श्रुति स्मृतिका रुपमा गणना गरिने पुराणहरू र कुरुवंशको इतिहासका रुपमा श्रीकृष्ण द्वैपायनले रचना गरेको महाभारतलाई पाँचौँ वेद पनि भनिन्छ। भनाइ नै छ, जे महाभारतमा छैन, अन्त कतै पनि छैन। तत्कालीन अवस्थामा प्रचलित सबै राजनीतिक व्यवहारलाई महाभारतमा कतै न कतै व्यवस्था गरिएको छ जसले गर्दा तत्कालीन समाजको नैतिकता समेतको जानकारी दिइएको पाइन्छ। यसले श्रोतालाई र पाठकलाई, सक्दा त्यसको प्रयोग गरोस्, या त्यसले ठिक बेलामा समुचित प्रयोग गर्नका लागि या तत्कालीन समाज बुझ्नका लागि सहज होस्।
करलाई आधुनिक आम्दानीको तरिका मान्ने अर्थशास्त्रीहरू पनि छन्। पुरातनकालमा राज्य व्यवस्था व्यवस्थित थिएन, त्यसैले नै छिन्नभिन्न भएको हो, संस्थागतरुपमा राज्यले राज्यको रुपमा चल्नै पाएको थिएन भन्ने भाष्य पनि अहिले पाइन्छ। त्यसो त आजभन्दा पाँच या दस हजार वर्ष अघिको समाजका बारेका पौराणिक ग्रन्थहरूको सूत्र, वर्णन र व्याख्याका आधारमा बुझ्ने हो। आधुनिक समाजको समयसीमाको गणना २ हजार वर्षको वरिपरि गरिन्छ, जस्तो कि क्राइस्टभन्दा पहिले या क्राइस्टभन्दा पछि। यो गणनाले इतिहासको मूल्याङ्कन हुन सकेको पाइँदैन र त अनेक अनुसन्धानको घेरा तयार गर्नुपरेको छ। तै पनि कतिपय प्रश्नहरू अझै अनुत्तरित छन् र सायद त्यस्ता अनुत्तरित प्रश्नहरूका जबाफ तर्कभन्दा अरु उपायहरूबाट पाइन सक्ने जस्तो छैन। तर्कले या कल्पनाले नै सत्यको नजिक पुगिन्छ र सत्य पत्ता लागेपछि पनि कति पत्ता लाग्यो भन्ने अनुमान गर्न कठिन हुन्छ।
वैदिक कालमा राज्य स्थापना गरिएको थियो तर आजको जस्तो राज्यको परिभाषा थियो कि थिएन भन्ने कुरा प्राप्त सामग्री र काव्यहरूमार्फत् बुझ्नु पर्ने हुन्छ। त्यसका लागि राज्यको विकासक्रमले विकसित रुप लिएको र कानुनी राज्यको रुपमा विकसित कुरुवंशील शासनको साक्षी हस्तिनापुर रहेको कुरा महाभारतसहितका अन्य ग्रन्थहरूले स्पष्ट पारेका छन्। राज्यको सीमा हुने, राज्यहरूको गणराज्यको व्यवस्था हुने र राज्यहरूको शासन गर्ने व्यक्तिलाई राजा भनिने परम्परालाई महाभारतले अझ परिष्कृतरुपमा व्याख्या गरेको पाइन्छ। राज्यसँग सीमा हुन्छ,अनेक जातजाति बस्छन्, कोही सहर बनाएर बस्छन्, कोही गाउँमा बस्छन् त कोही जंगलमा अनुसन्धान गरेर गुरुकुलको माध्यमबाट शिक्षा प्रसार गरेर, जीवनका लागि आवश्यक तत्वहरूको अनुसन्धान गरेर बसेका तपस्वीहरूको कथा पाइन्छ। त्यसबेलामा सेनाको उपस्थिति, सेनाका लागि हातहतियारको विकास, यातायातको विकास, कृषिको विकाससँगै राज्य भनेको कोश हो र धनी देशले मात्र राज्यको व्यवस्थापन गर्न सक्छ भन्ने सन्देश दिएको पाइन्छ।
महाभारतका कालमा नै राष्ट्रिय कोशको महत्वलाई मान्यता दिइएको छ र वाणशय्यामा सुतेका भीष्म पितामहसँग कोशलाई कसरी बलियो बनाउने भन्ने बारेमा पारिवारिक युद्धको क्रममा भएको भड्किएको युद्धले विश्वयुद्धको रुप लिएको पाइन्छ र त्यो द्वापर युगको अन्त मानिएको युगान्तकारी विश्वयुद्ध जितेर राज्यलाई पुनस्र्थापना गरेका महाराजा युधिष्ठिर अन्यमनस्क भएर कोशको कसरी सुसङ्ग्रह गर्ने भन्ने बारेमा चिन्तित भएको पाइन्छ। राज्य कसरी सञ्चालन गर्ने भन्ने चिन्तासँगै राज्यको सञ्चालनमा अधर्म नहोस् भन्ने सतर्कता पनि देखिन्छ। त्यसैले महाराज शन्तनुका बेलादेखि नै युवराजको रुपमा, भाइहरू चित्राङ्गद र विचित्रवीर्यका पनि कार्यबाहक राज्य प्रमुखको रुपमा काम गर्दै आएका थिए तर राज्यको अभिभारा प्रत्यक्ष नलिएका या भोलिका दिनमा राजाको रुपमा नदेखिने ब्रत लिएका देवब्रत भीष्म पितामहसमक्ष महाराज युधिष्ठिरले सोधेका प्रश्नहरूको उत्तर दिँदै थिए। उत्तर दिने क्रममा शान्तिपर्वभित्रको आपत्धर्म पर्व (अध्याय १३३)मा भीष्मले भनेका कुराहरूको व्याख्या गरिएको छ।
भीष्म भन्छन्, —राजाले(राज्यले) सकेसम्म शत्रु राज्यसँग धन ल्याएर आफ्नो कोशको खजाना भरोस्। कोशले नै धर्मको वृद्धि हुन्छ जसले गर्दा राज्यको जरा फैलिने छ अर्थात् जड सुदृढ हुनेछ। त्यसैले राजाले कोशको सङ्ग्रह गरोस्। सङ्ग्रह गरेपछि त्यसको समुचित आदरसहित रक्षा पनि गरोस्। अनि त्यही सङ्ग्रहबाट अरु सङ्ग्रह गर्ने काम गरोस्, यही राज्यधर्म परम्परादेखि चल्दै आएको छ युधिष्ठिर महाराज। जो अत्यन्त आचार विचारमा रहन्छ, त्यसबाट पनि समयमा उचित कोश सङ्ग्रह हुन सक्दैन, जो बदमास छ, क्रूर छ, त्यसले त झन कोश राज्यलाई दिनुभन्दा आफैँले त्यसको सङ्ग्रह गर्नेछ, कर दिन चाहनेहरू पनि उसका व्यवहारले भड्किने छन्। त्यसैले मध्यमार्गी व्यवहारले र त्यस्ता कर्मचारीमार्फत् कर सङ्ग्रह गर्दै कोश वृद्धि गरोस् राजाले।
भीष्म अझ जोड दिँदै भन्छन्, —बलहीन राजालाई कसले पो कर दिन्छ र? कसरी कोश सङ्ग्रह हुनसक्छ? कोशहीन राज्यमा सेना कसरी रहन सक्छ ? जुन राज्यसँग सेना नै छैन, त्यो राज्य कसरी टिक्न सक्छ ? अनि राज्यहीन राजासँग राज्यलक्ष्मी कसरी बस्छिन् त? अर्थात् बल भनेको रक्षा दिन सक्नु हो, रक्षा दिनका लागि सेना चाहिन्छ, सेनाको डरले राज्यमा अनुशासन रहन्छ र कर सङ्ग्रह गर्नका लागि बलको मद्दत प्राप्त भएपछिमात्र राज्यमा कोश बढ्नेछ। कोश बढेपछि राज्य धनी हुन्छ।
राजाले यसरी कोश वृद्धि गर्नेहरूलाई सन्तुष्ट पार्नुपर्छ किनभने ठुला पदमा पुगेका कर्मचारीहरूलाई यदि सुविधा पुगेन भने उनीहरूले राज्यलाई सहयोग गर्ने छैनन्। त्यसैले राजाले जहिले पनि आफैँले ठुला पदमा लगेका राजकर्मचारीहरूलाई सन्तुष्ट राखेर कोश सङ्ग्रह गरोस्, नत्र कोश धेरै बलियो भएन भने राज्यले राजकर्मचारीहरूलाई आवश्यक पारिश्रमिक दिन सक्नेछैन, त्यसले कर्मचारीहरू असन्तुष्ट हुनेछन्। जुन राज्यसँग, राजासँग धन छैन, त्यसलाई कुनचाहिँ जनताले टेर्छ र? राजासँग थोरै सुविधा लिनेले किन कोश सङ्ग्रह गर्ने जाँगर चलाउँछन् र? सम्पत्तिका कारणले नै राजाको मान मर्यादा बढ्छ। धन भएको राज्यको शासकको जताततै मान सम्मान बढेको पाइन्छ। जसरी महिलाको गुप्त अंगको लाजलाई कपडाले ढाक्छ र उनीहरू कपडा लगाएर गोप्य अंग छोपिएकाले लाज नमानी सडकमा पनि हिँड्न हिच्किचाउँदैनन्, त्यसैगरी धन भएको राज्यको प्रमुखका जतिसुकै दोष भए पनि कपडाले लाज ढाकेजस्तै कोशको बृहत् सङ्ग्रहले राजाको दोष पनि ढाकिन्छ, राज्यको पनि मान सम्मान बढ्छ। राजाबाट या राज्यबाट धन नभएका बेलामा अपमानित भएका कर्मचारीहरू पनि राज्य धनवान हुन थालेपछि फर्केर आफ्नै राज्यमा आउनेछन् किनभने राज्यसँग उसलाई दिने प्रशस्त धन छ। यसरी फर्कन्छन् कि जसरी चण्डालले विहान लात्ताले हानेको कुकुर खाने कुराको लोभले लुरुलुरु उसका पछि लाग्छ। धन हुने राज्यसँग त्यति आधार बढेको हुन्छ।
नीति सारका अनुसार कर असुल्ने पहिलो सिद्धान्त नै कर सङ्ग्रह न्यायपूर्वक हुनुपर्छ। जनतालाई चित्त बुझाएर उनीहरूको क्षमताअनुसार कर लगाउनु पर्छ अनि उनीहरूले कर खुसीसाथ तिर्छन्। यदि कर सङ्ग्रह गर्दा प्रजा र राजाका बिचमा मन मिलेन भने जनताले कर दिँदैनन् र विद्रोह गर्छन् अनि विपक्षी राज्यसँग मिलेर राज्यको विरुद्धमा आन्दोलन गर्नेछन्। कर दिने जनताले कर नदिएर विद्रोह गरे भने राज्य यसै पनि कमजोर हुनेछ। महाभारतमा जहाँ जहाँ राज्य सञ्चालन नीतिका बारेमा प्रसङ्ग आउँछ, सबै ठाउँमा धर्मका आधारमा राज्य सञ्चालन गर्नू भनिएको छ। धर्मको अर्थ हो जनताका लागि लागू गरिएको कानुन बमोजिम मात्र गर्नू। त्यो बेलामा पक्कै पनि लिखित कानुन थिएन होला तर वैदिक नीतिअनुसारको नैतिकताको बन्धनलाई धर्मको नाम दिइएको थियो र त भनियो, जसले धर्मको रक्षा गर्छ, उसलाईँ धर्मले पनि रक्षा गर्छ। जुन राजाले राज्यमा लोभवश धन सङ्ग्रह गर्छ र जनतालाई बोझ पारेर कोश सङ्ग्रह गर्छ, त्यो देशको न त कोश बढेर जान्छ, न त लोभवश कमाउने राजा या कर्मचारीको हित हुन्छ। त्यसले राज्यको अनिष्ट हुन्छ।
दोस्रो सिद्धान्त हो, — कर उठाउँदा धेरै पनि होइन, थोरै पनि होइन, समुचित, जनताले तिर्न सक्ने गरी करको दर निर्धारण गर्नुपर्छ।जनतालाई बोझ पटक्कै महसुस नहोस् भन्नेमा राजाले ध्यान दिनुपर्छ,त्यसैले करको दर निर्धारण गर्दा जनताको आयलाई ध्यान दिने र सरकारले पनि अति मितव्ययी हुने काम गर्नुपर्छ भन्ने कुरा भीष्मले युधिष्ठिरलाई सम्झाएको पाइन्छ।
तेस्रो सिद्धान्त हो, —कर निर्धारण गर्दा समुचित जाँचपडतालपछि मात्र लगाउनु पर्छ। जनताको क्षमता, आय अवस्था र उसको इच्छालाई पनि प्राथमिकता दिनुपर्छ।करको उपयोग केमा गर्नुपर्ने हो, जनताको चाहना अनुसार गर्नुपर्छ।एउटै चिजमा बारम्बार कर लिनु हुँदैन। करको सिद्धान्तले नै भनेको छ कि जुन चिजमा कर लिने हो, त्यसबाट व्यापारीहरूलाई प्रशस्त फाइदा भएको हुनुपर्छ, त्यसोहुँदा व्यापारीहरू कर दिन इच्छुक हुन्छन् किनभने कर दिएपछि उनीहरूको उत्पादनको प्रचार हुन्छ। सारांशमा राज्य र जनताको हित हुने कुरामा मात्र कर निर्धारण गरिनुपर्छ।
चौथो सिद्धान्त हो, —समुचित समय र समुचित स्थानमा मात्र कर लिनुपर्छ। जहिले पनि जोसँग पनि कर असुली गर्नु हुँदैन। समय र स्थानको निर्धारण गरेर मात्र करको सङ्ग्रह गर्ने र कोशमा बृद्धि गर्ने काम गर्नुपर्छ। महाभारत कालमा जनता आफैँ करका लागि सरकारी कर्मचारीलाई आह्वान गर्थे र कर लिनका लागि धाएर जान्थे भन्ने पनि छ।
करमुक्तिको व्यवस्था पनि गरिएको थियो। ब्राह्मणका लागि कर मुक्तिको व्यवस्था थियो। ७० वर्षभन्दा माथिका व्यक्तिहरूलाई कुनै पनि कर लगाइँदैनथ्यो। अपाङ्गता भएका व्यक्ति, सन्यासी, महिलाहरूलाई करमुक्तिको व्यवस्था थियो। असाधारण अवस्थामा कर छुट दिइन्थ्यो। अर्थात् भीष्मका मतमा त्यस्तासँग कर लिनु हुँदैन किनभने दुर्भिक्ष, पानी धेरै परेको,दैवी प्रकोप र सम्बन्धित व्यक्तिको समस्याग्रस्त बेलामा जनतालाई राज्यले सहयोग गर्नुपर्छ,करको भार थप्नु हुँदैन।
आपतकालीन अवस्थामा चाहिँ हुनेले तत्कालका लागि राज्यलाई कर धेरै दिएर भए पनि समस्याबाट पार लगाउनु पर्छ नत्र त्यही बेलामा शत्रुले देशमाथि घात गर्नेछ र सबै जनतालाई आक्रमण गरी वशमा लिने छ।
क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन
- दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन
- किन आयो शिखण्डीमा मर्ने चाहना?
- शिखण्डीको नियति
- जब अम्बाको तपस्याले शिवजी प्रसन्न भए…
- अम्बाका कारण परशुराम र भीष्म बिच युद्ध
- राजकुमारी अम्बाको पीडा
- भीष्मको अन्यायको सिकार
- भीष्म प्रतिज्ञा र भावी उत्तराधिकारीको सङ्कट
- सत्यवतीको अपराध बोध