राष्ट्रिय सभा चुनावका लागि मतदाता नामावली स्वीकृत, दुई हजार ४७ जना मतदाता

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली स्वीकृत गरेको छ। आयोगले  कूल २ हजार ४७ जना मतदाताको नामावली स्वीकृत गरेको हो ।

माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचनमा आज (बुधबार) आयोगले मतदाता नामावली स्वीकृत गरेको प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। 

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । जसमा ५४९ जना प्रदेश सभा सदस्य र १४९८ जना गाउँपालिका अध्यक्ष-उपाध्यक्ष तथा नगरपालिका प्रमुख-उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावली स्वीकृत भएको आयोगले जनाएको हो । 

स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य एक जनाको नाम हटाएर ५४९ जना कायम गरिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । 

त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा कूल १ हजार ४९८ जनाको नामावली स्वीकृत गरिएको छ ।  कूल मतदाता १ हजार ५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, नगरपालिका उपप्रमुख १ र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष १, नगरपालिकाका प्रमुख ४ गरी जना ८ जनाको नाम हटाइएकाे आयोगले जानकारी दिएको छ । 

निर्वाचन कार्यक्रम बमोजिम पुस २० गते ती नाम निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशित गर्नेछ। त्यसमा छुटेको भए समावेश गर्न र नाम, थर, उमेर, पद आदि विवरण सच्याउनु पर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ। 

राष्ट्रिय सभा सदस्य निर्वाचनमा कूल मतभार ५७ हजार ५५९ छ । प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ । यसअनुसार प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र  गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार ४६२ हुनेछ ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि सकिँदैछ । फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका एक र राष्ट्रपतिद्वारा मनोनित दुई जना छन् ।

पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुन लागेको हो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link