अस्ट्रेलिया सरकारले आगामी आउँदो जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । मङ्गलबार सरकारले गरेको उक्त घोषणाको चिकित्सकहरूले तत्काल स्वागत गरेका छन् ।
स्वास्थ्यमन्त्री मार्क बटलरले एकल प्रयोग भेपमाथि रोक लगाउनुको उद्देश्य युवा वर्गमा भ्यापिङमा बढ्दै गएको ‘वास्तविक’ वृद्धिलाई उल्ट्याउनु रहेको बताउनुभयो । अस्ट्रेलियाले पहिलो पटक मेमा भेपको आयातमा प्रतिबन्ध लगाउने खुलासा गरेको भए पनि अहिलेसम्म कहिले देखि प्रतिबन्ध लगाउने भन्ने मिति किटान गरेको थिएन ।
लामो समयसम्म धूम्रपान गर्नेहरूलाई धूम्रपान छाड्न सहयोग गर्ने तरिकाका रूपमा सरकारहरूलाई भेपिङ बिक्री गरिएको मन्त्री बटलरले बताउनुभयो । “यसलाई एउटा मनोरञ्जक उत्पादनका रूपमा बिक्री गरिएको थिएन, विशेषगरी हाम्रा बालबालिकालाई लक्षित गरिएको थिएन तर यो त्यही बन्यो”, उहाँले भन्नुभयो, “अधिकांश भेपमा निकोटिन हुन्छ र बालबालिका दुर्व्यसनी बन्दैछन् ।”
चौध देखि १७ वर्ष उमेर समूहका करिब सात बालबालिकामा एक जनाले भेप प्रयोग गर्ने गरेको सरकारले एक विज्ञप्तिमा बताएको छ । विज्ञप्तिमा ‘तर्कसङ्गत प्रमाण’ लाई उद्धृत गर्दै भेप प्रयोग गर्ने युवा अस्ट्रेलियालीहरूमा धूम्रपान गर्ने सम्भावना करिब तीन गुणा अधिक हुने बताइएको छ ।
सरकारले अस्ट्रेलियामा डिस्पोजेबल भेपको उत्पादन, विज्ञापन वा आपूर्तिलाई गैरकानूनी घोषणा गर्नका लागि सन् २०२४ मा कानून पनि ल्याइने बताएको छ ।
भेपमाथिको आयात प्रतिबन्धलाई अस्ट्रेलियाली मेडिकल एसोसिएसनले स्वागत गरेको छ । “अस्ट्रेलिया धूम्रपानको दर र त्यसपछि हुने स्वास्थ्य हानिलाई कम गर्न विश्वमा अग्रणी रहेको छ, त्यसैले भेपिङलाई रोक्न र भविष्यको हानिलाई रोक्नका लागि सरकारको निर्णायक कदम अत्यन्त स्वागतयोग्य छ”, एसोसिएसनका अध्यक्ष स्टिभ रोब्सनले भन्नुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
