पाकिस्तानमा ‘ब्याट’ खोज्दै पीटीआई

जेलमा रहनु भएका इमरान खानको राजनीतिक दल पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले पार्टीको चुनाव चिन्ह क्रिकेटको ‘ब्याट’ हटाउने निर्णयविरुद्ध पेशावर उच्च अदालत वा सर्वोच्च अदालतमा जाने बताएको छ। पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष ब्यारिस्टर गोहर अली खानले शनिबार उक्त घोषणा गर्नुभएको हो। निर्वाचन आयोगले आगामी फेब्रुअरी ८ मा हुने आम निर्वाचनका लागि पीटीआईलाई चुनाब चिन्ह ‘ब्याट’ कायम राख्न नदिने निर्णय गरेको छ।

पेशावर उच्च अदालतले निर्वाचन आयोगलाई ‘कानुनअनुसार’ शुक्रबारसम्ममा पीटीआईको अन्तरपार्टी निर्वाचन र चुनाव चिह्नबारे निर्णय गर्न निर्देशन दिएको एक दिनपछि निर्वाचन आयोगको फैसला सुनाइएको हो। जियो न्यूजका अनुसार गोहरले अडियाला जेलबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै ‘ब्याट’ चिन्ह पुनः प्राप्त गर्न पीटीआईको निवेदन मङ्गलबार कार्यालय समयको पहिलो प्रहरमा नै दायर गरिनेछ।

निर्वाचन आयोगको नाम नलिइकन पीटीआईका नेताले सबै षड्यन्त्र आफ्नो पार्टीलाई २२७ आरक्षित सिटबाट बञ्चित गर्ने उद्देश्यले गरिएको बताउनुभयो। उहाँले निर्वाचन आयोगको पछिल्लो आदेशको पछाडि षडयन्त्र भएको पनि आरोप लगाउनुभएको छ।

गोहरले भन्नुभयो, “अहिले राष्ट्रिय सभाका आरक्षित ७० सिट हामीसँग छन्। पाकिस्तानमा आरक्षित सिटको कुल सङ्ख्या २२७ रहेको छ। विधानसभाहरूमा उनीहरूको दलको शक्ति बराबर राष्ट्रिय पार्टीको मान्यता प्राप्त दलले सिटहरू प्राप्त गर्दछन्। जियो न्यूजका अनुसार राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री र सिनेटका अध्यक्षका लागि हुने निर्वाचनमा आरक्षित सिटमा निर्वाचित सांसदको महत्वपूर्ण भूमिका हुन्छ।

“पाकिस्तानको निर्वाचन आयोगको आदेश विरोधाभासपूर्ण रहेको र दिगो खालको नभएको देखिन्छ,” पत्रकारको प्रश्नमा गोहरले बताउनुभयो। उहाँले अदालतको उक्त आदेशलाई चुनौती दिँदै अदालत गएपछि पीटीआईले अपेक्षित राहत पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो।

पेशाले वकिल समेत रहेका गोहरले भन्नुभयो, “पीटीआईको चुनाव चिन्ह पुनः स्थापित गरिनेछ। पीटीआई नेताहरू आफ्नो पार्टीले निर्वाचन आयोगको प्रमाणित प्रतिलिपिको पर्खाइमा रहेको बताउनुभयो। गोहरले पीटीआईले संविधानको धारा १८४ अन्तर्गत ईसीपीको आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिन सक्ने बताउनुभयो।

“इमरान खान पीटीआईका अध्यक्ष थिए, छन् र हुनेछन्”, उहाँले भन्नुभयो। उहाँले खानले सुम्पेको जिम्मेवारी मात्र पूरा गरिरहेको बताउनुभयो। गोहरले पूर्व प्रधानमन्त्री तथा पीटीआईका संस्थापक इमरान खान जेलबाट बाहिर नआएसम्म आफ्नो वर्तमान भूमिकामा पार्टीको जिम्मेवारी निर्वाह गरिरहने बताउनुभएको छ।  गोहरले अन्यायपूर्ण निर्वाचनले देशमा अराजकता र अन्यौल निम्त्याउने चेतावनी दिनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link