पूजनीय को हो? वन्दनीय को हो?

हरिविनोद अधिकारी

महाभारतले हाम्रो आजभन्दा पाँच हजार वर्ष अघिको समाजको जानकारी दिन्छ। महाभारतकालीन समाजका बारेमा जानकारी लिनका लागि सबैभन्दा असल माध्यम नै महाभारत ग्रन्थको अध्ययन,मनन र त्यस बेलाको व्यावहारिक अवस्थाको जानकारी लिने उपाय हो। महाभारतमा कालखण्ड र विषयका आधारमा पर्वहरूको विभाजन गरिएको छ र पर्वहरूभित्र पनि विभिन्न उपपर्वहरू जोडिएका छन्। विभिन्न समयका भाष्यलाई कतिपय अवस्थामा गीताको नाम दिइएको छ र सबैभन्दा प्रख्यातचाहिँ महाभारतको युद्ध थालनी हुने बेलामा अर्जुनमा देखिएको विषादलाई कर्मप्रतिको मोह जगाएर युद्धरत हुनका लागि भनिएको विभिन्न विचारहरू नै, विश्व ब्रह्माण्डको जानकारी दिएको प्रसङ्ग नै श्रीमद्भागवत गीताको नामले प्रसिद्ध भएको हो।

जब भीष्म पितामह आफ्नै सुझावले आफूलाई कसरी पराजित गर्न सकिन्छ भने सिकाएको जुक्तिले युद्धमा मुर्छित भएर जहाँ वाणै वाणको रासमा पल्टिए र आफ्नो स्वैच्छिक मृत्युका कारणले मृत्युको दिन पर्खेर कुरुक्षेत्रमा शर शय्यामा सुतिरहेका थिए, त्यही समयमा महाराज युधिष्ठिर कसरी राज्य सञ्चालन गर्ने भन्ने कुरा सिक्न उनी समक्ष गएका थिए। त्यसरी मृत्यु पर्खेर बसेका भीष्म पितामहसँग जिज्ञासा राख्न र नीतिका कुरा सिक्न श्रीकृष्णले सिकाएका थिए, प्रेरित गरेका थिए। करिब ५ हजार वर्षभन्दा पहिलेको परिवेश र समाजका बारेमा भनिएका र लिपिबद्ध कुराहरूले हाम्रो उत्तर वैदिक कालमा सभ्यता कस्तो थियो भन्ने थाहा हुन्छ। वैदिक काल र पूर्व वैदिक कालमा कर्मका आधारमा उसको वर्ग विभाजन हुने कतिपय उदाहरणले पाइन्छ। वैदिक कालमा या उत्तर वैदिक कालमा समेत ब्राह्मण कर्मले हुन्थ्यो र सत्कर्मका आधारमा ऊ पूजनीय हुने कि नहुने भन्ने निर्णय गरिन्थ्यो। राजा गुरुहरूको आदेशमा या सल्लाहमा चल्थे। गुरुहरू भनेका असल सल्लाहकार हुन्थे। अनुभव त कि त पढेर जानिन्थ्यो, कि त परेर जानिन्थ्यो। भीष्म पितामह भने दुवै अनुभवका खानी थिए। यदि इतिहासको विवेचना गर्ने हो भने कुरु वंशको सिधा रेखाका अन्तिम राजकुमार उनै थिए भन्दा पनि हुन्छ किनभने पाण्डवहरूको रक्तमा पनि या त ब्राह्मण या देवताको अंश पाइन्छ। तिनै आधिकारिक कुरु वंशीय पितामहले तर राज्य सञ्चालनका लागि पाण्डवहरूको चयन गरे, समयका कारणले या उनको धारणाका कारणले। नियतिले कुन्तीपुत्रहरूलाई नै राज्यको अभिभारा दिएकाले राज्य सम्बन्धी धारणाको अन्तिम ज्ञाता राजकुमार स्वयं पितामह मात्रै रहेको पाइन्छ।

महाभारतको अनुशासन पर्वमा शर शय्यामा सुतिरहेका भीष्म पितामहसँग महाराज युधिष्ठिरले राज्य सञ्चालनका विविध उपायहरूको जिज्ञासा राखिरहेका थिए। एउटा प्रसङ्ग छ— महाराज युधिष्ठिरले पितामहसँग सोध्छन्, हे पितामह सबैभन्दा पूजनीय व्यक्ति को हो? कसको पूजा गर्नुपर्छ ?कसलाई पूज्य मानिन्छ? हजुरका कुराहरू जति सुन्यो,त्यति जिज्ञासा थपिँदै गएको छ र ज्ञानको भण्डारबाट निस्किएका वाणीहरूका शब्दहरूले यो मन र कानलाई तृप्ति नै हुँदैन। मलाई पूजनीय व्यक्तिको बारेमा विवरणसहित भन्नुहोस्। म सुन्न लालायित छु पितामह।

अनि मृत्युशय्यामा सुतिरहेका र श्रीकृष्णको चमत्कारिक शक्तिले बोल्न र पुराना ज्ञानहरू सम्झने क्षमता प्राप्त गरेका भीष्म पितामहले विभिन्न कालखण्डका उदाहरण दिँदै भन्न थाले —हे महाराजा युधिष्ठिर, यस सम्बन्धमा एक पटक नारद र श्रीकृष्णका बिचमा भएको संवाद सुनाउँछु जसले को पूज्य हुन्छ भन्ने जिज्ञासाको राम्रो ज्ञान दिनेछ। सुन। एक समयमा देवर्षि नारदजी हात जोडेर उत्तम ब्राह्मणहरूको पूजा गरिरहनु भएको थियो। श्रीकृष्ण पनि कतैबाट नारद ऋषिको स्थानमा आउनु भएको थियो। यसरी सबैका पूज्य नारद ऋषि नै हात जोडेर प्रणाम गर्दै पूजा गरिरहेको देखेपछि श्रीकृष्णले सोध्नुभयो —भगवन, तपाईँ कसको पूजा गरिरहनु भएको हो? मलाई जान्न मन लाग्यो, सबैका पूज्य नारद ऋषि, जो देवताहरूको पूज्य भएकाले देवर्षि भनिएको हो, त्यस्तो माननीय व्यक्तिले पनि मान्ने र पूजा गरिने पूजनीय या आदरणीय व्यक्ति या व्यक्तिहरू के हुनुहुन्छ जसलाई तपाईँ अत्यन्त आदर गर्नुहुन्छ र टाउको उनीहरूका अघिल्तिर झुकाउनु हुन्छ? त्यस्तो महान् व्यक्तिहरूको परिचय यदि मैले सुन्न र जान्न मिल्छ भने, थाहा पाउँदा तपाईँलाई अप्ठेरो पर्दैन भने भन्नुहोस् देवर्षि नारद।

देवर्षि नारदले भन्नुभयो—हे गोविन्द, जो व्यक्तिहरू वरुण, वायु, आदित्य, पर्जन्य(इन्द्र), अग्नि, रुद्, स्वामी कार्तिकेय, लक्ष्मी, विष्णु, ब्रह्मा, बृहस्पति, चन्द्रमा, जल, पृथ्वी र सरस्वतीलाई प्रणाम गर्दछन्, ती व्यक्तिहरू मेरा प्रणम्य हुन्, मेरा पूजनीय हुन्। जसले तपस्यालाई नै आफ्नो जीवनको धन बनाएका छन्, जो वेदका ज्ञाता हुन् र वेदले भने अनुसारका कामहरू मात्र नियमपूर्वक अनुष्ठान गर्छन्, ती परम पूजनीय व्यक्तिहरूको नै मैले पूजा गर्ने हो। जो भोजनभन्दा पहिले त्यो भोजन उपलब्ध गराएकोमा देवताहरूको आराधना गर्छन् र कृतज्ञता व्यक्त गर्छन्, आफ्नो झुटो बयान गर्दैनन्, आफ्नो कामप्रति सदैव लगनशील रहेर सन्तुष्ट रहन्छन् र क्षमाशील छन्, म उनीहरूलाई प्रणाम गर्छु। जो क्षमावान्, जितेन्द्रिय र मनलाई काबुमा राख्ने वाला छन्, जो विधिपूर्वक यज्ञानुष्ठान र सत्य, धर्म, पृथ्वी तथा गाईको पूजा गर्छन्, ती पनि नमस्कारका योग्य छन् मेरालागि।

त्यसबाहेक अरू पनि प्रणम्य छन् ती हुन् — जो वनमा बसेर फल मूलको आहारा लिन्छन् र तपस्यामा रहेका हुन्छन्, कुनै प्रकारको सङ्ग्रह गर्दैनन् तर आफ्नो कर्तव्यमा सधैँ लागिरहेका हुन्छन्, म उनीहरूको सामुन्ने पनि आफ्नो शिर निहुराउँछु। जो माता पिता तथा आफूले पाल्नुपर्ने परिवारको हेरचाह गर्दै भरण पोषण गरेर पाल्छ र खुसी राख्छ, जसमा सधैँ अतिथि सेवा गर्ने बानी छ, स्वभाव छ, जो देवयज्ञमा बचेको प्रसादले मात्र आफ्नो दैनिक खाना लिन्छ, म उसलाई पनि प्रणाम गर्छु। जो वेद अध्ययन गरेर अरूबाट नठगिने ( दुर्धर्ष) भएको छ बोल्नमा पनि निपुण र मिठो बोल्न जानेको होस् र ब्रह्मचर्यको पालना गरेको होस्, अनि वेदको आधारमा यज्ञ गराउने र वेद पढाउन थालेको होस्, म उनीहरूको सदा पूजा गर्छु। जो नित्यशः सबै प्राणीहरूप्रति कृतज्ञ भएर माया गर्छ, सबेरैदेखि दोपहरसम्म वेदाध्ययन गर्छ, ऊ मेरो पूज्य हुन्छ। जो गुरुलाई खुसी राख्न सधैँ प्रयत्नशील छ, स्वाध्यायका लागि सधैँ यत्नशील रहन्छ, जसले आफ्नो व्रत कहिल्यै पनि भङ्ग गर्दैन, गुरुको पूजा गर्छ र गुरुमा कुनै कमी  देख्ने गर्दैन, भनेको मान्नु नै आफ्नू कर्तव्य ठान्छ, गुरुकुलबाट बाहिर गएर भिक्षा प्राप्त गरेर जीवन निर्वाह गर्न उद्यत हुन्छ, मननशील, सत्यप्रतिज्ञ र हव्य कव्य ( देवता र पितृलाई दिइने स्वाहा र स्वधाबाट बाँकी रहेको)ग्रहण गर्छ ऊ पनि मेरो पूज्य हुन्छ, उसलाई पनि म प्रणाम गर्छु। जसको गुरुकुलमा बस्दा व्रत, तपस्या र कर्तव्यपालनका कारणले शरीर दुर्बल भएको छ र त्यसमा उसलाई कुनै पिर छैन, म उसलाई पनि अति आदरसाथ पूजा गर्छु।

जो सर्वस्वको त्याग गरेर, मान अपमान र लोक लज्जाका अनेक औपचारिकता छोडेर वेदको शक्तिका आधारमा दुर्धर्षताका साथ इन्द्रिय संयममा रहेर सत्य, अहिंसा र ब्रह्मवादी भएको छ, उसको पनि म पूजा गर्छु। यदि ऊ गृहस्थ भएर पनि परेवाको कपोत वृत्ति, आफूलाई चाहिने जत्ति मात्र जीविका चलाउँछ, र पनि सधैँ देवताको दैनिक पूजा गर्छ र आएका अतिथिहरूको सेवा गर्छ, त्यस्ता व्यक्तिलाई पनि म अभिनन्दन गर्छु र पूजा गर्छु। जसको कार्यमा धर्म, अर्थ, काम तीन ओटै भावको निर्वाह हुन्छ र कसैको कुनै हानि नगरी सदा शिष्टाचारमा रहन्छ, उसलाई पनि म प्रणाम गर्छु। जो ब्राह्मण शास्त्र ज्ञानले सम्पन्न छ, सबै वर्गको सेवा गर्छ, केबल पानी र हावा ग्रहण गरेर लोभहीन, पुण्यशील छ, जो सदा यज्ञ शेषको भोजन गर्छ ऊ पनि मेरो वन्दनीय व्यक्ति हो र म उसको चरण स्पर्श गरेर ढोग्छु। जसले ज्ञानद्वारा सूर्यको तेजजस्तै विवेकको सञ्चार गराएको छ, र अरूलाई ज्ञान लोक विचरण गराउँछ, ऊ मेरालागि गुरु तुल्य हो र ऊ पनि मेरालागि वन्दनीय छ।

अनि महात्मा भीष्म पितामह भन्छन् युधिष्ठिरलाई कि त्यसपछि नारद ऋषिले श्रीकृष्णलाई भन्दै थिए—हे भगवान् कृष्ण, तपाईँ पनि सदैव ज्ञानी गुणी ब्राह्मण तथा असल व्यक्तिहरूको पूजा गर्नुस्। दीन हीन व्यक्तिहरूको जसले सेवा गर्छ, त्यो पनि वन्दनीय र पूजनीय हुन्छ। जो व्यक्ति तपाईँ जस्तै माता पिता र गुरुको सेवा गर्छ, त्यो पनि पूजनीय हुन्छ र तपाईँले पनि यस्ता असल मानिसहरूको पूजा गर्न सक्नुहुन्छ, अनि मात्र जीवन सङ्कटबाट पार हुनसक्छ।

यति भनेपछि नारदजी चुप लाग्नु भयो। पितामह भन्छन् —हे कुन्ती नन्दन, तिमीले पनि सदा देवता, पितृ,ब्राह्मण एवं पाहुनाहरूको पूजा गर्छौ, तिम्रो पनि मनोवाञ्छित गति प्राप्त हुनेछ।

हुन त यी उपयुक्त कुराहरू आजभन्दा ५ हजार वर्ष अघिका हुन्। त्यस बेलामा पनि मानवीय सभ्यताले कति उँचाइ लिएको रहेछ भन्ने कुरा र असल कसलाई मान्ने अनि कसलाई वन्दना गर्ने या पूजा गर्ने भन्ने मानक तयार भएको रहेछ भन्ने एउटा उदाहरण मात्र हो। सभ्यताले सामूहिकता र मानवीय कल्याणका आधारहरू कसरी परिभाषित गरिएका रहेछन् भन्ने साधारण तर अति महत्त्वपूर्ण ज्ञानको स्रोत महाभारतका यी भावनाले आज पनि बाटो देखाउँछ र पूर्वीय सभ्यताको उज्यालो गोरेटोले त्यसै मानवीय राजमार्गको स्वरूप लिएको होइन रहेछ भन्ने प्रमाणित भएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link