवले अर्जुनलाई भनेको हुनुपर्छ भन्ने मान्यता पनि रहेछ। एघारौँ अध्यायको ३२औँ श्लोकले पनि महाकालको जुन प्रसङ्ग दिएको छ, त्यसले पनि शिवको सम्भावना बढेको अनुमान गर्नेहरू पनि छन्। ४५श्लोक हराउनुले पक्कै थपथाप भएको हुनुपर्छ र ती थपथाप कहाँ भयो होला भन्ने कुरामा विद्वानहरूका बिचमा पनि एकमत देखिँदैन।

महाभारतको युद्धपछि धेरै सय वर्षसम्म उत्तर वैदिक सभ्यतामा ग्रहण लागेको थियो किनभने ती विचारहरूको प्रचार प्रसार गर्ने गुरुकुलहरू विसर्जित भएका थिए, राजाहरू सबै महाभारतको युद्धमा मारिएका थिए। या त कौरवका पक्षबाट लडेका थिए, या त पाण्डवका पक्षबाट लडेका थिए। विचारको स्रोतमा कमी आएको थियो र एकप्रकारले अराजक अवस्था आएको थियो भन्ने अनुमान लगाउन सकिन्छ। ८८ हजार शौनकादि ऋषिहरूको सम्मेलनमा दीक्षित विद्वानहरूले पनि टाढा टाढा गएर धर्म प्रचार गर्न सकेका थिएनन् जसले गर्दा वेदव्यासले तयार गरेको सरलीकृत वेद, उपनिषद् र स्मृतिहरूको प्रचार हुन सकेको थिएन। खासगरी महाभारत, रामायण, अठार पुराण, अठार उपपुराणहरूको वाचन पुस्तादेखि पुस्तासम्म कण्ठ गरेर भनिँदै आएको थियो जसले गर्दा महाभारत र यसभित्रको गीतासमेत गुमनाम जस्तै थियो। जब आदि शंकराचार्यको उदय भयो र उनले आफ्ना ज्ञान र क्षमताका आधारमा सनातन धर्मको व्याख्या गर्न थाले, अनिमात्र पौरस्त्य सभ्यतामा नयाँ जागरण आएको थियो भन्ने मान्यता बलियो छ। ती आदि शंकाराचार्यले गीताको पहिलोपटक सरल संस्कृतमा भाषाटीका तयार गरेर र आजको सरल गीताको तयारी गरे भन्ने मान्यता छ। त्यसपछि अरु पनि आचार्यहरूले गीतालाई विभिन्न मतमा व्याख्या गरे। कतिले धर्मको श्रोतको रुपमा, कतिले कर्मको श्रोतको रुपमा त कतिले कर्मयोगको स्रोतको रुपमा, कतिले भक्तिको श्रोतको रुपमा व्याख्या गरेका पाइन्छन्, जसको क्रम आजसम्म पनि चलेको छ र चली नै रहने देखिन्छ किनभने रहस्यमय श्लोकहरूको व्याख्या र त्यसको अभ्यास अहिले विश्वभर हुन थालेको छ। आज आएर ती श्लोकहरूमा सूत्रबद्ध संस्कृति, सामाजिक परिवेश, आर्थिक परिवेश तथा भविष्यका बारेमा त्यसबेलाको सोचको खोज हुन थालेको छ। कतिपय विषयमा अनुशीलन गर्नेहरूले रहस्यात्मक कविताहरूमा आजको अवस्थालाई समेत त्यही बेलामा अनुमान गरिएको भन्न थालेका छन्।

गीताको श्रवणपछि महाभारतको युद्धमा परेको प्रभाव

पौरस्त्य संस्कृतिमा, संस्कारमा पुनर्जागरण आउनुमा समाजमा देखिएको चलायमान अवस्थाले पनि हो। जब समाजमा धर्म, संस्कृति र आध्यात्मिकतामा नयाँ जागरण देखा पर्न थाल्यो, त्यसले नैतिकताको बन्धन कसिलो बनाउन थालेको थियो र राज्यको निर्माणमा जनताको प्रत्यक्ष सहभागिता हुन थालेको थियो। राष्ट्रियता र धर्म एउटै मान्न थालेपछिमात्र राज्यहरू लोककल्याणकारी हुन थाले। मनुको नीतिलाई राज्यले अनुशासनको रुपमा ग्रहण गरेपछि जनताका अधिकारहरू र कर्तव्यहरूको रेखा कोरिएको पाइन्छ जसलाई आज पनि परिमार्जनसहित संविधान, कानुन, नियम, विनियमका रुपमा प्रयोग गरेर कार्यपालिकाको अधिकारसँग जोडिएको देखिन्छ। आजको अनुशासनको जग त्यही बेलामा राखिएको थियो जुनबेला इतिहासले गणना गर्न पनि सकेको छैन।

गीतामा श्रीकृष्णले मानव अस्तित्वको उदाहरणका लागि विराटरुपको दर्शन गराएको बुझ्न सकिन्छ। मानवीय अस्तित्वको बोध गराएको स्पष्ट देखिन्छ। संसारमा केके प्रख्यात छन्, ती सबै मानवका आविष्कार हुन् र यदि म छैन भने संसार छैन, संसारमा म नै एकमात्र अस्तित्व हुँ भन्ने अस्तित्वको जागरण गराएर कृष्णले भने-अब उठ र लड। अर्थात् आफ्नो कर्तव्यका लागि तयारी होऊ। समयले यही आह्वान गरेको छ। व्यक्तिलाई शरीर र आत्माको रुपमा विभाजित गरेर, उसको क्षमताको परिचय दिनु नै मानवीय अस्तित्वको पहिचानस्वरुप उसको विराटरुप या विश्वरुपको दर्शन गराएको मान्नुपर्छ। समय व्यतीतक्रममा सबै कुरा अतीतको अँध्यारो गर्तमा जाकिएकाले र तिनको विनाश भइसकेकाले अब नष्ट गर्न केही पनि बाँकी नरहेको बताउँदै कृष्णले कर्तव्यका लागि जागृत हुन उत्प्रेरित गरेको पक्षलाई नै आज पनि गीताको नाममा अथ्र्याइएको हो।

गीताले कर्तव्यका बारेमा बढी नै जोड दिएकाले र समयको बारेमा स्पष्ट जानकारी दिएकाले अर्जुनमा रहेको भ्रम मेटिएको थियो र अर्जुन हार र जितको परिणाम बिर्सेर र स्वआर्जित मोह त्यागेर जब युद्धका लागि तयार भए। आफ्ना सर्वोच्च नेता महाराज युधिष्ठिर समक्ष युद्ध लड्ने उद्घोष गर्दै शंख बजाउन थाले, अनि पाण्डवतर्फका प्रमुख पात्र युधिष्ठिर आफ्ना कबच फुकालेर, नाङ्गै चरण युद्धको भेलमा एक्लै निहत्था दौडन थाले। पक्ष र विपक्ष दुवैथरी छक्क परे। कतिले सम्झिए, युधिष्ठिर आत्मसमर्पण गर्नका लागि भीष्म पितामहका समीपमा आएका हुन् किनभने कौरवतर्फका सेनापति पितामह थिए। कतिले सम्झिए उनी अन्यमनस्क भएर अत्तालिँदै गन्तव्यहीन यात्रामा निस्किएका हुन्। कतिले के भएको भनेर अलमल परेर हेर्दै थिए, त्यही बेलामा सबै भाइहरू र पाण्डवपक्षका सेनापति तथा महारथीहरू यृुधिष्ठिरको रक्षाका लागि पछि पछि दौडदै थिए। यो विषादको क्षणमा के गर्ने, के नगर्ने भन्ने सोच विचार नआएको बेलामा श्रीकृष्णले शान्तभावमा भने-युधिष्ठिर युद्धका लागि भीष्म पितामह, गुरु द्रोण, गुरु कृपाचार्यसँग युद्ध लड्नका लागि अनुमति माग्नका लागि नाङ्गै चरण गएका हुनुपर्छ किनभने कुरुवंशमा आफूभन्दा ठुलासँग युद्ध गर्न पनि आशीर्वाद लिने चलन छ। नभन्दै युधिष्ठिरले भीष्म पितामहको चरणमा आफ्नो शिर राखेर युद्ध गर्ने अनुमति मागेको देखियो र आफूले कसरी पितामहलाई जित्नसक्छु भनेर सल्लाहसमेत मागेको पाइयो। भीष्मले पनि भने-हे युधिष्ठिर, यदि तिमीले मसँग अनुमति नमागेको भए म तिम्रो पराजयका लागि श्राप दिने थिएँ। अहिले पनि मसँग लड्न तिम्रा कुनै पनि महारथी सक्षम छैनन् र मेरो कोपभाजनको भार थेग्न कसैले पनि सक्दैनन् तर म तिम्रो विजयका पक्षमा छु, कृष्ण तिमीसँग छन्, तिम्रो विजय निश्चित छ र पनि मैले दुर्योधनका पक्षबाट लड्नै पर्छ। महाराज युधिष्ठिर, पुरुष अर्थको दास हुन्छ, अर्थ कसैको पनि दास हुँदैन। म कौरवको अर्थको दास भएको छु, म त्यसैमा बाँधिएको छु र पनि भन म के आशीर्वाद दिउँ।

युधिष्ठिरले पनि कसरी म हजुरलाई जितेर यो युद्ध जित्न सक्छु त ? त्यही युद्ध जित्ने आशीर्वाद दिनुहोस् भन्दा पितामहले भने- अहिलेलाई तिम्रो विजयको शुभकामना दिन्छु र पछि मेरो पराजयका बारेमा बताउँदै गरुँला।

अनि त्यसैगरी युधिष्ठिर गुरु द्रोणाचार्यको पाउमा आफ्नो शिर राख्दै जसले जीवन बाँच्न सिकायो, जसले अन्धकारबाट उज्यालोमा पुर्‍यायो र जसले आजको अवस्थामा पनि धैर्य रहेर कर्तव्य पूरा गर्न प्रेरित गर्‍यो, त्यस्तो गुरुसँग युद्ध गर्नु मेरो रहर होइन, तर पनि क्षत्रिय धर्म पालना गर्न र धर्मको रक्षा गर्नका लागि युद्ध अनिवार्य भएकाले महामना म हजुरसँग युद्ध गर्ने अनुमति पाउँ। यी वचनहरू सुनेपछि गुरु द्रोणाचार्यले पनि भने-यदि तिमीले मसँग अनुमति माग्न नआएको भए म तिम्रो पराजयको श्राप दिने थिएँ तर अब म खुसी भएँ र मसँग युद्ध गर्नका लागि सहर्ष अनुमति दिन्छु। म दुर्योधनको अर्थको दास भएको छु, त्यसैले उसका पक्षबाट युद्ध गर्नका लागि यहाँ उभिएको छु तर तिम्रो विजयको लागि कामना गर्दैछु। भन के आशीर्वाद दिउँ ? तत्काल हात जोड्दै युधिष्ठिरले भने-समादरणीय गुरु, म हजुरलाई कसरी जित्न सक्छु ? त्यो तरिका बताएर मलाई सहयोग गर्नुपर्‍यो। द्रोणाचार्यले भने-मसँग लड्ने क्षमता भएको तिम्रो कुनै महारथी पनि छैन र मेरो क्षमतासँग भिड्ने पनि क्षमता कसैसँग छैन र पनि म तिम्रो विजयको पक्षमा छु। मलाई जित्नका लागि मेरो हातमा शस्त्रास्त्र हुँदासम्म कसैले पनि मलाई हराउन सक्दैन तर जब म महाविषाद परेर हतियार छोडेर आँखा चिम्लेर विषादपूर्ण ध्यानमा हुन्छु, त्यो बेलामा कसैले हतियारद्वारा मेरो शरीर विदीर्ण पारेमा मात्र म मर्नेछु, मलाई जित्न सक्नेछौ। म त्यो आशीर्वाद तिमीलाई दिन्छु, मलाई जित्ने क्षमता तिमीमा आओस् किनभने तिम्रो सल्लाहकारमा स्वयं श्रीकृष्ण भएपछि तिम्रो पराजयको सम्भावना नै छैन।

त्यसैगरी युधिष्ठिर कुलगुरु कृपाचार्यसमक्ष गएर उनको पाउमा आफ्नो शिर राखेर युद्धका लागि अनुमति माग्न थाले। कृपाचार्यले पनि भने-यदि तिमी मसँग युद्धका लागि अनुमति माग्न नआउँदा हुन्थ्यौँ भने म तिम्रो पराजयका लागि श्राप दिनेथिएँ। अहिले म कौरवको अर्थको दास भएको छु तर सधैँ तिम्रो विजयको कामना गरिरहने छु। म भन मबाट के चाहन्छौँ ? म तिमीलाई युद्धमा तिम्रो पक्षबाट लड्न सक्दिन, अरु के सहयोग गरुँ ? युधिष्ठिर मौनरुपमा रहे र अश्रुपुरित नयनले गुरुतिर हेर्दै दीनहीन भएर उभिइरहे। अनि कुलगुरु कृपाचार्यले भने -मैले बुझेँ, म चिरञ्जीवी भएकाले अबध्य छु, कौरवका तर्फबाट लडे पनि उठ्ने बित्तिकै तिम्रो पक्षको विजयको कामना गर्नेछु, तिमीसँग कृष्णको वरद आशीर्वाद छ, तिम्रो विजय सुनिश्चित छ, जाऊ,युद्ध गर।

अनि युधिष्ठिरले मामा शल्यलाई प्रणाम गर्दै उनका समक्ष गएर युद्धका लागि अनुमति मागे र भने, हे दुर्धर्ष वीर महाराज शल्य, मलाई हजुरसँग युद्ध गर्ने अनुमति दिनुपर्‍यो। अनि शल्यले पनि भने-यदि महाराज तपाईँ मसँग अनुमति नमागी युद्ध गर्न थालेको भए म पाण्डवको पराजयका लागि श्राप दिने थिएँ तर यसरी मेरो सम्मान गरी अनुमति लिन आएकाले म परिवन्दले कौरवका पक्षबाट लड्नु परे पनि पाण्डवको विजयका लागि सधैँ आशीर्वाद दिनेछु र सकेसम्म सूतपुत्र कर्णलाई युद्धका समयमा हतोत्साही गराउँदै युद्धबाट पलायन गराउने कुरामा सहयोग गर्ने कोसिस गर्नेछु। स्मरणीय छ, शल्य माद्रीका भाइ हुन्, नकुल र सहदेवका मामा हुन्। युद्धको तयारीका बेलामा युधिष्ठिरसँगको सल्लाहमा उनले आफू जसरी हुन्छ, सूतपुत्र कर्णलाई हराउनका लागि लालायित भएको बताएका थिए तर दुर्योधनले कपटजाल गरेर उनलाई कौरवको पक्षमा पारेको थियो अतिथि सत्कार गरेर बाटामा किनभने उनी पाण्डवको सहयोगका लागि मद्रदेशबाट आउँदै थिए। युधिष्ठिरले दूरदृष्टि राख्दै भनेका थिए, जब कर्णले सेनापतिको पद ग्रहण गर्नेछ, त्यो बेलामा सारथिको रुपमा शल्य महाराजको चयन गरिने छ र त्यो बेलामा कर्णलाई हतोत्साही गर्नका लागि वचन मागेका थिए।

युद्धका लागि भीष्मले अनुमति नदिएकाले शिविरमा एक्लै बसेका थिए। कृष्णले कर्णसँग अनुरोध गरे-भीष्मको सेनापतित्वसम्म कर्णले पाण्डवतिर लागेर लड्न पाए हुन्थ्यो, युद्धका लागि अनुमति पनि चाहियो। अनि कर्णले भनेछन्-जहाँ कृष्ण छन्, त्यहाँको बारेमा मैले के भन्नु पर्‍यो र ? तर म मित्रहन्ता भएर दुर्योधनलाई धोखा दिन सक्दिन जवकि युद्ध सुरु हुनै थालेको अवस्था छ।

अनि दुवै सेनाको सीमारेखामा उभिएर युधिष्ठिरले ठुलो आवाजमा भने-कुनै योद्धा कौरवका पक्षबाट मेरो तर्फ आउन चाहन्छ भने म स्वीकार गर्नेछु र युद्धको सुरुवात गर्न थाल्नेछु। त्यही बेलामा धृतराष्ट्रका छोरा राजकुमार युयुत्सु ( दुर्योधनको सौतेनी भाइ, वैश्य रानीको छोरो )ले भने -महाराज युधिष्ठिर, म हजुरको पक्षबाट युद्ध गर्न चाहन्छु,मलाई कुनै पूर्वाग्रह नराखी आफ्नो सेनामा आउन र युद्ध गर्नका लागि अनुमति दिनका लागि अनुरोध गर्दछु। युधिष्ठिरले युयुत्सुलाई स्वागत गर्दै आफ्ना पक्षमा स्वीकार गरेपछि युद्धको सुरु हुन थालेको थियो।

गीताको मन्त्रणापश्चात् घटेको सकारात्मक पक्ष यस्तो थियो। अर्जुनमा विषादरहित भावना आउनु र फलको अपेक्षारहित कर्मको चेतना आउने बित्तिकै महाभारतको युद्ध सुरु भएको थियो। सायद गीताको श्रद्धासाथ श्रवणको पहिलो परिणाम धर्मयुद्धमा पाण्डवको विजय सुनिश्चित देखिएको थियो।

आवरण चित्रः अठारौं शताब्दीको एक चित्र।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link