धैर्यताले मृत्युलाई पनि छक्क्याउन सक्दो रहेछ

हरिविनोद अधिकारी

कालको बारेमा काल महिमा भन्ने कवितामा कवि शिरोमणि लेखनाथ पौडेलले भन्नु भएको छ —आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो। थुप्रोमा उधिनी मिठो र नमिठो छानेर खाँदैन त्यो। अर्थात् मृत्यु हुने बेला टारेर टर्दैन। समयभन्दा पहिले पनि आउँदैन र आएपछि नलगी पनि सक्दैन। मृत्यु अपरिहार्य छ, यो मृत्यु लोकमा एक पटक आएपछि जानु नै पर्छ। त्यति मात्र होइन, स्वयं कालको पनि काललाई टार्न सक्दैन भन्ने छ। ब्रह्माजीको पनि समय तोकिएको छ। ब्रह्माण्डमा देखिएका तारा, सूर्य, चन्द्रमा, पृथ्वी तथा सबै ग्रह, देवी देवता सबैको एउटा समय तोकिएको हुन्छ भन्ने शास्त्रमा वर्णित छ। अर्थात् संसारमा नित्य केही छैन, अनित्य छ। जुनसुकै प्रकारको सृष्टि होस्, त्यो एक दिन नासिन्छ, नासिन्छ।

तर हामीले केही अपत्यारिला सत्य घटनाहरू पनि सुनेका छौँ। मर्‍यो भनेको मानिस ज्युँदो भेटिएको, मरेको भनेर गाड्न या जलाउन लगेको मानिस ब्युँझिएको, मरेको भनेर घाटमा छोडेर आएको मानिस बिस्तारै ब्युँतिएर हिँड्दै हिँड्दै घरसम्म आएको हामीले सुनेका छौँ। कति मरेको ठानेर चिकित्सकहरूले मृतक घोषणा गरेको मानिस पनि पछि बौरिएको सुनेका छौँ। यस्तै एउटा घटनालाई आधार बनाएर वाण शय्यामा सुतिरहेका भीष्म पितामहले उपदेश लिन आएका नाति तथा हस्तिनापुरका राजा युधिष्ठिरलाई कथामार्फत मरेको भनेको मानिस ब्युँझिएको उदाहरण दिएका रहेछन्।

त्यसो त पहिले अमृत सेवनले पनि मरेको मानिस बाँच्छ भन्ने थियो र त त्यसको नाम अमृत राखिएको रहेछ समुद्र मन्थनको बेलामा किनभने देवता र राक्षसका बिचमा बहस भएपछि समुद्र मन्थन गर्ने सर्त राखियो र त्यहाँबाट प्राप्त हुने सबै पदार्थहरूमा देवता र राक्षसहरूको समान भाग लगाउने कुरा आयो। त्यही बेलामा अमृत पनि प्राप्त भएको थियो जसले मरेको प्राणीलाई बचाउन सकिन्थ्यो। त्यसो त सावित्रीले सत्यवानलाई पनि यमराजसँग वरदान मागेर मरेको पतिलाई ब्युँझाइन् र पछि तिनै पतिबाट सन्तान जन्माइन् भन्ने पनि कथा छ।

तर यो उदाहरणार्थ दिएको कथाले, धैर्यताले पनि मृत्यु भएको भनेर घाटमा जलाउन लगेको मानिस ब्युँझिएको छ। महाभारतको शान्तिपर्वको अध्याय १५३मा यो कथा दिइएको छ।

कथा यस्तो छ —

महाराज युधिष्ठिर सोध्छन्—पितामह, एक पटक मरेर पनि कोही व्यक्ति ज्युँदो भएको तपाईँले सुनेको या देखेको थियो आफ्नो जीवनकालमा ?

भीष्म पितामह भन्छन् — महाराज युधिष्ठिर, हो मैले त्यस्तो सुनेको थिएँ। पूर्वकालमा नैमिषारण्यमा एउटा अद्भुत घटना घटेको रहेछ। एक जना ब्राह्मणका एक मात्र बालक छोराको अल्पायुमा नै निधन भएछ। छोरो मर्‍यो भन्दै ती ब्राह्मण र उनका परिवारका मानिसहरू रुँदै कराउँदै मसान घाटमा लिएर गएछन् र अन्तिम बिदाइ का लागि झन् रुन कराउन थालेछन्। त्यो सुनेपछि एउटा गिद्ध त्यहाँ आएछ र भनेछ—अब नरोऊ, जे हुनु थियो, भइहालेछ। यस बालकलाई यहीँ छोडेर तिमीहरू घर जाओ। व्यर्थ विलाप नगर, किनभने जन्मेपछि मर्नै पर्छ, अब विलाप गरेर हुने केही होइन, यो मसानमा स्याल, गिद्ध बसेका छन्, तिनले तिमीहरू पनि खान सक्छन्। सबैतिर नर कङ्काल मात्रै देखिन्छन्, त्यसैले रातभर यहाँ बसेर हुँदैन, अहिले नै गई हाल यहाँबाट। काल यस्तो हो कि एक पटक उसले आफ्नो कब्जामा कुनै प्राणीलाई कसेपछि छोड्दैन अर्थात् ब्युँझिने कुनै सम्भावना छैन। संसार यस्तै हो भनी सम्झेर घरतिर जाऊ सबै जना। यो मसानमा रातभर कसरी बस्छौ ? घाम पनि अस्ताउन थाले, अब एक छिन पछि सर्वत्र अन्धकार हुन्छ र यहाँ भएका हिंस्रक जनावरहरूले तिमीहरूलाई पनि सिद्ध्याउँछन्।

यो सुनेपछि आफ्नो ज्यानको माया गर्दै अन्तिम श्रद्धाञ्जली दिएर परिवारजन हिँड्नै लागेछन्। त्यही बेलामा एउटा कालो स्याल मसान घाटको नजिकै रहेको आफ्नो वासस्थानबाट फुत्त निस्केर त्यहाँ आएछ र भनेछ—हे निर्दयी मानिसहरू, घाम पनि डुबेको छैन, तिमीहरू आफ्नो प्राणभन्दा प्यारो बच्चालाई यो मसान घाटमा एक्लै छोडेर जान लागेका ? हुनसक्छ, यो बच्चा लामो मुर्छामा परेको होस् र कुनै शुभ घडीमा बिस्तारै ब्युँझियोस्। मैले त्यस्तो धेरै पटक देखेको छु। हे दया शून्य पिता, यसरी मसान घाटमा एक्लै मुर्छित छोरालाई छोडेर कता जान लाग्यौ ? तिमीहरूले दिएको अन्तिम जलाञ्जलि त मायाको अन्तिम जलाञ्जलि हुन लागेको मैले देखेँ। त्यसैले रातभर यो बच्चालाई मसान घाटमा एक्लै नछोड है। पशुपक्षीहरूले पनि यसरी एक्लै छोडेर हिँडेको मैले देखेको छैन जबकि उनीहरूलाई मृत्यु र कालको कुनै चेतना छैन।

यति भनेपछि हिँडिसकेका परिवारजनहरू फर्केर बालकको शव नजिकै आएर रुँदै बसे। फेरि त्यहाँ बसिरहेको गिद्धले भन्यो —हे मूर्ख बुद्धिहीन मनुवाहरू, त्यो फटाहा स्यालले भनेको पत्यायौ होइन त ? त्यो तुच्छ मन्द बुद्धिको स्यालले भनेको किन पत्याएको ? म यही मसान घाटमा बसेको पनि एक हजार वर्षभन्दा बढी भयो। आजसम्म मरेर घाटमा ल्याएका कोही पनि बाँचेको थाहा छैन। आजसम्म कुनै पुरुष, स्त्री तथा क्लीब मरेपछि बाँचेको मैले सुनेको पनि छैन, देखेको पनि छैन। यो बच्चाको शरीर काठजस्तै निस्तेज भइसकेको छ। अब तिमीहरूको मायाले यो ब्युँझिने होइन। झन् मोक्ष धर्मले भन्छ, यसरी निस्तेज शवलाई कुरेर बस्दा झन् उसको याद ताजा हुन्छ र पिर मात्र लाग्छ। मेरो कुरा मान, घाम हुँदै टाढाको बाटो हिँड्नु छ, गई हाल तत्काल। यो शव तिमीहरू यहाँ बस्दैमा स्यालले भनेजस्तै जिउँदो हुने छैन।

गिद्धको कुरा सुनेर हो जस्तै लाग्यो परिवारजनलाई। अनि उनीहरू हिँड्न लागे। त्यो देखेर नजिकै त्यो कुरा सुनेर बसेको स्याल नजिकै आयो र भन्न लाग्यो —हे परिवारजन, हेर त यो बच्चाको अनुहारमा कस्तो तेज छ, अनुहारको चमक गएकै छैन। यो पक्कै ब्युँझिन्छ। त्यो गिद्धको कुरा सुनेर तिमीहरू छोडेर नजाऊ। यसलाई यहीँ मसानमा छोडेर जाँदैमा तिमीहरूको शोकमा कमी आउने पनि होइन, सम्झना कम हुने पनि होइन, बालक केही बेरपछि ब्युँझियो भने तिमीहरूको एक मात्र सन्तान रहेछ, पछि पिण्डपानी यसैले दिनेछ। झन् यसरी छोडेर जाँदा रातभरमा बाँच्थ्यो कि भन्ने परेर सन्ताप झन् बढ्ने छ। मैले सुनेको थिएँ कि पहिले पनि राजर्षि श्वेतका छोरा मरेका थिए, तर महर्षि श्वेतले उसलाई बचाएका थिए। त्यसैले कोही सिद्ध, तपस्वी मुनि या देवता आएर बचाउन पनि सक्छन्, त्यसैले हृदयहीन भएर यसरी गिद्धको कुरामा आएर छोडेर नजाऊ।

फेरि उनीहरू जान लाग्दै थिए तर फर्किएर त्यहीँ बालक सुताएको ठाउँमा आए। अनि गिद्धले जब उनीहरू फर्केको देख्यो, भन्न थाल्यो —धर्मराजको आज्ञा पालन गरेर सदाका लागि महानिद्रामा सुतेको बालक अब किन ब्युँतिन्छ र ? जस्तोसुकै विद्वान, महर्षि, तपस्वी, धर्मात्मा या बुद्धिमान भए पनि एक दिन कालको मुखमा पस्नै पर्छ।एक पटक आत्मा कुनै शरीरबाट जब बाहिर निस्कन्छ, फेरि त्यही शरीरमा कुनै पनि हालतमा फर्कँदैन।हजारौँ स्यालहरूको बलिदान गरे पनि गएको आत्मा फेरि यो बालकको शरीरमा फर्कने होइन। रोएर,  कराएर, आँसु झारेर, लामो लामो सास फेर्दै शवतिर हेरेर यो बालक ब्युँझिने होइन। जाओ, तत्काल फर्केर जाओ, अब यसको माया मारेर जाओ।

गिद्धको कुरा सुनेर फेरि हिँड्न लागे, त्यही बेलामा स्यालले भन्यो —धिक्कार छ तिमीहरूलाई, यो गिद्धको कुरा सुनेर तिमीहरूले आफ्नो जीवित हुन सक्ने बच्चालाई ज्युँदै मारेर  जाने भयौ। यो गिद्ध त महापापी छ। मेरो अन्तरात्माले भन्छ, यो बच्चा जीवित छ, केही समयका लागि मुर्छा परेको मात्र हो, ब्युँझन्छ पक्कै पनि। मलाई लाग्छ, तिमीहरूको सुखको बेला धेरै टाढा छैन, अब केही समयमा नै यो बालक जीवित हुनेछ।

यसरी गिद्ध र स्यालको भुमरीमा ती परिवारजन यता उता गरी रहे। हिँड्न खोज्छन्, स्यालले हिँड्न दिँदैन, बच्चा बाँच्ने आशा देखाउँछ। बस्न खोज्छन् गिद्धले हृदयहीन भन्दै मरेको मान्छे कहिले पो बाँचेको छ र भन्दै घर जाऊ भन्छ।

हे महाराज, वास्तवमा त्यहाँ के कूटनीति थियो भने दिउँसो भए मात्र गिद्धले बच्चालाई टपक्क टिपेर टाढा लाने र आफ्ना परिवारसँग बसेर बच्चाको मासु खान पाउँथ्यो, त्यसैले घाम छँदै परिवारजन जाऊन् र त्यो शव लिएर जान पाइन्थ्यो भन्ने थियो, नत्र साँझ परेपछि त गुँडमा जानु पर्थ्यो र त्यो रातमा स्यालले बच्चालाई खान्थ्यो। स्यालको पनि आफ्नै दाउ थियो, घाम हुन्जेल परिवारजन बसुन् र रात परेपछि डरले उनीहरू भाग्छन् अनि त्यो लास परिवारजन सँगै बसेर खाने।  त्यसै गिद्ध भन्थ्यो छिटै जाऊन्, स्याल भन्थ्यो अहिले घाम हुँदा नजाउन्, बसुन् तर रात परेपछि आफैँ भाग्नेछन्।

यसरी जाने, बस्ने क्रममा रात पर्‍यो। श्री पार्वतीको प्रेरणाले शङ्करजी त्यही बाटो कतै  जाँदै हुनुहुन्थ्यो। परिवारजनको रुवाबासी सुन्नुभयो, गिद्ध पनि रुखमा बसेर चर्तिकला हेर्दै थियो, स्याल पनि रात यतै बसुन् भनेर सम्झाउँदै थियो। शङ्कर भगवानले सोध्नुभयो—के भएको हो ? किन रुवाबासी भइरहेको हो ? मृतक बच्चाका पिताले सबै कुरा भने र रातमा घाटमा बस्ने कि नबस्ने भन्ने समस्याका कुरा गर्दै गिद्ध र स्यालका कुरा पनि भने। रात त्यो बेलामा धेरै घर्केको थियो। शिवजीले पनि बच्चाका मातापितालाई सोध्नुभयो—के वरदान माग्नुहुन्छ, माग्नुहोस् भन्दा पिरमा रहेका मातापिताले आफ्नो बच्चा जिउँदो होस् भन्ने वरदान मागे। अनि शिवजीले हाँस्दै त्यो मृतक बच्चाको आयु सय वर्षको होस् भन्ने आशीर्वाद दिँदै तथास्तु भन्नुभयो र ती कूटनीतिक रूपमा आफ्नो स्वार्थका लागि झुट कुराहरू पनि साँच्चै जस्तो पारेर परिवारजनलाई अलमल्याउने गिद्ध र स्याललाई पनि उनीहरूको भोक मरोस् भन्ने आशीर्वाद दिनु भयो।

यसरी बच्चा जीवित हुने वरदान पाएर परिवारजन खुसी भए भने पेटको भोकको ज्वाला  समाधान भएपछि ती गिद्ध र स्याल पनि खुसी हुँदै शिवजीलाई धन्यवाद दिए।

हे राजन, ती मातापिता र परिवारजनले धैर्यताका साथ बच्चा जीवित हुने आशा गरेकाले र रातीसम्म शव नछोडी बसेकाले मृतक बच्चा बाँचेको मैले सुनेको थिएँ। त्यसैले धैर्यताले मृत्युलाई पनि जित्न सकिन्छ, परिस्थिति फरक तरिकाले सकारात्मक पनि हुनसक्छ भन्ने कुरा मैले त्यसबाट पनि जानेको हुँ। त्यसैले महाराज, धैर्यताका साथ आफ्नो काम गर्नू, भगवत् कृपाले त्यो अवश्य पूरा हुन्छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link