रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ। वडाले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा कार्डमा अनिवार्य बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याएको छ। आठबीसकोट–३ का वडाध्यक्ष केशरमान विकले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा ‘कार्ड’मा अनिवार्यरूपमा बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो।
उहाँले वडामा बालविवाहसँगै मदिरा र सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न पहल थालिएको बताउनुभयो। विवाहका अवसरमा मदिरा र सुर्तीजन्य पदार्थको प्रयोग हुने भएकाले वडाले विवाह कार्डमै रक्सी र सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने/नगराउने प्रतिबद्धता जनाउनुपर्ने व्यवस्था लागू गरेको उहाँले बताउनुभयो।
वडामा यस वर्ष १० जोडीले बालविवाह गरेको तथ्याङ्क रहेको छ। यस वर्ष उमेर नपुगेर विवाह गर्न लागेका एक जोडीको विवाहसमेत वडा कार्यालयले रोकेको जनाएको छ। सामाजिक तथा आर्थिकरूपमा पनि बालविवाहले समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले वडामा बालपिववाह र मदिराजन्य पदार्थमा कडाइ गरिएको वडाध्यक्ष विकको भनाइ थियो।
“विवाह कार्डमा जोडीको सही जन्ममिति उल्लेख गरे/नगरेको थाहा पाउन वडा कार्यालयमा जन्मदर्तालगायत अन्य विवरणको अभिलेख हुने भएकाले सजिलो छ। वडाभन्दा बाहिरबाट विवाह गर्नेको हकमा सम्बन्धित वडा कार्यालयसम्म समन्वय गर्नेगरी लागेका छौँ। बालविवाह रोक्न समुदायको पनि राम्रो साथ मिलेको छ”, वडाध्यक्ष विकले भन्नुभयो। वडाको नियम उल्लङ्घन गरेमा कानुनबमोजिम कारबाही गरिनेसमेत वडा कार्यालय जनाएको छ।
मदिरा सेवनमा निषेध
सोही वडामा विगत पाँच वर्षदेखि मदिरा तथा सुर्तीजन्य पदार्थ पनि निषेध गरिएको छ। विंस २०७५ मङ्सिर १५ गतेदेखि वडामा मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाएको वडाध्यक्ष विकले जानकारी दिनुभयो। उहाँका अनुसार हाल वडाभित्र मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री–वितरण र सेवन हुन छाडेको छ। वडाले मदिरा निषेध गरेपछि वडामा मदिरा सेवन गर्ने पाँचजना र बिक्री वितरण गर्ने छ व्यक्तिलाई वडाले कारबाहीसमेत गरेको उहाँले बताउनुभयो।
वडाले मदिरा सेवन गरेका पाँच जनालाई रु पाँच हजारका दरले जरिवाना गराएको र मदिरा बिक्रीवितरण गर्ने एकजनालाई रु २० हजार जरिवाना गराएको छ। वडाभन्दा बाहिर गएर मदिरा सेवन गर्ने व्यक्तिलाई पनि सूचना प्राप्त भएसम्म मदिरा सेवन नर्गन वडाले सेचत गराउँदै आएको छ। वडालाई विकास निर्माणलगायत सामाजिक, आर्थिक तथा सांस्कृतिक हिसाबले नमूना बनाउन वडा कार्यालय लागिरहेको वडा कार्यालयले जनाएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
