अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले कतारका प्रधानमन्त्री शेख खालिद बिन खलिफा अल थानीलाई गाजा युद्धको बारेमा सरकारी स्वामित्वको मिडिया नेटवर्क अलजजिराको रिपोर्टिङलाई कम गर्न आग्रह गरेको एक्सिवस मिडिया एजेन्सीले जनाएको छ।
ब्लिन्केनले सन् २०२३ अक्टोबर १३ मा कतारलाई गाजा नियन्त्रण गर्ने लडाकु समूह र अमेरिका र इजरायलद्वारा आतङ्कवादी सङ्गठन मानिने लडाकु समूह हमासप्रति आफ्नो सार्वजनिक धारणा परिवर्तन गर्न मनाउनको लागि व्यापक प्रयासको एक भागको रूपमा दोहाको भ्रमणको क्रममा यो अनुरोध गर्नुभएको हो।
मिडिया एजेन्सीका अनुसार, ब्लिन्केनले इजराइल- हमास द्वन्द्वका बारेमा अलजजिराको रिपोर्टिङ कभरेजले यस क्षेत्रमा तनाव बढाउने र इजरायल र प्यालेस्टाइनबीच दिगो शान्तिको सम्भावनालाई कमजोर पार्न सक्ने चिन्ता व्यक्त गर्नुभएको हो। साथै, हमास र इजरायलबीचको मध्यस्थता र हमासद्वारा बन्दी बनाएका दुई अमेरिकी बन्धकहरूलाई रिहा गराउन कतारको भूमिकाको पनि उहाँले प्रशंसा गर्नुभएको थियो।
इजरायल र केही अरब राष्ट्रहरूले हमासको पक्षमा र इजरायलको विपक्षमा रिपोर्टिङ गरी पक्षपात गरेको भन्दै अल जजिराको आलोचना गरेका छन्। अलजजिरालाई गाजामा युद्धको क्रममा हिंसा भड्काएको र गलत सूचना फैलाएको आरोप पनि लगाइएको छ।
अलजजिरा मध्य पूर्वमा सबैभन्दा प्रभावशाली मिडिया आउटलेटहरू मध्ये एक हो र विश्वव्यापी रूपमा यसका धेरै दर्शकहरू छन्। यो कतार सरकार द्वारा आर्थिक सहयोगमा सञ्चालित छ, जसको हमास र अन्य इस्लामवादी समूहहरू सँग घनिष्ठ सम्बन्ध छ। उता कतारले इजरायल र इजिप्टले लगाएको नाकाबन्दीमा रहेको गाजालाई मानवीय र आर्थिक सहायता पनि उपलब्ध गराएको छ।
ब्लिन्केनको कतार भ्रमण इजरायल र हमास बिचको युद्ध विराम सम्झौतालाई सुदृढ गर्नको लागि यस क्षेत्रमा उनको कूटनीतिक भ्रमणको एक हिस्सा थियो जुन कतार र अमेरिकाको सहयोगमा इजिप्टले मध्यस्थता गरेको थियो। ब्लिन्केनले इजिप्ट, जोर्डन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका नेताहरूसँग शान्ति प्रक्रिया अगाडि बढाउन र गाजाको पुनर्निर्माणलाई समर्थन गर्ने तरिकाहरूबारे छलफल गर्न पनि भेट्नु भएको थियो।
यसबीच गाजा पट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६,५४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसैबीच तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनीहरू घाइते भएको पनि मन्त्रालयले जनाएको छ।
अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र शहरहरूमा हमासले ठूलो मात्रामा आक्रमण गरेपछि इजरायलमा कम्तिमा १ हजार ४०० व्यक्तिको मृत्यु भएको थियो।
अर्कोतिर इजराइल प्रतिरक्षा फौज (आईडीएफ)ले दक्षिण सीमामा तैनाथस्थल सेना गाजामाथि ‘आक्रमण’का लागि तयार रहेको घोषणा गरेको दि जेरुसेलम पोस्टले बताएको छ। इजराइलको दक्षिणी सीमामा पत्रकारहरूलाई जानकारी दिँदै आईडीएफ प्रमुख हर्जी हलेवीले भन्नुभयो, “हामी आक्रमणका लागि तयार छौँ भन्नेबारमा म स्पष्ट हुन चाहन्छु।”
उहाँले आईडीएफ मुलुकको राजनीतिक क्षेत्रसँगको समन्वयमा गाजामाथि स्थल आक्रमणको ‘सटिक समय’मा निर्णय लिने प्रक्रियामा रहेको बताउनुभयो। अक्टोबर ७ मा हमासको इजराइलमाथि आतङ्ककारी हमलापछि गाजामाथि जवाफी आक्रमणमा भएको ढिलाइबारे उहाँले भन्नुभयो, “यो चरणमा सामरिक र रणनीतिक कारक छन्, हामीलाई तयार रहन र सुधार गर्न प्रत्येक मिनेटको उपयोगका लागि धेरै समय प्राप्त हुन्छ।” उहाँका अनुसार प्रत्येक मिनेट गुज्रिँदा दुश्मनमाथि अझ धेरै हमला भइरहेको छ।
“अर्को पक्षमा प्रत्येक मिनेट खेर जाँदा हामी शत्रुमाथि धेरै हमला गरिरहेका छौँ, उसका लडाकूलाई मारिरहेका छौँ, उसका कमान्डरहरूलाई मारिरहेका छौँ, उसको पूर्वाधारलाई नष्ट गरिरहेका छौँ र अर्को कदमका लागि धेरै जासुसी जानकारी बटुलिरहेका छौँ”, हमासले इजराइली आक्रमणका लागि जति लामो समय पर्खिरहन्छ त्यति नै तनावग्रस्त हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामीले उनीहरूलाई तनावमा राखेका छौँ।”
महासचिवको राजीनामा माग
अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलापछि गाजामा इजराइलको जवाफी कारवाहीविरुद्ध संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको टिप्पणीलाई लिएर इजराइलले उहाँको राजीनामा माग गरेको छ।
राष्ट्रसङ्घमा इजराइली राजदूत गिलाड एर्डानले महासचिव गुटेरेसलाई राष्ट्रसङ्घको नेतृत्व गर्नका लागि ‘अनुपयुक्त’ भन्दै उहाँको राजीनामा माग गर्नुभयो।
“बालबालिका, महिला र वृद्धवृद्धाहरूको सामूहिक हत्याको अभियानामा समझदारी देखाउने महासचिव राष्ट्रसङ्घको नेतृत्व गर्न योग्य हुनुहुन्न, म उहाँलाई तुरुन्त राजीनामा दिन आग्रह गर्दछु, इजराइली नागरिक र यहुदीहरूका विरुद्ध भएको सबैभन्दा भयानक अत्याचारका लागि दया देखाउने महासचिवसँग कुरा गर्नुको कुनै औचित्य नै छैन”, सामाजिक सञ्जाल एक्समा उहाँले भन्नुभयो।
राष्ट्रसङ्घका महासचिव गुटेरेसले हमासले गरेको हमला ‘शून्यमा नभएको’ भन्दै ‘प्यालेस्टिनी नागरिकहरूको सामूहिक सजाय’ लाई उचित नभएको भनी टिप्पणी गरेपछि इजराइलको उक्त भनाइ आएको हो।
“हमासले गरेको हमला शुन्यमा भएको होइन भन्ने कुरालाई पनि मान्यता दिनु महत्वपूर्ण हो, प्यालेस्टिनी जनता ५६ वर्षदेखि दमनकारी कब्जामा परेका छन्, उनीहरूले आफ्नो भूमि निरन्तर बस्तीको व्यवस्थापन र हिंसाबाट ग्रस्त भएको देखेका छन्, उनीहरूको अर्थतन्त्र अवरुद्ध भएको छ, उनीहरूका मानिस विस्थापित भएका छन् र घर ध्वस्त भएको छ, आफ्नो दुर्दशाको राजनीतिक समाधान हुने उनीहरूको अपेक्षा हराउँदै गइरहेको छ”, महासभामा महासचिव गुटेरेसले भन्नुभयो, “प्यालेस्टिनी जनताको गुनासोहरूले हमासले गरेको भयानक हमलालाई उचित ठहर गर्न सक्तैन, ती भयानक हमलाले प्यालेस्टिनी जनताको सामूहिक सजायलाई उचित ठहर गर्न सक्तैन।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन : अदालत
- पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित
- राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता
- कोप–२९ मा नेपालको जलवायुजन्य हानिनोक्सानीबारे चर्चा
- महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार
- पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल
- कोप२९ मा नेताहरूको मतभेदबीच उत्सर्जनलाई लिएर कडा चेतावनी
- वार्ताका लागि राष्ट्रसङ्घका आणविक प्रमुख इरान प्रस्थान
- दाङबाङ गाउँ
- सडक पुनर्निर्माण नहुँदा च्याङथापूवासी प्रभावित