बारा जिल्ला प्रशासन कार्यालयमा बेथितिको चाँङ्ग

प्रस्तुत तस्बिरमा देखिएको लामबद्ध लाइन र भिड कुनै मन्दिर वा मेलाको होइन । यो भिड जिल्ला प्रशासन कार्यालय बारा कलैयाको हो । यस्तो भिड जिल्ला प्रशासन कार्यालयमा दिनहुँ हुने गर्दछ । यदि तपाई कुनै काम लिएर जिल्ला प्रशासन कार्यालय बारामा जानुभयो भने तपाईँले सहजै सेवा पाउने स्थिति भने छैन । घण्टौँसम्म लाइन बस्तु पर्ने वा काम नभएर रित्तै हात फर्कनु पर्ने पनि हुन सक्दछ ।

जिल्ला प्रशासन कार्यालयले नयाँ नागरिकता, प्रतिलिपि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र जस्ता सेवाहरू दिने गरेको छ । अरू सेवा भन्दा पनि नयाँ नागरिकता र प्रतिलिपि नागरिकता वितरणमा सबैभन्दा बढी समस्या देखिएको छ ।

कार्यालयमा सेवा लिन आउनेहरूको अत्यधिक चाँप हुनु र कार्यालयमा पर्याप्त कर्मचारीहरू नहुँदा सेवा प्रवाहमा समस्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बारा बेथितिको चाँङ्ग बनेको छ । जिल्ला प्रशासन कार्यालय बारा अन्तरगत अधिकृत स्तरका मात्रै ४ जना कर्मचारी नहुँदा नागरिकता वितरणमा सबैभन्दा बढी समस्या देखिएको कार्यालयले जनाएको छ ।

लामो समयदेखि कार्यालयमा प्रशासकीय अधिकृतहरू नहुँदा सेवाग्राहीहरूलाई सहज रूपमा सेवा दिन नसकेको प्रशासन कार्यालयको पनि स्वीकारोक्ति रहेको छ ।

कार्यालयमा सेवाग्राहीहरूले सहज रूपमा सेवा नपाउनु र बढी भिडभाड हुनको कारण मुख्यतः कर्मचारी अभाव नै रहेको प्रशासन कार्यालयको नेतृत्व गरिरहेका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको भनाई छ ।


जिल्ला प्रशासन कार्यालयमा मात्र होइन यो अन्तरगत रहेका अन्य कार्यालयहरू इलाका प्रशासन कार्यालय कोल्हवी, इलाका प्रशासन कार्यालय सिमरा र इलाका प्रशासन कार्यालय सिम्रौनगढका गरी र ४ जना प्रशासकीय अधिकृत रवाना लिएदेखि अधिकृतबाट हुने सबै काम ठप्प भएको छ ।

नागरिकता लगायतका सेवाहरू सहज रूपमा सेवा दिन सिमरा, कोल्हवी र सिम्रौनगढमा पनि इलाका प्रशासन कार्यालय सञ्चालनमा छ । तर कोल्हवी र सिम्रौनगढमा अधिकृत नहुँदा सेवाग्राहीहरू लामो दुरी पार्दै कलैया जिल्ला प्रशासन कार्यालय जाने गरेका छन् ।

अधिकृत नै नहुँदा इलाका प्रशासनको काम ठप्प बने पछि कलैया स्थित जिल्ला प्रशासन कार्यालयमा सेवा लिनेहरूको चाँप बढेको छ । इलाका प्रशासन कार्यालय ठप्प भएपछि दैनिक जसो कोल्हवी र सिम्रौनगढका सयौँ सेवाग्राहीहरू आएपछि अझ कार्यालयमा चाँप बढेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए ।

छोटो समयको जिम्मेवारी लिएर गएका कर्मचारी समयावधि भित्रै रवाना लिएर गएपछि सेवाग्राही मारमा परेको सापकोटाको भनाई छ । दुई जना अधिकृतले गर्नुपर्ने काम अहिले प्रशासकीय अधिकृत अनिता कुमारी राजलबटले मात्र गरेर भए पनि काम चलाऊ रूपमा सेवाग्राहीहरूलाई सेवा दिइरहेको प्रमुख जिल्ला अधिकारी सापकोटाको गुनासो छ ।

इलाका प्रशासन कार्यालयहरू रहेका प्रशासकीय अधिकृतहरूको सरुवा भएपछि काम ठप्प भएको कुरा स्वीकार गर्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले उक्त समस्याको बारेमा आफूले बारम्बार सम्बन्धित माथिल्लो निकायमा घचघच्याइरहेको जानकारी दिए । बारामा वंशज,जन्मसिद्ध जस्ता नयाँ नागरिकता र प्रतिलिपि लिने नागरिकहरूको चाप बढेपछि अन्यौलता सिर्जना भएको प्रजिअ सापकोटाको भनाई छ ।

जिल्ला प्रशासन कार्यालयमा बिहान ८ बजेदेखि नै लाइनमा बसेर पनि काम हुन नसकेको आइतबार कार्यालय परिसरमा भेटिएका सेवाग्राही राम पासवानले दुःखेसो व्यक्त गरे । जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउँदा एक दिनको काममा हप्तौँ लाग्ने गरेको र शाखा अधिकृत नहुँदा काम नभई घर फर्किने अवस्था रहेको अर्का एक सेवाग्राहीले बताए ।

प्रशासन कार्यालयमा सबैभन्दा बढी प्रतिलिपि लिन आउने सेवाग्राहीले बढी दुख पाउने गरेका छन् । प्रतिलिपि नागरिकता लिन हप्तादेखि महिनौँसम्म लाग्ने गरेको एक सेवाग्राहीले गुनासो सुनाए ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

सन्तोष पाण्डे/बारा का अन्य पोस्टहरु:
बारा जिल्ला प्रशासन कार्यालयमा बेथितिको चाँङ्ग
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link