पहिलो निर्देशकीय चलचित्र ‘कालोपोथी’ मार्फत अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बलियो उपस्थिति देखाउनुभएका निर्देशक मीनबहादुर भामको निर्देशनमा तयार भएको दोस्रो चलचित्र ‘शाम्बाला’ले विश्व प्रतिष्ठित ‘बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४’ मा अन्तर्राष्ट्रिय चलचित्रको विधाअन्तर्गत छनोट भएको छ।
आगामी फागुन ३ देखि १३ गतेसम्म चल्ने महोत्सवको ७४औँ संस्करण हुँदै गर्दा पहिलोपटक नेपाली चलचित्रले प्रवेश पाएको हो। यस विधामा कूल २० चलचित्र प्रतिस्पर्धामा रहेका छन्। निर्देशक भामले यो चलचित्र पूरा गर्न आठ वर्ष लागेको बताउनुभयो। “हामीले आठ वर्षदेखि यसको निर्माण गरिरहेका छौँ, आजको यो सफलता त्यो यात्रामा गरिएको दुःखको प्रतिफल होजस्तो लाग्छ, सहयात्री सबैलाई धन्यवाद छ, नेपाली चलचित्रलाई प्रतिनिधित्व गराउन पाउँदा हर्षित छौँ”, निर्देशक भामले भन्नुभयो।
उहाँले चलचित्रको सुरुआत गर्दा ‘चिसो वर्ष’ नाम राखेता पनि तयार भएपछि ‘शाम्बाला’ राखिएको जानकारी दिँदै यसमा मौलिकपना नहराओस् भनेर नेपालीसँगै तिब्बतको भाषा प्रयोग गरिएको बताउनुभयो।
उच्च हिमाली गाउँकी एक गर्भवतीलाई श्रीमान्ले छाडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेको कथा प्रस्तुत गरिएको चलचित्रलाई निर्देशक भामले अविनाश विक्रम शाहसँग मिलेर लेख्नुभएको हो। डोल्पाको चार हजार दुई सयदेखि छ हजारको उचाइमा दृश्याङ्कन गरिएको चलचित्रमा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हाल, कार्म शाक्यलगायतले अभिनय गर्नुभएको छ।
निर्देशक भामद्वारा निर्देशित लघु चलचित्र ‘बाँसुल्ली’बाट पहिलोपटक नेपालबाट भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रवेश भएको थियो भने उहाँको पहिलो निर्देशकीय चलचित्र ‘कालोपोथी’ले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएको थियो।
आठ वर्षमा ४४ मस्यौदा (ड्राफ्ट) लेखेर चलचित्रलाई अन्तिम रुप दिइएको बताउँदै निर्देशक भामले दोस्रो चलचित्रमार्फत इतिहास बनाउनुभएको छ। यसले अन्य अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत प्रतिस्पर्धा गर्ने उहाँले बताउनुभयो। यसको नेपाल प्रदर्शन तय गरिएको छैन।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट, कम्तीमा ५२ जनाको मृत्यु
- ‘हेर्दा राम्रो मार्फा गाउँ…’
- रुसी आक्रमणमा परी पोल्टावामा मृत्यु हुनेको सङ्ख्या ५८ पुग्यो
- चालीस वर्षदेखि सारङ्गी रेट्दै लालबहादुर
- सहज बन्यो चीनको कैलाश मानसरोवरको यात्राका लागि महाकाली करिडोर
- किन बढिरहेछ हिमाली क्षेत्रमा विपद्को वितण्डा ?
- अग्रज पत्रकार नरेन्द्र उपाध्याय, अल बिदा !
- युद्धपछि गाजामा कुपोषण: मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो
- पाहुनाको कुरिरहेको मुस्ताङको स्याङगाउँ
- देशभर मनसुनी वायुको प्रभाव यथावत