वातावरणीय कानुनको कार्यान्वयनमा ध्यान दिनुः प्रधानन्यायाधीश

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विकास र वातावरणबीच सन्तुलन कायम राखी दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने बताउनुभएको छ। वन तथा वातावरण मन्त्रालय, न्यायाधीश समाज नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा  ५ फागुनमा ललितपुरमा आयोजित ‘वन्यजन्तु संरक्षण र वातावरणीय न्याय’ विषयक एकदिवसीय सम्मेलनमा उहाँले विकास निर्माणसँगै  वातावरणीय सन्तुलन कायम राख्दै प्राकृतिक धरोहरलाई जोगाउन  अपरिहार्य भएको उल्लेख गर्नुभयो।

“कार्बन उत्सर्जन न्यूनीकरणका लागि विकास र वातावरणबीच सन्तुलन कायम राखी दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने आजको आवश्यकता छ। वन, वन्यजन्तु तथा वातावरण संरक्षणका लागि धेरै कानुन छन, तिनीहरूको कार्यान्वयनका लागि सम्बन्धित पक्षको ध्यान जानुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो।

वन्यजन्तु संरक्षण र वातावरणीय न्यायका सन्दर्भमा अदालतबाट भएका कतिपय फैसला अझै पनि कार्यान्वयन हुननसकेको उहाँले बताउनुभयो। यसका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण हुनु आवश्यक रहेको उहाँको भनाइ थियो।

नेपाली समाजमा प्रकृति पुजन संस्कृति रहेको बताउनुहुँदै उहाँले नेपालको भूबनोट र भौगोलिक धरातलीय दृष्टिकोणबाट वातावरण संरक्षण र त्यसप्रतिको चिन्ता अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

त्यस अवसरमा वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको समस्या भएको बताउनुहुँदै वन्यजन्तु संरक्षणमा वातावरण परिवर्तन मुख्य चुनौती रहेको बताउनुभयो। उहाँले मानवीय क्रियाकलाप बढ्दा वन्यजन्तुको बासस्थान र आहारविहार गर्ने क्षेत्रको विनाश भइरहेको भन्दै यसलाई साझा मुद्दाका रूपमा लिइनुपर्नेमा जोड दिनुभयो।

महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले वातावरणीय न्यायलाई विभिन्न आधारमा बुझ्न सकिने बताउनुहुँदै मानवीय आवश्यकतालाई केन्द्रमा राखेर जानुपर्ने बताउनुभयो। न्यायाधीश समाजका महासचिव एवं विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरले वन्यजन्तुको चोरीपैठारी र सिकारले प्रकृति ध्वस्त हुने भएकाले आजको समयमा व्यापक छलफल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।

राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा कृष्णप्रसाद ओलीले वन्यजन्तुको संरक्षणका लागि बासस्थानको संरक्षण नै महत्त्वपूर्ण रहेको बताउनुभयो। कार्यक्रमको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको थियो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link