यो संसारमा जे जति कार्य घटित हुन्छ चाहे त्यो कुनै दुर्घटना नै किन नहोस्, त्यसमा कसैको दोष हुँदैन तर नियतिले खटाएको कर्तव्य स्वतः प्रकृति चक्रमा पूरा भएकै हुन्छ, कसैले चाहनु वा नचाहनुसँग कुनै सम्बन्ध हुँदैन भन्ने एउटा प्रसङ्ग महाभारतको अनुशासन पर्वको सुरुकै अध्यायतिर छ। कुनै पनि घटना हुनुमा कसको कति हात हुन्छ भन्ने एउटा अनुपम उदाहरणका रूपमा वाण शय्यामा सुतिरहेका देवब्रत भीष्म पितामहको महाराज युधिष्ठिरलाई दिएको उदाहरणीय कथाको माध्यमबाट। युधिष्ठिर विकल भएर बारम्बार आफूलाई धिक्कार्दै, रुँदै, कल्पिँदै भन्छन्, पितामह हजुरको यो हालत बनाउने र करोडौँ वीरहरूको विना कारण, मैले आफ्नो राज्य विस्तारका लागि र पारिवारिक स्वार्थवश, मैले नै वीरगति गराउने र यो संसारलाई वीर शून्य बनाउने काम गरेँ, त्यसको पापको भागी मैँ हुँ। नियतिका साथ, भवितव्यमा वा नियतवश कसले कसरी आफ्नो आफ्नो कर्तव्य पूरा गर्ने गर्छन् र त्यसमा कसको कति दोष हुन्छ ? त्यसबारेमा युधिष्ठिरको विचार कस्तो थियो भने पितामहले आफूलाई शान्त चित्त पार्नका लागि दिएका अनेक उदाहरणले पनि शान्ति प्राप्त हुन नसकेकोले फेरि जिज्ञासा राखेका थिए।
महाभारतले जीवनका अनेक पक्षलाई सहजताका साथ प्रतीकात्मक रूपमा देखाउने प्रयास गरेको छ। यसै पनि महाभारतले ऐतिहासिक कथालाई आधार बनाएर जीवनमा निष्काम कर्म गर्न प्रेरणा दिन्छ भन्ने मान्यता छ किनभने जीवन दर्शनका लागि अनुपम प्रेरणा दिएको पनि पाइन्छ। महाभारतका विभिन्न पर्वहरूका आफ्नै महत्त्व देखिएका छन्। जब महाराज युधिष्ठिर साँच्चै नै भावविभोर भएर पितामहसँग आफ्ना भित्री भावनासहितका विचारहरू विना हिचकिचाहट भन्न थाल्छन्, अनि सर शय्यामा रहेका पितामह पनि झन् भाव विह्वल हुँदै भावी चक्रवर्ती महाराजलाई आफ्ना अनुभवका पोका फुँकाउँदै उपदेश दिन थाल्छन्। महाराज युधिष्ठिरमा कतिसम्म चिन्ता देखिन्छ भने आफूले गरेका पापको कसरी प्रायश्चित गर्ने र परलोकमा समेत कसरी पापबाट मुक्ति पाउने भन्ने देखिन्छ। सर शय्यामा सुतिरहेका भीष्मतिर हेर्दै र पितामहको रगतले लतपत भएको क्षतविक्षत शरीरको कारक आफैँ भएको तर दिव्य उपदेश र राजनीति सिक्नका लागि आफू आएकाले ती कुराहरूप्रति ध्यान राखी प्रश्न राखेका पाइन्छ।
यस क्रममा, पितामहको यो अवस्था बनाउनुमा र आफ्ना बन्धु बान्धवहरूको हत्याका लागि आफैँलाई महान् दोषी ठानेकोमा पितामहले यसलाई नियतिको स्वाभाविक प्रक्रिया रहेको कुरा सम्झाउन भीष्मले गौतमी ब्राह्मणी, व्याधा, सर्प, मृत्यु र कालका बिचमा भएको संवाद मार्फत नियतिको तोकिएको कर्तव्य गर्दा कसरी स्थिति विकास हुन्छ भन्ने कुरा बताएका छन्। कथा यस प्रकार छ :
भीष्मले भन्दै थिए—हे युधिष्ठिर, तिमी आफैँ पनि काल, अदृश्य शक्ति र ईश्वरका अधीन छौ, अनि जीवनमा भएका शुभाशुभ कामको आफैँ नै कर्ता हुँ भनेर किन सम्झन्छौ ? वास्तवमा आत्माको कर्तृत्वहीन स्वरूप अत्यन्त सूक्ष्म र इन्द्रियहरूको पहुँच बाहिर छ। यस सम्बन्धमा म तिमीलाई एउटा कथाबाट उदाहरण दिन्छु कि कोही कसैको कर्ता होइन तर हुनुपर्ने कुरा भई नै रहन्छ। कसैले त्यसलाई रोक्न पनि सक्दैन, प्रकृतिले हुनै पर्ने भनेर नियति बनाइसकेपछि भने कसैले टार्न पनि सक्दैन, र त्यो नभई पनि सक्दैन। यस सम्बन्धमा गौतमी ब्राह्मणी, व्याधा, सर्प, मृत्यु र कालका बिचमा भएका संवादहरू सुन।
एक पटक कुनै बेला गौतमी नामकी एक जना ब्राह्मणी थिइन्, तिनको सानो छोरालाई एउटा सर्पले डसेछ र छोरो सर्पको विषले मरेछ। त्यही बिचमा त्यो सर्पलाई अर्जुनक नामको एउटा व्याधाले पक्रेर गौतमी ब्राह्मणी समक्ष ल्याएछ र भनेर, गौतमी ब्राह्मणी, मैले तिम्रो छोरो मार्ने सर्पलाई समाएर ल्याएको छु, यसलाई मारेर तिमी आफ्नो छोराको बदला लेऊ। यसरी निरपराध बच्चो मार्ने यो पापी सर्प बाँच्न लायक छैन, तत्काल मार्न योग्य छ। तर गौतमीले भनिन्, भैगो मेरो त नियति नै यस्तै रहेछ, त्यो मेरो छोरो रहेनछ र त मलाई छोडेर गयो, यो सर्प त कारण मात्र हो व्याधा अर्जुनक, यो सर्पलाई छोड्देऊ किनभने अब यो सर्प मारेर मेरो छोरो फिर्ता पनि हुँदैन, बाँचेर मलाई पाल्ने पनि होइन, यो सर्पलाई छाडिदेऊ। यो जीवित प्राणीको हत्या गरेर म किन पापको भारी बोकौँ, त्यस्तै रहेछ र त मेरो छोरोको अन्त्य भएछ।
व्याधा अर्जुनकले भनेछ—हे ब्राह्मणी गौतमी, कम्तीमा पनि यसलाई मारेर आफ्नो छोराको हत्यारा मारेर सन्तोष लिन त सक्छ्यौ नि। फेरि यसलाई यत्तिकै स्वतन्त्र छोडेमा यसले अरू कति मानिसहरूलाई डसेर मार्ने हो, त्यसको पनि विचार गर र यसलाई तिमीले नमार्ने हो भने मैले यसलाई पक्रेर पनि ल्याएँ र अब मार्छु, यो त बैगुनी सर्प हो, यसलाई बाँच्ने अधिकार छैन अब। यसलाई मार्नुमै कल्याण छ, नीतिले पनि त्यस्तै भन्छ। हत्यारालाई हत्या गर्नै पर्छ।
गौतमीले फेरि पनि भनिन्, हे व्याधा, छोडिदेऊ त्यो सर्पलाई। उसलाई मारेर हामी पनि किन हत्यारा हुने ? अनि तिमीले भन्दैमा मैले किन सर्पलाई मार्न उद्यत हुनुपर्ने हो र ? किन उसलाई माफी दिन नसकिने हो र ? अनि म किन पापको भागी हुन चाहूँ र ? उसलाई छुटकारा नदिँदा कुन पो ठुलो काम रोकिने हो र ?
अनि व्याधाको पासोमा जेलिएर झुन्डिएको सर्पले भन्यो —हे व्याधा, बालकलाई मार्नका लागि मेरो के दोष रह्यो र ? मृत्युले मलाई उत्प्रेरित गरेर मात्र मैले डसेको हुँ। मेरो के दोष भयो र ? अनि व्याधाले भन्यो— मृत्युको प्रेरणाले हो भने पनि त डस्ने काम त तैँले नै गरेको होस् र तेरो विषले नै बालक मरेको हो, त्यसैले तेरो मुख्य दोष हो र तँलाई म मार्छु, बुझिस्।
सर्पले भन्यो —हे अर्जुनक व्याधा, त्यसो त ब्राह्मणहरूले यज्ञमा यजमानका लागि आहुति हाल्छन् तर त्यसको फल त यजमानले मात्र पाउँछ जबकि ऋत्विज्हरूको हातबाट चरु होमिएको हुन्छ यज्ञवेदीमा। त्यसैले मेरो माध्यमबाट मार्ने त मृत्युले नै हो, त्यसैले यसको मुख्य दोषी मृत्यु नै हो।
त्यहाँ मृत्यु पनि आई पुग्यो र मृत्युले पनि आफ्नो सफाइमा भन्यो —हो मैले नै उत्प्रेरित गरेर सर्पले डसेको हो, त्यसैले यसमा मेरो पनि त्यस्तो दोष छैन, सर्पको पनि त्यस्तो दोष छैन तर कालले मलाई प्रेरित गरेको थियो र मैले सर्पलाई त्यो बालकलाई डस्नका लागि प्रेरित गरेको हुँ। त्यसैले यसमा हामी दुवैको भन्दा कालको बढी जबाफदेही छ। तर हामी सबै कालका वशमा छौँ, र कालका अधीनमा हुनाले कालले जेजे प्रेरणा दिन्छ, त्यसैलाई मान्नै पर्ने हाम्रो नियति हो। न त सर्पले नाइँ भन्न सक्छ, न त मैले नै कालको वचन टार्न सक्छु।
अनि सर्प भन्छ, हे अर्जुनक, सुन्यौ होइन त मृत्युको कुरा, अब मलाई किन पासोमा बाँधेर राख्छौँ, छोडिदेऊ मलाई, म स्वतन्त्र रूपमा विचरण गर्छु। अनि व्याधा भन्छ—एउटा निरपराध बालकलाई मारेर खुसी व्यक्त गर्ने तिमीहरू दुई ओटा, सर्प र मृत्यु दुवै दोषी हौ, अपराधी हौ, तिमीहरूले अपराधको दण्ड पाउनु नै पर्छ। यही गलफतीकै बिचमा काल पनि त्यहाँ आई पुग्यो र भन्यो—हामी कसैको पनि दोष छैन, मेरो पनि छैन, मृत्युको पनि छैन र सर्पको पनि छैन किनभने सबै आफ्ना आफ्ना कर्मका वशमा हुन्छन्। जन्म, मृत्यु र कार्यको सम्पादन नियतिका आधारमा हुन्छ। जे हुनुपर्ने हो, त्यो हुन्छ। यो बालकको मृत्युको कारण न त बालकलाई हेरचाह नगरी यताउता जानका लागि रोक्न नसक्ने गौतमी बुढी ब्राह्मणीको दोष हो, न त डसेर मृत्युको कारण बनेको सर्पको दोष हो, न त म कालको कुनै दोष छ त्यो बालकको मृत्युमा। सबै कर्मका आधारमा केही गर्न भनेर आएका कर्ताहरूले कुनै न कुनै कारणले यो संसार एक पटक छोड्नै पर्छ। जे गर्न आएको हो गर्नै पर्छ। जसरी रात र दिन हुन्छ, घाम र छाया हुन्छ, त्यसै गरी कर्म र कर्ता एक अर्कासँग आबद्ध हुन्छन्।
यी वार्तालापपश्चात् गौतमी ब्राह्मणीमा एउटा अन्तर चेतना जागृत भयो। मानिसको कर्म अनुसारको फल प्राप्त हुने रहेछ। अनि भनिन् —हे व्याधा, तँ पनि त्यो सर्पलाई छोड्दे, काल र मृत्यु पनि आफ्ना आफ्ना काममा जाऊ। अनि व्याधाले पनि सर्पलाई छोड्यो, काल र मृत्यु पनि आफ्ना आफ्ना काममा गए।
अनि यो कथा भनेपछि भीष्म पितामह भन्छन् — हे युधिष्ठिर, मैले यो उपाख्यान किन भनेको भने सबै आफ्ना आफ्ना कर्मले फल पाएका हुन्छन्। तिमीले गर्दा मेरो यो हालत भएको पनि होइन, त्यत्रो युद्धमा मारिएका करोडौँ योद्धाहरूको कारण पनि तिमी होइनौ, ती सबै त्यही कामका लागि यो संसारमा आएका थिए र आफ्ना आफ्ना कर्तव्य पूरा गर्दै मृत्युको मुखमा पसे जसरी पुतली आगो बलेको ठाउँमा आफैँ आगोको लप्कामा पस्न आउँछ। सबैको मृत्युको कारण काल हो। काल भनेको समय हो। न त तिमीले, न त दुर्योधनले, न त अर्जुनले, न कसैले केही गरेर यस्तो भएको हो। त्यसैले तिमी चिन्ता नगर,शान्तिपूर्ण जीवन यापन गरेर राज्यको सञ्चालन गर।
त्यसपछि महाराज युधिष्ठिरमा पितामहलाई देख्ने बित्तिकै जुन विकलता र चिन्ता उत्पन्न हुन्थ्यो, अनि त्यसो हुन छाड्यो र राजनीति, धर्म नीति युद्ध नीति र न्याय नीतिका बारेमा जिज्ञासा राखेर आफ्ना जिज्ञासाका उत्तर खोज्न थाले।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- शकुनिको बदला
- शकुनिको कूटनीतिक क्षमता
- वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
- हिडिम्बाको मोह
- द्रौपदीलाई आफ्नै रूपको चिन्ता
- ब्राह्मण कुमारले विश्व सुन्दरीमाथि जमाए अधिकार
- द्रौपदीको छल
- शिखण्डीलाई लिङ्ग प्रदान, यक्ष स्थूणाकर्ण बने स्त्री
- यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन
- दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन