आठबुँदामा टेकेर चार दलको नयाँ सरकार

नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सरकारमा सहकार्य गर्नेसहित विभिन्न आठवटा बुँदामा सहमति भएको छ।

सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको महसुस गरी चार दलको सहभागितामा नयाँ संयुक्त सरकार गठन गर्ने र सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने सहमति भएको छ। रिक्त रहेको राष्ट्रियसभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवारलाई समर्थन गर्ने सहमति पनि चार दलले गरेका छन्।

त्यसैगरी, सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ। त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने र नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सहभागी हुन अन्य दलहरूसँग पनि आवश्यक संवाद अघि बढाउने सहमति भएको छ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुङ्ग्याउने सहमति पनि चार दलबीच भएको छ। त्यसैगरी, सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने विषयमा सत्ता गठबन्धनका दलहरू सहमत भएका छन्।

सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने पनि सहमति भएको छ।  यो सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गरी सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गरिने जनाइएको छ।

राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक–सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न पनि चार दल सहमत भएका छन्।

आठबुँदे सहमतिमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ।

मन्त्रीहरूको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। राष्ट्रपतिले नेपालको संविधानका धारा, ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मन्त्रीमा नियुक्त हुनुभएका तीनजनालाई राष्ट्रपति कार्यालय शीलत निवासमा फागुन २१ गते  आयोजित विशेष समारोहमा सोही संविधानको धारा, ८० अनुसार पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट पदम गिरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डोलप्रसाद अर्यालले शपथ लिनुभएको हो। उहाँहरूको कार्यभार तोकिएको छैन। राष्ट्रपति कार्यालयका अनुसार उहाँहरूको कार्यभार पछि तोकिनेछ।

प्रधानमन्त्रीको सिफारिसमा फागुन २१ गते  गठन भएको मन्त्रिपरिषद् र त्यसको कार्यविभाजनअनुसार प्रधानमन्त्री दाहालले नै अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कानुन न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास, खानेपानी, गृह, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायातलगायत नेपाल सरकार सबै मन्त्रालयको कार्यभार सम्हाल्नुहुनेछ। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

कम्युनिष्ट एकताको प्रयास

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पार्टीका बागमती प्रदेश इञ्चार्ज अग्निप्रसाद सापकोटाले देशको परिवर्तित राजनीतिक अवस्थाले  विगतको बृहत्तर कम्युनिष्ट एकताको प्रयासलाई पूरा गर्ने आधार बनेको बताउनुभएको छ।

सहिद सप्ताहको अन्तिम दिन देशको राजनीतिक अवस्थाले कोल्टे फेरेको र फागुन २१ गते  बनेको नयाँ गठबन्धनले केही वर्षअघिको बृहत्तर राजनीतिक एकताको प्रयासलाई सार्थक पार्ने आधार बनाउने विश्वास व्यक्त गर्नुभयो।

“पहिला कम्युनिष्ट पार्टीको एकता भएपनि त्यसलाई रक्षा गर्न सकिएको थिएन अहिले त्यसबेलाको अवस्थाको गम्भीर समीक्षासहित अगाडि बढ्न तथा एकतालाई अटुट राख्न सहयोग पुग्नेछ,” नेकपा (माओवादी केन्द्र)का जनवर्गीय सङ्गठन तथा मोर्चाले संयुक्त रूपमा आयोजनामा काभ्रेपलाञ्चोकको बनेपामा फागुन २१ गते  भएको ‘सहिद परिवार सम्मान तथा व्यवस्था परिवर्तनमा बलिदानको महत्व’ विषयको छलफलमा भन्नुभयो।

संविधानको प्रस्तावनामा उल्लेख भएको लोकतान्त्रिक गणत्रन्तात्मक समाजवाद उन्मुख राज्यव्यवस्थालाई आजको नयाँ गठबन्धनलाई ‘कोर्स करेक्सन’ भन्दै उहाँले त्यस दिशातर्फ अगाडि बढ्ने आधार तयार भएको बताउनुयो।

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीका अध्यक्ष एवं प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले आफन्तजनहरू गुमाएर अहिलेको व्यवस्था प्राप्त गरेको उल्लेख गर्दै सहिद परिवारलाई विचलित नहुन आग्रह गर्नुभयो।

नेकपा (माओवादी केन्द्र) का काभ्रे जिल्ला संयोजक भोला अर्यालले सहिदको सपना पूरा गर्नेभन्दा पनि आफ्नो सपना पूरा गर्नेतफए नेताहरू लागेका आरोप लगाउनुभयो। सहिद परिवारका सदस्य राजकुमार तामाङले अहिलेको परिवर्तन सहिदहरूको बलिदानीबाट भएको बताउँदै सहिद परिवारको भावनालाई सम्बोधन गर्न आग्रह गर्नुभयो। माओवादी केन्द्रले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउँदै आएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link