युद्ध जारी– सात हजारभन्दा बढी मारिए: प्यालेष्टिन

इजरायली युद्ध पोतहरू गाजा क्षेत्रमा छिरेर भावी स्थल युद्धको तयारी गरिरहेका छन् भने आधारभूत आवश्यकताका सामाग्रीको अभावमा गाजा क्षेत्रमा भोकमरीको स्थिति आइसकेको छ।

प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाए अनुसार अक्टोबर ७ मा इजरायलमाथि प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकु समूह (हमास) ले गरेको आक्रमणपछि गाजामा इजरायली आक्रमणमा परी कम्तीमा सात हजार २८ जनाको मृत्यु भएको छ।

सन् २००५ मा इजरायलले गाजामा एकतर्फी रूपमा आक्रमण रोकेको घोषणा गरेपछि भएको युद्धमा दुई हजार ९१३ बालबालिका र एक हजार ७०९ महिलासहित सात हजारभन्दा बढी प्यालेष्टिनी मारिएका छन्।

अक्टोबर ७ मा हमास लडाकूले हवाई, स्थल तथा जलमार्गबाट एकैसाथ एक्कासी आक्रमण गर्दा गाजा क्षेत्रको इजरायलतर्फको सीमानामा कम्तीमा एक हजार ४०० जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी ब्यक्तिलाई अपहरण गरी बन्धक बनाइएको दावी इजरायली सेना तथा सरकारले पुष्टि गरेको छ।

अर्कोतरि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले हमास आक्रमणको समर्थन गरेको आरोप लगाउने वरिष्ठ इजराइली कूटनीतिज्ञहरूले गरेको आकलनलाई स्पष्टरूपमा अस्वीकार गर्नुभएको छ। इजराइजली कूटनीतिज्ञहरूले सुरक्षा परिषद्मा अक्टोबर ७ मा हमाले गरेको आक्रमणलाई महासचिव गुटेर्रेसले समर्थन गरेको आरोप लगाएका थिए।

इजराइल र प्यालेस्टाइनको बीचमा बढ्दो सङ्कटलाई लिएर मङ्गलबार भएको बैठकलाई सम्बोधन गर्दै सुयक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले हमासले गरेको ‘भीषण’ आक्रमण कुनै पनि हालतमा औचित्यपूर्ण हुन नसक्ने बताउनुभयो।

उहाँले हमासले गरेको आक्रमणकै कारण गाजामा बमबारी र घेराबन्दी भएको भन्दै प्यालेस्टिनीहरू ‘शून्य अवस्थामा थिएनन्’ भन्ने पहिचान गर्नु महत्वपूर्ण हो र उनीहरूलाई सामूहिक सजाय दिनु उचित होइन भन्नुभयो।

गुटर्रेसको सम्बोधनपछि संयुक्त राष्ट्रसङ्घका लागि इजराइलका स्थायी प्रतितिधि गिलाड एर्डनले ट्वीट गर्दै भन्नुभयो, महासचिवको सम्बोधनले हमासको क्रुर आक्रमणलाई औचित्यपूर्ण ठहर गर्न खोजेको थियो, हमास आक्रमणमा करिब एक हजार चार सय मानिस मारिए, जसमा सर्वसाधारणनै बढी थिए।” उहाँले महासचिवको राजीनामासमेत माग गर्नुभएको थियो। यसका साथै महासचिव गुटेर्रेसको भिसासमेत रोक्ने चेतावनी दिनुभएको थियो।

यस्तै इजराइलका विदेशमन्त्री एली कोहेनले पनि गुटेर्रेसले हमासको आतङ्कवादलाई समर्थन गरेको आरोप लगाउनुभयो। साथै उहाँले मङ्गलबार महासचिवसँगको निर्धारित बैठक रद्द गर्नुभयो।

बैठकपछि मङ्गलबारनै महासचिव गुटेर्रेसले हमासले बन्धक बनाएका  केही परिवारलाई भेट्नुभयो र गाजाभित्र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरी बन्दी बनाएका सबैको बिना सर्त रिहाइका लागि आह्वानसमेत गर्नुभएको थियो।

बुधबार बिहान सुरक्षा परिषद्बाहिर पत्रकारहरूसँग उहाँले भन्नुभयो, मेरो केही भनाइलाई गलत तरिकाले प्रस्तुत गरिँदा म स्तब्ध भएको छु।”

आफूले वास्तवमै प्यालेस्टिनी गुनासोका बारेमा बोलेको उल्लेख गर्दै उहाँले प्यालेस्टिनी जनताको गुनासोले हमासको भयानक आक्रमणलाई न्याय दिन नसक्ने आफूले सुरक्षा परिषद्मा भनेको बताउनुभयो।

यसबीच संयुक्त राष्ट्रसङ्घले गाजाको कुनै पनि क्षेत्र सुरक्षित नभएको बताएको छ। राष्ट्रसङ्घका अनुसार अपेक्षित स्थल आक्रमणको तयारीमा इजराइली हवाई  हमलाहरु बढिरहेका छन्।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफी हमलामा इजराइलले प्यालेस्टिनी क्षेत्रका लगभग सबै ठाउँमा आक्रमण गरेकाले मानिसहरूसंग केही विकल्प बाँकी नरहेको राष्ट्रसङ्घले जनाएको छ।

गाजा कतै पनि सुरक्षित छैन”, प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रङ्घका मानवीय संयोजक लिन हेडसनले बताउनुभएको छ।

अर्कोतिर ‘इजराइल आफ्नो अस्तित्वको लडाइँमा छ’ भन्ने आफ्नो भनाइ दोहोर्याउँदै इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासको युद्ध विरुद्धको आफ्नो लक्ष्य ‘देशलाई बचाउनु’ रहेको र हमासलाई नष्ट गर्नका लागि स्थल आक्रमण चाँडै सुरु हुने बताउनुभएको टाइम्स अफ इजराइलले बताएको छ।

उहाँका अनुसार इजराइल स्थल कारवाहीका लागि तयार भइरहेको छ। यद्यपि कहाँ र कहिले आक्रमण सुरु गर्न लागेको हो भन्नेबारे उहाँले केही बताउनुभएन। “हामी स्थल आक्रमणको तयारी गरिरहेका छौँ, कहाँ, कसरी र कति आक्रमण हुन्छ भन्नेबारे म भन्दिनँ, म ती विचारहरूो सीमाको बारेमा पनि विस्तारपूर्वक बताउँदिन जसमा अधिकांशका बारेमा जनतालाई जानकारी छैन, साथै यस्तै नै मानिन्छ, यही तरिका हो जसबाट हामी आफ्ना सैनिकहरूको ज्यानको रक्षा गर्न सक्छौँ”, उहाँले भन्नुभयो। राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नेतान्याहुले भन्नुभयो, इजराइल हाम्रो अस्तित्वको लडाइँको बीचमा छ, युद्धका दुई उद्देश्य हुन्छन्– हमासको सैन्य र शासन क्षमतालाई नष्ट गर्नु र उसलाई समाप्त पार्नु, साथै हाम्रा बन्धकहरूलाई फिर्ता गर्नका लागि हरसम्भव प्रयास गर्नु।”

प्रधानमन्त्री नेतान्याहुलाई उद्धृत गर्दै टाइम्स अफ इजराइलले भनेको छ, हमासका सबै सदस्य मृत व्यक्ति हुन्। उनीहरू जमिनमाथि र तल, गाजाभित्र र बाहिर घुमिरहेका छन्। रक्षामन्त्री योआभ ग्यालेन्ट, मन्त्री बेनी गेन्ट्ज, सुरक्षा क्याबिनेट, मुख्यसचिव र सुरक्षा सङ्गठनका प्रमुखहरूसँग हामी विजय प्राप्त नभएसम्म युद्धका लक्षहरूलाई प्राप्त गर्नका लागि चौबिसै घन्टा काम गरिरहेका छौँ र राजनीतिक विचारलाई पनि यस्तै बनाइरहेका छौँ।”

मुलुकलाई बचाउनु र जित हासिल गर्नु नै लक्ष्य भएको उल्लेख गर्दै उहाँले इजराइली कारवाहीमा हजारौँ आतङ्ककारी मारिएको र यो सुरुआत मात्र भएको बताउनुभयो।

स्थल आक्रमणको समयका बारेमा सर्वसम्मतिले निर्णय लिइएको उहाँको भनाइ थियो। “अपरेसनको समय युद्ध मन्त्रिपरिषद् र मुख्यसचिवमार्फत सर्वसम्मतिले निर्धारण गरिएको थियो”, उहाँले भन्नुभयो, हामी ती हत्यारा, अत्याचारी र हमासबाट पूरा मूल्य चुकाउने छौँ।”

उहाँले गाजाका गैरलडाकूहरूलाई फेरि पनि दक्षिणी गाजातिर जान आग्रह गर्नुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link