द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—९
पाञ्चाल नरेश द्रुपदकी राजकुमारी द्रौपदीको बारेमा धेरैओटा जिज्ञासासहितका कुराहरू जेहेनमा एकैपटक आउने गर्छ। सबैभन्दा पहिलो जिज्ञासाचाहिँ उनको जन्मका बारेमा नै आउँछ, , उनी कसरी वयस्का तर कुमारीको रुपमा जन्मिइन् ? दोस्रो जिज्ञासा उनको स्वयंवरका बारेमा।
दरबारका राजकुमारीका लागि स्वयंवरको अर्थ हुन्छ आफूलाई मन परेको केटासँग विवाह गर्ने स्वच्छन्दता तर सीमामा रहेर, राजदरबारको सिद्धान्त र प्रतिष्ठाभित्र रहेर। स्वयंवरमा प्रायशः निकट नाताको राजाको परिवारलाई विवाहको निम्तोको रुपमा मात्र बोलाइन्थ्यो भने अरु समानरुपका राजा र राजकुमारहरूलाई स्वयंवरमा सहभागी हुनका लागि समेत बोलाइन्थ्यो। त्यसो त कतिपय राजकुमारीहरूको रुप यौवन र बानी बेहोराको प्रशंसाका कारणले नबोलाइएका राजाहरू समेत स्वयंवरमा सहभागी हुन पाउँथे तर उनीहरूले आफ्नो राज्य र विशिष्टताका बारेमा सम्बन्धित दरबारलाई जानकारी गराइन्थ्यो। स्वयंवरमा केही सर्तहरू हुन पनि सक्थे। कतिपय राजकुमारीहरूले अन्य देशका राजकुमारहरूका बारेमा सुनेको क्षमताका आधारमा उसैलाई पतिको रुपमा पाउने कल्पना गरेका हुन्थे। त्यसैले त्यस्ता राजकुमारहरूलाई स्वयंवरको सुखद अवसरमा सहभागी भएर आफ्नो स्वयं छान्ने अधिकारको उपयोग गर्ने अवसर दिनका लागि अनुरोध पत्र समेत गोप्यरुपमा पठाउँथे।
द्रौपदीका बारेमा तेस्रो जिज्ञासा हो, कसरी एउटी अयोनिजा कुमारी पाँच जना राजकुमारहरूसँग विवाहित भइन् ? उनीहरूकी पटरानीका रुपमा सन्तुलित व्यवहार गरेर राज्य सञ्चालनमा हुँदा या वनमा हुँदा या अज्ञातबासमा (गुप्तबास)हुँदासमेत पाँच राजकुमारकी पत्नीका रुपमा आफूलाई न्यौछावर गरिन् ?
चौथो जिज्ञासाका रुपमा उनको रूपका बारेमा पाइन्छ र उनले अर्जुनलाई कसरी आफ्नो भावी जीवन साथी या पतिका रुपमा कल्पना गरेकी थिइन् भन्ने लिन सकिन्छ।
पाँचौँ जिज्ञासा उनको रानीका रुपमा कस्तो व्यवहार रह्यो होला ?
र मुख्य जिज्ञासाचाहिँ हिजो पनि, आज पनि र भोलि पनि उनको चीरहरणको लागि आधारभूमि कसरी तयार भएको थियो ? वास्तवमा जहिले पनि, जुनसुकै बेलामा पनि कुनै पनि महिलाको चीरहरण क्षम्य होइन र पनि कसरी त्यस्ता धर्मप्राणहरूको राज्यसभाका इन्द्रप्रस्थकी महारानीको चीरहरण गरियो, त्यो पनि अत्यन्त घृणित तरिकाका शब्दहरूको प्रयोग गरी।
यी बाहेक अन्य जिज्ञासाहरू पनि थुप्रै छन्। तर सर्वप्रथम द्रौपदीसम्बन्धी यिनै जिज्ञासाहरूको गुत्थी र रहस्यका बारेमा छलफल गर्नु पर्ने भएकोले केही तथ्यहरूका आधारमा यहाँ प्रस्तुत गर्न जमर्को गरिएको छ।
उनको जन्म त नियतिको खेल नै थियो। कुरुवंशको नाशका लागि उनको अवतरण यस पृथ्वीमा हुनु नै थियो। भनिन्छ, जब इन्द्रका अंशहरू लिएर यस संसारमा सुशासनसहितको राज्य गर्नका लागि पाण्डुको क्षेत्रमा स्वयं इन्द्रले जन्म लिने निधो गरे, अनि पाण्डुको आदेशले नियोग गर्ने निधो गरेपछि पाण्डुकी पटरानी महारानी कुन्तीको गर्भबाट धर्मराजको अंशबाट युधिष्ठिर, वायुको अंशबाट भीम र स्वयं स्वर्गका राजा इन्द्रबाट अर्जुनको जन्म भयो। अनि पाण्डुकी कान्छी महारानी माद्रीको गर्भबाट जुम्लाहा अश्विनीकुमारका तर्फबाट नकुल र सहदेवको जुम्लाहाकै रुपमा जन्म भएको थियो। तर द्रुपद महाराजका घरमा उनको जन्म हुनुका पछिल्तिरको कारणमा महाराज द्रुपद र आचार्य द्रोणका बिचको सुरुको मित्रता र पछि विकसित भएको शत्रुता कारणको रुपमा देखिएको छ।
आचार्य द्रोणको जन्मको पनि अर्कै कथा भेटिन्छ। घृताची नामकी स्वर्गकी अप्सरा वस्त्ररहित शरीर नदीमा जिउ माडी माडी नुहाएको बेलामा विहान नुहाउन गएका महर्षि भारद्वाजले जब देखे, उनी स्खलित भए र उनले दुनोमा आफ्नो स्खलित शुक्रकीटलाई जतनसँग राखे अनि उनको नाम दुनो (यज्ञकलश) सँग मिल्दो जिल्दो द्रोण राखियो भनिन्छ। तर अर्को पनि सम्भावना के हुन सक्छ भने घृताचीले बच्चा पाउने बित्तिकै चटक्कै छोडेर गएकीले ऋषिले आफ्नो बच्चालाई हुर्काए, बढाए, पढाए। भारद्वाज ऋषिको गुरुकुलमा पढ्न आउने राजकुमारहरूमध्ये भारद्वाज ऋषिका अत्यन्त मिल्ने महाराज पाञ्चाल नरेश पृषत महाराजका छोरा द्रुपद पनि त्यहीँ अध्ययनका लागि आएका थिए। पढ्नमा अत्यन्त तीक्ष्ण द्रोणका मित्र हुन द्रुपदलाई धेरै समय लागेन। गुरुकुलीय प्रायोगिक शिक्षाका कठिन परीक्षाहरूमा द्रोणको सहयोग द्रुपदलाई निःसर्त हुन्थ्यो। द्रुपदले पनि आफू जहिले राजा हुनेछु, ऋषिकुमार द्रोणलाई आफ्नो मुख्य सल्लाहकार बनाएर राज्यको भागीदार बनाउने बचन दिएका थिए। किशोरावस्थाका यी भावनाहरू जेजस्ता भए पनि महाराज पृषतको देहावसान भएपछि द्रुपद राजा भएका थिए। यता ऋषिकुमार आचार्य द्रोणका रुपमा विद्वान, शस्त्रास्त्रमा ठुला लडाकु बनाउन सक्ने क्षमताका गुरुका रुपमा प्रख्यात हुँदै थिए। ऋषिकुलमा महर्षि भारद्वाजजस्तै प्रख्यात हुन थालेका द्रोणाचार्यलाई आफ्नो क्षमताको सदुपयोग गर्न र गुरुकुलीय शिक्षालाई अझ अगाडि बढाउन कुनै राजाको सहयोगको जरुरत परेको थियो र आफ्ना परम प्रिय मित्र द्रुपद महाराजका दरबारमा जानु नै श्रेयस्कर ठाने। लोकमा कथा त के सुनिन्छ भने उनी आफ्नो नवजात पुत्र अश्वत्थामाका लागि दूध ख्वाउन एउटा गाई दानमा पाउन गएका थिए। तर त्यो त्यति तर्कपूर्ण लाग्दैन तर वेदाध्यायी ब्राह्मणलाई राजाले यथोचित धनधान्य दिने चलन थियो र अझ झन आफ्ना सहपाठी नै राजा हुँदा अलि बढी अपेक्षा हुन स्वाभाविक थियो। अपेक्षारहित मित्रता र अपेक्षासहितको मित्रतामा यहाँ एउटा अवस्था देखिएको रहेछ। उल्टै महाराजले चिन्नसमेत नचाहेपछि र एउटा मागेर जीविका चलाउने ब्राह्मणसँग राजाको कुनै मित्रता, त्यसमा पनि कुनै बाचा दिएको भन्ने कुरालाई खिसीको रुपमा लिएपछि त्यो मित्रताले तत्कालै शत्रुताको बाटो लियो र द्रोणाचार्यको रुपमा क्षमतावान भएका ऋषिमा बदलाको भावनाले यति धेरै उग्रता प्राप्त गर्यो कि राजाको इख मार्नका लागि द्रोणाचार्य राजा द्रुपदकै राज्यको भोका भए।
आफ्ना जेठान कुलगुरु रहेको हस्तिनापुर दरबारमा उनले स्थान पाए र राजगुरुको रुपमा उनले हस्तिनापुरका राजकुमारहरूसहित अन्य देशका राजकुमारहरूसमेतलाई अध्यापन गर्न थाले। तर लक्ष्य एउटै थियो, जसरी हुन्छ राजा दु्रपदको अभिमान तोड्ने,उनीसँग ऋषिलाई गरेको अपमानको बदला यसरी लिने कि राजाले जिन्दगीभर अरुको अपमान पनि नगरुन् र द्रोणसँगको मित्रताको वचन पनि सोच्न बाध्य हून्। आफ्ना शिष्यहरूमध्ये अर्जुनमा गुरु द्रोणाचार्यले त्यो गुण देखे जसले उनको क्षमतालाई समेत संसारमा अमर गराउने छन् अनि द्रुपदसँगको बदला लिन पनि माध्यमको काम गर्न सक्नेछन्।
गुरुसँगको शिक्षा प्राप्त गरेपछि लिने दीक्षान्त समारोहमा गुरु द्रोणको एउटै गुरु दक्षिणाको माग थियो, राजा द्रुपदलाई बन्दी बनाएर गुरुको पाउमा लछारेर ल्याउने। उनको राज्य कब्जा गरेर आफैँ राज्य गर्ने र द्रुपदलाई मात्र शिक्षा नभएर भावी दिनमा पनि त्यस्ता मित्रलाई शिक्षा होस् भन्ने द्रोणाचार्य चाहन्थे। सय भाइ दुर्योधनादिहरू त द्रुपदका सेनासँग नराम्रोसँग पराजित भएर फर्किए। त्यसपछि पालो आयो पाण्डुका छोराहरूको, त्यसमा पनि अर्जुन एक्लैले द्रुपद राजाका सेनासँग लडेर महाराजलाई बन्दी बनाएर गुरु द्रोणाचार्यको चरणमा लछारेर ल्याए। दुवैजना पुराना मित्रहरूको नयाँ अवस्थामा मिलन भयो। आधा राज्य फर्काएर द्रोणले द्रुपद को मानमर्दन पनि गरे, आफ्नो मित्रता फेरि यथावत् राख्ने सर्तमा छोडे।
महाराज द्रुपदमा नयाँ कोलाहल जन्मियो। उनलाई अब यस्तो छोरोको आवश्यकता पर्यो जसले पुराना मित्र, अहिले नयाँ शत्रुको रुपमा देखिएको द्रोणाचार्यको हत्या गर्न सकोस्। आफूलाई जितेर द्रोणाचार्यको पाउमा घोप्ट्याउने युवक राजकुमार अर्जुनजस्तो होस् जसले द्रोणाचार्यको हत्या गर्न पनि सकोस् र ठुला ठुला युद्धमा महारथीको सेनापतिको काम गर्न सकोस्।
त्यो बेलाका नामुद ऋषि याजसँग उनले त्यस्तो पुत्रेष्टि यज्ञ गर्न चाहे जसले द्रोणाचार्यको हत्या गर्न सकोस्। ऋषि याजले त मानेनन् तर भाइ उपयाजलाई त्यस यज्ञको पुरोहित हुनका लागि अनुरोध गर्न अह्राए। ऋषि उपयाजले दाजु याजको सहयोगमा सर्तसहितको यज्ञ गर्नका लागि तयारी गरे, यज्ञ सम्पन्न गरे र यज्ञको नैवेद्यका रुपमा खिर खानका लागि रानीलाई भन्दा रानीले त्यति वास्ता नगरे पनि पछि खाने भनेर टार्न थालिन्। ऋषिले पनि ढिलो भए पछि यज्ञको उपलब्धि निष्फल हुने भएकाले झोकले त्यो खिर यज्ञमण्डपमा बलिरहेको वेदीमा फाले। अचानक ठुलो आवाज सहित त्यहाँ हातमा धनु बोकेको वयस्क कुमार उत्पन्न भएर उसको कुन प्रयोजन हो भनेर प्रश्न गर्न थालेपछि ऋषि याज र उपयाजले उसले द्रोणाचार्यको हत्या गर्नुपर्ने र ठुलो युद्धमा महारथीको रुपमा सेनापतिको कार्य गर्नुपर्ने भन्ने कर्तव्य सम्झाए। जन्मंदै अलि अटेरीजस्तो देखिने नवकुमारको नाम धृष्टद्युम्न राखियो। त्यहीबेलामा त्यही यज्ञबाट स्वर्गका राजा इन्द्रकी पटरानी शचिको अवतारका रुपमा एकजना रातो वर्णकी वयस्का कुमारीको प्रादूर्भाव भयो जसलाई कृष्णाको नामाकरण गरियो।
त्यसो त इन्द्रको विभिन्न अंश लिएर पाण्डवहरूको जन्म भइसकेको थियो र ती पाण्डवहरू वयस्क भएर लडाकु हुँदै राजा द्रुपदलाई जित्ने लडाकु भइसकेका थिए। राजा द्रुपदलाई पाण्डव कुमारहरूसँग कुनै रिस, द्वेष थिएन, बरु आफ्ना पुत्रहरूको अनुहार त्यस्तै होस्,बहादुर बनून् भन्ने मात्र कल्पना थियो। अनि यज्ञबाट जन्मेकी कृष्णाको तप्त अनुहार देख्ने बित्तिकै महाराज द्रुपदका मनमा त्यस्ती कन्याको पति अर्जुन भए कस्तो मिल्ने थियो भन्ने झट्ट मनमा आयो होला। र भावी दिनमा हुने स्वयंवरको यस्तो प्रायोजन गर्न चाहे जसमा अर्जुनले मात्र त्यो सर्त पूरा गरून्। क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- शकुनिको बदला
- शकुनिको कूटनीतिक क्षमता
- वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
- हिडिम्बाको मोह
- द्रौपदीलाई आफ्नै रूपको चिन्ता
- ब्राह्मण कुमारले विश्व सुन्दरीमाथि जमाए अधिकार
- द्रौपदीको छल
- शिखण्डीलाई लिङ्ग प्रदान, यक्ष स्थूणाकर्ण बने स्त्री
- यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन
- दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन