परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रयास जारी रहेको बताउनुभएको छ। रुसी सेनामा भर्ना भएका नेपालीका आफन्तसँग मङ्गलबार परराष्ट्र मन्त्रालयमा भएको छलफलमा उहाँले सो कुरा बताउनुभएको हो।
“लिगल्ली गएको भए हुन्थ्यो। इल्लिगल्ली गएका छन्। जसरी गएका भए पनि उनीहरूका प्रति राज्यको दायित्व छ”, परराष्ट्रमन्त्रीले भन्नुभयो, “आफ्ना नागरिकप्रति सरकार सधैँ जिम्मेवार हुनुपर्छ, हुन्छ”, “उहाँहरूलाई फिर्ता ल्याउन कुनै पनि कमीकमजोरी हुने छैन। इमान्दारितापूर्वक प्रयास गरिरहेको छु, गरिरहने छु।” उहाँले रुसी सेनामा भर्ना भएका परिवारका सदस्यलाई मन्त्रालयमा बोलाएर छलफल गर्नुभएको हो।
रुसी सेनामा भर्ना भएका नागरिकको सकुशल फिर्ती, घाइतेको उपचार र उद्धार तथा लडाइँमा मृत्यु भएकाको शव नेपाल ल्याउन सरकार, परराष्ट्र मन्त्रालय, मस्कोस्थित नेपाली दूतावासले क्षमताले भ्याएसम्म हरसम्भव प्रयास गरिरहेको मन्त्री साउदले बताउनुभयो।“नेपाली नागरिकको सुरक्षित फिर्तीका लागि काठमाडौँस्थित रुसी दूतावास, मस्कोस्थित नेपाली दूतावास र अन्य माध्यमबाट नेपाल सरकार रुसी पक्षसँग निरन्तर सम्पर्कमा छ”, उहाँले भन्नुभयो।
परराष्ट्रमन्त्रीले कन्सुलर विभागमा हालसम्म मृत्यु भएका, सम्पर्कमा नभएका तथा रुसी सेनाबाट फिर्ता गरिदिन अनुरोधसहितका २४४ जनाका बारे परिवारले निवेदन दिएको जानकारी दिनुभयो। उहाँले रुसी सेनामा भर्ना भएका व्यक्तिका बारेमा कन्सुलर विभागमा आवेदन दिन सम्बन्धित नागरिकका परिवारलाई आग्रह गर्नुभयो। परिवारका सदस्यले आवेदन दिए सरकारलाई रुसी सेनामा भर्ना भएका नागरिकको स्थिति यकिन गर्न सहज हुने मन्त्री साउदले बताउनुभयो।
रुसी सेनामा भर्ना भएका नागरिकको सङ्ख्याका बारेमा अतिरञ्जित गरेर समाजमा भ्रम फैलाउने ढङ्गले कसैले पनि प्रस्तुत हुन नहुनेमा उहाँको जोड थियो। परराष्ट्रमन्त्रीले रुसी सेनामा भर्ना भएकाका परिवारका सदस्यलाई पछिल्लो विकास क्रमका बारेमा पनि जानकारी दिनुभयो। उहाँले रुसी राजदूतलाई मन्त्रालयमा बोलाएर छलफल गरेको बताउनुभयो।
मन्त्री साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकबारे सरकारले राखेका कतिपय सवालमा रुसी पक्षबाट सकारात्मक जवाफ प्राप्त भएको, मृतक र घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउने विषय अगाडि बढेको पनि बताउनुभयो। उहाँले रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फर्किन दिने विषयमा रुसी सरकारसँग कुरा भएको जानकारी दिनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट, कम्तीमा ५२ जनाको मृत्यु
- ‘हेर्दा राम्रो मार्फा गाउँ…’
- रुसी आक्रमणमा परी पोल्टावामा मृत्यु हुनेको सङ्ख्या ५८ पुग्यो
- चालीस वर्षदेखि सारङ्गी रेट्दै लालबहादुर
- सहज बन्यो चीनको कैलाश मानसरोवरको यात्राका लागि महाकाली करिडोर
- किन बढिरहेछ हिमाली क्षेत्रमा विपद्को वितण्डा ?
- अग्रज पत्रकार नरेन्द्र उपाध्याय, अल बिदा !
- युद्धपछि गाजामा कुपोषण: मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो
- पाहुनाको कुरिरहेको मुस्ताङको स्याङगाउँ
- देशभर मनसुनी वायुको प्रभाव यथावत