‘‘परिवर्तनका मुद्दा उल्टाएर देशलाई द्वन्द्वमा फसाउने भयानक षड्यन्त्र हुँदैछ। त्यसमा सबैखाले प्रतिक्रियावादी शक्तिको साँठगाँठ छ। तर, हामी परिवर्तनको रक्षाका निम्ति १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर सबै शक्तिहरू एक ठाउँमा उभिएर जवाफ दिनेछौं,” यो भनाई हो, प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को।
प्रचण्डले बिहीबार बुटवलमा आयोजित पार्टीको प्रदेशस्तरीय स्कुलिङ कार्यक्रममा बोल्दै यो खुलासा गर्नुभएको हो। उहाँले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्याय उल्टाएर देशमा अस्थिरता गर्ने कोसिस भइरहेको बताउँदै उक्त षड्यन्त्र असफल पारिने बताउनु भएको छ।
प्रचण्डको भनाईमा “पछिल्लोसमय धरान, नेपालगञ्ज, सर्लाही लगायतका स्थानमा जे प्रयत्न गरियो, त्यो सामान्य छैन। गणतन्त्र नै उल्टाएपछि संघीयता पनि रहँदैन, त्यसपछि देश नै टुक्राउन सकिन्छ भन्ने गम्भीर षड्यन्त्र छ। यो कुरा हामीले जनतालाई बुझाउनुपर्छ।”
कमजोर चिन्तनमनन
स्कुलिङ कार्यक्रममा प्रचण्डले भन्नुभयो,‘‘हिजो अध्ययन, अनुसन्धान र नयाँ विषयको खोजीमा हामी सबैको रूचि थियो, त्यसले हामीलाई बाटो देखाउँथ्यो, बदलिएको परिस्थितिअनुसार अगाडि बढ्न उत्प्रेरित पनि गर्थ्यो। तर आजभोलि दार्शनिक सैद्धान्तिक चिन्तन कमजोर हुँदै गएको छ। विचारको पक्षमा चिन्तन, मनन कमजोर भएको छ। त्यसको प्रत्यक्ष फाइदा व्यवस्थाविरोधीहरूले उठाउन खोज्दैछन्। तसर्थ, विकसित परिस्थितिअनुरूप नयाँ विचारको विकासमा हामीले जोड दिनुपर्छ।’
प्रचण्डका अनुसार “पार्टी विभाजित हुँदा पनि हामी कमजोर भयौं, प्रतिक्रान्तिहरूको मनोबल उठ्न थाल्यो। त्यसलाई चिर्न हामी रूपान्तरणका साथ अगाडि बढ्नुको बिकल्प छैन। रूपान्तरण नेताहरूबाट हुनुपर्छ, अरूलाई उपदेश दिएर हुँदैन।”
उहाँले भन्नुभयो, “गणतन्त्र, संघीयताको रक्षा हामीले मात्रै गर्न सक्छौं, अरूलाई खास चासो पनि छैन, उनीहरूको एजेन्डा पनि होइन। माओवादी कमजोर भए संविधान मात्रै विघटन हुँदैन, देश नै विघटनको खतरा रहन्छ।”
परिवर्तनका पक्षधर सबै राजनीतिक शक्ति एक ठाउँ उभिएर प्रतिगामी षड्यन्त्र परास्त गर्छौं, राजनीतिक दलहरूबीच यसबारे छलफल चलिरहेको प्रचण्डले बताउनुभयो। उहाँले केही दिनमा बैठक बसेर ठोस समीक्षासहित अगाडि बढ्ने बताउनु भयो ।
‘‘भूराजनीतिक दृष्टिले विश्वका महाशक्तिको दवावमा हामी छौं। हाम्रा कारणले होइन महाशक्ति राष्ट्रहरूको शक्ति संघर्षको चेपुवामा हामी पर्नसक्ने खतरा छ। रूस-युक्रेन, इजरायल-हमास युद्ध र विश्वव्यापी परिघटना हेर्दा परिस्थिति ध्रुवीकरणतर्फ गएको छ। तसर्थ, नेपालले सन्तुलित र परिपक्व कूटनीतिक बाटो लिनुपर्छ। त्यसमा सरकारले सकारात्मक पहल लिएको छ। संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणसम्म आइपुग्दा हाम्रो पहल उत्कर्षमा पुगेको छ’’ प्रधानमन्त्रीले भन्नुभयो।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘कम्युनिस्टहरूले बाँचुञ्जेल परीक्षा दिनुपर्छ। म पनि परीक्षामा छु, तपाईहरू पनि परीक्षामा हुनुहुन्छ। यसपटक सरकारले निकै विवेक र दृढताका साथ कदम चालेको छ। भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सुधार, भूमाफियाहरूलाई कार्वाही, कूटनीतिक सन्तुलनलगायतका जति काम गरिएको छ, तिनीहरूको रणनीतिक महत्त्व छ। अहिले नै उत्पात, चमत्कार गर्न सकिँदैनथ्यो। हामी गठबन्धनमा छौं, त्यसका सीमा र जटिलताहरू पनि छन्।’’
यसबीच आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान (नर्सिङ कलेज) को उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भन्नुभयो, “सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। गरिब, बिपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २८०० श्यया निशुल्क उपलब्ध गराइएको छ। पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको छ।”
‘प्रचण्ड’ ले भन्नुभयो, “सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कुल श्ययाको १० प्रतिशत बिपन्न, असहाय, बेवारिसे बिरामीको निशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ। यस्ता धेरै कामहरू अगाडि बढेका छन्– जसले स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षा र सरल एवं सहज सेवा प्रवाहका निम्ति आधारभूत अर्थ राख्दछन्।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट, कम्तीमा ५२ जनाको मृत्यु
- ‘हेर्दा राम्रो मार्फा गाउँ…’
- रुसी आक्रमणमा परी पोल्टावामा मृत्यु हुनेको सङ्ख्या ५८ पुग्यो
- चालीस वर्षदेखि सारङ्गी रेट्दै लालबहादुर
- सहज बन्यो चीनको कैलाश मानसरोवरको यात्राका लागि महाकाली करिडोर
- किन बढिरहेछ हिमाली क्षेत्रमा विपद्को वितण्डा ?
- अग्रज पत्रकार नरेन्द्र उपाध्याय, अल बिदा !
- युद्धपछि गाजामा कुपोषण: मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो
- पाहुनाको कुरिरहेको मुस्ताङको स्याङगाउँ
- देशभर मनसुनी वायुको प्रभाव यथावत