आफ्ना दाइको हात समाएर नौ वर्षको उमेरमा काठमाडौँ सहर छिर्नु भएको हो गजेन्द्र बैठा। हातमुख जोडन गाह्रो भएको परिवारको बच्चालाई के को पढाई। अहिले चपुर भनिने रौतहटको चन्द्रनिगाहपुरमा गजेन्द्रको परिवारमाथि कसैको निगाह थिएन। त्यैले दाइसँग जीवन चलाउने धन्दा सिक्न राजधानी आएर सडक नापेको पनि ११/१२ वर्ष भइसक्यो।
यी सडकमा नगरपालिकाका सिपाही र टोले गुन्डाबाट बच्दै भाग्दै गजेन्द्र बैठा सिकेको कुरा हो, “मौसम अनुसारको धन्दा गर नभए डुब्छस्।”
खुट्टामा तुने चप्पल, धेरैजसो खैरो पाइन्ट, गुलाबी सर्ट र निलो क्याप पहिरनमा देखिने गजेन्द्र जति दुःख परे पनि दाँत देखाएर खिस्स हाँस्ने शैलीले जोकोही आसपास हिँड्नेलाई मोहित बनाउँछ।
कहिले असन, जमल, सानो पशुपति, कलङ्की , हनुमान ढोका त कहिले रत्नपार्कका गल्ली गल्ली मा भेटिनुहुन्छ गजेन्द्र। गजेन्द्र भन्नुहुन्छ, ‘अल्लि मानिसहरूको चहलपहल हुने चोकमा बस्न मन लाग्छ तर नगरपालिकाको टोलीले सडक व्यापारीको सामान उठाउने भएकाले हामीहरू त्रसित भएर लुकी लुकी काम गर्नु परेको छ।’
क्यान्डी, स्वीट क्यान्डी र कटन क्यान्डी बनाउने मेसिन इन्डियाबाट ३०/४० हजारमा ल्याउनुभयो। त्यसपछि आफैँले सम्पूर्ण काम सिकेपछि नाफा पनि हुने गरेको उहाँको भनाइ छ। गजेन्द्र भन्नुहुन्छ ‘ मेसिनले दुई घण्टामा २०० देखि ३०० प्याकेट क्यान्डी निकाल्न सक्छ।‘
‘तीस किलो चीनी र अलिकति फुड कलर हाल्दा तिन सय प्याकेट क्यान्डी निस्किन्छ। लागत त्यति नै हो लाग्ने। फाइदा त नसोचेको हुन्छ,’ मुसुक्क हाँस्दै सुनाउनुहुन्छ।
एक प्याकेट क्यान्डीको मान्छे अनुसार रेट लगाउनुहुन्छ। बालबच्चालाई प्रति प्याकेट तिस रुपैयाँ, अलिक ठुलालाई ४० देखि ५० सम्म लिने गरेको उहाँको भनाई छ। त्यस्तै बलुन पनि प्रति वटा एक सय देखि १५० सम्ममा बेच्ने गरेको उहाँ बताउनुहुन्छ।
सबै काममा राम्रा पक्ष र नराम्रा पक्षहरू हुन्छन्। गजेन्द्र भन्नुहुन्छ ‘ यो काम देख्दा मात्र सजिलो हो नि, यो गर्ने लाई थाहा हुन्छ। त्यो खेलौना मन पर्यो झिक्दिनु, अर्को पनि भन्दै सबै झिक्न लगाउँछन्। तर अन्त्यमा आएमा कुनै मन परेन भनेर जान्छन्। डोरीले बाँधेर अड्काएको प्लास्टिक बाँध्न अधिक समय पनि लाग्छ। त्यति समयमा मैले चार देखि पाँच वटा क्यान्डी या बेलुन बेचिसक्छु ’उहाँ अलिक निन्याउरो अनुहार लगाएर सुनाउनुहुन्छ।
गजेन्द्रको उपलब्धि भनेको नै आफू जस्तै दुख गर्ने १० जनालाई रोजगारी दिनुभएको छ। उहाँ भन्नुहुन्छ ‘ मैले १० जनालाई काम मा राखेको छु। आफ्नो सामानको लागत लिन्छु। जे जति कमाउनु त्यो सबै कामदारलाई नै। सबै जना त्यसबाट अत्यधिक खुसी छन्।’
मेहनतको फल मिठो भनिन्छ नि हो त्यही भएको छ गजेन्द्रलाई। मिठा र गुलियो क्यान्डी बेचेरै दैनिक दुई देखि तिन हजार आम्दानी गर्नुहुन्छ।
आफूले विगत धेरै वर्ष पहिला देखि काम गरेको अनुभव सुनाउँदै भन्नुहुन्छ ‘ सबैभन्दा राम्रो व्यापार पशुपति, नारानथान, हनुमान ढोका र भृकुटीमण्डपमा हुन्छ। अरू दिनको तुलनामा शुक्रवार र शनिवार अलिक धेरै व्यापार हुने उहाँको ठम्याई छ।’
उहाँ आफ्नो काममा अत्यधिक फाइदा भएका कारण सन्तुष्टि जनाउँदै भन्नुहुन्छ ‘ मैले मौसम अनुसार व्यापार परिवर्तन गर्दछु। गर्मीमा आइस गोला, आइसक्रिम, बरफ र चटपटे बेच्छु। जाडोमा भने चटपटे पानी पुरी र क्यान्डी दुवै बेच्ने गरेको छु।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
रूपेश आचार्य का अन्य पोस्टहरु:
- सटर भाडा तिर्न नसक्दा सडकमै बदाम बेचेर गुजारा चलाउने गायत्री
- धरहरा चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य, नयाँ साल देखि सर्वसाधरणका लागि खुला गर्ने तयारी
- भगवान् बनाएरै जीवन चलाएका रवि, जो मासिक लाख कमाउँछन्
- महाङ्काल र भद्रकाली मन्दिर जीर्ण, भाडा र भेटीको अत्तोपत्तो छैन !
- किन बढिरहेको छ उपत्यकामा चोरीका घटना ?
- गुजारा चलाउन दिनरात सडक सङ्घर्षमै हुन्छन् फुटपाथ व्यापारी
- थापाथलीको सुकुमबासी बस्ती भित्र छिर्दा
- महानगरले सुर्तीजन्य पदार्थमा लगाएको रोकप्रति व्यापारीको गुनासै गुनासा
- दैनिक १५ घण्टा सडकमै सङ्घर्ष गर्छन् अधिकारी
- द्रुत बस सेवा: कतै हर्ष, कतै दुखेसो