अवैध प्रेमको चक्करमा मारिए प्रिन्सिपल रुपेश: प्रेमिका राधा र उनका अर्का प्रेमी मनोजसहित दस पक्राउ

सन्तोष पाण्डे/बारा

बाराको सदरमुकाम कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल ३९ वर्षीय रुपेश सराफ (स्वर्णकार) हत्याको ९५ प्रतिशत अनुसन्धान सकिएको बारा प्रहरीले जनाएको छ। हत्या रुपेशकै प्रेमिका राधा गुप्ता र राधाका अर्का प्रेमी मनोज गुप्ताको संलग्नता भएको अनुसन्धानबाट खुलेको छ।

सोमबार दिउँसो करिब साढे १२ बजे नेपाल राष्ट्रिय माध्यमिक विद्यालय स्कुल मदरसाको बिच रोडमा पछाडिबाट २ वटा मोटरसाइकलमा मास्क लगाएर आएका ४ जनाले दिनदहाडै सराफमाथि गोली प्रहार गरी हत्या गरेका थिए। हत्याको प्रकरणमा प्रेमिका राधा गुप्ता सहित दस जनालाई बारा प्रहरीले पक्राउ गरी बुधवार पत्रकार सम्मेलनमा सार्वजनिक गर्ने तयारी गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार विवाहित सराफसँग प्रेम सम्बन्धमा रहेकी राधा गुप्ताको अर्का मनोज गुप्तासँग पनि प्रेम सम्बन्ध रहेको थियो। मनोज गुप्ताले सराफलाई आफ्नी प्रेमिका राधासँगको सम्बन्ध तोड्न बारम्बार दबाब दिँदै आएको समेत खुलेको छ। राधाको प्रेम सम्बन्धमा फसेका सराफले त्यति सजिलै प्रेमिका छाड्न मानेका पनि थिएनन्।

सिसिटिभीको सहाराले अनुसन्धानमा सहयोग मिलेको र  हत्यामा संलग्नले चलाएको नेपाली नम्बर प्लेट बाइकको समेत पहिचान भइसकेको छ।  मनोज गुप्ताले राधा गुप्तासँग मिलेर सराफको हत्या गर्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ।

राधाको अर्का प्रेमी मनोज गुप्ताले गत साउन १३ र भदौ २८ गते पनि सराफलाई गोली हान्ने प्रयास गरेको तर सफल नभएको प्रवक्ता न्यौपानेले बताउनुभएको छ। सराफको हत्यामा राधा गुप्ताले दोहोरो भूमिका निर्वाह गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकी राधाकी अर्का प्रेमीले कि आफूलाई मार्ने कि सराफलाई मार्ने धम्की दिएपछि आफूले सराफको हत्या गर्न सहयोग गरेको बयान समेत प्रहरीलाई दिएकी छिन्।

पक्राउ परेकी राधा गुप्ता सहित १० जनालाई नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनु भएको छ।

यसबिच गोली प्रहारबाट हिजो मारिएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सराफको मङ्गलवार हिन्दु परम्पराअनुसार दाह संस्कार गरिएको छ।

पसहा खोलामा रुपेशको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ। यसअघि एन प्यापसनका पदाधिकारीले संस्थाको झन्डा ओढाई सराफमा श्रद्धाञ्जली अर्पण गरेका थिए।

मृतक सराफको श्रीमतीसहित दुई छोरा छन् । उनलाई श्रद्धाञ्जली अर्पण गर्न ठुलो सङ्ख्यामा शुभचिन्तकहरू कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित उनको निवासमा पुगेको थिए।

कलैया उपमहानगरपालिकाका प्रमुख  विनोद साह, नेकपा माओवादी केन्द्रका  युवा नेता मुकेश साह, नेपाली काँग्रेसका युवा नेता लुकेश सिंहलगायत विभिन्न राजनीतिक दलका व्यक्ति नागरिक अगुवा, निजी तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिका, आफन्तजन, पत्रकार, सुरक्षाकर्मीलगायतले सराफको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए।

उपमहानगरपालिका भित्रका शिक्षक तथा पेसागत विभिन्न सङ्घ–सङ्गठनहरूले  घटनाको निन्दा गर्दै शोक मनाउने निर्णय गरेका छन्।

यस्तै बारा उद्योग वाणिज्य सङ्घले पनि एक विज्ञप्ति जारी गर्दै हत्याको विरोधमा बजार बन्द गर्न आह्वान गरेको छ। सङ्घका अध्यक्ष राजकुमार साहद्वारा जारी विज्ञप्तिमा मङ्गलवार साँझसम्म बजार बन्द गरी सहयोग गर्न उद्योगी तथा व्यापारीहरूसँग अपिल गरिएकाले अहिले बजार पूर्ण रूपमा बन्द छ।

एन प्यापसनले पनि सोमवार नै विज्ञप्तिमार्फत उक्त घटनाको निन्दा गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नाका साथै २४ घण्टाभित्र वास्तविक  अपराधी समात्न नसके चरणबद्ध आन्दोलन गर्ने जनाएको छ।

कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल सराफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले  गोली प्रहार गरी हत्या गरेकाले  जिल्लावासीमा त्रासको वातावरण छाएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

सन्तोष पाण्डे/बारा का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link