देशभरका सार्वजनिक यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विश्राम स्थलमा मात्र सार्वजनिक सवारीसाधन जाँचको व्यवस्था मिलाउन आग्रह गरेको छ ।
महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर नेतृत्वको टोलीले माघ १६ गते प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई भेटेर जथाभाबी सवारीसाधन जाँच गर्दा चालक, सहचालक र यात्रुलाई समस्या भएको भन्दै विश्राम स्थल वा पार्किङमा सवारी जाँचको व्यवस्था मिलाउन आग्रह गरेको हो ।
“राष्ट्रिय राजमार्ग र सहायक मार्ग बिग्रेका छन्, बिग्रेका सडकमा ठाउँ ठाउँमा सवारीसाधन जाँच गर्दा समयमा गन्तव्यमा पुग्न ढिला हुने गरेको छ, त्यसैले निश्चित स्थानमा जाँचको व्यवस्था गर्नुपर्छ”, महानिरीक्षक कुँवरलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
दुर्घटना न्यूनीकरणका लागि मापदण्ड विपरीत रुट इजाजत विना सञ्चालन भएका सवारीसाधन रोक लगाउने व्यवस्था मिलाउनुपर्ने महासङ्घका महासचिव डेकनाथ गौतमले बताउनुभयो । महासङ्घले बिपी राजमार्गलगायतका मार्गमा टाइम कार्ड लगाउनुपर्ने, दुर्घटना न्यूनीकरणका लागि प्रदेश, जिल्ला स्तरीय सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्नसमेत आग्रह गरेको छ ।
यसै गरी, दुर्घटना पश्चात् सवारी साधनलाई २४ घण्टाभित्र सम्बन्धित कम्पनी वा व्यवसायीले पाउने कानुनी व्यवस्थालाई कडाइका साथ लागू गर्ने व्यवस्था मिलाइदिन समेत महासङ्घले अनुरोध गरेको छ । सवारी ऐन, २०४९ विपरीत दर्ता भएका तर प्रयोजन विपरीत सार्वजनिक सवारीसाधन सरह यात्रु र मालसामान ओसारपसार गर्ने र गराउने कार्यलाई रोक लगाउन अनुरोध गरिएको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले देशभर हुने सवारी दुर्घटनालाई रोक्नका लागि ‘टास्क फोर्स’ निर्माण गरी यातायात व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बालमैत्री घोषित जिल्लामा बालविवाहले ‘निरास’ बनाएका जिन्दगी
- बजेटमार्फत विभिन्न शीर्षकका करसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर
- आइएमएफले ५० करोड डलर ऋण युक्रेनलाई दिने
- आर्थिक वर्ष २०८२/८३ को बजेट: १९ खर्ब ६४ अर्ब ११ करोड
- आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक हुँदै
- मे २९ – अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै
- कस्तो छ बजेट आउने दिनमा विदेशी मुद्राको विनिमय दर ?
- गण्डकी प्रदेशका नौ अस्पताल स्तरोन्नति हुँदै
- सुडानमा हैजाको प्रकोप: एकै हप्तामा १७२ जनाको मृत्यु
- पर्यटक प्रवर्द्धनका लागि पार्क सञ्चालन
