नवलपरासीमा वीपी कोइरालाको शालिक अनावरण भएको छ। पूर्वराष्ट्रपति डा. रामवरण यादवले शालिक अनावरण गर्नुभएको हो।
प्रतापपुर गाउँपालिका ७ सूर्यपुरामा पालिकाले बनाएको वीपी कोइरालाकोे शालिक अनावरण कार्यक्रममा बोल्दै यादवले वीपीको मर्मअनुसार संविधानमार्फत नेपालको राजनीतिक व्यवस्था परिवर्तन भएको बताउनुभयो।
यादवले राजनीतिक परिवर्तन भएको र अब आर्थिक परिवर्तनका लागि दलहरू एकजुट भएर लाग्नुपर्ने उल्लेख गर्नुभयो। ‘वीपी कोइरालाको मर्मअनुसार संविधान आएको छ। सबै दल मिलेर कार्यान्वयनमा लाग्नुपर्छ। भारत, अमेरिकालगायतका राष्ट्रमा पनि पटक–पटक संविधान संशोधन भएको छ। संविधान संशोधन गरी समय सापेक्ष गराउन सकिन्छ।’
पछिल्लो समयमा विकासका नाममा प्रकृतिको दोहन भएको बताउँदै नेपालले चुरे पहाडको संरक्षण गर्न सक्नुपर्ने बताउनुभयो। यादवका अनुसार चुरे पहाडलाई संरक्षण गर्न सके पर्यटक भित्र्याई देशको आर्थिक विकास गर्न सकिन्छ। चुरे पहाड संरक्षण गर्न नसके अन्नको भण्डार भनेर चिनिने तराई मरुभूमि हुने उहाँको भनाइ थियो।
कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिह पुन र संविधान सभा सदस्य एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले समाजवादका प्रवर्तक महामानव वीपी कोइराला राष्ट्रिय व्यक्तित्व भएको बताउनुभयो। कोइरालाको योगदानको उच्च मुल्यांकन गर्दै प्रतापपुर गाउपालिकाले सबै पार्टीका व्यक्तित्वलाई राखेर शालिकको अनावरण गर्ने सफल भएकोमा गाउपालिकालाई बधाई पनि दिनुभयो।
कार्यक्रममा जसपाका केन्द्रीय सदस्य राम बच्चन यादव र नेकपा माओवादीका केन्द्रीय सदस्य एवं पूर्वस्थानीय विकास राज्यमन्त्री घनश्याम यादवले वीपीले देशको अवस्था र व्यवस्थाका बिषयमा सोचेको बताउँदै उहाँको सोचअनुसार व्यवस्थामा परिवर्तन भए पनि अवस्थाको पूरा नभएको औंल्याउनुभयो।
त्यस्तै, लुम्बिनी प्रदेशसभा सदस्य विश्वप्रेम पाठकले वीपीले देश सुसाशनको मार्गमा हिँड्नु पर्ने धारणा राख्नुभयो। देशलाई सुशासनको मार्गमा डोर्याउनु आजको आवश्यकता रहेको उहाँको भनाइ थियो।
जिल्ला समन्वय भगौती प्रसाद यादव, नेपाली कांग्रेस नवलपरासीका जिल्ला सभापति अर्जुन पोख्रेल, नेकपा एमालेका जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारी, प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव र उपाध्यक्ष मान कुमारी चौधरीलगायतले बोल्दै वीपी कोइराला राष्ट्रिय व्यक्ति भएको र उहाँले देखाएको बाटोमा देश हिँड्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
