काठ आयात: नेपालीचाहिँ वनमा कुहाउने नीति?

स्वदेशी काठ जङ्गलमा कुहिने र वार्षिक खर्बौँको विदेशी काठ आयातलाई विस्थापित गर्नुपर्नेमा जोड दिइएको छ। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल देवघाट तनहुँद्वारा आयोजित ‘वन पैदावार उपयोगमा देखिएका समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताले स्वदेशी काठ उपयोग गर्ने नीतिको खाँचो औँल्याएका हुन्।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले कार्यक्रमको उद्घाटन गर्दै मुलुकको वन पैदावार उपयोग एवं निकासी नीति सर्वसुलभ नहुँदा उपभोक्ताले दुःख पाउनुका साथै वनमा काठ कुहिने अवस्था सिर्जना भएको बताउनुभयो।

उपभोक्ताले सानो कमजोरी गर्दा पनि धरपकड र पक्राउ गरेर हिरासतमा राख्ने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिँदै उहाँले प्राकृतिक स्रोतको अधिकार स्थानीय सरकारलाई हस्तान्तरण गर्न सङ्घ र प्रदेश सरकारसँग माग गर्नुभयो।

“प्रचुर सम्भावना रहेको वन क्षेत्रको उपयोग गर्दै हरित रोजगारी सिर्जना गर्नुको विकल्प छैन”, थापाले भन्नुभयो, “काठसहित पशुपालन, जडीबुटी, खनिज, पानीलगायत बहुआयामिक प्राकृतिक स्रोतलाई समृद्धिसँग जोड्न अपरिहार्य छ।” वन क्षेत्रको संरक्षण, संवद्र्धन र विकासका लागि पालिकाले वार्षिकरुपमा बजेट विनियोजन गर्दै आएको बताउँदै उहाँले साझेदारीका लागि सामुदायिक वन समूहलाई पालिकामा सूचीकृत हुन आग्रह गर्नुभयो।

गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरुङले पालिका र वन समूहबीच सुमधुर सम्बन्ध कायम गर्दै वन क्षेत्रलाई थप आयआर्जनको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय सदस्य हरि बाँस्तोलाले नेपाल विश्वसामु सामुदायिक वनको देशका रुपमा परिचित भए पनि जनताले विदेशी काठको प्रयोग गर्नुपर्ने विडम्बना रहेको बताउनुभयो।

स्वदेशी काठको उपयोग गरेर विदेशी आयातलाई विस्थापित गर्नु अहिलेको आवश्यकता रहेको उहाँको भनाइ थियो। उहाँले जङ्गलमा काठ कुहिने र विदेशबाट बर्सेनी खर्बौँको काठ, युपिभिसी, आलमोनिय र फलामलगायत वस्तुको आयातले मुलुकलाई कमजोर बनाउनुका साथै वातावरणमा प्रतिकुल असर पार्दै आएको बताउनुभयो।

वन महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले स्थानीय वन ऐन निर्माणमा जोड दिँदै ऐन, विनियमका आधारमा निर्माण भएको कार्ययोजना अनुरुप वनको संरक्षण, विकास र उपयोगमा लाग्न उपभोक्ता समूहलाई आग्रह गर्नुभयो।

सरकारी तवरबाट वन समूहलाई सहयोगीको भूमिका निर्वाह गर्नुपर्नेमा कमिकमजोरी खोज्ने र हिरासतमा राखेर उनीहरूको सामाजिक प्रतिष्ठामा आँच आउने खालका गतिविधिले संरक्षणकर्तामा नैराश्यता पैदा भएको उहाँको भनाइ थियो।

सहायक जिल्ला वन अधिकृत मदन सुवेदीले सामुदायिक वन स्वायत्त संस्था भएको उल्लेख गर्दै कार्यालयबाट अनावश्यकरुपमा उपभोक्तालाई दुःखदिने काम नभएको बताउनुभयो। वन ऐन र कानुनभित्र रहेर काम गर्ने समूहलाई कुनै पनि अप्ठेरो नपर्नेमा उहाँको जोड थियो।

वन यतिखेर हराभरा भएको छ, जङ्गली जनावर घरमै आएर कृषिबाली नष्ट गर्दछन्, प्रकिृया नमिल्दा उपभोक्ता समूह जेल जानुपर्ने, वन कार्यालयमा नयाँ आउने कर्मचारीले अघिल्लाले गरेका कामलाई मान्यता नदिने र घर बनाउँदा विदेशी काठ बजारबाट खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने कार्यक्रमका सहभागीको सामूहिक धारणा थियो।

गाउँ महासङ्घका अध्यक्ष प्रवीण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घ गण्डकीका सचिव केशव न्यौपाने, देवघाट गाउपालिका–५ का अध्यक्ष कर्णबहादुर कुँवर, महासङ्घ तनहुँ अध्यक्ष विष्णुमार श्रेष्ठ, जिल्ला सदस्य भोजराज नैनावस्तीलगायतले वन क्षेत्रको महत्वमाथि प्रकाश पार्नुभएको थियो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link