बारा २: गिजोलिएको राजनीतिमा उपेन्द्रलाई रोक्ने प्रयास

वैशाख १० गते उपनिर्वाचन हुँदै गरेको प्रतिनिधिसभाका खाली भएका तीन क्षेत्रमा क्षेत्र मध्ये बारा क्षेत्र नम्बर २ एक हो। गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव सो क्षेत्रबाट निर्वाचित हुनुभएको थियो। सांसद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनका लागि गत चैत्र २० गते सोमवार विभिन्न राजनीति दल र स्वतन्त्र समेतले मनोनयन दर्ता गराईसकेका छन्। उम्मेदवारी दर्ता पछि दलहरू र स्वतन्त्र उम्मेदवारहरूले मतदातालाई रिझाउन विभिन्न तरवरबाट मत माग्न थालेका छन्। निर्वाचनलाई उपयोग गर्दै आफ्नो दलको सिट संख्या थप्ने आ आफ्नै दाउमा लागेका दलहरूले उम्मेदवारलाई जिताउन केन्द्रस्तरका ठूला नेताहरू बारा २ मा झर्न थालेका छन्।

कसकसले दिए उम्मेदवारी

बारा २ मा उपनिर्वाचनका लागि दलबाट मनोनयन दर्ता गर्नेमा जनता समाजवार्टी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट पुर्वमन्त्री एवम् पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल, जनमत पार्टीबाट संविधानसभा सदस्य शिवचन्द्र कुशवाहा, आम जनता पार्टीबाट अरुण ज्ञवाली हुनुहुन्छ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सोनालाल साह तेली, नागरिक उन्मुक्ति पार्टीबाट डा.कमरुल्लाह अंसारी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मनिफ मिया अंसारी, हाम्रो नपाली पार्टीबाट चन्द्रप्रकाश सुवेदी, नेपाल संघीय समाजवादी पार्टीका नेराजुल अंसारी, नेपाल मजदुर किसान पार्टीबाट मुक्ती यादव, मंगोल नेशनल अर्गनाईजेशनका प्रमोद राम चमारले उम्मेदवारी दिनुभएको छ। जम्मा ३४ जनाले उम्मेदवारी दिएकोमा २४ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्।

 मतदाता संख्याः

बारा २ मा कुल मतदाता संख्या एक लाख ५ हजार २४८ जना रहेका छन्। जसमध्ये पुरुष  ५८हजार ९३४ जना र महिला ४६ हजार ३१४ जना रहेका छन्। गत मंसिर ४ पछि बढेको मतादाता संख्या भने २३७ जना हुन। जाति गत मतादाताको संख्या तथ्य डाटा नभएपनि अनुमानित रुपमा  यादव समुदायको २४ देखी २६ मत रहेको हुनसक्ने आकलन गरिएको छ। यस्तै मुस्लिम सामुदाय दोस्रो स्थानमा करिब १४देखी १६ हजार, कुशवाहा समुदायको १५देखी १७ हजार,कानु कलवारको १२ देखी १५ हजार, चौधरी(थारु) को  ९ देखी ११ हजार, पहाडी समुदायको करिब १ हजार दुई सयको हाराहारी अनुमानित मतदाता रहेको हुनसंक्ने आँकलन गरिएको छ। बारा क्षेत्र नम्बर २ मा ८२ वटा मतदान स्थल र १ सय ७३ वटा मतदान केन्द्र तोकिएको छ।

दलको प्रभाव क्षेत्र

बारा क्षेत्र नम्बर २ मा ५ वटा स्थानीय तहहरू र कोल्हवी नगरपालिकाको एक वटाको वडा मात्र छन्।  जस अन्तरगत पचरौता नगरपालिकाकामा जसपाकै बढि प्रभाव छ भने काँग्रेस र एमाले दोस्रो र तेस्रो स्थानमा छन्।सुवर्ण गाउँपालिकामा नेपाली काँग्रेसको बढि प्रभाव छ भने जसपा दोस्रो र एमाले तेस्रो स्थानमा छ।

देवताल गाउँपालिका जसपा र लोसपा पहिलो स्थानमा छ भने काँग्रेस, एमाले पछाडि छन्। करैयामाई गाउँपालिका जसपा र काँग्रेस पहिलो स्थानमा छन् भने दोस्रो एमालेमा छ। महागढीमाई नगरपालिकामा जसपा,काँग्रेस र जनमत तीनवटै को प्रभाव  उस्तै छ। यता १ वटा वडा मात्र रहेको कोल्हवी नगरपालिका वडा नम्बर ८ मा भने नेपाली काँगेस र एमालेको बढि प्रभाव छ भने माओवादी र जसपा तेस्रो, चौथो स्थानमा छन्।

कसको मत कति

गत मंसीर ४ मा सम्पन्न निर्वाचनमा (जनता समाजवादी पार्टी) उम्मेदवार रामसहाय प्रसाद यादवले १३ हजार ४६४ मत प्राप्त गरि विजयी हुनुभएको थियो। यस्तै पाँच दलिय गठबन्धबाट (नेपाल कम्युनिष्ट पार्टी माओवादी)का उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहले १३ हजार ३६९ मत ल्याउनुभएको  थियो। यिनै कुशवाह माओवादी परित्याग गरि बैशाख १० मा हुने निर्वाचनमा जनमत पार्टीबाट उम्मेदवार बन्नु भएको छ। यता जसपाबाट टिकट नपाएपनि रामसहायविरुद्ध बागी बनेर स्वतन्त्र उम्मेदवारी दिने रामकिशोर प्रसाद यादव (स्वतन्त्र) १० हजार ८९९ मत ल्याउनुभएको  थियो। र तेस्रो स्थानमा हुनुहन्थ्यो। रामकिशोर हाल फेरि जसपा प्रवेश गरी गठबन्धन दलका उम्मेदार एवम् जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताउन लागि पर्नुभएको छ।

यता गठबन्धनका कारण नेपाली काँग्रेसको उम्मेदवार भएपनि काँग्रेसकै पूर्व केन्द्रीय सदस्य राधेन्द्र यादवका भतिजा रविन्द्र प्रसाद यादव (स्वतन्त्र) बाट उम्मेदवारी दिएर १० हजार ५६८ मत ल्याउनुभएको  थियो। रविन्द्रले पनि जसपा अध्यक्ष उपेन्द्र यादवलाई नै सघाउने बताएउनुभएको छ। यस्तै स्वतन्त्रबाट नै उम्मेदवारी दिएका अरुण कुमार ज्ञवालीले ७ हाजर ६२४ मत ल्याउनुभएको  थियो। ज्ञवाली हाल बैशाख १० मा प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवार हुनुहुन्छ। यसैगरी गत मंसीर ४ मा (जनमत पार्टी ) उम्मेदवार बनेका राजेश साहले पनि  २ हजार ७१४ मत ल्याउनुभएको  थियो।

चार उम्मेदवार मुख्य प्रतिस्पर्धी

बारा– २ मा वैशाख १० हुने उपचुनावमा मुख्य चार उम्मेदावरहरूवीच प्रतिस्पर्धा हुने देखिन्छ। गठबन्धन दलको समर्थन पाएका जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, नेकपा एमालेका पुरुषोतम पौडेल र रास्वपाका रमेश खरेलवीच नै प्रतिस्पर्धा हुने देखिन्छ। यी चार मध्ये यादव, कुशवाह र खरेल यसअघि मंसीर ४ मा हार व्यहोरेकाले उपनिर्वाचनलाई उपयोग गरि जित निकाल्ने दाउमा छन्। यता नेकपा एमालेबाट उम्मेदवार बनेका पौडेल गत मंसीरको निर्वाचनमा टिकट पाउने अवसरबाट बञ्चित भएका र उपनिर्वाचन फेरी सांसद बन्ने अवसरको रुपमा प्रयोग गर्ने दाउमा छन्।

उपेन्द्रलाई रोक्न मोर्चाबन्दी

बैशाख १० मा बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव संसद भवन छिर्ने दाउमा हुनुहुन्छ। अध्यक्ष यादव उपनिर्वाचन लड्नकै लागि रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिमा लगिएको धेरैको अनुमान छ। गत मंसीर ४ भएको निर्वाचनमा अध्यक्ष यादव सप्तरीबाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित हुनुभएको थियो। पहिलो निर्वाचनमा हार व्यहोरेका अध्यक्ष उपेन्द्र दोस्रो पटक उपनिर्वाचन मार्फत फेरी संसद बन्ने दाउमा हुनुहुन्छ। सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका उपेन्द्रलाई जनमत, नेकपा एमाले र रास्वापादले घेराबन्दी गर्ने दाउमा छन्। अध्यक्ष उपेन्द्रलाई सप्तरीबाट पराजित गर्न सफल जनमत पार्टीका अध्यक्ष राउत फेरी उपेन्द्रलाई संसद बन्न नदिन रोक्ने प्रयासमा हुनुहुन्छ। त्यसैले राउतले पूर्व सभासद् एवम् माओवादीका प्रभावशाली नेता शिवचन्द्र कुशवाहालाई पार्टी प्रवेश गराएर उम्मेदवार बनाउनु भएको हो। यता उपेन्द्रलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको साथ छ। समर्थकहरू उहाँलाई ‘मधेशका मसिहा’ पनि भन्ने गरेका छन्। विपक्ष दलहरूले भने पाहुना उम्मेदवारको रुपमा प्रस्तुत गरिरहेका छन्। उपेन्द्र यादवको संसदसम्मको यात्रा भने त्यति सहज छैन।

संसद बन्ने हठमा कुशवाहा

गत ४ मंसिरमा बारा २ बाट नै गठबन्धन दलबाट उम्मेदवार वनेका माओवादीका नेता शिवचन्द्र कुशवाह संसद बन्ने हठमा हुनुहुन्छ। मंसीर ४ मा उपराष्ट्रपति रामसहाय यादवसँग ३४५ मतान्तरले पराजित भएका कुशवाहा बैशाख १० को उपनिर्वाचन मार्फत विजयी  दावीका साथ चुनावी मैदानमा हुनुहुन्छ। कुशवाहले जसपा अध्यक्ष यादवलाई पाहुना भन्दै आफु धर्तीपुत्र रहेकाले यहाँका मतदाताले धर्तीपुत्रलाई नै रोज्नेमा विश्वस्त हुनुहुन्छ। यसअघि माओवादीबाट पाँच दलिय  गठबन्धनबाट उम्मेदवार बनेका कुशवाहा यसपटक सो क्षेत्रमा जनमत र सँगठन नै कमजोर रहेको सिके राउत नेतृत्वको जनमत पार्टीबाट उम्मेदवार बनेकाले उहाँको पनि जित निकै कठिनाई रहेको छ।

कुशवाहा टिकटकै लागि माओवादी पार्टी परित्याग गरेको यो दोस्रो पटक हो। उहाँले यसअघि ०७० मा तत्कालिन माओवादी केन्द्रबाट टिकट नपाएपछि सद्‌भावना पार्टीमा प्रवेश गरेर चुनाव लड्नुभएको थियो। र फेरी पछि नयाँ शक्ति पार्टी हुँदै ०७४ असार २३ मा माओवादीमा नै  फर्किनु भएको हो।

एमालेका पौडेल पनि २०७० लाई फर्काउने दाउमा

गत मंसीर ४ मा जसपासँग गठबन्धन गरे आफ्नो उम्मेदवार नउठाएको नेकपा एमालेले यो पटक भने बारा–२ बाट पूर्वखेलकुद मन्त्र एवम् पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ। माघव झलनाथ गुटमा रहेका कारण २०७० यता टिकट नपाएका पौडलेले बैशाख १० को उपनिर्वाचनलाई अवसरकै रुपमा लिनुभएको छ। २०७० को चुनावमा बारा ६ बाट सभासदमा निर्वाचित पौडेल सोही वेला सुशील कोइराला नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री हुनुहुन्थ्यो। लगातार दुईपटक जसपाले पार्टीले जितेर गएपनि क्षेत्रको खासै विकास हुन सकेको छैन। तर्सथ क्षेत्रमा एमालेको जनमत कमजोर भएपनि ओली र उनको विकास र समृद्धिको नाराले प्रभाव पार्ने र जीत सुनिश्चित गर्ने दाउमा पौडेल हुनुहुन्छ। यो क्षेत्रमा पहाडी समुदाय मतदाता नगन्य मात्रमा रहेकाले उहाँलाई पनि जातिय राजनीतिबाट विपक्षीहरूले घेराबन्दीमा पर्ने देखिएकोले सहजै जीत हातपर्न सक्ने छाँट देखिदैन।

काठमाडौंले नपत्याएका खरेल बारामा

गत मंसीर ४ को निर्वाचनमा आफ्नै शुसासन पार्टीबाट उम्मेदवार बनेर पराजय व्यहोरेका पूर्व डिआईजी रमेश खरेल यो पटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा–२ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ। नागरिकलाई सुशासन, शिक्षा र सुरक्षाको प्रत्याभूति दिलाउने बताउने मंसीर ४ मा उनलाई काठमाडौं क्षेत्र नम्बर १ का जनताले नपत्याएपछि उपनिर्वाचनको उपयोग गर्दै बारा २ का जनतालाई फकाउने दाउमा हुनुहुन्छ। बारा २ मा सँगठन र जनमत नभएको स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका खरेल पार्टी सभापति रवि लामिछानको देशभर परेको प्रभाव र नेपाल प्रहरीमा रहदा आफ्नो प्रभाव परेका मतदातालाई फकाउने दाउ हुनुहुन्छ। सामाजिक सञ्जालको प्रभाव र कोल्हवी नगरपालिकाको १ मात्र वडा रहेको वडा नम्बर ८ मा करिब १२ सय पहाडी समुदायको मतलाई उपयोग गर्ने वाहेक खरेलको जीत निकालल्ने अरु उपाय छैन।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

सन्तोष पाण्डे/बारा का अन्य पोस्टहरु:
बारा २: गिजोलिएको राजनीतिमा उपेन्द्रलाई रोक्ने प्रयास
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link