नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले स्थायी समितिमा पेस भएको नेताहरुको कार्यविभाजनलाई लिएर असहमति प्रकट गर्नुभएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी समिति बैठकमा उहाँले प्रस्तावित कार्यविभाजन र सेती महाकालीमा देखिएको विवाद समाधानको निर्णयमा असहमति प्रकट गर्नुभएको हो।
“कार्यविभाजन सही भएन, पार्टी निर्माणको उद्देश्यअनुरुप भएन, विधान अधिवेशनको ‘ह्याङओभर’ लाई लिएर कार्यविभाजन गरियो”, बैठकपछि उपमहासचिव शर्माले भन्नुभयो, “विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफूलगायत अन्य नेतालाई कार्यजिम्मेवारीविहीन बनाइएको छ।”
सुदूरपश्चिम प्रदेशमा स्थायी समिति सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सहइन्चार्ज बनाइएकोलगायत मुद्दा, त्यहाँको दलभित्रको विवादलाई टुङ्ग्याउने निर्णय सन्तुलित र न्यायपूर्ण नभएको भनी आफूले असहमति राखेको उहाँले जानकारी दिनुभयो।
आफूले राखेको असहमतिलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहजरुपमा लिनुभएको उहाँले बताउनुभयो। “पार्टी अध्यक्षले असहमतिका विषयलाई पार्टीभित्र राख्न पाइन्छ, स्वागत छ भन्नुभयो”, उहाँले भन्नुभयो, “मैले असहमतिका विषय सम्पूर्ण नेतृत्वलाई बुझाएको छु।”
उपमहासचिव शर्माले बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे समीक्षालगायत पार्टीको आन्तरिक जीवनमा कार्यविभाजनका सन्दर्भमा छलफल भएको जानकारी दिनुभयो।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेताहरुको कार्यविभाजन टुङ्ग्याएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी समिति बैठकले नेताहरुलाई प्रदेशको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको हो।
माओवादीले कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल र सहइन्चार्जमा साबित्रीकुमारी काफ्ले, मधेसको इन्चार्जमा सचिव लीलामणि पोखरेल र सहइन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह, बागमतीको इन्चार्जमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटालाई तोकेको छ।
गण्डकी प्रदेशको इन्चार्जमा सचिव दीनानाथ शर्मा, सहइन्चार्जमा केन्द्रीय सदस्य हरिराज अधिकारी, लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल र सहइन्चार्जमा स्थायी समिति सदस्य कुलप्रसाद केसी, कर्णालीको इन्चार्जमा कालिबहादुर मल्ल तथा सुदूरपश्चिम प्रदेशको इन्चार्जमा उपमहासचिव गिरिराजमणि पोखरेल र सहइन्चार्जमा केन्द्रीय सदस्य बीना मगरलाई तोकिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो।
बैठकले प्रवास प्रदेश समिति (मध्यपूर्व) इन्चार्जमा उपाध्यक्ष पम्फा भुसाल, भारत इन्चार्जमा लक्ष्मण पन्त र सहइन्चार्जमा टिबी पाठक, युरोप–अमेरिका इन्चार्जमा सुरेन्द्रकुमार कार्की तथा विशेष प्रदेश समिति इन्चार्जमा हितमान शाक्य र सहइन्चार्जमा यशोदा सुवेदीलाई तोकेको छ। केही प्रदेशको सहइन्चार्ज तोक्न बाँकी रहेको उहाँले बताउनुभयो। बैठकले सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आ–आफ्नो निर्वाचित जिम्मेवारीअनुसार कार्यरत रहने निर्णय गरेको छ।
बैठकले आगामी चैत १ गतेदेखि गर्ने भनिएको मधेस तराई राष्ट्रिय जागरण अभियान आगामी चैत १५ गतेदेखि गर्ने निर्णय गरेको छ। समय अपुग भएकाले तयारीका लागि उक्त अभियान १५ दिनपछि सारिएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकले हिमाल, पहाड, मधेस राष्ट्रिय एकता अभियान वैशाख १५ देखि सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।
बैठकमा मिटरब्याजी, लघुवित्त समस्याका बारेमा वार्ता भइरहेकाले त्यसलाई सार्थक निष्कर्षमा पुर्याउन सरकारको ध्यानाकर्षण गराएको छ। साथै दुग्ध किसानलगायत समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
- इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
- काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस
- पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
